रमझम
नेपाली छोरी
दार्जीलिङमा जन्मे हुर्केकी 'मिस इण्डिया अर्थ २००४' ज्योति ब्राह्मिण (शिवाकोटी)लाई नेपाली भएकोमा गर्व छ। १ मङ्सिरमा नवस्थापित फेशन डिजाइनिङ स्कूल भेलोसीटीको उद्घाटनका क्रममा धरान आइपुगेकी ज्योतिले हिमाल का लागि विशेष फोटोसेसन गर्ने क्रममा भनिन्, “नेपाली– नेपालीबीचको एकता र भावनात्मक सम्बन्धका
अगाडि देशको भौगोलिक सीमाको कुनै अर्थ रहँदैन।”
मोडलः ज्योति ब्राहि्मण शिवाकोटी
तस्बिरः मोजेश राई
रमझम वार्ता
“नेपालीको एकतालाई कुनै सीमारेखाले छेक्दैन”
ज्योति ब्राहि्मण (शिवाकोटी), मिस इण्डिया अर्थ २००४

मोजेश राई |
कतिपटक नेपाल आइसक्नुभो?
यो समेत सातौँ हो। तर, औपचारिक कार्यक्रममा आएको भने यो नै पहिलो हो। यसअघि तीन पटक काठमाडौँ र दुईपटक झापास्थित फुपूकोमा पुगेकी छु।
नेपाली भएकोमा कस्तो महसूस गर्नुहुन्छ?
नेपाली भएर जन्मन पाएकोमा गर्व छ। दार्जीलिङमा जन्मे हुर्के र अहिले बिहे गरेर कोलकातामा बसिरहेको भारतीय नागरिक भए पनि म नेपाली छोरी हुँ, मेरो रगत नेपाली हो। यो मन त मेरो नेपाली नै हो नि!
मिस इण्डिया अर्थको उपाधि जित्दा कस्तो लागेको थियो?
मैले धेरै नै गर्व महसूस गरेँ। पहिलो पटक एउटा नेपालीले मिस इण्डिया उपाधि हासिल गरेको भनेर भारतीयहरूले पनि भने। म नेपाली हुँ भनेर चिन्ने सारा नेपालीहरू त्यसबेला खुशी भएका थिए। सिक्किम सरकारले बोलाएर सम्मान नै गर्यो।
नेपाली मूलका प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउन देखिएको नेपाली 'क्रेज'लाई कसरी लिनुहुन्छ?
एकदमै सकारात्मक। मलाई धेरै ठाउँमा मान्छेहरूले 'नेपालीहरूबीच यत्रो एकता छ भन्ने कुरा थाहै नभएको' बताए। संसारभरका नेपालीमा देखिएको यो एकताले धेरैलाई अचम्ममा पारेको छ।
फेशन मोडलिङप्रतिको तपाईको रुचि कहिलेदेखिको हो?
वास्तवमा यो क्षेत्रमा जाने मेरो कुनै योजना थिएन। कोलकातामा एमबीए पढन् भनेर जाँदा साथीहरूले पठाइदिएको मेरो फोटोग्राफ त्यहाँको सुन्दरी प्रतियोगितामा छनौटमा पर्यो। मिस बङ्गाल २००३ को उपाधि जितेपछि कोलकातामा मोडलिङ शुरु गरेँ।
मिस इण्डियापछि मोडलिङ झानै फाप्यो, हैन?
हो, त्यसपछि पनि फिलिपिन्समा सम्पन्न मिस वर्ल्ड अर्थ २००४ को टप १० मा परेँ। देश–विदेशका दर्जनौँ फेशन शो, इटालीको मिलान फेशन विक मा सहभागितादेखि एलजी, सोनी इरिक्सन, इण्डियन एयरलाइन्स आदिका थुप्रै विज्ञापनमा काम गरेँ। अझै पनि मोडलिङलाई निरन्तरता दिने विचार छ। यो क्षेत्रमै लागिरहनका लागि आउँदो ६ महिनाभित्रै मुम्बई जाने विचारमा छु।
उपाधि जितेपछि चलचित्रहरूमा पनि अफर आयो होला नि?
