हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट चालकको जिन्दगी

'जाऊँ जाऊँ गुरुजी!'

समाज र राज्यलाई गति दिने सवारी चालकहरूप्रति कसैको ध्यान नपुगेको उनीहरूको असन्तुष्टिले देखाउँछ। यद्यपि परम्पराबाट आधुनिकतातिर उन्मुख नेपाली समाजमा सवारी चालकप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको पनि देखिन थालेको छ।

डम्बरकृष्ण श्रेष्ठ

किरण पाण्डे

'चालक', 'ड्राइभर', 'गुरुजी' आदि नामबाट सम्बोधन गरिने सवारी चालकहरूले समाजको गति सुचारु राख्न ठूलो भूमिका निर्वाह गरेका छन्। देशका मुख्य राजमार्ग र अन्य सडकहरूमा दैनिक गुड्ने हजारौँ सवारी साधनको 'स्टेयरिङ' समात्ने चालकहरूले लाखौँ मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइरहेका र उपभोग्य वस्तु ओसारपसार गरेर जनजीवनलाई सहज बनाइरहेका हुन्छन्। तर, तिनै चालकहरूलाई समाजले सम्मानको दृष्टिले हेरेको र उनीहरूको सुख, सुविधाबारे ध्यान दिएको पाइँदैन।

यातायात व्यवस्था विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०६३/०६४ सम्म दर्ता भएका बस, मिनीबस, माइक्रो, कार, जीप, भ्यान, ट्रक, ट्याक्टर र पिकअपजस्ता चारपाङ्ग्रे सवारीहरूको सङ्ख्या करिब दुई लाख छ। लगभग त्यत्तिकै सङ्ख्यामा चालकहरू पनि छन्। यीमध्ये निजी कार/जीप/ भ्यानलाई छोडेर सार्वजनिक यातायात र परिवहनका साधनमा काम गर्ने चालकहरू मात्रै दशौँ हजार हुन्छन्। विर्तामोड, विराटनगर, धरान, हेटौँडा, चितवन, काठमाडौँ, पोखरा, बुटबल, नेपालगञ्ज आदि शहरमा कुनै बस–ट्रकका नियमित चालक नभएका बेला 'ट्रीप'को हिसाबले पारिश्रमिक पाउने गरी गाडी चलाउने 'पटके ड्राइभर'हरू पनि धेरै भेटिन्छन्। वैदेशिक रोजगारका लागि खाडी मुलुक र मलेशिया आदि ठाउँमा सवारी चालककै वा अरू काममा जानेहरूमा पनि नेपाली चालकहरूको सङ्ख्या ठूलै छ।

सुदूरपश्चिमको महेन्द्रनगरबाट लगातार १६ घण्टा गाडी कुदाउँदै ७७५ किलोमिटर सडक छिचोलेर काठमाडौँ आइपुग्ने ना ३ ख ३९ नम्बरको यात्रु बाहक बसका चालक चन्द्रबहादुर खड्कालाई बन्द, हड्ताल, आक्रमण र ट्राफिक जाममा नपरी गन्तव्यमा आउन पाएको बेला आनन्द लाग्छ। हप्ताको एक पटक महेन्द्रनगर–काठमाडौं–महेन्द्रनगर गर्ने खड्काले यो पेशा अपनाएको २८ वर्ष भयो। शुरुमा तीन वर्ष खलासीको काम गरेर ड्राइभर भएका उनले नेपालका सडक पुगेका प्रायः सबै जिल्लामा गाडी कुदाइसकेका छन्। महेन्द्रनगरमा बस्दै आएका खड्का भन्छन्, “नौ जनाको परिवार पालिरहेछु। जसोतसो छोरा–छोरी हुर्काउन सके पनि पैसा कमाउन भने सकिएन।”

