अनुसन्धान प्रजनन स्वास्थ्य
मध्यपश्चिमका महिला
किन घरमै बच्चा जन्माउँछन्
मध्यपश्चिममा कम्मरमा रेलको टिकट बाँधेर, मुखमा रौं कोचेर, रूखमा झुण्डिएर र धुवाँले भरिएको कोठामा बसेर छिटो र सजिलोसँग बच्चा जन्माउन सकिने विश्वास गरिन्छ।
• जगत बस्नेत
'नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २००६'ले मध्यपश्चिम नेपालका ८७ प्रतिशत जनजाति र ८६ प्रतिशत दलित महिलाहरूले स्वास्थ्यकर्मीको सहयोग नलिई घरैमा परम्परागत तौरतरिकाले बच्चा जन्माउने गरेको देखाएको छ। यसो गर्दा अधिक रक्तश्राव, प्रजनन अङ्गमा सङ्क्रमण, लामो बेथा, बेहोसी, उच्च रक्तचाप, बच्चा अड्किने र सालनाल नर्झ्नेजस्ता जोखिमपूर्ण तथा प्राणघातक समस्याहरू उत्पन्न हुनसक्छन्। बाँके, रोल्पा र जुम्लाका दमाई, कामी, सार्की, थारू, मगर र लामा जातिका महिलाहरूले प्रजनन स्वास्थ्य तथा प्रसूति समस्यालाई कसरी लिँदा र समाधान गर्दा रहेछन् भन्नेबारे न्यू एराले गरेको एक अध्ययनबाट रोचक विवरणहरू भेटिएका छन्।
यी क्षेत्रका जनजाति र दलित महिलाहरू प्रसव बेथा लाग्दा दुखाई कम गर्न र बच्चा छिटो जन्माउन अच्चम लाग्दा उपायहरू अपनाउँछन्। बाँकेका दलित महिलाहरू रेलको टिकट कम्मरमा बाँधिदिँदा रेलको जस्तै तीब्र गतिमा प्रसव–गति बढ्ने र छिटो बच्चा जन्मने विश्वास गर्छन्। रोल्पाका बुढामगर महिलाहरूको विचारमा मुखमा कपालको रौं डल्लो पारी कोच्याइदिएमा वाक्वाकी लागेर बढी बल पुग्छ र शिशु बाहिर निस्कन्छ। जान्ने बोलाई अछेता, पानी, आगो, कुचो र औलो प्रयोग गरेर फुकफाक गर्दा लामो समय अड्किएको शिशु र सालनाल बाहिर आउँछ भन्ने पनि धेरैको विश्वास छ। रोल्पाकै दलित महिलाहरू वेथा शुरु हुने वित्तिकै रूखको हाँगामा दुवै हात बाँधी झुण्डिएर बल गर्दा बच्चा छिटो निस्कन्छ भन्छन्। जुम्लाका दलित महिलाहरू धुवाँले भरिएको कोठामा प्रसव गरायो भने उकुसमुकुस भई बल परेर बच्चा छिटो जन्मिन्छ भन्ने धारणा राख्छन्।
महिलाको प्रजनन स्वास्थ्यमा नैतिक र व्यावहारिक हिसाबले पुरुषको ठूलो भूमिका हुन्छ। तर अध्ययन क्षेत्रका घरपरिवारमा यो लगभग शून्य देखिन्छ। घोडागाउँ, रोल्पाका मगर महिलाहरू श्रीमानले छुन र स्याहार गर्न हुँदैन भन्छन् भने बाँकेका विश्वकर्मा समुदायमा प्रसव वेथा शुरु हुने वित्तिकै श्रीमानलाई खेततिर धपाउने चलन छ। घोडागाउँ, रोल्पाका घर्तीमगर महिलाहरूलाई चाहिँ यस्तो बेलामा श्रीमान् वा अरू कुनै लोग्नेमानिसले छोइदियो भने पनि वेथा लामो हुन्छ भन्ने विश्वास छ।
यस भेगका प्रायः सबै महिला लामो बेथा लाग्दा पेटको बच्चा र आमा दुवै थकित भएर बेहोस हुने वा मर्न सक्ने कुरा मान्छन्, तर यस्तो किन हुन्छ र हुन नदिन के गर्नुपर्छ भन्नेमा भिन्दाभिन्दै विचार राख्छन्। बाँकेका थारू महिलाहरू पेटमा हुने बच्चा 'जामजुट', 'धानचुरुवा', र 'हात्तीसूँड' नामक भूतहरूको सिकार भई अल्झेर बस्छन् र गुरुवाकहाँ गएर झारफुक गरे मात्र छिटो जन्मिन्छन् भन्ने विश्वास गर्छन्। जुम्लाका सार्की महिलाहरू चाहिँ बच्चाको खुट्टा मात्र निस्केर आमा बेहोस् भइन् भने स्वास्थ्य संस्था त लैजानु पर्छ, तर वनझाँक्री लागेको हुनाले झारफुक नगरी जङ्गलको बाटो लगेमा बच्चा र आमा दुवैको मृत्यु हुनसक्छ भन्छन्।