धेरै सहभागीको लक्ष्य मिस इण्डियापछि चलचित्र क्षेत्रमा जाने हुन्छ। मलाई पनि बलिउडबाट धेरै अफर आएको थियो। केही नेपाली चलचित्रमा पनि। तर, त्यतिबेला मलाई चलचित्र क्षेत्रमा जाने मन नै भएन।
मन नहुनुको कारण?
१४/१५ वर्ष सङ्घर्ष गर्दा पनि धेरैले राम्रो फिल्म पाउँदैनन्। तर, मलाई राम्रा–राम्रा निर्देशकहरूले अफर गरेका थिए। धेरैले मलाई यस्तो मौका किन गुमाएको पनि भन्छन्। तर, त्यो बेला किन किन मन लागेन, आफ्नै व्यक्तिगत जीवनतर्फ लागेँ अनि बिहे गरेँ। अहिले सोच्छु सिनेमामा काम गरेको भएपनि हुन्थ्यो।
अब मन बदलिएको हो?
(हाँस्तै) हो, हो, त्यसै भन्नुपर्यो। विवाहपछि अहिले यसै क्षेत्रमा लागिरहने चाहना बढेकाले राम्रा चलचित्रमा अफर आए काम गर्छु।
नेपाली चलचित्रमा नि?
बलिउडको होस् वा नेपाली; कथावस्तु चित्तबुझे जुनैमा पनि अभिनय गर्छु। दार्जीलिङमा हुँदा धेरै नेपाली चलचित्र हेरेकी छु। दर्पणछायाँ राम्रो लाग्यो। आफू पनि नेपाली नै भएकाले नेपाली चलचित्रमा काम गर्ने मन त भइहाल्छ। राम्रो अफर आए म नेपाल आएरै काम गर्न तयार छु।
प्रसङ्ग बदलौं, अहिले फेरि दार्जीलिङमा 'गोर्खाल्याण्ड'को कुरा उठेको छ, तपाईंको यसबारे के धारणा छ?
हरेकले आफ्नो स्वतन्त्रताको माग गर्न पाउँछ। भारत एउटा प्रजातान्त्रिक मुलुक भएकाले त्यहाँ हरेकको स्वतन्त्रताको कदर हुन्छ। त्यसैले दार्जीलिङका जनताले 'गोर्खाल्याण्ड' चाहन्छन् भने नहुने कुरै छैन। जनताले जे चाहन्छन् त्यो हुनुपर्छ।
सारा नेपालीहरूका लागि हिमाल मार्फत् तपाई के सन्देश दिन चाहनुहुन्छ?
आफूलाई अल्पसङ्ख्यक भनेर कहिल्यै नसोच्नुस्, नेपालीहरूमा जस्तो एकता र शक्ति अरूमा छैन। प्रशान्तको पक्षमा देखिएको लहरले पनि यो स्पष्ट पारेको छ। कुनै एक ठाउँका नेपालीको केही कुरा उठ्यो भने संसारभरका नेपाली एक हुन्छन् भन्ने प्रमाणित भइसकेको छ। नेपालीहरूको एकतालाई अब कुनै देशको सीमाले अलग गर्न सक्दैन। यो एकता र भावना कहिल्यै पनि टुट्न दिनुहँुदैन।
• प्रस्तुतिः डम्बरकृष्ण श्रेष्ठ
रमझम/रिपोर्ट सुन्दरी प्रतियोगिता
सामेली सहभागिता
नेपालगञ्जमा हुनलागेको सौन्दर्य प्रतियोगितामा आदिवासी, जनजाति, मधेशी, दलित र मुस्लिम समुदायको सहभागिताले देखाउँछ मुलुकमा उर्लेको सामेलीको रापले ग्ल्यामरको दुनियाँलाई पनि तताउन सफल भएको छ।

रामेश्वर बोहरा |
