रिपोर्ट
सवारी दुर्घटना
अधिक गति जीवन क्षति
तीब्र गति, चालकको लापरवाही, मादक पदार्थ सेवन,
सवारी नियम उल्लङ्घन र धैर्यको अभाव उपत्यकामा सडक दुर्घटनाका प्रमुख
कारक बनेका छन्।
• शैली
बस्नेत
 |
| किरण पाण्डे |
यसपालि
दशैँको १० दिन (१–१० कात्तिक) मा मात्रै काठमाडौँ उपत्यकाभित्र पाँच
जनाले सवारी दुर्घटनामा ज्यान गुमाए भने १३ जना गम्भीर घाइते भए। महानगरीय
ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाउँछ― उपत्यकामा सबैभन्दा
बढी सवारी दुर्घटना तीब्र गतिका कारण हुन्छ। दुर्घटना पर्नेमा अधिकांश
युवाहरू सवार मोटरसाइकल छन्। त्यसपछि भाडामा चल्ने सवारी साधन बढी
दुर्घटना पर्नेमा गनिन्छन्।
सवारी दुर्घटनाका चार कारण छन्– मानवीय त्रुटि, सडकको
दुरवस्था, यान्त्रिक गडबडी र मौसम। उपत्यकामा हुने सवारी दुर्घटनाको
प्रमुख कारणमा मानवीय त्रुटि रहेको छ। जसलाई निम्त्याउँछ, तीब्र गति,
चालकको लापरवाही र मादक पदार्थको सेवनले। २०६३ सालमा तीब्र गति, चालकको
लापरवाही, मादक पदार्थ सेवन, ओभरटेक, यात्रुको गल्ती, क्षमताभन्दा
धेरै यात्रु जस्ता कारणबाट दुई हजार भन्दा बढी दुर्घटना भए भने अन्य
कारणबाट दुई सय मात्र। जसमा ९० जनाको मृत्यु भएको थियो र झण्डै पाँच
सय गम्भीर घाइते भएका थिए।
दुर्घटनाका कारणलाई विभिन्न हिसाबले वर्गीकरण गरिए पनि
अधिकांश दुर्घटना चालकमा रहने धैर्यको कमीकै कारण हुने गरेकोमा ट्राफिक
प्रहरी, चालक र यात्रुको एकमत छ। ट्याक्सी चालक सुरेश थपलिया भन्छन्,
“मिचेर, पेलेर, छेकेर भएपनि सबैलाई अगाडि जानै पर्छ। नियम माने पनि
हुने नमाने पनि हुने भएकाले सोझो भएर चलाउनै हुँदैन भन्ने लाग्छ सबैलाई।”
माइक्रो र ट्याम्पोका नयाँ–नयाँ रुट खुलेका तथा पुराना
रुटहरूमा पनि नयाँ गाडी थपिने गरेकाले उपत्यकामा भाडाका सवारी साधनको
सङ्ख्या निकै बढेको छ। र, तीमध्ये सबैको गन्तव्य रत्नपार्क र शहीदगेट
हुने हुँदा भित्री शहरमा पनि गाडीहरूको चाप बढेको छ। गाडी धेरै भएपछि
'पिक आवर'मा बाहेक अन्य समयमा यात्रु नभेटिने हुनाले भाडाका सवारी
साधनहरू बीचको प्रतिस्पर्धामा चालकहरूले बढी हतार गर्ने तथा सडक अनुशासन
पालना नगर्ने हुँदा पनि दुर्घटना बढेका छन्। पछिल्ला वर्षहरूमा दुर्घटना
गरेर फरार हुने (हिट एण्ड रन) प्रवृत्ति पनि वृद्धि भएको छ।
तीब्र गतिका कारण भीडभाडमा भन्दा खुला सडकमा र रातमा
हुने दुर्घटना बढी गम्भीर खालका हुन्छन्। राति हुने दुर्घटनाको एउटा
प्रमुख कारण सवारी साधनहरूले जथाभावी बाल्ने 'हाइ बिम' बत्ती पनि हो,
जसको प्रकाश सीधै आँखामा परेर विपरीत दिशाबाट आइरहेका चालकले आफ्नो
अगाडिको वस्तु देख्दैनन् र कतै रोड डिभाइडरमा, कतै पार्क गरिरहेका
गाडीमा त कतै साइकल वा पैदल यात्रीलाई ठक्कर दिन पुग्छन्। यसमा पनि
धेरैजसो मोटरसाइकलहरू नै पर्छन्। टाढासम्म देख्न सकिने हाइ बिम बत्ती
प्रायः राजमार्गमा, त्यो पनि विपरीत दिशाबाट अरू कोही नआइरहेको बेला
मात्र बाल्न पाइने बत्ती हो। तर दुई–चार अपवादबाहेक प्रायः सबै सवारी
चालकहरू घना शहरी क्षेत्रका, सडक बत्ती भएका र दोहोरो सवारी चलिरहने
सडकमा पनि निर्धक्कसँग यही बत्ती बालेर हिँड्छन् र दुर्घटनाको कारक
बन्छन्।
 |
| तस्बिर सौजन्यः ट्राफिक प्रहरी |
