हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

रङ्गशाला निर्माणमा 'राजनीति'

बेलायतमा बस्ने धरानवासीले पठाएको खर्चमा हुन लागेको धरान रङ्गशालाको पुनर्निर्माण राजनीतिक दलबीचको विवादका कारण रोकिएको छ। धरान–१६ मा रहेको करिब २५ वर्ष पुरानो रङ्गशाला पुनर्निर्माणका लागि धरान–युके फोरमले अहिले नै रु.३७ लाख सहयोग गर्ने बताइसकेको थियो भने पछि थप सहयोग गर्ने आश्वासन दिएको थियो। धरान क्लबका अध्यक्ष सुवास राई भन्छन्, 'राजनीतिक दलहरूबीचको विवादले रङ्गशाला पुनर्निर्माण आयोजना शुरु नै नहुने सम्भावना बढेको छ।”

रङ्गशाला पुनर्निर्माणमा एमालेको नेतृत्व हुने भएपछि नेपाली काङ्ग्रेसले त्यसको विरोध गरेको हो। नेपाली काङ्ग्रेस धरान नगर सभापति तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई भन्छन्, 'रङ्गशाला निर्माण जस्तो सबै नगरवासीको चासोको विषयमा हामीलाई वास्ता नगरिएपछि हामीले किन समर्थन गर्ने?' १ असोज नगरपालिका हातामा भएको भेलाले पूर्व मेयर तथा एमाले कार्यकर्ता मनोज मेयाङ्वोलाई रङ्गशाला निर्माण अनुगमन समितिको संयोजक बनाएपछि नेपाली काङ्ग्रेसको असन्तुष्टि शुरु भएको हो।

धरानमा यसअघि पनि रङ्गशाला निर्माणमा विवाद देखिएको थियो। वि.सं. २०३९ सालमा तत्कालीन ब्रिटिश क्याम्पका अधिकृतहरूलेे रङ्गशाला निर्माण थाल्दा नगरपञ्चायत सदस्यहरूले आफूलाई पैसा र काम दिनुपर्ने माग गरेपछि निर्माण बन्द भएको थियो। राजनीतिक विवाद समाधान भएर रङ्गशाला पुनर्निर्माण शुरु भए विदेशमा बस्ने धरानवासीको सहयोगमा बन्ने यो दोस्रो ठूलो आयोजना हुनेछ। हङकङ र जापानमा रहेका धरानवासीको सहयोगमा घण्टाघर र भूकम्प स्मारक स्तम्भ निर्माण भइसकेको छ।

रविन गिरी, धरान