शिक्षित महिला समेतलाई घरको चारपर्खालबाट बाहिर निस्केर काम गर्न र खुल्ला सामाजिक वातावरणमा बाँच्न बन्देज रहेको मुस्लिम समुदायकी किशोरी जामिया अलि नेपालगञ्जमा हुन लागेको सौन्दर्य प्रतियोगितामा सहभागी हुँदैछिन्, खुला समाजमा आफ्नो छुट्टै पहिचान बनाउन। 'परपुरुषको नजरबाट जोगिन' महिलाले बुर्का लगाउनुपर्ने बाध्यता नहटिसकेको समुदायबाट ग्ल्यामर दुनियाँमा पदार्पण गर्ने यी किशोरी सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउने पश्चिम नेपालकै पहिलो मुस्लिम प्रतिनिधि हुनेछिन्।
आधुनिकीकरणमा अझै पछाडि रहेको थारू समुदायका तीन किशोरीहरू; बर्दिया मैनापोखरकी मञ्जु र तारा चौधरी एवं बाँके रझेनाकी सृजना दहित 'आधुनिकताको फाइदा उठाउँदै समाजका लागि केही गर्न' 'मिस नेपालगञ्ज' मा भाग लिँदैछन्। प्लस टुका विद्यार्थी यी तीनै जनाले सौन्दर्य प्रतियोगिताका लागि पढाइ र घरधन्दा भ्याएर प्रशिक्षणको समय निकालेका छन्। सृजना भन्छिन्, “आफ्नो पहिचान भुल्न होइन, जोगाउन पनि अब अगाडि आउनैपर्छ।” जनसङ्ख्याका हिसाबले पश्चिम तराईका पाँच जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा पहिलो नम्बरमा पर्ने थारू समुदायका युवतीहरूको सहभागिता स्थानीय फेशन तथा सौन्दर्य प्रतियोगितामा भएको थिएन।
माओवादी धम्की र त्रासले विगत तीन वर्षदेखि सौन्दर्य/फेसनसम्बन्धी कुनै प्रतियोगिता हुन नसकेको नेपालगञ्जमा यसपटक २९ मङ्सिरमा सुन्दरी प्रतियोगिता आयोजना हुँदैछ, त्यसैमा सहभागी हुन कस्सिएका किशोरी/युवतीहरू हुन् यी। फेशन र ग्ल्यामरमा अन्य शहरभन्दा पछाडि रहे पनि विगत ६–७ वर्ष अघिदेखि सौन्दर्य प्रतियोगिताको सुरुआत भएको नेपालगञ्जमा एकाएक त्यसमा पूर्णविराम लागेको थियो, जब माओवादीले 'जनवादी संस्कृति' विपरित भन्दै प्रतियोगिता आयोजक र सहभागीलाई भौतिक कारबाहीसम्मको धम्की दियो। तेस्रो मिस भेरी पद्मा शेर्पालाइ 'ताज' फिर्ता नगरे आक्रमणै गर्ने चेतावनी आएपछि उनले ताजमात्रै फिर्ता गरिनन्, बरु व्यक्तिगत असुरक्षाका कारण नेपालगञ्ज नै छाडिन्।
माओवादी शान्तिप्रक्रियामा आएपछि यसपटक भने जोखिम मोलेरै भएपनि प्रतियोगितालाई निरन्तरता दिन आयोजकहरू तम्सिए, सबै जाति र समुदायको सहभागिताको नयाँ प्रयोगसहित। हरेकक्षेत्रमा समावेशीको कुरा उठिरहेका बेला मिस नेपालगञ्ज ब्यूटी ट्यालेण्ट शो मा पनि त्यही सूत्रको प्रयोग गरिएको छ। आयोजक इन्ष्टिच्युट अफ मल्टि स्किलका अध्यक्ष जगत ढुङ्गाना भन्छन्, “चुनौतीपूर्ण भएपनि प्रतियोगितालाई समावेशी बनाउने प्रयास हो किनभने ब्यूटी र ब्रेन दुवैको उत्तिकै महत्त्व हुन्छ।” त्यसैले पनि हुनसक्छ यसअघिसम्म मारवाडीबाहेक अन्य मधेशी समुदायको सहभागिता हुन नसकेको सौन्दर्य प्रतियोगितामा यसपटक नेपालगञ्जकी दीपाली गुप्ता पनि प्रतियोगी छिन्। दीपाली भन्छिन्, “बौद्धिक सुन्दरताको समेत कदर हुँदा व्यक्तित्व विकासको अवसर मिल्ने भएकाले मेरो रुचि जाग्यो, अभिभावकको पनि सपोर्ट छ।”
