हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०७ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

अरूबाट सिकौं

कर्ण शाक्यको 'कहाँ पुगे अरू कहाँ छौं हामी' (१–१५ मङ्सिर २०६४) पढेपछि देश चलाउने राजनेताहरूको बुद्धिको बिर्को खुल्नुपर्ने हो। तर हाम्रा नेताहरूले विदेशको भ्रमणमा नै मस्त भएर राम्रो कुरामा ध्यानै नदिएपछि जनताले दुःख पाउने नै भए। संरक्षणवादी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले प्रस्तुत गर्नुभएको सानो उदाहरणबाट पनि देश हाँक्ने जिम्मेवारी लिएका नेता, प्रशासक र जनताले समेत थोरै भएपनि पाठ सिकेर आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सके नेपालको विकास असम्भव छैन। हामीले हाम्रो इतिहास र हामी जस्तै साना मुलुकले गरेको प्रगतिबाट सिकेर समयलाई खेर नफालिकन अगाडि बढ्ने हो भने विकास गर्न धेरै समय लाग्ने छैन।

दीपक श्रेष्ठ


कारबाही गरियोस्

हिमाल (१–१५ मङ्सिर २०६४) मा छापिएको कुन्दन अर्यालको सबैलाई झक्झक्याएर गए वीरेन्द्र ले मेरो ध्यानाकर्षण गर्‍यो। पत्रकार वीरेन्द्रकुमार साहलाई जसले अपहरण गरेर मार्‍यो उसैको प्रतिवेदनलाई विश्वास गर्नु सरकारकोे मूर्खता सिवाय केही पनि होइन। राज्यको चौथो अङ्ग मानिने पत्रकार कुनै चोर, डाँका र गुण्डागर्दीबाट नभएर संसदमा पुगेको नेकपा (माओवादी) बाट मारिएको छ। जिम्मेवार राजनीतिक पार्टीले राज्यको चौथो अङ्ग पत्रकार मारिँदा दोषीलाई कारबाही गर्न र पत्रकारको सुरक्षा दिन नसक्ने राज्यले कसरी ग्रामीण भेगमा बसेका सर्वसाधारण जनतालाई सुरक्षा प्रदान गर्ला भनेर विश्वास गर्ने? मान्छे मार्ने अनि कारबाही गर्‍यौँ भनेर दोषीको सरुवा, बढुवा रोक्ने, तह घटाउने र आन्तरिक कारबाही गरेको वहानाबाजी गर्ने खतरनाक प्रवृत्ति बढेर गएको छ।

के हत्यामा संलग्न भएको व्यक्तिलाई सरकारले सरुवा, घटुवा गर्दैमा पीडितले न्याय पाउँछ? हत्यारालाई आन्तरिक कारबाही गर्‍यौँ भन्दैमा माओवादीलाई छुट हुनसक्छ? मानवअधिकारको विश्वव्यापी घोषणापत्रको मूल्य मान्यता यही हो त? विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान–२०६३ मा यस्तै लेखिएको छ त? यसको जवाफ सरकारलगायत जिम्मेवार राजनीतिक दलले जनतासामु दिनै पर्छ। होइन भने पत्रकार वीरेन्द्रको हत्यालगायत जति पनि हत्याका घटनाहरू भएका छन् राज्यले छानबिन समिति बनाएर दोषीलाई कानूनको कठघरामा ल्याउनु पर्दछ। पीडित परिवारको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको जिम्मा राज्यले लिनुपर्दछ। दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउँदै कानूनी राज्य स्थापना भएको अनुभूति जनताले पाउनुपर्छ।

