देश
ज्यान बचाउन विस्थापित
तराईमा सशस्त्र सङ्घर्ष गरिरहेका विभिन्न समूहले कुनै पनि बेला ज्यान मार्ने धम्की दिएपछिसुनसरी, हरिपुरका सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। बराहक्षेत्र–६, जब्दीस्थित सप्तकोशी नदीकिनारमा कष्टपूर्ण जीवन बिताइरहेका ओमबहादुर श्रेष्ठ मधेशी टाइगर्स र जनतान्त्रिक तराई मुक्ति मोर्चाका दुवै समूहको लुटपाट खप्न नसकेर घर छाडी हिँड्नुपरेको बताउँछन्। उनी भन्छन्, “हतियार बोकेर मुखमा नकाव लगाएर आउँछन्। अनि कुटपिट, लुटपाट मच्चाउँछन्।”
श्रेष्ठका अनुसार हरिपुरका सय भन्दा बढी पहाडे मूलका वासिन्दाहरू यसरी घरबार छोडेर सुनसरीको जब्दी र पानमारा, मोरङको बेलबारी तथा झापाको सुरुङ्गा, लक्ष्मीझ्रर, मङ्गलबारे र देवीघाटलगायतका ठाउँमा पुगेका छन्। श्रेष्ठ बसेको ठाउँमा चित्रबहादुर कार्कीको गोठमा मात्रै ३० परिवारका करिब १५० जना बसिरहेका छन्, जसमध्ये दुई वर्षदेखि १५ वर्षका बालबालिका मात्र करिब ५० जना छन्।
गएको १४ साउनमा मधेशी टाइगर्सका कार्यकर्ताले हरिपुर–१ का टेकबहादुर कुँवरको हत्या गरेका थिए। विस्थापित परिवारका अनुसार यसअघि टाइगर्सका एक कार्यकर्तालाई सशस्त्र प्रहरीले मारेकोमा सुराकी गरेको आरोप लगाई कुँवररलाई मारिएको थियो। टाइगर्सका कार्यकर्ताले गाउँमा अरूलाई पनि सुराकीको आरोपमा सताउने गरेका छन्। धेरैले कुँवरको हत्यापछि टाइगर्सका कार्यकर्ताले मागेको रु.५० हजार चन्दा दिन नसक्दा ज्यान मार्ने धम्की पाएपछि कात्तिकको पहिलो हप्तादेखि गाउँ छोड्न थालेका हुन्।
“हतियारधारीहरू रात परेपछि घरमा आउँथे, अनि कुखुरा, खसी, बाख्रा, धनमाल लुटेर लैजान्थे”, चार जनाको परिवार भएकी तिलमाया लिम्बू भन्छिन्, “छोरीचेलीमाथि हातपात, दुर्व्यवहार हुन थालेपछि हामीले गाउँ छाड्यौँ।” श्रेष्ठ र तिलमाया जस्तै लुटपाट र हातपातको शिकार भएका गीता माझी, सृजना लिम्बू, पदमबहादुर तामाङ्ग, विष्णु सुब्बा लगायतका परिवार पनि प्रहरीलाई जानकारी गराउँदा समेत सुरक्षा पाउन नसकेकाले विस्थापित हुन बाध्य भएका हुन्। जिल्ला प्रशासन कार्यालयले विस्थापित परिवारको लागि जिल्ला रेडक्रसमार्फत् त्रिपाल, खाद्यान्न उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारी बताउँछन्।
• देवेन्द्र कार्की, सुनसरी
मूर्ति जोगाउने नौलो जुक्ति
पाल्पाको ताहुँ गाविस–७ स्थित रम्भादेवी मन्दिरको मूर्ति ३० वर्षदेखि पुजारीले डोकोमा बोकेर आधा किमी टाढा ताहुँ बजारबाट ल्याउने–लैजाने गरेका छन्। सदरमुकाम तानसेनदेखि ४० किमी टाढाको उक्त मन्दिरमा २०२८ र २०२९ सालमा दुईपटक चोरी भएकोले यसो गर्नुपरेको स्पष्ट गर्दै मूल पुजारी प्रेमनारायण पाण्डे भन्छन्, “पहिलेको धेरै पुरानो र सुनको जलप लगाइएको बहुमूल्य मूर्ति चोरी भयो। त्यसपछि प्रतिस्थापन गरिएको मूर्ति पनि हराउला भनेर यो जुक्ति निकालेका हौँ।”
