हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

रङ्गकर्ममा रमाउँदै

मातृभाषा बङ्गाली हो, नेपाली भन्दा हिन्दी र अङ्ग्रेजी बोल्न सजिलो मान्छिन्, तैपनि उनी अहिले नेपाली रङ्गमञ्चमा सक्रिय छिन्। अनुराधा मजुमदार बरालले मलामी, खुमा र भर्खरै गुरुकुलमा मञ्चन भएको बाँकी उज्यालो नामक नेपाली नाटकमा राम्रो अभिनय गरेकी छन्।

भारत, कोलकाताकी अनुराधा रङ्गकर्ममा लागेकी २० वर्ष भइसक्यो। यसबीचमा उनले दर्जनौं भारतीय नाटक, टेलिचलचित्र र चलचित्रहरूमा पर्दा अघि र पछि रहेर काम गरिसकेकी छन्। १० वर्षअघि नेपाली रङ्गकर्मी अनुप बरालसँग नयाँदिल्लीको 'नेसनल स्कुल अफ ड्रामा'मा भएको भेटले उनलाई नेपालसँग नजिक बनायो।

बरालसँग प्रेम विवाह गरेर नेपाल आएकी अनुराधा पहिले यहाँ रङ्गकर्मको अवस्था राम्रो नदेेखेर उतै फर्केकी थिइन्। तर, अहिले उनी आफ्ना श्रीमानले काठमाडौंमा स्थापना गरेको एक्टर्स स्टुडियोमा ६ महिनादेखि प्रशिक्षणसँगै व्यवस्थापनको समेत जिम्मेवारी सम्हालिरहेकी छन्। अब नेपालमै केही गर्ने चाहनाका साथ फर्केकी अनुराधासँग पछिल्लो दुई वर्ष भारतीय फिल्म नगरी मुम्बईमा काम गरेको अनुभव पनि छ। भारतका प्रख्यात निर्देशक श्याम बेनेगलको नाटक नेताजी सुभाषचन्द्र बोस मा समेत काम गरेकी उनी भर्खरै डैनी डेञ्जोङ्पासँग एउटा चलचित्रको प्रमुख भूमिकामा देखिएकी थिइन्। उनको त्यो चलचित्र फ्रोजन बर्लिनमा हुन लागेको 'कान्स फिल्म फेस्टिबल'मा छानिएको छ।

कलाक्षेत्रमा निरन्तर लागिरहन चाहने अनुराधा नेपाली रङ्गकर्म र संस्कृतिमा रम्न पाउँदा निक्कै खुशी छिन्। उनी भन्छिन्, “भारतमा जन्मंे, हुर्कें, अहिले नेपाली संस्कृति र संस्कारमा घुलमिल हुँदैछु। मैले यसलाई सुनौलो अवसरको रूपमा लिएकी छु।”

अनुशील

मोडलः अनुराधा बराल
तस्बिरः किरण पाण्डे


रमझम/रिपोर्ट चलचित्र

अभिनयमै बित्यो उमेर

जीवनको उत्तरार्द्धतिर पुगेका नेपाली कलाकारहरूको यथोचित कदर न राज्यले गरेको छ, न कला क्षेत्रले नै गर्न सकेको छ।

सन्तोष बराइली

तस्बिरहरूः मीनरत्न बज्राचार्य
गोपाल भुटानी

नेपाली कला क्षेत्रमा समर्पित व्यक्तिहरूको बुढेसकाल प्रायः कष्टप्रद हुने गरेको छ। समय क्रममा विभिन्न रोगबाट समेत थलिँदै जाने त्यस्ता कलाकारहरूमध्ये धेरै रोग र अभावसँग लड्दालड्दै पनि कलाकारितामा सक्रिय छन्। नेपाली चलचित्रको विकासमा उल्लेख्य योगदान गरेका गोपाल भुटानी, जयनेन्द्र चन्द, शान्ति मास्के, सुभद्रा अधिकारीजस्ता अग्रणी कलाकारहरूको हालत पनि त्यस्तै छ।

नेपाली चलचित्रका पहिलो द्वन्द्व तथा कला निर्देशक मानिने ७५ वर्षीय गोपाल भुटानी काठमाडौँ, थापाथलीस्थित आफ्नो धर्मछोराको घरमा बस्छन्। सयभन्दा बढी हिन्दी र झण्डै तीन सय नेपाली सिनेमामा काम गरेका अल्सरका बिरामी भुटानी सिनेमामा अझै सक्रिय छन्। किशोर रानाद्वारा निर्देशित मिष्टर मङ्गले को सुटिङमा व्यस्त भुटानीले भने, “सम्झौता भए अनुसारको पारिश्रमिक कोही दिँदैनन्, जति दिन्छन् त्यतिले जसोतसो गुजारा चलाउँदै आएको छु।”

