खेलकुद
हेर्नेलाई जत्तिकै खेल्नेलाई मजा
हङ्गकङ्गको चोपाड टीम यस वर्षको हात्तीपोलो विश्वकप प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा चोपाडले स्कटल्याण्डको सिभासरिगललाई चारका विरुद्ध सात गोलले पराजित गरेको थियो। सिभासरिगलले नेपालको चितवन राष्ट्रिय निकुञ्जलाई सेमिफाइनलमा हराएको थियो। प्लेट च्याम्पियनसीपतर्फ नेपालको टाइगर टप्स् र अमेरिकाको एरिएन विलरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे। ३ मङ्सिरदेखि शुरु भएको सो प्रतियोगितामा नेपालसहित आइसल्याण्ड, भारत, स्कटल्याण्ड, हङ्गकङ्ग, अमेरिका, अस्ट्रेलिया, बेलायत र सिङ्गापुर गरी नौ वटा देशका १२ समूहले भाग लिएका थिए।
चितवनको टाइगर टप्स्ले विगत २६ वर्षदेखि मेघौलीमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यो नेपालमा सम्पन्न हुने एक मात्र विश्वकप प्रतियोगिता हो। हात्तीमा बसेर लामो लौरोले भुईको सानो बललाई गोलपोष्टमा छिराएर अङ्क बटुल्ने यो खेल खेलाडीका लागि मात्र नभई दर्शकका लागि पनि उत्तिकै मनोरञ्जक छ। हात्तीपोलोले पर्यटनको प्रवर्द्धनलाई पनि बढावा दिने गरेको नेपाली समूह चितवन राष्ट्रिय निकुञ्जका क्याप्टेन रामप्रित यादव बताउँछन्। उनी भन्छन्, “खेल जितेपछि कप त पाइन्छ नै, खेलमा हुने रमाइलो पक्षले पर्यटक पनि मोहित हुन्छन्।” यसवर्ष हात्तीका माउतेहरू नै खेलाडी बनेर प्रतियोगितालाई थप रोमाञ्चक बनाएका थिए।
हात्तीपोलो नेपाललाई चिनाउने खेल भएकाले हरेक वर्ष निरन्तरता पाउनुपर्ने टाइगर टप्स्का सञ्चालक मध्येका एक क्रिष्टन एडवडको धारणा छ। उनी भन्छन्, “यो खेलले गर्दा पर्यटकको सङ्ख्या पनि बढेको छ। खेल्ने र हेर्ने दुवैका लागि रोमाञ्चक हुनुका साथै हात्तीमाथि चढेर खेल्दाको रमाइलो अविस्मरणीय हुनेहुँदा यसलाई विश्वभर प्रचार गर्न सके पर्यटककोे सङ्ख्यामा थप वृद्धि हुनेथियो।'
मेघौलीको सिको गर्दै पर्यटकहरूलाई आकर्षित गर्न सौराहाका होटेल व्यवसायीहरूले पनि विगत पाँच वर्षदेखि हात्ती दौड प्रतियोगिता आयोजना गर्दै आएका छन्।
• किशोर खनाल, मेघौली |