अझै पनि जातीय छोइछिटोबाट मुक्त भइनसकेको नेपाली समाजभित्र आफ्नो समुदायमाथि हुँदै आएको थिचोमिचोको अन्त्य गर्ने अभियानमा मोडलिङमै लागेर सरिक हुन दृढ देखिन्छन्, बाँके–कोहलपुरकी प्रमिता र सविता विश्वकर्मा। यसअघि दलित समुदायबाट सहभागिता नभएको पृष्ठभूमिमा यसपटकको मिस नेपालगञ्ज मा यी दुई युवतीको सहभागिताले जातीय सामेलीको नयाँ अध्याय रचेको छ। प्रमिता भन्छिन्, “हामी मोडलिङबाटै समाजलाई जागरुक बनाउन चाहन्छौँ।”
प्रतियोगितामा क्षत्री र बाहुनसँगै मगर, गुरुङ, राई–लिम्बू, नेवारलगायत जनजाति समुदायको उल्लेख्य सहभागिता छ। जनजाति समुदायबाट आएकी मेरी थापामगर व्याडमिन्टनकी राष्ट्रिय खेलाडीसमेत हुन्। भर्खरै सम्पन्न कृष्णमोहन स्मृति राष्ट्रिय व्याडमिन्टनमा उनी अण्डर–१९ समूहमा तेस्रो भएकी थिइन्। खेलकुद र मोडलिङ दुवैलाई सँगै अघि बढाउने सुर बनाएकी मेरी भन्छिन्, “खेलसँगै मोडलिङमा लागेर पनि समाजका लागि योगदान दिन सकिन्छ।”
जातीय सामेलीको नमूना बनाउनका लागि आयोजकहरू यसपटक सबै प्रतियोगीहरूलाई आफ्नै मौलिक पहिरनमा र्याम्पमा उतार्ने तयारीमा छन्। प्रतियोगीहरू आ–आफ्नै मौलिक पहिरनमा र्याम्पमा उत्रँदा निश्चय पनि त्यसले दिने सन्देश नेपाली मौलिक कला र संस्कृतिका पक्षमा हुनेछ। कोरियोग्राफर जीवनसिंह परियार र सह–कोरियोग्राफर गत वर्षकी मिस नेपाल प्रतियोगी रोजी बर्नवालले त्यही शैलीमा प्रतियोगीलाई सिकाउँदैछन्। प्रतियोगीहरूले छोटा कपडा नलगाउने बताउँदै कार्यक्रम संयोजक सुमन धिमाल भन्छिन्, “मौलिक र लामो पहिरनमार्फत् पनि ग्ल्यामर झल्काउन सकिन्छ।”
• रामेश्वर बोहरा, नेपालगञ्जमा
रमझम/
विविध
कोल्टो फेर्दैछ कथावस्तु
नौला कथावस्तुहरूमा आधारित चलचित्र बनाउने लहरसँगै नेपाली सिनेमाको प्रस्तुतिले कोल्टो फेर्ने सम्भावना बढाएको छ।
• सन्तोष बराइली

युवा निर्देशक विजय बस्नेतको नौलो कथावस्तु र फरक प्रस्तुति रहेको सिनेमा 'शहीद' को एक दृश्य। |
जारी शान्ति प्रक्रियासँगै नेपाली सिनेमाको व्यापारमा आएको सुधारले चलचित्रकर्मीहरूमा नयाँ उत्साह जागेको छ। राजनीतिक अस्थिरताका कारण लगानी डुब्ने डरमा हिजोसम्म चूपचाप बसेका सिने–लगानीकर्ताहरू धमाधम नयाँ सिनेमा निर्माणको तयारीमा जुटेका छन् भने नयाँ लगानीकर्ताहरूको पनि प्रवेश बढ्दो छ। नयाँ–पुराना लगानीकर्ताहरूमा छाएको पछिल्लो जोशसँगै परम्परागत फर्मूला विपरित नयाँ सिनेमा बन्न थालेका छन्। जसलाई चलचित्रकर्मीहरूले सुखद् सुरुआत मानेका छन्।