६० वर्षअघि सिनेमामा खेल्ने रहर गरेर बम्बई पुगेका भुटानीले त्यहाँ बिँडी बनाएर बेचे र सर्कसमा घोडाको तबेला सफा गर्ने काम पनि गरे। सर्कसमा काम गर्दागर्दै चिनजान भएका अँधेरीको एमएनटी फिल्म स्टुडियोका कर्मचारीले उनलाई सिनेमामा काम गर्ने चाँजो मिलाइदिएका थिए। शुरुमा द्वन्द्वका दृश्यहरूमा फाट्टफुट्ट खेल्दाखेल्दै उनी काममा मिहिनेती एवं इमान्दार भएकाले पछि राम्रा भूमिका पाउन थाले र बम्बईको फिल्म नगरीमा छोटै समयमा आफूलाई स्थापित गर्न सफल भए। दारा सिंह, राजेश खन्ना, विनोद खन्ना, राजकपुर र शशि कपुरजस्ता कलाकारसँग धेरै सिनेमामा काम गरेका भुटानीद्वारा अभिनीत हकिकत, ललकार, ए रास्ते चीनके आदि हिन्दी चलचित्र 'सुपरहिट' भएका थिए। उनी भन्छन्, “नायक बनेर खेल्न नपाए पनि खलनायकको भूमिकामा जमेको थिएँ।”

नेपालमै सिनेमा बन्न थालेपछि यतै आएका भुटानीले नेपाली सिनेमामा द्वन्द्व, कला, भेषभुषा, शृङ्गारसम्बन्धी काम गरेका थिए। झण्डै तीन सय नेपाली सिनेमामा काम गरिसकेका भुटानी शारीरिक असक्तताको कारण आगामी दिनहरूमा अभिनय मात्रै गर्ने सोचाइमा छन्। एक वर्षअघि अल्सरबाट थलिँदा उपचार खर्च जुटाइदिएका कलाकार र संघसंस्थाहरूलाई कहिल्यै नबिर्सिने बताउने भुटानी बाँचुञ्जेल काम पनि दिन आग्रह गर्दै भन्छन्, “नेपाली सिने क्षेत्रले मलाई उपचार गरेर जसरी बचायो, त्यसरी नै बाचुञ्जेल भात खुवाउने हो भने निर्माता/निर्देशकहरूले ममाथि दया राखेर आफ्नो सिनेमामा अभिनय गर्न दिउन्। मलाई अरू केही चाहिँदैन।”

शान्ति मास्के रसुभद्रा अधिकारी

झण्डै दुई सय सिनेमामा उद्योगपति, जमिन्दार र साहु/महाजन बनेका ८२ वर्षका जयनेन्द्र चन्दको वास्तविक जीवन त्यस्तो छैन। पक्षघातको औषधिका लागि सकी–नसकी अभिनय गरिरहेका चन्दलाई धेरैजसो निर्माता/निर्देशकले 'अशक्त' भनेर सिनेमामा खेलाउन छाडेकाले त्यही जुटाउन पनि धौ–धौ पर्न थालेको छ। उनी भन्छन्, “धेरै निर्देशकहरू मलाई खेलाउन मानिरहेका छैनन्। पहिले जस्तो तडकभडकयुक्त र द्वन्द्वको दृश्य दिन नसके पनि उमेर सुहाउँदो भूमिका त गर्न सक्छु नि! कमसे कम त्यसको पारिश्रमकले मैले नियमित औषधि सेवन गर्न पाउने थिएँ।”

