हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

तस्कर मोटाउने काम किन?

दशैँ भनेको धेरै नेपालीका लागि खाने–पिउने अवसर हो। आहानै छ― “दशैँ आयो, खाउँला–पिउँला”। अरू बेला खस्रो–निस्तो, ढिँडो–पीठो जे खाए पनि दशैँमा मासु–भात खाने इच्छा राख्छ। दशैँको अर्थ त्यही हो सरदर नेपालीको बुझाइम्ाा। दशैँ भनेकै खानु–पिउनु हो र खानु–पिउनु भनेकै दशैँ हो। (यसको सांस्कृतिक र धार्मिक पक्षलाई एकछिन पर राखौँ।) दशैँको यस्तो मान्यता र परिभाषा छ भने तिहारको नामचाहिँ तास–जुवासित जोडिएको छ। (फेरि यसका अन्य सांस्कृतिक पक्षलाई पनि एकछिन पर राखौँ।) तिहार आयो कि खालमा भिड्नै पर्ने, दुईचार हात लगाउनै पर्ने। उहिले राणाशासनमै पनि कोजाग्रत पूर्णिमापछि जुवा, तासमाथिको प्रतिबन्ध तिहारसम्म फुकुवा हुन्थ्यो 'रे र दुनियाँ रैती खुलमखुल्ला द्यूतक्रीडामा संलग्न हुन पाउँथे 'रे।

यसप्रकार तास–जुवासित पहिल्यैदेखि नङमासुको सम्बन्ध रहँदै आएको नेपालीले मनाउने तिहारसित आधुनिक समयमा आएर पटाकाको विस्फोट पनि गाँसिएको छ। फूलझडी, भुइँचम्पा, मल्तापारा, रकेट, बम (सकेट बम होइन) नपड्काई तिहार मनाएको सारै नहुने।

कतिका लागि पटाकाहरूको बेरोकटोक प्रयोग र विस्फोटको भयानक आवाज नै तिहारको खुसियाली मनाउने तरिका बन्न गएको छ। बम र बन्दूकको होड चलेको यस बेलामा बारुदी विस्फोटप्रति मानिसको आकर्षण विछट्टै छ र त्यसप्रति सहनशीलता पनि उत्तिकै छ।

भारतमा बनेका मात्र नभई उत्तरी छिमेक चीनमा निर्मित पटाकाहरू समेत बजारमा बग्रेल्ती पाइने र छानीछानी किन्न सकिने बेला छ अहिले। यसैपालिको तिहारमा जुन किसिमले काठमाडौँमा आतिसबाजी गरियो, रकेट बम छाडियो र मल्तापारा पड्काइयो त्यसमा खर्च भयो होला केही करोड रुपैयाँ। मानिसहरू खुसीखुसी त्यो काम गर्ने गर्छन् र त्यसलाई रोक्ने उपाय पनि छैन। पञ्चायतीकालमै पनि तिहारमा पटाका पड्काउन नपाउने कडिकडाउ उर्दी हुन्थ्यो। तैपनि पटाका पड्काउने काम कसैले रोक्न सक्तैनथ्यो।

तर किन हो कुन्नि सरकार त्यसरी आतिसबाजी गर्न नपाउने पुरानै ढाँचाको नियम लागू रहेको एकोहोरो रट लगाइरहन्छ। कि पूरै बन्देज लगाउन सक्नुपर्‍यो, नसक्ने हो भने छाडी दिनुपर्‍यो। किन तस्कर मोटाउने, भ्रष्ट प्रहरी र प्रशासन पोसाउने काम मात्रै गर्नु?

थोरै काम, धेरै आराम

धेरैजसो स्टाफ काठमाडौँ बाहिरका विभिन्न जिल्लाका भएका आफ्नो अफिसमा के हुनेवाला छ त्यो पहिल्यै थाहा थियो। तिहारको जम्मा तीन दिनको विदामा घर गई भाइटीका मनाई त्यसको भोलिपल्टै अफिसमा हाजिर के खाएर हुन्थे! कि त टीका थाप्नासाथ हवाईजहाज वा बस चढिहाल्नु पर्‍यो काठमाडौँ आउन। चाड मनाउन घरमा आइसकेपछि त्यो कसले गर्ने?