उपत्यकाभित्रका सडकको तुलनामा धेरै र ठूला दुर्घटना
रिङ्गरोडमा हुने गर्छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत वर्ष
गरेको अध्ययनले रिङ्गरोडका सातदोबाटो, कलङ्की, सीतापाइला, गोङ्गबु,
महाराजगञ्ज, सुकेधारा, चाबहिल र एअरपोर्ट क्षेत्रलाई धेरै दुर्घटना
हुने 'ब्ल्याक स्पट' ठहर्याएको छ। सातदोबाटो चोकमा कार्यरत ट्राफिक
प्रहरी हवल्दार गुनबहादुर गुरुङ भन्छन्, “ओभरस्पीड र ओभरटेकले गर्दा
नै धेरै दुर्घटना हुन्छन्।” सिकारुले सवारी चलाउने, बीच बाटोमै गाडी
रोक्ने, यात्रुहरूले पनि स्टप बाहेक अन्य ठाउँमा समेत गाडी रोक्न लगाउने
तथा ठूल्ठूला ट्रकहरू चल्ने हुनाले रिङ्गरोडमा धेरै दुर्घटना हुने
गरेको गुरुङ औंल्याउँछन्। सडक केही खुला हुने कारणले दशैँ, तिहार,
होली जस्ता चाडपर्वमा र नेपाल बन्दमा पनि बढी दुर्घटना हुने गरेको
हवल्दार जीतराम टमाटा बताउँछन्।
विशेषगरी पछिल्लो जनआन्दोलनपछि सडकमा चालक र यात्रुहरूको
रजाइँ बढेको ट्राफिक प्रहरीहरूको अनुभव छ। हेलमेट नलगाउने, मोटरसाइकलमा
दुईजना भन्दा बढी बस्ने, अनुमतिपत्र विना सवारी चलाउने, सवारी नियम
उल्लङ्घन गर्ने, भाडाका सवारीमा झुण्डिने, छतमा बस्ने जस्ता कुरा उपत्यकाका
सडकमा सामान्य भइसके। यिनै कारणले दुर्घटना र क्षति हुन्छ भन्ने चेतना
धेरैलाई छैन।
 |
दुर्घटनाका दोषीलाई कारबाही गर्ने भन्दा पैसाको लेनदेनबाट
कुरा मिलाउने परिपाटी विकास भएको गौशाला ट्राफिक इन्चार्ज तथा प्रहरी
नायव निरीक्षक सीताराम हाछेथुु सुनाउँछन्। उनी भन्छन्, “दुर्घटनाबाट
कसैको मृत्यु भएको छ भने आफन्तहरूले पहिले एक लाख रुपैयाँसम्म लिएर
कुरा मिलाउँथे भने जनआन्दोलनपछि ६–७ लाखसम्म लिन थालेका छन्। अरूको
ज्यान नजाओस् भनेर गल्ती गर्ने चालकलाई कारबाही गर्नेतिर मानिसहरूको
ध्यान गएको छैन।” पैसा तिरेर उम्किन पाउने भएकोले चालकहरूमा जिम्मेवारी
बोधको कमी भएको हाछेथुको अनुभव छ। ओभरलोड गरिएका साधनलाई कारबाही गर्दा
चालक मात्र नभई यात्रुहरू समेत रिसाउने गरेको सुनाउँदै उनी थप्छन्,
“जति नियम पालना गर्यो दुर्घटनाको सम्भावना उति कम हुन्छ भन्ने चेतना
छैन। ट्राफिक प्रहरीकै लागि मात्र नियम पुर्याइदिने मानसिकता छ।”
राजधानीका सडकहरूको संरचना सवारी साधनका सुविधा वा सुरक्षालाई
ध्यानमा राखेर तयार नगरिएकाले पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरी
निरीक्षक अविनारायण काफ्ले बताउँछन्। उनी भन्छन्, “यहाँ प्रत्येक दुई
सयदेखि तीनसय मिटरमा चोक छ, गल्ली र घुम्ती धेरै छन्। गाडीहरू बीच
ठक्कर हुने सम्भावना बढी हुनाले कतिपय मुलुकहरूमा दाहिनेतिर घुम्ने
गरी 'राइट टर्न' लिन पाइँदैन, तर हामीकहाँ राइट टर्न नै धेरै छन्।”
राजधानीका सडकहरू पनि साँघुरा, पुराना र भत्के–बिग्रेका
छन्। तिनमा उचित रेखाङ्कन र पार्किङ सुविधाको कमी छ। त्यसमाथि वर्षायाममा
बिग्रेर धेरै दुर्घटना हुन्छन्। पछिल्लो तीन वर्षको तथ्याङ्कले पनि
हरेक असारमा सबैभन्दा बढी दुर्घटना हुने गरेको देखाएको छ। सडक डिभाइडरहरू
पनि समस्या बनेका छन्। टल्कने रंगसम्म पनि नलगाइएका र उचित स्थानमा
नराखिएका डिभाइडरहरू राति देख्न नसकेर झनै अप्ठ्यारो थपिएको चालकहरूको
गुनासो छ।
 |
समयसँगै दुर्घटनाका केही कारणहरू पनि बदलिएका छन्। पहिले