३६ वर्षअघि चलचित्र जीवनरेखा बाट अभिनय यात्रा थालेका चन्दले उपचारमा सहयोगका लागि सरकारलाई पनि धेरै पटक गुहारिसकेका छन्। उनी भन्छन्, “कलाकारहरूलाई राष्ट्रको गहना भन्ने सरकारले तिनको उपचारमा चासो देखाउनुपर्ने हो। तर नौ महिनाअघि स्वास्थ्य मन्त्रालयमा दर्ता भएको ४१५२ नं. को मेरो निवेदनको सुनुवाई भएको छैन, डेढ महिनाअघि गृहमन्त्रालयमा निवेदन हाल्न जाँदा निवेदन नै बुझेन।” आर्थिक अभावले पूर्ण उपचार गर्न नपाएका चन्दलाई नेपाल चलचित्र कलाकार संघले रु.२५ हजार र निर्माता संघले रु.२४ हजारबाहेक अरू कसैले खासै सहयोग गरेका छैनन्। एक लाख रुपैयाँ थप सहयोग पाए भारत गएर उपचार गर्ने उनको योजना छ। ललितपुर, कुसुन्तीस्थित छोरीको घरमा बस्दै आएका चन्द अहिले पर्खी बसेँ, युद्ध र बारुद नामक सिनेमाको काम सकेर बद्री अधिकारी निर्देशित टेलिचलचित्र हाम्रो कथा मा अभिनय गर्ने तयारीमा छन्।

सुटिङ दुर्घटनामा परेर मुटुरोगको शिकार भएकी ८२ वर्षीया शान्ति मास्केलाई पनि हातमुख जोड्न र औषधि गर्न पैसाको अभाव छ। सन्तान को सुटिङमा पुलबाट हामफाल्ने दृश्य दिँदा ढुङ्गामा ठोक्किएर चल्न बन्द भएको उनको मुटु जयन्ती शाह ट्रस्ट, लण्डनका नेपाली र नेपालका कलाकारहरूको सहयोगमा ब्याट्री जडान गरेर चलाइएको छ। अहिले उनले महिनाको रु.५ हजारको त मुटुको औषधि नै सेवन गर्नुपर्दछ। यसबाहेक उनको आँखामा मोतिबिन्दु र जलबिन्दु भएको छ, जसको अपरेशन गर्न लाग्ने आठ हजार नभएर गराउन सकेकी छैनन्।

जयनेन्द्र चन्द

झण्डै तीन सय सिनेमामा अभिनय गरेकी मास्के बीपी, गिरिजाप्रसाद र तारिणीदत्त कोइरालासँगै राणाशासनमा भूमिगत राजनीतिमा सक्रिय रहँदै नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्र रेडियोमा क्रान्तिकारी गीत गाउने तथा समाचार वाचन गर्ने काम गरेकी थिइन्। हिजो आज भोलि भन्ने सिनेमाबाट अभिनय यात्रा थालेकी मास्के नेपाली काङ्ग्रेसकै निर्देशनअनुसार सिनेमा खेल्न शुरु गरेको बताउँछिन्। कला क्षेत्रबाट आफूले राष्ट्रलाई पुर्‍याएको योगदानको मूल्याङ्कन कुनै बेलाका आफ्नै सहकर्मी गिरिजाप्रसाद कोइरालाले समेत नगरेकोमा दुःखी हुँदै उनी भन्छिन्, “सात सालमा काङ्ग्रेसले धनकुटा र वीरगञ्ज कब्जा गर्दा गिरिजाको जति नै भूमिका मेरो पनि थियो। काङ्ग्रेसले त मलाई कलाकार मात्र होइन, आफ्नो कार्यकर्ता र योद्धा समेत सम्झेर संरक्षण गर्नुपर्थ्यो।”
अभावकै कारण ललितपुर, थसिखेलस्थित छोरीको घरमा बस्न थालेकी मास्के क्यान्सरबाट २०३४ सालमा श्रीमानको मृत्यु भएपछि एक्लो जीवन बाँचिरहेकी छन्। मास्केको सरकारसँग आग्रह छ, “सरकारले कलाकार कोषको स्थापना र वृद्ध कलाकार भत्ताको व्यवस्था गर्नुपर्छ, नत्र सबै कलाकारको हविगत मेरैजस्तो हुनेछ।”

१४ वर्षअघि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रम शिखर साँझमा नृत्य प्रस्तुत गर्दा लडेर कलाकार सुभद्रा अधिकारीको देब्रे हात भाँचिएको र घाँटीको मेरुदण्डमा असर परेको थियो। भाँचिएको हातको त उपचार गराइन्, तर घाँटीको पूर्ण उपचार गर्न सक्ने हैसियत उनको थिएन। अहिले पनि उनी डाक्टरको सल्लाहअनुसार घाँटीमा 'सर्भाइकल कलर' प्रयोग गरेर काम गर्छिन्। ६१ वर्षीया अधिकारी भन्छिन्, “अभिनय नगरी हातमुख जोड्न सकिँदैन। सकी–नसकी भए पनि काम गर्दैछु।”