भगवान रामको प्रसङ्गसँग सम्बन्धित मानिएको रम्भादेवी मन्दिरमा नेपालका विभिन्न ठाउँका साथै भारत र तिब्बतबाट समेत दर्शनार्थीहरू आउने गरेको पुजारी टीकाराम बस्याल बताउँछन्। यसले गर्दा पुजारीहरूलाई समयमा पूजापाठ सकेर मूर्ति उठाएर लैजान हतारो हुने र मध्यान्ह अगाडि मन्दिर नपुगे पूजा गर्न नपाइने स्थानीय दर्शनार्थी जमुना पाण्डे बताउँछिन्।
मन्दिरको आधा किमीकै दूरीमा प्रहरी चौकी भएपनि न प्रहरीले सुरक्षाको जिम्मा लिएको छ, न स्थानीयवासीले नै प्रहरीको विश्वास गर्न सकेका छन्। १० महिनाअघि पुनःस्थापित ताहुँ प्रहरी चौकीका इन्चार्ज लीलाबहादुर कार्की भन्छन्, “हामी चौकीभित्र मूर्ति राख्न त दिन सक्छौँ, तर चौकीमा सातजना मात्र भएकाले सबै गस्तीमा गएका बेला मूर्ति कुरेर बस्ने कोही हुँदैन।”
•
गोविन्द लुइँटेल, पाल्पा
अलपत्र बेलिब्रिज
दुई दशकअघि ब्रिटिश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको र झापाको देउनिया खोलामा राख्न लगिएको एउटा बेलिवि्रज वर्षौं उपयोग तथा मर्मतसम्भार नगरी कौडीको भाउमा बेच्न लागिएको छ। पुलका नटबोल्टदेखि अन्य धेरै सामान गायब भइसकेकाले जडान गर्न नसकिएको जिल्ला विकास समिति, झापाले जनाएको छ। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य द्रोणाचार्य क्षत्रीले हेटौँडाबाट मगाएको ८० मिटर लामो उक्त पुल कच्ची बाटोका कारण खोलासम्म लैजान नसकेर पूर्व–पश्चिम राजमार्गको छेउमा पर्ने चारपानेस्थित एक गोदाममा थन्क्याइएको थियो।
तत्कालीन जिल्ला पञ्चायतले भुक्तानी गर्नुपर्ने रु.१ लाख ७० हजारको पुल ढुवानी खर्च अहिलेसम्म नपाएको बताउँदै स्थानीय उद्योगी मोहन अग्रवाल भन्छन्, “मैले जिविसलाई बारम्बार भनेँ, तर वास्तै गर्दैनन्।” अहिले पुल बिक्रीका लागि सात दल सम्मिलित पाँच सदस्यीय समिति बनाइएको छ। समितिका अध्यक्ष पुष्प पोखरेलका अनुसार पुलका सामान प्रतिकेजी रु.२४.५० का दरले बेचिँदैछ। पोखरेल भन्छन्, “यसबाट करिब रु.६ लाख आउँछ। त्यो पैसा अन्य विकास निर्माणमा लगाउने योजना बनाएका छौँ।”
•
रेनुका खरेल, विर्तामोड
प्रथम अर्थशास्त्रीको निधन
मुलुककै प्रथम अर्थशास्त्री डा. यादवप्रसाद पन्तको ८२ वर्षको उमेरमा २८ कात्तिकमा निधन भएको छ। मुलुकको अर्थतन्त्र, विकास तथा कूटनीतिक क्षेत्रमा लामो समय बिताएका डा. पन्तले नेपालको आर्थिक विकासमा खेलेको भूमिका उल्लेख्य मानिन्छ। योजना आयोगको सदस्य, अर्थसचिव, नेपाल राष्ट्र ब्याङ्कको गभर्नर र आर्थिक आयोगका अध्यक्षको जिम्मेवारी समेत सम्हालेका अर्थशास्त्रमा विद्यावारीधी गर्ने प्रथम नेपाली डा. पन्त जापानका लागि राजदूत समेत रहिसकेका थिए। अर्थ, सामान्य, प्रशासन, वाणिज्य तथा आपूर्ति एवं जलस्रोत मन्त्रीका रूपमा मुलुकको आर्थिक विकासलाई नेतृत्व दिएका डा. पन्तले अध्यक्षको हैसियतमा एसियाली विकास ब्याङ्कलाई समेत नेतृत्व दिएका थिए। ब्याङ्क अफ काठमाडौंका संस्थापक अध्यक्ष स्व. पन्तका श्रीमती, तीन छोरा र एक छोरी छन्। आर्थिक विकासका यी महारथीप्रति श्रद्धाञ्जली!
