हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०७ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ रिपोर्ट

बजार छ प्याज खेती गरौं

राजधानीको कालीमाटी तरकारी तथा फलफूल बजारमा महिनामा दुई करोड रुपैयाँ भन्दा बढीको प्याज बिक्री हुन्छ। हरेक महिना एक हजारदेखि ११ सय मेटि्रक टन प्याज खपत हुने यस बजारमा भारतको उत्पादनले ९७ प्रतिशत र नेपालको उत्पादनले तीन प्रतिशत मात्र स्थान ओगटेको छ।

नेपालमा प्याज खेती गर्दै नगरिने होइन। कृषि विभाग, तरकारी विकास निर्देशनालयको तथ्याङ्क हेर्ने हो भने २०६२–६३ मा १० हजार ५३८ हेक्टरमा गरिएको खेतीबाट १ लाख ५२ हजार टन उत्पादन भएको देखिन्छ। कालीमाटी बजारको त्यसै वर्षको औसत मूल्य प्रतिकेजी रु.१८.७३ ले हिसाब गर्ने हो भने रु.२ अर्ब ८५ करोडको प्याज देशमै उत्पादन भएको देखिन्छ। तैपनि नेपालको सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा ९७ प्रतिशत प्याज भारतबाट आउनुले नेपालमा प्याज खेतीको बजार ठूलो छ भन्ने सन्देश दिन्छ।

माछा, मासु, तरकारी, दाल, सलाद, फाष्ट–फूडलगायत विभिन्न किसिमका खाजाहरूमा नभई नहुने वस्तुको रूपमा उपभोग गरिने प्याजको खेती नेपालका तराई, पहाड, हिमाल सबै क्षेत्रका जिल्लाहरूमा हुन्छ। क्रमशः ३२ हजार ३२०, २० हजार र १६ हजार ७९० टन उत्पादन गरेर सप्तरी, सिरहा र बारा प्याज उत्पादनमा पहिलो, दोस्रो र तेस्रो स्थानमा आउँछन्। तर नेपालको एउटा प्रमुख तरकारी बजारमा आयातीत प्याज मात्र बिक्री हुनुले नेपालको प्याज स्थानीय तहमा मात्रै खपत हुने गरेको वा तथ्याङ्कमा मात्र देखिने गरेको हो भन्ने आशङ्का पनि खडा भएको छ।

जे भए पनि, नेपालमा प्याजको बजार भने पक्कै छ। भारतबाट मात्र नपुगेर कहिलेकाहीँ चीनबाट समेत प्याज आयात हुनु र अस्वाभाविक रूपले मूल्य बढ्दै जानुले पनि यही पुष्टि गर्दछ। पछिल्लो चार वर्षको कालीमाटी बजारको तथ्याङ्क हेर्दा २०६० सालमा ८ हजार ४०० टन भित्रिएको प्याज २०६३ मा १३ हजार टन पुगेको र यो वर्षको असोजसम्म ६ हजार टन पुगिसकेको छ। यो वर्षको दशैँताका यसको प्रतिकिलो उपभोक्ता मूल्य रु.४५–५० सम्म पुगेको थियो। त्यही मौका छोपेर कालीमाटीका ठूला प्याज–लसुन व्यापारी मानिने हरि कँडेल र हेमनारायण श्रेष्ठले चीनको सान्दोङबाट १२ दिन लगाएर प्याज झिकाए। अहिले पनि चीनको हनानबाट प्याज मगाइरहेको उनीहरू बताउँछन्।

कालीमाटी बजारमा आयातीत प्याज
साल (मे. टनमा)
०६० ८०७४
०६१ ९०६६
०६२ ९०९२
०६३ १२७३३
०६४ (असोज) ६०७३

यो वर्ष धेरै परिमाणमा ढिलोसम्म वर्षा भएको कारण भारतमा प्याजको उत्पादन घटेको र मूल्य बढेकोले यहाँ पनि महङ्गो भएको हो। तर चीनको प्याज बजारमा आएपछि भाउ घटेको छ। दशैँताका कालीमाटी बजारमा रु.३६–३७ पुगेको थोक मूल्य अहिले रु.२४–२५ मा झ्रेको भारतीय प्याज व्यापारी उज्वल कार्की बताउँछन्। अब भारतमा पनि नयाँ प्याज निस्किन थालेकोले मूल्य अझै घट्दै जाने व्यवसायीहरूको विश्वास छ।

प्याजको मूल्यकै कुरा गर्ने हो भने २०५५ असोज–मङ्सिरमा यसको प्रतिकेजी थोक मूल्य रु.७५ र खुद्रा मूल्य रु.१०० को हाराहारीमा पुगेकोले बजारमा खैलाबैला नै मच्चाएको थियो त्यसबेलाको प्याजको भाउले। केही व्यापारीले जर्मनबाट हरियो दाना भएको प्याज समेत झिकाएका थिए। यद्यपि भारतीय प्याजको स्वादमा बानी परेका नेपाली उपभोक्ताले त्यसलाई त्यति मन पराएनन्। शुरुमा केजीको रु.४०–५० मा बिक्री भएको जर्मनीको प्याज पछि भाउ घटाउँदा पनि नबिकेर घाटा सहनु परेको व्यापारीहरू सुनाउँछन्। चीनबाट आउनेमा पनि भारतीय जस्तै देखिने एकथरी प्याज भारतीय प्याज बराबरकै मूल्यमा र अलि ठूलो अर्कोथरी सात–आठ रुपैयाँ कममा बिक्री हुने गरेको हेमनारायण श्रेष्ठ बताउँछन्। ठूलो दाना हुने चिनियाँ प्याजमा पानीको मात्रा बढी र फरक स्वाद हुने हुनाले उपभोक्ताहरूले बढी मूल्य तिरेरै भएपनि भारतीय प्याज किन्न मन पराउने गरेको प्याज बिक्रेताहरू बताउँछन्।

थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने प्याजको नेपालमा पनि राम्रो उत्पादन हुने, राम्रो बजार र मूल्य भएको, भारतले लगभग पूरै बजार ओगटेको र चीनबाट समेत आयात गर्नु परेको स्थिति नेपाली किसानहरूका लागि प्याज खेतीमा ध्यान दिन प्रेरणा बन्न सक्छन्। कृषि तथा सहकारी मन्त्रालयले पनि कालीमाटी बजारमा भारतीय उत्पादनको आधिपत्य हेरेर नेपालले कुन–कुन कृषि उपजमा जोड दिनुपर्दछ भन्ने कुराको योजना बनाउन थालेको छ। विशेष गरी प्याजको लागि यस वर्षदेखि सरकारले सप्तरी, सिरहा, सर्लाही, धनुषा र बारामा विशेष कार्यक्रम नै ल्याएको छ। आगामी वर्षहरूमा बजारले यसको नतिजा बताउने नै छ।

तुलसी गौतम