जुम्लाकै विश्वकर्मा महिलाहरूको अनुभवमा प्रसूतिको वेला महिलाको शरीर चिसो छ भने बेहोस हुनसक्ने हुनाले आगो नजिकै राखेर गरम तेलले मालिस गर्नु पर्दछ। टाउकोमा तेल लगाउँदा चक्कर लाग्दैन, हात–खुट्टामा लगाए शरीर फुल्दैन, ढाडमा लगाए बच्चा जन्माउन बल पुग्दछ, पेटमा लगाए बच्चा सुल्टो जन्मिन्छ र यौनाङ्गमा लगाए प्रजनन–मार्ग चिप्लो भएर बच्चा सजिलै जन्मिन्छ। तर स्वास्थ्य संस्थामा यी सबै कुरा गर्न नपाइने हुँदा सकेसम्म घरैमा बच्चा जन्माउनु जाती हुन्छ।
प्रजनन स्वास्थ्यको दृष्टिकोणले प्रसूति गराउने कोठा सफा, उज्यालो र हावा चल्ने हुनुपर्दछ। तर मध्य–पश्चिममा घर फोहोर नहोस् र पुरुषहरूले नदेखुन् भनेर अँध्यारो कोठामा, थोत्रो गुन्द्री, सुकुल वा पुराना कपडा प्रयोग गरेर गराइन्छ। रोल्पा र जुम्लाका महिलाहरू नवजात शिशुको तत्काल शुद्धीकरण हुन्छ भनेर गाईगोठलाई सुत्केरी गराउने पवित्र ठाउँ मान्दछन्। यसबाट हुनसक्ने सङ्क्रमण र टिटानसबारे उनीहरूलाई थाहा छैन।
जुम्लाका जनजाति महिलाहरू एक दिनको प्रसव वेथालाई र रोल्पाका दलित महिलाहरू प्रसव अवस्थामा रक्तश्राव हुनुलाई सामान्य ठान्छन्। बाँकेका थारू महिलाहरू गर्भवती र सुत्केरी अवस्थामा जीउ फुल्नु ठूलो कुरा होइन, तेल लगाएर मासु–जाँड खाएपछि आफैँ ठीक हुन्छ भन्छन्। स्वास्थ्यकर्मीहरूको विचारमा प्रसव वेथा १२ घण्टाभन्दा लामो भएमा तत्काल इमर्जेन्सी उपचार आवश्यक पर्छ। तर मध्य–पश्चिम क्षेत्रका कतिपय दलित र जनजाति महिलाहरूलाई चार–पाँच दिनसम्म पनि घरैमा राखिन्छ।
स्वास्थ्य संस्थामा नजानु वा ढिलो जानुको एउटा प्रमुख कारण कमजोर आर्थिक अवस्था हो, तर कतिपय सक्षम परिवारले यस्तै गर्छन्। लैङ्गिक विभेद, पछौटेपन, चेतनाको कमीसँगसँगै तालिमप्राप्त स्वास्थ्यकर्मी र औषधोपचारको अभाव यसका प्रमुख कारण मानिन्छन्। अध्ययन क्षेत्रका १३ वटा स्वास्थ्य चौकीमध्ये आधा जतिमा दक्ष प्रसूति सेवा प्रदायक स्वास्थ्यकर्मी थिएनन्, दुई वटा पियनले मात्रै चलाइरहेका थिए। टाढाको अस्पताल लैजान लाग्ने खर्च, कष्ट र झ्ञ्झ्टका कारण पनि धेरैले स्वास्थ्य संस्थामा नलैजाने, लैजान ढिलो गर्ने गरेको पाइयो।
बेलायतको अन्तर्राष्ट्रिय सहयोग संस्था डीएफआईडी र नेपाल सरकारले २०६२ देखि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान प्रेरित गर्न वितरण गरेको रु.५०० देखि १५०० को सुत्केरी भत्ताले पनि मध्य–पश्चिमका दलित र जनजाति महिलाहरूलाई त्यति प्रभाव पारेको देखिएन। एक त भत्ता पाइन्छ भन्ने कुरा धेरै महिलाहरूलाई थाहै थिएन, जसलाई थाहा थियो तिनले पनि रकम पाउन सकेका थिएनन्। जुम्ला र रोल्पाका केही महिलाहरूले चार महिनादेखि एक वर्ष ताकेता गरेर पनि नपाएको बताए।
बस्नेत न्यू एराका अनुसन्धान अधिकृत हुन्।
|