युवा वैज्ञानिक बने नामूद ठग

ठग
डा. दीलिप अधिकारी। |
युवा वैज्ञानिक भनेर चिनिने डा. दीलिप अधिकारी रोजगारीका लागि जापान पठाइदिने बहानामा १११ जनासँग दुई करोड रूपैयाँभन्दा बढी उठाएर एक वर्षदेखि बेपत्ता छन्। सुनसरीको अमाहिवेला गाविस–७ मा एभरेष्ट साइन्स सेन्टर र शान्तिवन खोलेका अधिकारीको विराटनगर–१८ स्थित घर पनि बन्द छ। प्रत्येकसँग रु.१ लाखदेखि ८ लाखसम्म उठाएका अधिकारीले केहीलाई पैसा फिर्ता गर्ने बहानामा खातामा पैसा नभएको चेक समेत भिडाएका छन्। पीडितहरूको एक भेलाले गोविन्द थापाको अध्यक्षतामा १२ सदस्यीय शान्तिवन वैदेशिक रोजगार पीडित समिति गठन गरेर अधिकारीकोे तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ।
सेन्टरमा जापानी भाषा कक्षा समेत चलाउँदै आएका अधिकारीले २०६१ सालमा दुई सय जनालाई एकै पटक जापान लाने भनेर रु.८ लाख मागेपछि हुनेले एकमुष्ट र नहुनेले ऋण काढेर केही रकम बुझाएका थिए। नेपाल कमर्स क्याम्पस, काठमाडौँबाट बीबीएस गरेका सुनसरी, हासपोसा तरहराका दुर्गाप्रसाद पौडेल भन्छन्, “सयकडा चार रूपैयाँका दरले एक लाख रूपैयाँको ब्याज तिरिरहेको छु।” सुनसरीकै कृष्णबहादुर बुढाथोकी सयकडा तीन रूपैयाँका दरले रु.७ लाख ऋण गरेर पैसा बुझाएको बताउँछन्। ब्याज तिर्न नसकेर १० कट्ठा धानखेत बेचिसकेका बुढाथोकीलाई पैसा दिन्छु भनी काठमाडौँ बोलाएर कागज मात्र गरिदिएको उनी बताउँछन्।

ठगिएका पीडितहरू जिल्ला प्रहरी कार्यालय परिसर, मोरङमा। |
तीन वर्षअघि रु.२ लाख बुझाएका विराटनगरका विकास थापाले पैसा फिर्ता माग्दा अधिकारीले उनलाई खातामा रकम नभएको कुमारी ब्याङ्क विराटनगरको चेक दिएका थिए। अधिकारीको प्रलोभनमा उच्च माध्यमिक शिक्षा परिषद विराटनगरमा कार्यरत अनिल तिम्सिना र म्यानपावर कम्पनीमा कार्यरत धरानका अखण्ड पोख्रेलले पनि डेढ लाख रूपैयाँ बुझाएका छन्।
१९ कात्तिकमा पीडितहरूको समूह उनका ससुरा कृष्णराज कोइरालाको विराटनगरस्थित घरमा धर्ना दिन पुगेका र प्रहरीको मध्यस्ततामा कोइराला र उनका छोरा पुरुषोत्तमलाई रकम फर्काउन सहयोग गर्ने शर्तमा कागज गराई छाडेका थिए। पीडितहरूले भनेका सबै कुरा श्रीमतीसहित टोकियोमा बसिरहेका भिनाजुलाई फोनमा सुनाएको बताउँदै पुरुषोत्तम भन्छन्, “भिनाजुले सङ्कलन गरेको मध्ये ५० लाख रूपैयाँ जति उहाँ स्वयं र मैले पनि फर्काएका छौँ।”
• कमल आरएल, विराटनगर
तेहरो करको मारमा व्यापारी