झण्डै तीन दशक लामो खड्काको पेशागत यात्राले पनि देखाउँछ― समाज र राज्यलाई गतिमान बनाउने सवारी चालकहरूको सुविधा र सुरक्षाप्रति कसैको ध्यान गएको छैन। नयाँ–नयाँ प्रविधि र यन्त्र–उपकरण चलाउन तथा जटिल बन्दै गएका सडक नियम–कानूनहरू बुझ्न सक्ने गरी चालकहरूको सीप र दक्षता विकासका लागि कुनै संस्थागत प्रयास भएको पाइँदैन। नेपालमा सवारी चालक अनुमतिपत्रको लागि लिइने परीक्षा र ट्रायल पास गराउने उद्देश्यले खुलेका निजी ड्राइभिङ सेन्टरबाहेक सवारी चालक उत्पादन गर्ने अलग्गै प्रशिक्षण केन्द्र वा शिक्षण संस्था छैनन्। त्यसैले ९० प्रतिशत चालकहरू नपढेका, पढ्दापढ्दै भागेर गाडीको हेल्पर, खलासी हुँदै ड्राइभर बनेका भेटिन्छन्। सरकारले लाइसेन्स दिने बाहेक केही नगरेको चालकहरूको गुनासो छ। त्यही लाइसेन्समा पनि किनबेच र भ्रष्टाचारको यति डरलाग्दो पाटो छ, जसले अन्ततः ड्राइभरहरूलाई नै बद्नाम गरेको छ।

काठमाडौँ–विराटनगर रुटको ना ३ ख २६०७ नम्बरको रात्रिबसका चालक राधाकृष्ण थापाले सवारी चालकहरूको समस्या र अवस्था बुझ्न भनेर कोही पनि आजसम्म नआएको बताउँदै हिमाल सँग भने “हामी ड्राइभरको समस्या सुन्ने फुर्सद कसलाई पो छ र? शायद पहिलो पल्ट होला यसरी पत्रकार हामीलाई खोज्दै आएको! नत्र हामी कहाँ त एड्स भन्ने कुरा ड्राइभरलाई मात्रै लाग्छ भनेजस्तो गरी 'कण्डम लगाऊ, एड्स भगाऊ' भन्दै कण्डम बाँड्नेहरू मात्रै आउँछन्।”

बल हुञ्जेलको जागिर

तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ

पोखरा–काठमाडौँ गुड्ने ग १ ख १४१८ का चालक चक्रबहादुर गुरुङ अहिले ५३ वर्ष पुगे। अरूले ७५ वर्षको उमेरसम्म गाडी कुदाएको देखेका गुरुङ भन्छन्, “मेरो धोको पनि बुढेसकालसम्मै कुदाउने छ। धेरै नसके पनि ६५ वर्षसम्म त सक्छु भन्ने लाग्छ। अहिलेसम्म त दिवा र रात्रि दुवै सेवाका बस चलाइरहेको छु।” उमेर हुञ्जेल र गाडी साहुले पत्याउञ्जेलसम्मको मात्र जागिर भएकाले चालकहरूको पेशा र भविष्यका बारेमा राज्य, यातायात समिति र गाडी मालिकहरूले सोच्नुपर्ने उनी बताउँछन्।

२० वर्षदेखि गाडी कुदाउन थालेका ३९ वर्षीय राधाकृष्ण थापा पनि चालकको पेशाको कुनै भर नहुने बताउँदै भन्छन्, “अरू जागिर जस्तो स्थायी हँुदैन। एउटा गाडी छाडेको भोलिपल्टै गुजाराको समस्या पर्छ।” महेन्द्रनगर–काठमाडौं चल्ने ना २ ख ६३६१ का चालक राजन पाण्डे थप्छन्, “जीउज्यानहुञ्जेल काम छ त्यसपछि छैन, अरू नोकरी जस्तो हाम्रो पेन्सन पनि हुन्न।” महेन्द्रनगरमा डेरा गर्दै बसिरहेका पाण्डे भविष्यका लागि जोहो गर्नुपर्छ भन्ने सोचाइ भएपनि आफ्नो र परिवारको पेट पाल्दै ठिक्क भइरहेको बताउँछन्। गुरुङको चाहना छ, “हामी जस्ता चालकहरूको भविष्य सुनिश्चित गर्ने काम भइदिए हुनेथियो।”

