सम्झाना
सबैलाई झक्झक्याएर गए वीरेन्द्र
सात वर्षअघि चन्द्रनिगाहपुर, रौतहटमा भएको पत्रकारिता अभिमूखीकरण तालिममा सहभागी पच्चीस जनामध्ये एकजना सिकारु तर अत्यन्त जिज्ञासु मधेशी पत्रकार पनि थिए। त्यही जिज्ञासा र लगनशीलताले उनलाई छिटै नै एक साहसी र सक्रिय पत्रकारका रूपमा स्थापित गरायो। छापा, रेडियो र टेलिभिजन पत्रकारितामा सँगसँगै सक्रिय ती सहकर्मी नेकपा (माओवादी) को ज्यादतीको पछिल्लो शिकार भएका छन्। माओवादीबाट मारिएका नेपाली पत्रकारहरूको सूचीमा उनको नाम पनि थपिन पुगेको छ।
एउटा सातदिने आधारभूत प्रशिक्षणपछि नै वीरेन्द्रकुमार साह पत्रकारका रूपमा सक्रिय हुन थालेका थिए। तर उनको सिक्ने उत्साह सधैँ उस्तै थियो। दुई वर्षअघि काठमाडौँमा भएको अर्को चारमहिने पत्रकारिता तालिममा उनी बडो तन्मयका साथ सहभागी मात्र भएनन्, फर्केर जाँदा उनले ठूलो परिमाणमा पुस्तकहरू लिएर गए। राजनीतिशास्त्री हरि शर्मा उनलाई सम्झिन्छन्, “मसँग समय लिएरै कुराकानी गरेपछि वीरेन्द्रले थुप्रै किताबहरू किनेर लगेका थिए।” त्यसपछिका समयमा उनले कैयन् खोजमू्लक समाचार सामग्रीहरू तयार पारे।
तर बाराको एउटा पिछडिएको गाउँ–ठाउँमा हुर्किएर नेपाली पत्रकारितामा स्थापित हुन सफल एक सङ्घर्षशील कलमजीवी वीरेन्द्रको नाम अब माओवादीहरूबाट मारिएका सात जना नेपाली पत्रकारको पङ्क्तिमा सामेल हुन पुगेको छ। वीरेन्द्र साह हत्या प्रकरणमा माओवादीले गरेको सय चोटि दोहोर्याएर झूठलाई सत्यका रूपमा स्थापित गर्ने प्रयास अन्ततः विफल भयो। तर अभिव्यक्ति स्वतन्त्रताको प्रबल पक्षधर नेपाली प्रेसका सामु उनका हत्याराहरूलाई न्यायको कठघरामा उभ्याउने कठिन चुनौती छ।
१८ असोज दिउँसो उनको अपहरण हुने वित्तिकैदेखि कलैया, वीरगञ्ज र काठमाडौँका पत्रकार र अधिकारकर्मीहरू सशङ्कित र सक्रिय भइसकेका थिए। तर अपहरणको एकसातासम्म पनि स्थानीय प्रशासनले घटनाको अनुसन्धानको दिशामा उल्लेखनीय केही गर्न सकेन। प्रहरीलाई गृह प्रशासनले गम्भीरतापूर्वक परिचालन नै गरेन। साहकी पत्नीले दुई बालबालिका आफूसाथै ल्याएर पुष्पकमल दाहालसँग पतिको मुक्तिको माग नगरेसम्म माओवादीले ढाँटी नै रह्यो। सरकार र खासगरी गृहप्रशासन माओवादीको ज्यादतीका सामु रमिते भइरह्यो। सञ्चार मन्त्रीसमेत भइसकेका माओवादी नेता कृष्णबहादुर महराले उनको अवस्था बताएर मुक्तिका निम्ति पहल गरिदिन अनुरोध गर्ने वीरेन्द्रका सहकर्मी पत्रकार गगन विष्टलाई १९ असोजमा हप्काउँदै भन,े “तपाईहरू जुन घटनामा पनि माओवादीको हात देख्नुहुन्छ, यसमा माओवादी कार्यकर्ताको हात रहेनछ भने ठीक हुने छैन नि!”