इलामका व्यापारीले अदुवा, अलैँची र काठजस्ता कृषि उत्पादन र वन पैदावार निकासी गर्दा मेची राजमार्गको कोलबुङमा जिल्ला विकास समिति
(जिविस), माओवादीको योङ कम्युनिष्ट लिग
(वाईसीएल) र संघीय लिम्बूवान राज्य परिषद
(संलिराप) तीनथरिलाई 'कर' तिर्नु परिरहेको छ।
वाईसीएलले 'जनयुद्धमा पार्टीलाई लागेको ऋण तिर्न' भन्दै दुई महिनादेखि 'निकासी कर' उठाउँदै आएको हो। यसबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा ४ मङ्सिरमा बसेको सर्वपक्षीय बैठकमा माओवादी जिल्ला इञ्चार्ज रमणले “जनयुद्धमा लागेको ऋण तिर्ने वैकल्पिक व्यवस्था नभएसम्म वाईसीएलले निकासी कर सङ्कलन बन्द नगर्ने” बताए। संलिरापले चाहिँ 'लिम्बूवान गणराज्य स्थापनार्थ' भनेर कर उठाउने गरेको छ, जसबाट आएको रकमलाई लिम्बूवानवासीको मुक्ति आन्दोलनमा प्रयोग गरिने परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा बताउँछन्। उनी भन्छन्, “लिम्बूवान हाम्रो भूमि हो। आफ्नो जग्गामा गोरु नार्न कसैलाई सोध्न जरुरी छैन।”
व्यापारीहरूले अदुवा र अलैंचीमा वाईसीएललाई प्रतिबोरा क्रमशः रु.५० र १००, जिविसलाई रु.४० र १४ तथा परिषदलाई रु.१०० तिर्नुपर्छ। काठको गोलियामा चाहिँ वाईसीएल र परिषदले प्रतिगाडी रु.१५०० तथा जिविसले रु.२०० लिन्छन्। इलामबाट हिजोआज दैनिक ५० ट्रक अदुवा, अलैंची र काठ निकासी हुने गरेको छ। “माओवादीहरू शान्तिपूर्ण राजनीतिमा फर्केपछि अनावश्यक कर र चन्दाबाट मुक्ति पाइएला भन्ने सोचेका थियौँ। तर, अहिले त झ्न् तीनथरिलाई तिर्नु परिरहेको छ”, बिब्ल्याँटे बजारका अदुवा व्यापारी पदम पौडेल भन्छन्, “निकासी कर तिरेर मात्र पुग्दैन, नानाभाँतीका चन्दा पनि दिनुपर्छ। नदिए थर्काइहाल्छन्।”
• रोशन साँवा र सटेन्द्र जवेगू, इलाम
भेदभाव अमान्य
मन्दिरहरूमा कथित ठूला जातिले बलि दिएका राँगा दलितले खानुपर्ने विभेद विरुद्ध दलित समुदाय सचेत हुन थालेपछि सुदुरपश्चिममा तनाव सिर्जना हुँदैआएको र कतिपय ठाउँमा दलित–गैरदलितबीच झ्डप हुनेगरेको छ। गएको दशैँमा यो अपमानजनक परम्परालाई तोड्ने जमर्को गरेर राँगा नउठाउने सल्लाह गरेका स्थानीय दलितहरूले मङ्सिर सङ्क्रान्तिमा बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा लागेको मेलामा काटिएका ७२ वटा राँगा भने उठाएका छन्। यसअघि उदयदेव मन्दिरमा दलितहरूमाथि कुटपिट भएपछि त्रिपुरासुन्दरी र रौलेश्वरमा बलि दिइएका राँगा दलितहरूले लिएर गएका हुन्।
बैतडीका विभिन्न मठमन्दिरमा कात्तिक र मङ्सिरभरि मेला लाग्छन्। मेलामा दिइने राँगा र बोकाको बलिपछि बोका बलि दिनेले लैजान्छ भने राँगा चाहिँ दलितका लागि छुट्याइन्छ। त्रिपुरासुन्दरीमा काटिएका राँगाको व्यवस्थापन गर्ने विषयमा विवाद हुनसक्ने अनुमान गरेर स्थानीय प्रशासनले सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण खतिवडा बताउँछन्। तर यसअघि बैतडीकै उदयदेव र देहीमाण्डौंस्थित निङ्गलासैनी भगवतीको मन्दिरमा महानवमीमा बलि दिइएका राँगा नखाएको निहुँमा स्थानीय गैरदलितहरूले दलितहरूलाई कुटेेका थिए। पाटनस्थित उदयदेवको अर्को मन्दिरमा भने बलि दिइएका १६ वटा राँगा दलितहरूले खान नमानेपछि दुवै पक्षको समझ्दारीमा एसिड खन्याई खाल्डोमा पुरेर व्यवस्थापन गरिएको थियो।
उदयदेवको ज्यादतीमा प्रमुख हात रहेका पूर्व प्रहरी हवल्दार शेरबहादुर चन्द अहिलेसम्म पक्राउ परेका छैनन्। “हामीले दोषीहरूको खोजतलास जारी राखेका छौँ”, डीएसपी डिल्लीराज बिष्ट भन्छन्, “उनीहरू विरुद्ध मुलुकी ऐन अदलको महल १० (क) अनुसार जातीय विभेदको मुद्दा दर्ता भएको छ।” घटनाका पीडितहरूले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन्। दलितहरूमाथि कुटपिट भइरहँदा मेलाको सुरक्षार्थ खटिएका प्रहरी समेत मूकदर्शक बनेका थिए। घटनास्थल आफू बसेको स्थानबाट टाढा भएको र आफूहरू थोरै सङ्ख्यामा भएकोले नियन्त्रण गर्न नसकिएको बताउने इलाका प्रहरी कार्यालय, मेलौलीका प्रनानि नैनबहादुर धामीलाई नसिहतस्वरुप विभागीय कारबाही गरिएको डीएसपी बिष्टले बताए।
हेपेर दिइएका राँगा बहिष्कार हुनु दलित समुदायमा आएको चेतना ठान्छिन् दलित महिला परिषद् बैतडीकी अध्यक्ष सरस्वती नेपाली। दलितहरूले राँगा खान नमानेर कुटाई खानु मानवअधिकारको उल्लङ्घन मात्रै होइन, आफ्नो अस्तित्वमाथि पनि प्रहार भएको दलित अधिकारकर्मी पुरन सिंह दयाल बताउँछन्। सदियौँदेखिको पुरातन मान्यताका आधारमा भेदभाव गरिनु मानवअधिकार विरोधी काम भएको उनको भनाइ छ। नागरिक समाज, मेलौलीका लोकराज भट्ट पनि धार्मिक आस्थाका नाममा दलितहरूमाथि गरिएको आक्रमणलाई निन्दनीय भन्छन्।
घटनाको अध्ययनपछि मानवअधिकार सन्धि अनुगमन समन्वय समितिले जारी गरेको प्रतिवेेदनमा बैतडीमा दलितहरू लामो समयदेखि जातीय विभेदको शिकार भएको उल्लेख छ। जातीय विभेदसँग सम्बन्धित भएकोले दोषीलाई कानूनी कठघरामा ल्याउन अनुुसन्धान भइरहेको राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम क्षेत्रीय निर्देशक कोषराज न्यौपानेले बताएका छन्।
•
भोजराज जोशी, धनगढी
|