चार वर्षअघि तत्कालीन शाही सेनाद्वारा माओवादीको आरोपमा गिरफ्तारीपछि मारिएकी काभ्रेकी १४ वर्षे किशोरी मैना सुनुवारको जीवनमा आधारित सिनेमा बनाउने तयारीमा छन्, केपी पाठक। हाल कलाकार छनौटमा व्यस्त रहेका पाठक, मैनाका बारेमा एक वर्षको अनुसन्धानपछि आफ्नै निर्देशनमा यथार्थवादी चलचित्र बनाउन लागेको बताउँछन्। उनी भन्छन्, “दर्शकहरूले नयाँ विषयवस्तु सहितको मौलिकता खोजिरहेका छन्।” सिनेमामा जनगायक रामेशले सङ्गीत दिँदैछन्।
आफ्ना अधिकांश चलचित्रहरूमा 'मायाप्रेम'को कथावस्तुलाई प्राथमिकता दिने निर्देशक तुलसी घिमिरे अहिले देशको समसामयिक राजनीतिक विषयवस्तुमा आधारित 'देश' नामक सिनेमाको छायाङ्कन गरिरहेका छन्। १० मङ्सिरमा शुभमुहूर्त गरिएको सो चलचित्रका बारेमा घिमिरे भन्छन्, “पाँच वर्ष लगाएर पटकथा र संवाद लेखेको छु। मुलुकको विगत र वर्तमानका राजनीतिक घटनाहरूको दस्तावेज हुनेछ देश।” कथावस्तु नयाँ भएपनि घिमिरेले आफ्नो पछिल्लो चलचित्रमा अहिलेका चल्तीका अनुहारहरू राजेश हमाल र निखिल उप्रेतीलाई नै देखाउने भएका छन्। यसअघि राजनीतिक विषयवस्तुमा केन्द्रित चलचित्र 'बलिदान' निर्देशन गरेर घिमिरेले प्रशंसा बटुलेका थिए।
निर्देशक सुभाष गजुरेल लोककथामा आधारित सिनेमा बनाउँदैछन्। दीपकराज गिरीलाई मुख्य भूमिकामा राख्दै चल्तीका सबैजसो हास्यकलाकारलाई समेटेर बन्न लागेको उनको सिनेमाको नाम हो, जुत्ता खाने बुहारी। मङ्सिरको दोस्रो साताबाट छायाङ्कन गरिने यस सिनेमाले लोपोन्मुख लोक–संस्कृतिहरूलाई उजागर गर्ने विश्वास निर्देशक गजुरेलको छ। लोक कथाकार, संस्कृतिविद्हरूसँगको समन्वयमा एक वर्षको अध्ययनपश्चात् बन्न लागेको यो सिनेमा फिल्मी फर्मूला भन्दा परै रहने गजुरेलको दाबी छ।

केपी पाठक। |

तुलसी घिमिरे। |

अशोक शर्मा। |

सुभाष गजुरेल। |
विगतमा ट्रक ड्राइभर, अल्लारे जस्ता सफल चलचित्र बनाएका अशोक शर्मा अहिले दुई वटा चलचित्रको पटकथा लेखनमा व्यस्त छन्। माओवादी द्वन्द्वका कारण उनले केही वर्ष यता सिनेमा नै बनाएका थिएनन्। हास्य र किशोरहरूको विषयमा आधारित दुवै सिनेमा वर्षदिन भित्रै बनाइसक्ने योजनामा शर्मा अहिले अध्ययन अनुसन्धानमा रहेको बताउँछन्। उनी भन्छन्, “देशको अवस्था बदलिएको छ। त्यसैले समसामयिक सामाजिक कथामा सिनेमा बनाउने तयारीमा जुटेको छु।”
मनोज पण्डित, नीलहरि काफ्ले, अजित लामिछाने र आलोक नेम्वाङलगायत युवा निर्देशकहरू पनि विषयवस्तुमाथि गहन अध्ययन र नयाँ प्रयोगका साथ सिनेमा निर्माणमा जुटेका छन्। निर्देशक पण्डित स्त्रि्कप्ट लेखनमा व्यस्त छन् भने काफ्ले आफ्नो महत्त्वाकाङ्क्षी सिनेमा नेपाली म्यान का लागि नयाँ कलाकारको खोजीमा। काफ्ले भन्छन्, “नेपाली राजनीतिमा देखिएको गतिरोध र अन्योललाई चिर्ने गरिको दिशानिर्देश गर्ने नेपाली म्यान मा कथा सुहाउँदो कलाकारको छनौट भइरहेको छ।”