त्यसैले तिहारपछि अफिस खुल्दा साबिकभन्दा एकतिहाई स्टाफ मात्र हाजिर हुनुमा कुनै आश्चर्य थिएन। हाजिर हुनेका अनुहारमा पनि देउसी–भैलो खेलेको, खान्तेपिन्ते गरेको र खालमा सहभागी बनेको प्रत्यक्ष लक्षणहरू देखिन्थे। आफ्नो मात्र होइन छिमेकका अन्य अफिसहरूको पनि अवस्था पनि फरक थिएन। खुल्नलाई अफिस खुलेका थिए, तर कर्मचारीहरू नदारद।
संयोग नै भन्नुपर्‍यो, त्यसै दिन केही सरकारी अड्डाहरूको चक्कर लगाउनुपर्ने खण्ड आइपर्‍यो यस अभागीलाई। तर ती सरकारी अड्डाहरूको अवस्था पनि निजी वा गैरसरकारी संस्थाका कार्यालयहरूको भन्दा भिन्न थिएन।

महानगरपालिकाको अड्डा रहेको बागदरबार त भूताहा दरबार जस्तो देखिन्थ्यो। सिलिङमिलिङ कर्मचारीहरू। धेरै शाखाका ढोका बन्द, बाल्नुपर्ने ठाउँमा बिजुली समेत बाल्न कसैलाई जाँगर नभएको। सधैँ झ्याउँ–झ्याउँ र मानिसको ग्वार–ग्वार हुने ठाउँ शून्य र चकमन्न। सोध्यो, “हिजो भाइटीका, आज यस्तै त हो” भन्ने जवाफ। त्यहाँ काम पर्ने नागरिकजनले पनि कस्तरी बुझेका माड' साबहरूलाई टीकाको भोलिपल्ट पनि चाड लाग्छ भनेर। सेवाप्रदान गर्ने हाकिमहरू नआइदिने, अनि सेवाग्राही नागरिकहरू पनि नआइदिने― कस्तो समझदारी!

हुन पनि नेपालीहरूको 'महान् चाड' दशैँपछिको 'उपमहान्' चाड तिहार सकिएको भोलिपल्टै अफिस गडगडाएर कसरी चलोस्। तिहार त दशैँ बहिष्कार गर्ने जनजातिहरू समेतले स्वीकार गरेको र धूमधामले मनाउने गरेको चाड हो। त्यसमा थप 'भिन्तुना'को उत्सव पनि पर्छ। यस हिसाबले त तिहारलाई 'उपमहान्' मात्र होइन नेपालीहरूको 'सहमहान्' चाड भन्नुपर्ने देखिन्छ। देउसी–भैलो धीत मरुन्जेल खेल्नै पर्‍यो, कालो कात्तिकको ग्रहदशा मिल्काउनलाई भए पनि दुईचार हात लगाउनै पर्‍यो। ती सब क्रियाकर्म सम्पन्न गरेर तिहारको भोलिपल्टै अफिस खोल्नु र कर्मचारीहरू पनि खुरुक्क आएर काम गर्न थाल्छन् भन्नु त पुरानो सोच हो। पुरानो सोचले नयाँ नेपाल बन्दैन।

नयाँ नेपालको नयाँ सोच अर्कै छ। त्यसैले नयाँ नेपाल बनाउने जिम्मा लिएको सरकारले १५ दिन अगावै शीतकालीन कार्यतालिका लागू गरेर कर्मचारीहरूलाई एक घन्टा अगावै घर पठाउने गरेको छ। भोलि दुई दिनको सप्ताहान्त मनाउने चलन फेरि शुरु गर्न सक्छ। अर्को सालको विदाको क्यालेन्डर बनाउँदा सरकारले तिहारको बिदा पनि कागतिहारबाटै शुरु गरेर भाइटीकाको भोलि–पर्सिपल्टसम्म पनि विदा दिने चलन थाल्न बेर नलाउला। नयाँ नेपालको सोच भनेको थोरै काम, धेरै आराम भनी बुझ्ने हो कि?

आन्दोलनको नयाँ मौसम
दशैँ सकियो, तिहार सकियो र प्रायः पूरै तराईभरि मनाइने छठ पर्व पनि सकियो। केही मानिसहरू भन्छन्, यसका साथै मुलुकले मनाएको छोटो शान्ति पर्व पनि सकियो।

निकै पहिले यसै खबरपत्रिकाको पातामा राजनीतिक विश्लेषक विद्वान् हरि शर्माले नेपालमा ठूल्ठूला जनआन्दोलनहरू चैत महिनातिरै हुने गरेको विश्लेषण प्रस्तुत गरेका थिए। तर सबै जान्ने–सुन्नेहरूको भनाइमा विभिन्न थरीका आन्दोलनकारीहरू कहिले चाडपर्व सकिएला र आन्दोलनको नयाँ पर्व शुरु गरौँला भनी पर्खिबसेका छन् 'रे। यसको मतलब उनीहरू हरि शर्माको विश्लेषणमा झैँ यस पटक चैतसम्म पर्खनेवाला छैनन्। काठमाडौँमा जाडोले पनि बिस्तारै मुठ्ठी कस्दै छ। एकातिर आन्दोलन हुने, अर्कातिर जाडो बढ्ने। तेल–मट्टितेल सबै जोगाड गरेर कुना पस्ने दिन आउलान् जस्तो छ। कसरी झेल्ने होला आउँदो आन्दोलनको नयाँ मौसमलाई?