छाडा चौपायाका कारण पनि दुर्घटना हुन्थे भने अहिले मोबाइल फोन नयाँ
कारण बनेको छ। युवाहरूले मोटरसाइकललाई आकर्षक देखाउन इन्जिन छोप्ने,
पछाडिको 'सक'उचाल्ने लगायत अन्य संरचना बदल्ने गरेकाले पनि दुर्घटना
हुने गरेको पाइन्छ। सडक विभागका पूर्व इञ्जिनियर बाबुराम रानाभाट सवारीको
संरचनालाई हेरफेर गर्नु खतरनाक हुने बताउँछन्। उनी भन्छन्, “विभिन्न
इन्जिनियरिङ अध्ययन गरेर बनाइएको मोटरसाइकलमा सानो परिवर्तनले पनि
त्यसको क्षमता, सन्तुलन, काम गराइमा असर गरेर दुर्घटना निम्त्याउन
सक्छ।” सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले पनि सवारीको स्वरुप
परिवर्तनलाई अपराध मानेको छ। यी लगायतका ट्राफिक नियम उल्लङ्घनका अपराधमा
लाइसेन्समा प्वाल पार्ने र रु.१ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने
तथा पाँचवटा प्वाल भएको लाइसेन्स ६ महिनाका लागि खारेज गर्ने व्यवस्था
भएपनि यी सजाय त्यति प्रभावकारी हुनसकेका छैनन्।
दुर्घटना हुन नदिन मादक पदार्थ सेवन, लापरवाही आदिलाई
निरुत्साहित गर्ने ठोस पहल नभएकोले चालकहरूमा सकेसम्म ट्राफिक प्रहरीको
आँखा छल्ने र आफूखुसी सवारी चलाउने प्रवृत्ति छ। सर्वसाधारणले सडक
नियम आफ्नै हितका लागि हो भन्ने बुझ्न सकेका छैनन्। अर्कोतिर ट्राफिक
प्रहरीहरूको इमान्दारीप्रति पनि सर्वसाधारणलाई विश्वास नभएकोले कारबाही
अगाडि बढाउनुलाई अनावश्यक झञ्झटको रूपमा लिने गरिएको छ।
महिनाः |
असोज |
दुर्घटनाः |
४४५ |
घाइतेः |
२२६ |
मृत्युः |
१६ |
'दुर्घटना एड्सभन्दा ठूलो रोग
हो'
 |
| किरण पाण्डे |
चालक, यात्रु र पैदलयात्री सडक अनुशासन पालना गर्दैनन्। सबैमा धैर्यको
कमी छ। सवारी दुर्घटनामा एक जनाको गल्तीले धेरैको ज्यान जान्छ, कैयौँको
अङ्गभङ्ग हुन्छ। एड्स, क्षयरोग, चेलिबेटी बेचविखन जस्ता समस्यामा विभिन्न
संस्था र सरकार सबै लागिपरेका छन्। तर सवारी दुर्घटनाजस्तो यति घातक
परिणाम ल्याउने र जुनसुकै बेला जसमाथि पनि हुनसक्ने समस्याका बारेमा
आवश्यक मात्रामा जनचेतना फैलाउन सकिएको छैन। मान्छेहरूले आफूलाई एड्स
लाग्न सक्छ भनेर बुझिसके, तर दुर्घटनामा पर्न सक्छु भन्ने बुझेका छैनन्।
सवारी दुर्घटना भनेको एड्स भन्दा पनि ठूलो 'रोग' हो।
कैयौँ यात्रुको ज्यान निर्भर गर्ने ड्राइभरलाई शिक्षित, जिम्मेवार
र सडक नियमप्रति गम्भीर बनाउन चेतनाका कार्यक्रम आवश्यक छन्। तर बाटोमा
बस्नेदेखि चेतनामूलक कक्षा दिनेसम्मका काममा सीमित ट्राफिक कर्मचारी
नै खट्नु परेको छ। त्यही ट्राफिक प्रहरीलाई पनि पर्याप्त अधिकार छैन।
यही कारणले गर्दा चालकहरूमा गल्ती गरे के नै हुन्छ र भन्ने मानसिकता
छ। ट्राफिक प्रहरीले पर्याप्त अख्तियार पाएमा मात्र नियम, कानून प्रभावकारी
हुनसक्छ। चालकको जिम्मेवारी बढाउने हो भने कानून कडा हुनुपर्छ।
उपत्यकामा सडक थोरै र साँघुरा छन्। सवारी सङ्ख्या बढेको छ। पुराना
गाडी हटाइएको छैन। राजनीतिक अस्तव्यस्तताले गर्दा हुने बन्द, जाम आदिले
सडकका अप्ठ्यारालाई झन् बढाएका छन्। यस्ता विभिन्न समस्या भए पनि सबैले
धैर्य धारण गरेर सडक अनुशासन पालना गर्ने हो भने सडकको समस्यामा ९०
प्रतिशत कमी आउँछ। अहिलेको मुख्य आवश्यकता भनेको जनचेतना फैलाउनु नै
हो। |