पश्चिम नेपालका भूमिहीनहरूको जीवनमा आधारित चलचित्र 'बुह्रान' बनाएर आदिवासी जनजाति चलचित्र महोत्सवमा सर्वोत्कृष्ट सिनेमाको अवार्ड जितेपछि हौसिएका अजित लामिछाने नयाँ कलाकारहरूलाई समावेश गरेर मेरो एउटा साथी छ नामक चलचित्र निर्माण गरिरहेका छन्। आलोक नेम्वाङले पनि अधिकांश नयाँ कलाकारहरूलाई लिएर सानो संसार नामक सिनेमा निर्देशन गरिरहेका छन्। जसको छायाङ्कन अन्तिम चरणमा पुगेको छ।
चलचित्र निर्माण निर्देशनको परम्परागत मान्यता विपरीत धारमा रहेर निर्माणाधीन यी सिनेमाहरूले सिने क्षेत्रको साख बढाउनेमा निर्माता/निर्देशकहरू ढुक्क छन्। तिनको कथा छनौट, पटकथा र संवादमा गरिएको मिहिनेतलाई पनि सिनेकर्मीहरूले सकारात्मक मानेका छन्। कलाकार हरिवंश आचार्य भन्छन्, “गहिरो अध्ययन र तयारी गरेर चलचित्र बनाउने लहर चल्नु समग्र चलचित्र उद्योगका लागि सुखद् लक्षण हो। आशा गरौँ अबका दिनमा बन्ने सिनेमाले बौद्धिक जमातको ध्यान पनि तान्ने छ।” फरकधारको सिनेमा नुमाफुङ का निर्देशक नवीन सुब्बा भन्छन्, “सिने क्षेत्रमा अध्ययनशील युवाहरू सिनेमाकै भविष्य खोजेर प्रवेश गरिरहेका छन्। फलस्वरुप मूलधारमा बनिरहेका सिनेमा भन्दा उनीहरूले बनाएको सिनेमा फरक हुनेछ।”
रमझम
विविध
रौनक फिल्म फेस्टिभलको
विभिन्न २० देशका ५२ चलचित्र समावेश गरिएकोे काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवलको पाचौँ अध्याय मङ्सिर २१ गतेदेखि शुरु हुने भएको छ। राष्ट्रिय सभागृह एवं नेपाल पर्यटन बोर्डमा सञ्चालन हुने उक्त पाँचदिने महोत्सवमा हिमाल तथा पर्वतारोहणका साथसाथै द्वन्द्व, वातावरण, संस्कृति, जीवनशैली, भूमण्डलीकरण तथा लैङ्गिक लगायत विविध विषयमा बनेका चलचित्रहरू समावेश गरिएका छन्। द्वन्द्वपश्चात्को लोकतान्त्रिक नेपालमा आशाको पुनर्जागरण तथा गतिशील सिर्जनालाई विशेष केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको जानकारी आयोजकहरूले दिएका छन्।
हिमालमा समर्पित यो महोत्सवले वातावरण माथि विश्व तापमानमा भइरहेको वृद्धिले निम्त्याउने भयावह असरमाथि पनि विशेष ध्यान दिनेछ। महोत्सवमा प्रदर्शनका लागि सात वटा नेपाली चलचित्र छानिएका छन्। यसपटकदेखि बर्सेनि आयोजना गरिने लक्ष्य राखिएको यस महोत्सवलाई यसै वर्षदेखि प्रतिस्पर्धात्मक पनि बनाइएको छ। प्रतिस्पर्धाका लागि छानिएका २२ चलचित्रमध्ये उत्कृष्ट तीन चलचित्रलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। महोत्सवमा फोटो प्रतियोगिता, चलचित्र निर्माण सम्बन्धी कार्यशाला, हिमाल सम्बन्धी हाजिरीजवाफ, पुस्तक विमोचन र प्रदर्शन, पर्वतारोहण तथा पर्वतारोहणमा चाहिने सामग्रीको प्रदर्शन जस्ता विभिन्न कार्यक्रम पनि सञ्चालन हुनेछन्।
