| • प्रदिप नेपाल |
 |
आवरण विश्लेषण
खमेररुज र माओवादी
माओवादीलाई माया गर्नु भनेको तिनीहरूभित्रको अन्योललाई चिरेर देखाइदिनु हो। तिनलाई घेर्ने विनाशकारी शक्तिको चिरफार गरिदिनु हो। यो काम सात दलका शीर्षस्थ नेताहरूले गर्नुपर्दछ।

कम्बोडियाका खमेररुज बाल सैनिकहरू।

किरण पाण्डे
|
| नेपालका माओवादी बाल सैनिकहरू। |
यतिबेला आफ्ना उग्रवामपन्थी चिन्तन र उट्पटाङ कामकारबाहीका कारण नेकपा (माओवादी) चर्चाको शिखरमा छ र त्यस पार्टीका नेताहरूको सन्तुष्टि हेर्दा आफूलाई घेर्दै लगेका विनाशकारी शक्तिहरूको घेराबन्दीका बारेमा तिनले कुनै खुटखबर पाउन सकेका छैनन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ। माओवादी मात्र होइन तिनलाई सप्रिन माया गर्नुपर्छ भन्ने एमाले, काङ्ग्रेस आदित्यादि पार्टीका नेताहरूले पनि परिस्थितिको गम्भीरतालाई बुझेका छैनन्।
माओवादीलाई माया गर्नु भनेको तिनीहरूभित्रको अन्योललाई चिरेर देखाइदिनु हो। तिनलाई घेर्ने विनाशकारी शक्तिको चिरफार गरिदिनु हो। उनीहरूभित्र रहेको उग्रवामपन्थी सोचले उनीहरूलाई नै समाप्त पार्नसक्ने ठूलो विनाशको चर्चा गर्नु हो। नेपालको राजनीतिमा यस्तो काम गर्ने जिम्मा चाहिँ सात दलका शीर्षस्थ नेता एवम् सातदलीय कार्यदलमा खटिएका वरिष्ठ नेताहरूकै हो। तर दुःखका साथ भन्नुपर्छ, ती दुवैले अहिलेसम्म माओवादीको हिंसा, अराजकता र जनविरोधी क्रियाकलापलाई ठीक र आवश्यक मात्रामा आलोचना गरेर सम्झाउने काम गरेका छैनन्। पातहरू चुँडेर तिनीहरू उग्रवामपन्थको जरो उखेल्ने भाषण मात्र गरिरहेका छन् अहिलेसम्म। लगालग माओवादीसँग वार्तामा बसिरहने नेताहरूले प्रस्ट बुझनुपर्छ– उग्रवामपन्थी राजनीतिको कुनै भविष्य छैन भन्ने ठोस यथार्थको ज्ञान नभएसम्म माओवादी पार्टीका नेताहरूबाट दिनदिनै बिगारा कामहरू भइरहने छन्। संविधानसभाको निर्वाचनमा आइदिनु पर्यो भन्ने अनुरोध–वाक्यले माओवादीलाई उनीहरूको पुरातन जडपन्थी मनोवृत्तिबाट बाहिर निकाल्न र जनताको साथी बनाउन सकिँदैन।
एउटा चर्चा सुनिएको छ― माओवादी पार्टीभित्र वैचारिक द्वन्द्व चर्किएको छ। यो कुनै नौलो र आत्तिनुपर्ने कुरो होइन। सिद्धान्त, विचार र नीति बोकेर हिँड्ने जुनसुकै पार्टीमा पनि वैचारिक द्वन्द्व हुन्छ। नेकपा एमालेभित्र जनताको बहुदलीय जनवादलाई मान्ने कि नमान्ने, मान्दा कसरी मान्ने, नमान्दा कस्तो कार्यक्रम अघि सार्ने भन्ने विवाद चलिरहेको छ। आफ्नो पुरानो समाजवादी सिद्धान्त बेचेर खाइसकेको काङ्ग्रेस पार्टीमा पनि हठ र षड्यन्त्रको बलमा राजतन्त्रलाई