घटनाको तेश्रो दिन वीरेन्द्रलाई अपहरण गरिएको गाउँसम्मै पुगेर सारा तथ्य हात पारिसकेपछि अधिकारकर्मी र पत्रकारहरूको टोली माओवादी जिल्ला इञ्चार्ज अनिल श्रेष्ठकहाँ पुगेको थियो। अनिलले त्यसबखत बोलेका कुराहरू रेकर्डसमेत गरिएका छन्। उनले भनेका थिए, “यो घटनामा माओवादीका जिम्मेवार जिल्ला नेता लालबहादुरको कुनै हात छैन।” त्यसबखत उनको सम्पूर्ण प्रयास झूठलाई सत्यका रूपमा स्थापित गर्ने नै थियो।
तर वीरेन्द्रलाई सार्वजनिक गरिनुपर्ने माग केही दिनभित्रै देशव्यापी रूपमा उठ्यो। सँगसँगै मागप्रतिको ऐक्यबद्धता विश्वव्यापी रूपमा प्रदर्शन हुन थाल्यो। त्यसपछि बल्ल माओवादीले छानबिनको नाटक गरेर अपहरणकारी र हत्याराहरूको नाम सार्वजनिक गर्यो। माओवादीको झूठ टिक्न सकेन। एक महिनासम्म घटनामा आफ्ना कार्यकर्ताहरूको संलग्नता अस्वीकार गर्ने माओवादीले अन्ततः आफ्नो प्रतिवेदनमा शुरुदेखि लागेका सबै आरोपहरूको पुष्टि गर्यो। ती सबै नामहरू माओवादी छानबिन टोलीले जस्ताको त्यस्तै दोहोर्यायो, जो त्यसअघि पत्रकार महासंघ, मानवअधिकारकर्मी र संसदीय टोलीले उल्लेख गरेका थिए।
तर नेपालमा दण्डहीनताको अन्त्य चाहने जो कसैका अगाडि र यस घटनाबाट प्रत्यक्ष रूपमा पीडित पत्रकारहरूका सामु फेरि पनि देखिएको गम्भीर चुनौती भनेको सरकारको अकर्मण्यता नै हो। सरकारले वीरेन्द्रको परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। यो घोषणा स्वागतयोग्य छ। तर सरकार यही घोषणाबाट अपराधीहरूउपर कारबाही गर्ने आफ्नो दायित्वबाट पन्छिन पाउँदैन।
अपहरणको ३२ दिनपछि माओवादीले घटनासम्बन्धी प्रतिवेदनका नाममा जे जस्तो विवरण अघि सार्यो, सरकार त्यसैलाई अक्षरशः पत्यार गर्दैछ। सरकारले आफ्नो छानबिन प्रस्ट रूपमा अघि नसारेको अवस्थामा यही निष्कर्ष निस्कनु स्वाभाविक छ। पत्रकार साहलाई कसरी, कति सास्ती दिएर कहिले मारियो भन्ने सम्बन्धमा हाम्रो राज्य यन्त्रले आफ्नै पहलमा कति जानकारी हासिल गर्न सकेको छ त?
नेपाली पत्रकारहरू असुरक्षित छन्। उनीहरू यतिखेरको नेपालमा राज्यबाट प्रत्यक्ष होइन, तर राज्यको अनुपस्थितिका कारण असुरक्षित छन्। पत्रकारहरू आमजनता झैँ आपराधिक क्रियाकलापहरूका कारण असुरक्षित छन्। तर मूलतः नेपालका पत्रकारहरू यतिबेला सात दलभित्रकै एउटा दल, राज्य सञ्चालनमा सहभागी माओवादीबाट असुरक्षित छन्। वीरेन्द्रले आफ्नो जीवन बलिदान गरेर निर्भिकतापूर्वक पत्रकारिता गर्न खोज्ने सबैलाई यो यथार्थप्रति गम्भीर भएर प्रेस स्वतन्त्रताका निम्ति अविचलित हुन झक्झक्याएका छन्।
• कुन्दन अर्याल
|