कुटुम्बः मौलिक धूनको खोजीमा

नयनतारा गुरूङ्ग कक्षपति |
लोप हुँदै गएका मौलिक तथा परम्परागत धूनहरूको खोजी गर्ने क्रममा लोकवाद्य समूह, कुटुम्बले बनेपा, पनौती र हरिसिद्धिका परम्परागत धूनहरू सङ्कलन गरेको छ। मौलिक लोक धून र बाजाहरूको सङ्कलन, संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सात युवाहरूले स्थापना गरेको कुटुम्बले लोक सङ्गीत पुनरुत्थान अभियान नै सञ्चालन गर्दै यी धूनहरू सङ्कलन गरेको हो।
अभियानअन्तर्गत कुटुम्बले बनेपा, पनौती र हरिसिद्धिमा मौलिक साङ्गीतिक कार्यक्रमको आयोजना समेत गरेको थियो। १८–२१ कात्तिकमा बनेपा र पनौती तथा ८ मङ्सिरमा हरिसिद्धिमा आयोजित साङ्गीतिक कार्यक्रममा परम्परागत वाद्यवादन लोप हुँदै जान थालेकाले चिन्तित बनेका स्थानीय साधकहरू उत्साही भएर सहभागी भए। कुटुम्बका कलाकारले रेशम फिरिरि..., सय थरि बाजा एउटै ताल... आदि गीतका धूनसँगै आफैँले सिर्जना गरेका धूनहरू प्रस्तुत गरेका थिए। कुटुम्बका अगुवा पवित महर्जन भन्छन्, “तीन ठाउँको प्रस्तुतिको दर्शकहरूले तारिफ गरेका छन्। स्थानीय मौलिक धून खोज्ने अभियान अन्यत्र पनि लैजाने योजनामा छौँ।”
नाटकमा नारी वेदना

सन्तोष |
सर्वनाम नाट्य समूह फेरि नाटक 'नयाँ अध्याय' लिएर देश दौडाहामा निक्लिएको छ। १५ दिनअघि धनगढीबाट शुरु भएको उसको नाट्ययात्रा मध्य र पश्चिमाञ्चल हुँदै राजधानी प्रवेश गरेको छ। नाटकमा ग्रामीण नारीको कथाव्यथा समेटिएको छ।
महिलाले पढ्ने रहर हुँदाहुँदै पारिवारिक दबाबका कारण वैवाहिक बन्धनमा बाँधिनुपर्ने, बलात्कार, सामाजिक शोषण र उत्पीडनको हृदयविदारक कथावस्तुसँगै प्रस्तुतीकरण र कलाकारहरूको जीवन्त अभिनयले नाटक उत्कृष्ट छ। अनमिन तथा राष्ट्रसंघीय जनसङ्ख्या कोषले आयोजना गरेको तथा अशेष मल्लको लेखन/निर्देशन रहेको नाटकमा सर्वनाम नाट्य समूहका एकदर्जन कलाकारले अभिनय गरेका छन्। १३ मङ्सिरमा भक्तपुरमा मञ्चित नाटक हेरिसकेपछि नेपालस्थित अनमिन प्रवक्ता किरण ड्वायरले हिमाल सँग नाटकको विषयमा यस्तो प्रतिक्रिया दिए, “नाटकले द्वन्द्वग्रस्त महिलाहरूको वस्तुस्थिति उजागर गर्नुका साथै शान्ति प्रक्रियामा महिलाको के भूमिका हुन्छ? भन्ने कुरामा उत्साह जगाएको छ।”
• बराइली |