२०२८ सालमा मनको बाँध बाट अभिनय थालेकी अधिकारीले सय भन्दा बढी सिनेमामा अभिनय गरेकी छन्। अहिले पनि उत्तिकै व्यस्त सुभद्रा कलाकारिताबाट गुजारा चलाउन समस्या परिरहेको बताउँछिन्। उनको भनाइ छ, “सांस्कृतिक संस्थानमा करार सेवामा कार्यरत हुँदा राम्रै गुजारा चलेको थियो। सात वर्षअघि त्यहाँबाट अन्यायपूर्वक निकालिएपछि हातमुख जोड्न कठिन भएको छ।”

अपेरा, ब्याले र नाटकमा समेत राम्रो अभिनय गर्ने सुभद्राले २०२० सालमा कलाकार कृष्णप्रसाद अधिकारीसँग विवाह गरेकी हुन्। उनका दुई सन्तान छन्। हाल शासन को छायाङ्कनमा व्यस्त सुभद्रा भन्छिन्, “स्थापना हुन लागेको सङ्गीत नाट्य एकेडेमीले हामीजस्ता कलाकारलाई संरक्षण देओस्।”


अस्ताए दुई नक्षत्र

वरिष्ठ भजन गायक विनायक शमशेर जबरा (७६) र लोकप्रिय बाँसुरीवादक आईसिंह लामा (४३) को २६ कात्तिकमा निधन भएको छ।

मधुमेह र उच्च रक्तचापबाट पीडित स्व. विनायकका 'बोलिरहने हृदयको चरीलाई कुन्नि के भो...', 'सच्चिदानन्द रुपको दिन दिन शरण परेर ...' आदि भजनले उनलाई प्रख्यात बनाएको थियो। ५१ वर्षअघि लोकगीतबाट गायन शुरु गरेका विनायकले रेडियो नेपालको राष्ट्रिय आधुनिक गीत सम्मेलनमा स्वर्णपदक हासिल गरेका थिए। उनका एक छोरा र एक छोरी छन्।

२०४५ सालमा रेडियो नेपालमा वाद्यवादकका रूपमा प्रवेश गरेर सहायक वाद्यवादन निर्देशक बन्न पुगेका स्व. आईसिंह लामाले दुई सय भन्दा बढी गीतलाई सङ्गीतबद्ध गरेका छन्। पाँच सयभन्दा बढी गीतमा उनले बाँसुरी बजाएका छन्। लामालाई तीन महिनादेखि कलेजोको रोगले सताएको थियो। उनका तीन छोरी र दुई छोरा छन्।

नेपाली कला जगतका यी दुवै नक्षत्रलाई श्रद्धासुमन!


रमझम/ विविध

सगरमाथा दुर्घटनाको वृत्तचित्र

चर्चित अमेरिकी पर्वतारोही एवं फिल्ममेकर डेभिड ब्रिसेरको नयाँ वृत्तचित्र …रेमन्यान्ट्स अफ एभरेष्टः द ९६ ट्राजिडी'को २० कात्तिकमा काठमाडौँमा विशेष प्रदर्शन गरियो।
प्रस्तुत वृत्तचित्रमा खराब मौसमका कारण सगरमाथामा सन् १९९६ को मे महिनामा रब हल र स्कट फिसरले नेतृत्व गरेका दुई टोलीका पाँच सदस्यको मृत्यु भएको र केही सदस्य रातको समयमा बाटो हराएर शिखरमै अलपत्र परेको घटनाको वास्तविकता पहिल्याउने प्रयास गरिएको छ। शिखरका मनोरम दृश्य, दुर्घटनाको सजीव चित्रण र बाँच्न सफल हुनेहरूका दृष्टिकोण, बु‰ाइ, भय र अनुभवले वृत्तचित्रलाई जीवन्त र रोमाञ्चक बनाएका छन्।

कुमारी हलमा भएको सो प्रदर्शनमा डेभिडले चलचित्र बनाउँदाका आफ्ना अनुभव पनि दर्शकलाई सुनाए। सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक डेभिड आफ्नो वृत्तचित्रबाट मानिसहरूले …सबै ठीक होला' भन्ने आशामा मात्र भर परेर हिमाल चढ्नु नहुने कुरा बुझनु पर्ने बताउँछन्।

शैली