लोकबहादुर खड्का
पोखरीकाँड–४, सुर्खेत


श्रमको सम्मान गरौं

नेपाली समाजमा अझै पनि 'लुगामा फाइबर र जागिरमा ड्राइभर चुत्थो' भन्ने भनाइ प्रचलित छ। श्रमको सम्मान गर्न अझै बाँकी नै छ, हाम्रो समाजले। सुकिलो कोट र पाइन्टलाई मात्र इज्जत मान्ने हामीले श्रमको सम्मान गर्न कहिले सिक्ने? डम्बरकृष्ण श्रेष्ठले भने झैँ समाज र राज्यलाई गति दिने श्रमका पुजारी ती चालकहरूको हकहित र संरक्षणको लागि सरकारी तवरबाट विशेष व्यवस्था हुनुपर्ने देखिन्छ। अन्यथा समाज र राज्यले गर्ने हेय व्यवहारका कारण चालकहरूमा अरू थप निराशा र तनाव उत्पन्न हुन गई थप सवारी दुर्घटनाको संभावना रहन्छ। महिला सवारी चालकहरूका बारेमा पनि जानकारी उपलब्ध गराउनुभएको भए अझ बेस हुनेथियो।

समुद्र खनाल, पोखरा


भावनामा चोट पुग्यो

हिमाल को दशैँ अङ्कमा सीके लालको युवासम्बन्धी विश्लेषण पढेपछि देशको युवा नीति छर्लङ्ग भयो। सोही अङ्कको नेपालको राजनीतिमा अंक गणितीय जोडघटाउसम्बन्धी रिपोर्टिङ सान्दर्भिक छ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नेपाली काङ्ग्रेसमा २०५६ सालको पुरानो थोत्रो नवीकरण नगरिएको लाइसेन्स खोसिने डर त छँदैछ, त्यसमा नयाँ प्रपञ्चको रडाको मच्चाउँदै जनजातिको नाममा गोहीको आँसु बगाउने एमाले, मसाल समेत समानुपातिक निर्वाचन प्रणालीले जातीय हिसाब विखण्डन र साम्प्रदायिकता ल्याउने आरोप लगाएर बचेखुचेको अस्तित्व समेत गुमाउँदै छन्। जनताले लोकतन्त्रको अनुभूति गर्न विभिन्न वर्ग, समुदाय, जाति, जनजातिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने यो बाहेक अन्य आधार केही हुनसक्दैन। काङ्ग्रेस, एमाले, मसाललगायत पूर्ण समानुपातिकको विपक्षमा रहेका पार्टी पहिलेको जस्तै हिन्दू केन्द्रीकृत एकात्मक राज्यको पृष्ठपोषक हुन् भन्दा फरक नपर्ला।

रिपोर्टमा जेवी पुन मगरले खाम क्षेत्रका मगर भनेर कुन क्षेत्रलाई भन्न खोज्नुभएको हो? मगरात क्षेत्रमा बोलिने मगर भाषामा के अर्थ खामको? मगरात क्षेत्रभित्र दुई वटा समान अस्तित्व बोकेका मगर भाषा छन्। ती हुन्– मगर र काइके। तेस्रो मगरात क्षेत्रभित्र बोलिने मगर भाषा हो। यी तीन वटै भाषालाई मगर जातिको जातीय सङ्गठनले औपचारिक मान्यता र नेपाल सरकारले समेत समान अस्तित्व बोकेका भाषाको रूपमा परिभाषित गरिसकेको छ। यसरी मगरात क्षेत्रलाई तोडमोड गरी खाम क्षेत्र भन्नु मगरहरूको भावनाप्रति चोट पुर्‍याउनु हो।

झविन्द्रबहादुर पुन मगर
अर्घाखाँची


हिमाल को अनुरोध

तपाईंलाई हिमाल को यो अङ्क कस्तो लाग्यो? आगामी दिनहरूमा तपाईं कस्ता खाले सामग्रीहरूको अपेक्षा गर्नुहुन्छ? आफूलाई लागेको कुरा हामीलाई लेखिपठाउनोस्।
चिठीपत्र र प्रतिक्रियाहरू इमेल– hkp[at]himalmedia.com वा हिमाल को हुलाक ठेगाना पो.ब.नं. ७२५१, काठमाडौँमा पठाउनु होला।