जोगाउँदै जाने कि त्यसलाई समाप्त पारेर पार्टीलाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने भन्ने विवाद प्रस्टै देखिएको छ। मसाल–एकताकेन्द्रको विभाजन पनि वैचारिक बहस सञ्चालनमा देखिएको समस्याकै कारण भएको हो। त्यसै हुनाले माओवादी पार्टीभित्र वैचारिक द्वन्द्व चर्किएको छ भनेर उनीहरूप्रति अतिरिक्त दया देखाउनु भनेको प्रकारान्तरमा माओवादी पार्टीलाई समाप्तिको दिशातिर उन्मूख गराउनु नै हो। किनभने कुनै पनि पार्टीभित्रको वैचारिक द्वन्द्वको समाधानका लागि सबैभन्दा ठूलो चिन्ता सोही पार्टीका नेता र कार्यकर्तामा हुनुपर्छ।
भिन्नभिन्न कोणबाट आएको जानकारीले भन्छ– माओवादी पार्टी माथि 'रिम' र 'कम्पोसा'को अत्यन्तै डरलाग्दो दबाब छ। फिलिपिन्सको कम्युनिस्ट पार्टीले पनि माओवादी नेताहरूलाई बेस्सरी पेलेको छ। यदि यो जानकारी वास्तविक हो भने खाली माओवादीका लागि मात्र होइन, रिम र कम्पोसाको उग्रवादलाई मित्र मान्ने तमाम नेपाली उग्रवामपन्थीहरूका लागि अपमानको विषय हुनुपर्छ। यदि यो सत्य हो भने माओवादीले 'भारतीय विस्तारवाद मुर्दावाद' भन्नु आफँैप्रतिको व्यङ्ग्य मात्र हुन्छ। आखिर कम्पोसा भनेको पनि नेपाललाई भाइ देख्ने उही दक्षिणतिरको उग्रवामपन्थी मृत्युको बाहक बन्दुके शक्ति न हो। विस्तारवाद खाली पूँजीवादको खोल ओढेर मात्रै आउँदैन, त्यो क्रान्तिको डरलाग्दो भयावहता बोकेर पनि आउँछ। जसरी त्यो केही दशक पहिले कम्बोडियामा आएको थियो।
तर यस्ता सानामसिना कुराले माओवादीमा अहिलेको अन्योल, अस्पष्टता र प्रतिगामी सोच हुर्किएको होइन। यथार्थमा माओवादी पार्टीभित्रको समस्या भनेको त्यसमा रहेको जडता हो। मार्क्सवादीहरू एउटा शब्दको प्रयोग गर्दछन्– जडसूत्रवाद। समयको गतिसँगै अघि बढ्ने गत्यात्मकता नभएको संस्था वा शक्तिलाई उनीहरू जडसूत्रवादी भन्ने गर्छन्। त्यो जडसूत्रवाद आमरूपमा जनताको विपक्षमा हुन्छ भन्ने निष्कर्ष पनि उनीहरूले निकालेका छन्। अहिलेको माओवादी पार्टी यही जडताको शिकार भएर राजनीतिको ओरालोमा दौडिन थालेको हो। अहिले पनि माओवादी पार्टीका नेता र कार्यकर्ताहरू मृत्यु मात्र उपहार दिनसक्ने बन्दुकलाई तिरस्कार गर्न सकिरहेका छैनन्। माओवादीको कुनै पनि तह धाक, धम्की, कुटपिट र मारकाटको पुरानो विमारीबाट मुक्त हुन सकिरहेको छैन। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता शब्दहरूको महत्व माओवादीका लागि फगत शब्दमा सीमित भएको छ। 'जनता'लाई उनीहरू शब्दका रूपमा बुझदछन् र त्यो शब्द उनीहरूको 'उपभोगको वस्तु' मात्र भएको छ।