राजधानीको गोङ्गबु बसपार्कमा नेपालगञ्ज जाने ना ३ ख २५१ नम्बर बसको पालो कुरेर अरू चालकहरूसँग तास खेल्दै बसिरहेका कुमार शर्मा अहिलेसम्म गरेको काम र जानेको पेशा यही भएकोले भविष्य नदेखे पनि वर्तमानको काम र कमाईबाट सन्तुष्ट रहेको बताउँछन्। १४ वर्षदेखि यो पेशामा आवद्ध शर्मा भन्छन्, “पाखुरामा बल जुन दिनसम्म रहन्छ सबै छ, जुन दिन छैन त्यसपछि केही छैन।” दाङ–काठमाडौँ बसका चालक जीवन जिसीले भने, “हामी सबै पहिलेका खलासी, त्यसपछि ड्राइभर हौँ। पढलेख नगरी यसमा लागियो, पढेका भए अरू काम गरिहाल्थ्यौँ नि! त्यसैले जे छ यसैमा सन्तुष्ट हुनै पर्‍यो।”

उमेर ढल्दै गए, दुर्घटनामा परेर अपाङ्ग भए अथवा पाखुरीको बल सकिएपछि धेरै चालकहरू आर्थिक सङ्कटमा फस्छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाहरू फुटपाथमै भीख माग्न समेत पुग्छन्। १८ वर्षअघि लालिमा यातायातको गाडी कुदाउँदा दुर्घटनामा परेर दुवै आँखा गुमाएका चालक केशव क्षेत्री अहिले हेटौँडामा भीख मागेर हिँडिरहेका छन्। चालक मनोज उदास भन्छन्, “आँखा गुमेर काम पाउन छाडे। परिवारले पनि हेरेको छैन र अहिले उनको विजोग भएको छ।”

तिलक अधिकारी

२३ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत दाङका तिलक अधिकारी अहिले गाडीसँगै चालकहरू पनि बग्रेल्ती भएकाले कमाइ घटेको बताउँछन्। कक्षा ८ सम्म पढेका अधिकारीको अनुभवमा पहिले महिनामा सात टि्रपसम्म हुने दाङ–काठमाडौँको रुटमा अहिले दुई टि्रप मात्र हुने गरेको र चालकको कमाइ घटेको छ। “चार–पाँच वर्षअघिसम्म चालकहरूको इज्जत र कमाई राम्रै थियो, अहिले दुवै छैन” उनको दुःखेसो छ।

श्रम विभागले सवारी चालकका लागि न्यूनतम तलब मासिक रु.३ हजार ६०० तोकेको छ, तर धेरैले त्यति पनि पाउँदैनन्। सवारी चालकहरूले छोटो, मध्यम र लामो दूरीअनुसार मासिक रु.१ हजारदेखि रु.४ हजारसम्म तलब पाउँछन्। यसबाहेक रुट अनुसार दैनिक रु.२०० देखि रु.२५०० सम्म टि्रप भत्ता हुन्छ। बाटोमा यात्रुलाई भात खुवाउने होटेलहरूले निःशुल्क खाना र भत्ता दिने भएकाले प्रायः चालकहरूलेे तलब र टि्रप भत्ता जोगाउँछन्। राधाकृष्ण भन्छन्, “होटेलबाट भात र भत्ता नआए पैसा जोगाउन गाह्रै पर्छ, बन्द र हड्ताल भएका बेला चाहिँ टि्रप भत्ता पनि पाइँदैन, भात पनि पैसा तिरेरै खानुपर्छ।” महेन्द्रनगर–काठमाडौँ गर्ने राजन पाण्डे महिनामा चार पटक ओहोरदोहोर गर्न पाए मात्र रु.१२–१३ हजारसम्म कमाई हुने र जीविका चलाउन केही सजिलो हुने बताउँछन्। चालकहरूका भनाइमा तलब र सुविधा गाडी मालिकसँगको सम्बन्धमा पनि भर पर्छ। मन खाएको गाडी साहुले आफ्नो ड्राइभरको काम हेरेर अरूको दाँजोमा बढी तलब–भत्ता दिनसक्छन्।

