हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०७ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

फुच्चे उस्ताद


शब्द/तस्बिरः मीनरत्न बज्राचार्य

यसपालिको दशैँ–तिहार बिदामा बज्रकला कुञ्ज नामक संस्थाले विद्यार्थीहरूका निम्ति आयोजना गरेको प्रशिक्षणमा प्रतीक पोखरेलले असाधारण क्षमता देखाएर सबैलाई चकित पारे। भानुभक्त मेमोरियल उच्च माविमा पाँच कक्षामा पढ्ने यी छात्रले एकसाथ १२ वटा मादल बजाएको देख्दा उनका गुरु न्हुच्छे राजा मणिकारसमेत चकित भए। ११ वर्षका यी बालकको प्रतिभाको सङ्गीत मर्मज्ञहरू समेत मुक्तकण्ठले प्रशंसा गर्दछन्।

विभिन्न ठाउँमा आयोजित १२ वटा एकल प्रदर्शनमा पाएको दर्शकहरूको प्रशंसाबाट प्रतीक निकै दङ्ग छन्। भविष्यमा गणितमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएका उनी भन्छन्, “मैले बजाएको मादलको ताल सुनेर दर्शक रमाएको देख्दा आनन्द आउँछ। त्यसैको लागि मात्र मैले यो कला सिकेको हुँ।”

आफ्ना दौँतरीहरू कम्युटर र टेलिभिजनका अर्थहीन खेल र कार्यक्रममा झ्ुम्मिएको देखेर दिक्क प्रतीक उनीहरूले पनि देशको कला सिके सांस्कृतिक धरोहर जोगिने विचार व्यक्त गर्छन्। वाह, फुच्चे उस्ताद!


उमेशको उडान

स्कूल–कलेजमा एक कक्षा माथिको किताबका कुरा पढ्ने उत्सुकता र जेको पनि गहिराइमा जाने बानीले डा. उमेश पुरी (३७) लाई जीवनमा निकै छिटो अगाडि बढायो। २८ वर्षकै उमेरमा पीएचडी गरिसकेका पुरीले दीक्षान्तको कालो कोट र ह्याट लगाउन समेत भ्याएनन्― पुल्चोक क्याम्पसमा बीईको अन्तिम जाँच दिनेवित्तिकै ब्याङ्ककको एआईटीमा एमई र त्यसको दीक्षान्तअघि नै टोकियो विश्वविद्यालयमा पीएचडी गर्न पुगेका उनले पीएचडीलगत्तै अमेरिकाको नेशनल साइन्स फाउण्डेसनको सहयोगमा इलिनोय विश्वविद्यालय, अर्बाना–शाम्पेनमा पोष्ट–डक्टरल अनुसन्धान गर्ने मौका पाइसकेका थिए।

चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका पुरी अहिले अमेरिकामै इञ्जिनियरिङ संरचनाको डिजाइन सफ्टवेयर निर्माता रिसा टेक्नोलोजिज्का अनुसन्धान तथा विकास निर्देशक छन्। यसअघि उनले त्यहीँको एडाप्ट कर्पोरेसनका लागि 'एडाप्ट–बिल्डर', 'एडाप्ट–पीटी' र 'एडाप्ट–एबीआई'जस्ता सफ्टवेयर बनाइसकेका थिए। उनी भन्छन्, “हातले डिजाइन गर्ने चलन हराइसक्यो। अब त काम दिनेले पनि कुन–कुन सफ्टवेयर चलाउन आउँछ भनेर सोध्छन्।” नेपालमा केही गर्ने इच्छा भएका पुरीले पुल्चोक क्याम्पसले यस्ता सफ्टवेयर चलाउन नसकेको थाहा पाएर केही पठाइदिएका थिए, अहिले चार–पाँच जना विद्यार्थीले काम गरिरहेको पाए। यहीँ जनशक्ति तयार गर्नसके विदेशी कम्पनीले नेपालमै काम दिन र आफ्ना शाखा समेत विस्तार गर्न सक्ने सम्भावना औँल्याउँदै उनले भविष्यमा आफ्नो पनि देशमै आएर यही क्षेत्रमा काम गर्ने योजना रहेको बताए।

सफ्टवेयरको प्रयोगबाट ठूला–साना भवन, पुल, भूमिगत संरचना, टावर, पानी ट्याङ्क आदिको सही डिजाइन र सुरक्षित एवं किफायती निर्माण गर्न सकिने बताउँदै उनी भन्छन्, “काठमाडौँको माटो र भौगोलिक बनोटमा अग्ला भवन बनाउन हुँदैन भनिन्छ। तर प्रविधिले यो समस्याको पनि समाधान दिइसकेको छ।” हाल फाउण्डेसन सफ्टवेयरमै काम गरिरहेका डा. उमेश पुरी यहाँ ४०–५० तले भवन मजाले बनाउन सकिनेमा विश्वस्त छन्। आशा गरौँ― उनको आत्मविश्वासले नेपालको शहरी आवास र साँघुरा बाटोघाटोको समस्या समाधानमा सहयोग पुर्‍याउनेछ।