जनता
सुनिताको 'छोरोवा'
 |
| कुन्द दीक्षित |
हरेक
बुधवार साँझ आधा घण्टा पालुङ आसपासका तामाङभाषी स्थानीय बासिन्दा रेडियो
पालुङ वरिपरि झुम्मिन्छन्। सुनिताको 'छोरोवा'ले उनीहरुलाई लठ्ठै पारेको
छ। गाउँकी १९ वर्षीया सुनिता स्याङतानले तामाङ भाषामा छोरोवा (चेतना)
कार्यक्रम सञ्चालन गर्न थालेपछि त्यसभेगका बालबालिकाको स्वस्थ्यमा
निक्कै सुधार आएको छ। रेडियो पालुङमार्फत् झाडापखाला र निमोनियाबाट
बच्ने तरिका तथा उपचारका बारेमा जानकारी दिने सुनिताको प्रस्तुतिले
धेरै तामाङभाषी आमाहरुलाई सचेत तुल्याएको छ। छोरोवा भन्दाअघि पालुङमा
बालस्वास्थ्यकै बारेमा नेपाली भाषामा यस्तै कार्यक्रम चलाइए पनि त्यति
प्रभावकारी हुनसकेको थिएन। सुनिता भन्छिन्, “तामाङ भाषामा कार्यक्रम
चलाएपछि आमाहरुले सुन्न र बुझ्न थालेका हुन्।”
छोरोवामा सुनिता स्वास्थ्यको मात्रै कुरा गर्दिनन्,
भाषा, संस्कृति, परम्परा, संविधानसभालगायतका विषयमा पनि बोल्ने गर्छिन्।
नौ कक्षामा पढ्दै गर्दा शुरुका दिनमा उनले दुई घण्टा धाएर पनि कार्यक्रमलाई
निरन्तरता दिएकी थिइन्। कार्यक्रम चलाएर उनलाई आर्थिक लाभ त छैन, तर
स्थानीय जनतालाई फाइदा पुगेकाले सकुञ्जेल कार्यक्रमलाई निरन्तरता दिने
उनको योजना छ। रेडियो जस्तो सूचनाको स्रोत स्थानीयस्तरमा उपलब्ध हँुदा
यसप्रति मानिसहरुको चासो बढ्नुका साथै चेतना पनि बढेको उनले अनुभव
गरेकी छन्।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा समेत आबद्ध सुनिता
स्थानीय महिलाहरुको परिचालन र जागरणका अन्य कार्यक्रममा पनि उत्तिकै
सक्रिय छिन्। एउटा पनि महिला समूह नभएको पालुङमा ६ महिनायता ६ वटा
समूह बनेको देख्दा उनी 'परिवर्तन सम्भव छ' भन्नेमा आशावादी बनेकी छन्।
अनिलको आँट
 |
| किरण पाण्डे |
२६ कात्तिकमा
नबिल ब्याङ्कले एकैसाथ मुलुकका नौ स्थानमा शाखा खोलेर काठमाडौँस्थित
मुख्यालयबाट एकै 'क्लिक'मा शुभारम्भ गरी नेपालको ब्याङ्किङ इतिहासमा
नयाँ कीर्तिमान रच्यो। काठमाडौँबाट सयौँ किलोमिटर टाढाका ग्रामीण तथा
नगरोन्मुख स्थानमा खोलिएका ती शाखाहरूको उद्घाटन कम्प्युटर माउस क्लिकका
भरमा गरिएको थियो। ब्याङ्किङ क्षेत्रमा यो इतिहास रच्ने 'दुस्साहसी'
व्यक्ति हुन्― अनिल शाह (४१), ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत।
तीन वर्षअघि नबिलको कमान सम्हाल्ने शाह स्थानीय ब्याङ्किङको
सफलतम् कार्यक्षेत्र 'कन्जुमर ब्याङ्किङ' प्रस्तुत गर्ने अगुवा ब्याङ्करहरूमध्ये
एक हुन्। शाह आफ्नो पछिल्लो रणनीति पनि सफल हुनेमा ढुक्क छन्। उनी
भन्छन्, “अबको ब्याङ्किङको केन्द्रबिन्दु भनेको ग्रामीण ब्याङ्किङ
नै हो, जसमा अरूले मलाई पच्छ्याउने छन्।”
राजनीतिक अन्यौललाई बहाना बनाएर 'असुरक्षा छ, हामी केही
गर्न सक्दैनौँ', अझै 'पर्ख र हेर'मा छौँ भन्ने 'कर्पोरेट' जगतका लागि
शाहको कदम अनौठो पनि लाग्न सक्छ। आफ्नो पछिल्लो कदमलाई दलहरूबीच सिर्जित
सहकार्य संस्कृतिको सकारात्मक परिणाम मान्छन्, शाह। उनी भन्छन्, “राजनीतिमा
अहिले जे भएपनि दलहरूले नयाँ नेपाल निर्माणको जे कुरा गरिरहेका छन्,
त्यसमा मैले सानो काम गरेर एउटा इँटा थपेको मात्र हुँ।” उनको विचारमा
आफ्नो कामलाई लगनका साथ निरन्तरता दिने हो भने एक दिन पक्कै सम्पूर्ण
नेपाली, नयाँ नेपालमा पुग्नेछन्। “यसका लागि आफ्नो काम दोब्बर गर्नुपर्यो,
जोखिम दोब्बर लिनुपर्यो”, उनी थप्छन्।
नयाँ शाखाहरूमा स्थानीय व्यक्तिहरूलाई नै समावेश गरेर
शाहले परम्परागत व्यावसायिक सोच पाल्नेहरूको दृष्टिमा अर्को जोखिम
पनि मोलेका छन्। सूक्ष्म गृहकार्यपश्चात् नितान्त नौला योजनाहरू अघि
सार्दै आक्रामक कार्यान्वयनको नीति अँगाल्ने शाह भन्छन्, “काठमाडौँका
मानिसले मात्र राम्रो गर्छन् भन्ने हुन्छ र? अवसर दिनुपर्छ, राम्रो
गर्नेहरू गाउँमै धेरै भेटिन्छन्।”
|