सवारी नियमावली २०५४ ले गाडी नगुडेको समयमा समेत पूरा तलब र यात्रा भत्ता पाउनुपर्ने व्यवस्था गरेपनि सो सबैमा लागू नभइरहेको नेपाल यातायात मजदुर सङ्गठनका महासचिव विदुर कार्की बताउँछन्। उनी भन्छन्, “खलासी, कण्डक्टर, चालक हुँदै गाडी मालिक बनेकाहरूको अवस्था राम्रै रहेपनि ८० प्रतिशत चालकहरू सन्तुष्ट छैनन्।” कण्डक्टर, ड्राइभर हुँदै पछि गाडी किनेका महेन्द्रनगरका हेम जोशी आफैँ गाडी मालिक भएकाले अरू चालक भन्दा खुशी देखिन्छन्। तर उनका पनि निक्कै असन्तुष्टि छन्। जोशी भन्छन्, “हामीहरू हरेक कुराबाट पिल्सिएका छौँ। राज्य र समाजले राम्रो नजरले हेर्दैनन्, खाली अपजस मात्रै दिन्छन्।”

असन्तुष्टि र आक्रोश

यमबहादुर थापा मगर

चालकहरूका कुरा सुन्दा धेरैमा आफ्नो काम र पेशाप्रति असन्तुष्टि र आक्रोश पाइन्छ। तैपनि उनीहरूले दिनरात धूवाँ–धूलो खाँदै, निन्द्रा र थकान हुँदाहुँदै काममा डटिरहनुपर्दछ। पुराना चालकहरूको अनुभवमा चालकहरूले समाजबाट पाउने गरेको आदर, सम्मान गुम्दै गएको छ। कतिपय नयाँ चालकहरूको बानीव्यहोरा, बोली–चाली र अनुशासनहीनताका कारण पनि यो पेशाको छवि बिग्रँदै गएको धारणा तिनको छ।

विशेष प्रशिक्षण, पढाइ केही नचाहिने र राम्रो कमाइ नहुने चालकहरू हेपिनु सामान्य रहेको खड्का बताउँछन्। उनी भन्छन्, “यो नराम्रो काम त हैन नि, कसैले यो पेशा नअपनाउने हो भने समाज कसरी अघि बढ्छ?” २०५३ सालमा अछाममा शुरुमा गाडी लिएर जाँदा पाएको स्वागत–सम्मान खड्काले अझै भुलेका छैनन्। भन्छन्, “साँफेबगरमा फूलमाला पहिर्‍याएर हाम्रो स्वागत गरेका थिए। गाडी नपुगेका ठाउँमा अझै पनि गाडी र चालकको पूजा र सम्मान गरिन्छ; तर धेरै ठाउँमा अपमान सहनुपर्छ।”

नौ वर्षदेखि गाडी कुदाइरहेका उदयपुरका चतुरमान तामाङ आफ्नो असन्तुष्टि र आक्रोश एकैसासमा पोख्दै भन्छन्, “बेकारमा ड्राइभर भइएछ भन्ने लाग्छ। इज्जत र सुरक्षा केही छैन, कामको टाइम टेबल छैन। काम नगरौँ भने घरमा परिवार भोकै पर्छन्, गरौँ भने अनेकथरि आन्दोलनकारीहरूले हामीलाई नै ताक्छन्।” चालकहरूसँग समस्याको सूची लामो छ― गुण्डाहरूले सताउँछन्, काउण्टरका नाममा ठगिने यात्रुको आक्रोश खनिन्छ,लुटपाट र डकैती हुँदा डाँकाहरूसँग मिलेको आरोप लाग्छ,होटेलमा खाना मीठो भएन भने गाली खानु पर्छ। नेपाल यातायात मजदुर सङ्गठन, ललितपुरका अध्यक्ष नवराज घिमिरे भन्छन्,

“गाडी विस्तारै कुदाउँदा 'चाँडो जाउँ्क हतार छ' भन्छन्, छिटो कुदाउँदा 'हामीलाई मार्न खोजेको' भन्छन्।”