जनताको सार्वभौमसत्तालाई कहिल्यै स्वीकार्न नचाहने माओवादीको निरङ्कुश शासकीय सोच आम रूपमा सबैखाले उग्रवादी शक्तिहरूको सार्वभौम चरित्र हो। त्यो दक्षिणपन्थी होस् वा वामपन्थी होस्, उग्र विशेषण लाग्ने बित्तिकै त्यसलाई निरङ्कुश भन्ने निष्कर्ष दिइहाल्नुपर्छ। दक्षिणपन्थी निरङ्कुशता जसरी तिरस्कृत भएको छ नेपाली राजनीतिमा, त्यत्तिकै तिरस्कृत हुनुपर्छ उग्रवामपन्थी निरङ्कुशता पनि।
यदि माओवादीहरू सुध्रन र राष्ट्रिय राजनीतिको मूलधारमा समाहित हुन चाहन्छन् भने उनीहरूले वर्तमानसम्म काँधमा बोकेर ल्याएको राजनीतिक जडताबाट मुक्त हुनुपर्छ। अबको दुनियाँमा कुनै रूपको अधिनायकत्व चल्दैन भन्ने शाश्वत सत्यलाई उनीहरूले स्वीकार गर्नुपर्छ। मार्क्स र एङ्गेल्सले अव्यवस्थित रूपमा छरिएको जनताको सत्ता स्थापना गर्ने दर्शनलाई एकठाउँमा समाहित गरेर साम्यवादको परिकल्पना गरेका थिए। साम्यवादको परिकल्पना लोकतन्त्रको सबैभन्दा उन्नत रुप हो भन्ने सत्यबोध उनीहरूले सन् १८४८ मै गरिसकेका थिए। मार्क्स–एङ्गेल्सको मार्क्सवादमा अधिनायकत्वको कुनै स्थान थिएन। किनभने विश्वभरिका सबैखाले कम्युनिस्टहरूका लागि गीता मानिने कम्युनिस्ट पार्टीको घोषणापत्रमा उनीहरूले भनेका छन्, “हामीसँग एउटा यस्तो सङ्गठन हुनेछ जसमा प्रत्येकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको पूर्वशर्त हुनेछ।”
अर्थात् कम्युनिस्ट पार्टीको सदस्यताको पहिलो अधिकार हो– उसको स्वतन्त्र विकास। यही स्वतन्त्र विकासको दर्शनले कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति बनाउँछ भन्ने ज्ञान नेपालका सबै राजनीतिक व्यक्ति र संस्थाहरूले बुझनुपर्छ। माओवादीका लागि त यो अनिवार्य ज्ञानको क्षेत्रभित्र पर्नुपर्दछ।
माओवादी पार्टीको दार्शनिक आधार चिनियाँ क्रान्तिका नेता माओत्सेतुङ्गका विचारहरू नै हुन्। माओवादीले बढी पढेका भए लेनिनका रचनाहरूसम्म पढेका होलान्, तर मार्क्सवादका प्रधान स्रष्टा एवम् सम्पादक मार्क्स र एङ्गेल्सलाई पढेका छैनन्। माओवादीका क्रान्तिकारी शब्दावलीहरू आधारभूत रूपमा १९३० को दशकमा माओत्सेतुङ्गद्वारा रचिएका निबन्धहरूभित्र रुमल्लिएका हुन्छन्। उनीहरूले सूत्रबद्ध गरेको सिद्धान्त 'मार्क्सवाद–लेनिनवाद–माओवाद–प्रचण्डपथ'ले यो साँघुरो संरचनालाई राम्ररी प्रदर्शित गर्दछ। गएको ५० वर्षको उथलपुथलले पुष्टि गरेको सत्य के हो भने लेनिनका मान्यताहरू तत्कालीन रूसी क्रान्तिका अनुभवहरू मात्र हुन् भने माओत्सेतुङ्गले अघि सारेका मान्यताहरू चिनियाँ किसान क्रान्तिसँग आधारभूत रूपमा जोडिएका छन्। आजको नेपाल लेनिनको रूस जस्तो पनि छैन र माओत्सेतुङ्गले आफ्ना मान्यताहरू स्थापित गरेका चीन जस्तो पनि होइन। त्यसैले लेनिन, माओत्सेतुङ्ग, होचिमिन्हलगायतका नेताका सैद्धान्तिक राजनीतिक निष्कर्षहरू अध्ययनका लागि हामीलाई काम लाग्ने हुनसक्छन्, तर प्रिय सूत्र हुन सक्दैनन्। सूत्रहरूले नेपाली समाजको आमूल परिवर्तनको प्रक्रियालाई अघि बढाउन सक्दैनन्।
समाजवाद सबै क्षेत्रमा पूँजीवाद भन्दा उत्कृष्ट हो भन्ने ज्ञान पनि माओवादीहरूमा छैन। अहिलेसम्म विश्वका सबै कम्युनिस्ट पार्टीहरूका लागि निर्विवाद ग्राह्य रहेका कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट पार्टीको चरित्रका बारेमा यस्तो निष्कर्ष निकालेका छन्, “हामी ती कम्युनिष्टहरू भन्दा भिन्न छौँ जो व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्न लागिपरेका छन्, जो संसारलाई एउटा ठूलो ब्यारेक या भीमकाय गोदाम बनाउन चाहन्छन्। निश्चय पनि यहाँ त्यस्ता कम्युनिष्टहरू छन् जो व्यक्तिगत स्वतन्त्रतालाई स्वीकार्न चाहँदैनन् र यसलाई संसारबाट बिदा गर्न चाहन्छन् किनभने उनीहरूको ठम्याइमा स्वतन्त्रता, पूर्ण सामञ्जस्यताको वाधक हो। तर हामी स्वतन्त्रतालाई समानतासँग साट्न चाहँदैनौँ। हामी कुन कुरामा विश्वस्त छौँ भने सामाजिक स्वामित्वमा आधारित समाजमा जति अरू कुनै सामाजिक व्यवस्थामा पनि व्यक्तिगत स्वतन्त्रताको सुनिश्चितता हँुदैन।”
माओवादीको सबैभन्दा ठूलो भ्रम नै समाजमा व्यक्ति, प्रेस तथा नागरिकको भूमिकासँग जोडिएको छ। उनीहरूको निष्कर्षमा स्वतन्त्र प्रेस उनीहरूका लागि चिताइनसक्ने गरी अराजक हुन्छ, स्वतन्त्र व्यक्ति उनीहरूको दासत्वबाट बाहिरै बस्न चाहन्छ तथा स्वतन्त्र नागरिक आफ्नो सार्वभौम अधिकारप्रति सचेत हुन्छ। त्यसैले माओवादी पार्टीका नेता र कार्यकर्ताहरू व्यक्ति, प्रेस र नागरिकलाई आफ्नो कठोर नियन्त्रणमा राखेर मात्रै तह लगाउन सकिन्छ भन्ने गलत तथा पुरातनपन्थी सोचबाट सञ्चालित छन्।
माओवादीलाई माया गर्ने सबै राजनेताले बुझ्ून्– माओवादीहरू यही सोचबाट निर्देशित भइरहे भने उनीहरूको भाग्य पनि कम्बोडियाका खमेररुजको भन्दा पृथक् हुने छैन। यो कुनै भविष्यवाणी होइन, किनभने माओवादीले विगतमा एकपल्ट राजतन्त्रसँग कार्यगत एकता गरेर संसदवादी शक्तिलाई परास्त गर्ने कार्यनीति तय गरेकै थियो। माओवादी पार्टीको त्यो कार्यनीति निरङ्कुशतासँगकै सहकार्य थियो भन्ने निष्कर्षको विमतिमा अहिलेका कुनै पनि राजनेता जान सक्दैनन् होला। |