अर्थ
बजार
हिमालयन ब्याङ्कको नयाँ शाखा
शहरी क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा हिमालय ब्याङ्क लिमिटेडले काठमाडौँको टेकुमा १६ औँ शाखा सञ्चालनमा ल्याएको छ। यस शाखाबाट ग्राहकहरूले सामान्य ब्याङ्किङ सेवाहरूका अतिरिक्त विप्रेषण भुक्तानी, मनी ट्रान्सफर, लकर, एटीएमजस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
फास्ट ट्रयाक गगल्स् बजारमा
नेपाली युवाहरूलाई लक्षित गरी नेपाल इन्टरनेशनल विजनेसले भारतको घडी निर्माता कम्पनी टाइटन को उत्पादन फास्ट ट्रयाक ब्राण्डका चश्माहरू (गगल्स) को बिक्री शुरु गरेको छ। 'हाई अप्टीकल ग्रेड पोलिकार्बोनेट लेन्स' प्रयोग गरिएका कारण यी चश्माहरू प्रकाश प्रतिरोधक, सफा दृष्टि तथा विकिरण सुरक्षित रहेको दाबी बिक्रेताको छ। चश्माको बजार मूल्य रु.१२०० देखि रु.३००० सम्म रहेको छ।
अर्को नयाँ वाणिज्य ब्याङ्क
मुलुकको २२ औँ वाणिज्य ब्याङ्कको रूपमा ब्याङ्क अफ एशिया नेपाल लिमिटेडले कारोबार शुरु गरेको छ। अधिकृत पूँजी रु.२ अर्ब, जारी पूँजी रु.१ अर्ब र चुक्ता पूँजी रु.७० करोड रहेको यस ब्याङ्कले आगामी २ देखि ३ वर्षभित्रमा आफूलाई ब्याङ्कहरूको पंक्तिमा अग्रस्थानमा उभ्याउने दाबी गरेको छ। सर्वसाधारणहरूलाई सम्पूर्ण ब्याङ्किङ सेवा दिनुका सबै क्षेत्रलाई लगानीको दायराभित्र ल्याउने र मुलुकका विभिन्न शहरहरूमा शाखा विस्तार गर्दै जाने योजना ब्याङ्कको छ।
ह्वाइट मिसचिफ भोड्का बजारमा
भोद्का पारखीहरूका लागि युनाइटेड स्पिरिट नेपाल प्रा.लि. (यसअघि म्याकडवेल नेपाल लिमिटेड) ले अन्तर्राष्ट्रिय स्तरको ह्वाइट मिसचिफ भोद्का बजारमा ल्याएको छ। उच्च गुणस्तरको स्पिरिट र अन्तर्राष्ट्रिय स्तरको प्रविधिबाट उत्पादन गरिएको हुँदा ह्वाइट मिसचिफको सेवनमा विशिष्ट स्वाद मिल्नुका साथै 'ह्याङ्गओभर' नहुने दाबी कम्पनीको छ। १८० मिलि, ३७५ मिलि र ७५० मिलि बोतलमा उपलब्ध यसको बजार मूल्य क्रमशः रु.१२५, रु.२४० र रु.४६० रहेको छ।
पुरस्कारसँगै फोटो पनि छापिने
आफ्ना उत्पादनको बजार प्रबर्द्धन गर्ने क्रममा एसिएन थाई फुड्स प्रा.लि.ले रमपम रिच एण्ड फेमस उपहार योजना ल्याएको छ। योजना अन्तर्गत रमपम चाउचाउको प्याकेटभित्र राखिएका कुपनलाई 'स्क्र्याच' गरी उपभोक्ताहरूले रु.१ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन्। रु.१० हजार भन्दा माथिको पुरस्कार विजेतामध्येबाट गोलाप्रथाद्वारा छानिएका व्यक्तिको तस्विर रमपम को प्याकेटमा छाप्नेे अवसर प्राप्त हुनेछ। यस योजनाबाट रमपमले उपभोक्ताहरूमाझ् थप लोकप्रियता कमाउने कम्पनीको दाबी छ।
पोखरामा साङ्ग्रिलाको सन्ध्याकालीन काउन्टर
ग्राहकहरूलाई थप सेवा दिने उद्देश्यका साथ साङ्ग्रिला विकास ब्याङ्कले पोखरामा सन्ध्याकालीन काउन्टर शुरु गरेको छ। प्रबन्धक बुद्धि मल्लका अनुसार ब्याङ्कले आफ्ना ग्राहकहरूलाई एटीएम कार्ड वितरण गर्ने तयारीमा रहेको यस ब्यांकले कास्की, बाग्लुङ, तनहुँ, नवलपरासी, रुपन्देही, चितवन, मकवानपुर, पर्सा, काभ्रेपलाञ्चोक र सिन्धुली गरी १० जिल्लामा ब्याङ्किङ सेवा पुर्याइरहेको छ।
ल्याक्मेका नयाँ सौन्दर्य प्रशाधन
छालालाई १२ घण्टासम्म स्वच्छ र कोमल राख्ने दाबीकासाथ सौन्दर्य प्रशाधनका उत्पादक लेक्मीले आफ्ना दुई नयाँ उत्पादनहरु विन्टर केयर र पिच मिल्क ब्राण्डका 'मोइस्चराइजर' बजारमा ल्याएको छ। ६० र १२० मिलि को प्याकमा उपलब्ध यी मोइस्चराइजरहरुमध्ये विन्टर केयरको बजार मूल्य क्रमशः रु.३९ र रु.७८ रहेको छ भने पिच मिल्कको क्रमशः रु.५२ र रु.९९।
नेबिलको टोयोटा कार जनार्दनलाई
नेबिल ब्याङ्कले वार्षिक रुपमा सञ्चालन गर्ने नेबिल बचत योजना अन्तर्गत खाता नं. ०११००१३६२३१०१ का जनार्दन बरालले टोयोटा इको कार प्राप्त गरेका छन्। यस योजनाअन्तर्गत प्रत्येक महिना ६ जनाले रु.१ लाखका दरले र हरेक महिना छानिएका १० जना विजेताहरू समेत गरी कुल १२० जनामध्येबाट वर्षको एकजनाले टोयोटा कार जित्ने गरेको जानकारी ब्याङ्कले दिएको छ। यससँगै नेपाल राष्ट्र ब्याङ्ककले यस्ता उपहार योजनामा रोक लगाएका कारण यो योजना पनि बन्द गरिएको छ। यद्यपी योजनामा दिँदै आएको ४220 ब्याजदर भने बचतकर्ताहरुले पाउने छन्।
|