ड्राइभरका 'जताततै श्रीमती' भन्ने आरोपप्रति चाहिँ सहमत र असहमत दुवैथरि चालक भेटिन्छन्। पुराना चालक चक्रबहादुर गुरुङले भने, “धेरैलेे धेरै ठाउँमा श्रीमती राखेका पनि छन्। ड्राइभर भनेपछि केटीहरू नै हुरुक्क हुन्छन् भने ड्राइभरलाई मात्र दोष दिएर हुँदैन।” एक पटकमा ४०–४५ जनाको ज्यान मुठ्ठीमा लिएर हिँड्ने चालकहरूमाथि लाग्ने 'दुर्घटनामा घाइते भएकालाई पछाडि सारेर किचेर मार्छन्' भन्ने आरोपप्रति भने अधिकांश चालकहरू सहमत देखिँदैनन्। राजन पाण्डे भन्छन्, “जानी जानी एउटा कीरा पनि मार्न सकिन्न भने मान्छे कहाँ मार्नु? अचानक ठोक्किने वित्तिक्कै हातखुट्टा काम्छ, पछि सारेर कुल्चने सोच नै आउँदैन।” जीवन जिसी थप्छन्, “जानेर कसलार्ई जेल बस्न मन हुन्छ, हाम्रो पनि परिवार बाल–बच्चा हुन्छन्, ड्राइभरले जानेर कुकुर पनि मार्दैन।” तर गाडी पछाडि सारेर मान्छे मारेको, जानी जानी दुर्घटना गराएको आरोपमा अहिले पनि धेरै चालक जेलमा थुनिएका छन्।

चन्द्रबहादुर खड्का

दुर्घटना हुनासाथ चालकलाई कुटपिट गर्ने, गाडीमा आगो लगाउने र सडक बन्द गर्ने जस्ता व्यवहार संस्कार नै बन्न थालेकोमा चिन्तित चालकहरू यसबाट आफ्नो ज्यान नै जोखिममा पर्ने गरेको गुनासो गर्छन्। यामबहादुर थापा भन्छन्, “हामीलाई घरबाट निस्केपछि फर्केर आइन्छ, आइन्न, टुङ्गो हुँदैन।”

चालक प्रशिक्षण जस्ता कार्यमा राज्यको अलग्गै नीति र विशेष चासो नहुँदा पनि उनीहरूको पेशा व्यवस्थित बन्न नसकेको यातायात मजदुर सङ्गठनका महासचिव कार्की बताउँछन्। उनी भन्छन्, “सबैका लागि यो नभई नहुने क्षेत्र हो तर सरकार, समाज, आम उपभोक्ता कोही पनि यो पेशाप्रति सकारात्मक देखिँदैनन्।” चालकहरूमा विशेष प्रशिक्षणको अभाव र प्रविधि तथा कानूनको अज्ञानताका कारण पनि दुर्घटना बढेको पाइएको कार्कीको अनुभव छ।

एकातिर धेरैजसो सवारी चालकहरूमा आफ्नो पेशाप्रति असन्तुष्टि र वितृष्णा देखिएको छ भने अर्कातिर नयाँ पुस्तामा यो पेशा आकर्षक बन्दै गएको पनि छ। पढेलेखेका युवाहरूले पनि यसलाई रोजगारीको माध्यम बनाउन थालेका छन्। शहरमा गुड्ने ट्याक्सी, माइक्रोका चालकमा तन्नेरी र शिक्षित युवाहरूको सङ्ख्या बढ्दो छ। आधुनिकतातर्फ उन्मुख नेपाली समाजमा विगतमा परम्परावादी आँखाले हेरिँदा नकारात्मक देखिएका पेशाहरूप्रतिको दृष्टिकोण बदलिँदै गएकोले यस्तो हुन थालेको समाजशास्त्री सुधीन्द्र शर्मा बताउँछन्। आधुनिक समाजमा श्रमको सम्मान हुने स्पष्ट गर्दैउनी भन्छन्, “परम्परागत समाजले पेशालाई श्रेणीमा विभाजन गरेर श्रमिकको अवमूल्यन गर्ने गरेको थियो। तर अबको आधुनिक समाजमा श्रमको स्थान उच्च हुन्छ।”

आधुनिक पुस्ताले गाडी चालकहरूप्रति सकारात्मक दृष्टिकोण बनाएको आफूले पाएको बताउँदै शर्मा थप्छन्, “ड्राइभर हुनु नराम्रो हैन भन्ने छाप समाजमा परिसकेको छ, त्यसैले त पढेलेखेका युवाहरू पनि यो पेशामा आकर्षित हुन थालेका छन्। अब यो पेशालाई नराम्रो रूपमा हेर्ने प्रवृत्ति आफैँ घट्छ।”