स्वास्थ्य
नसर्ने रोगको प्रकोप
केही समयअघि युवराज पारसलाई हृदयघात भएको समाचार
आएको थियो। हजारौं नेपालीहरूलाई भइरहेको हुन्छ यस्तो। धेरैलाई त के
भयो भन्ने थाहा पनि हुँदैन।
• डा.
खेमबहादुर कार्की
हृदयघातलगायतका
मुटुरोग, मधुमेह, क्यान्सर, श्वास–प्रश्वाससम्बन्धी नसर्ने प्रकृतिका
दीर्घरोग अहिले विश्वस्तरमै मृत्युको प्रमुख कारण बनेका छन्। यस्ता
रोग विकसित मुलुकमा र धनी मान्छेहरूलाई मात्र हुन्छन् भन्ने छैन। विश्व
स्वास्थ्य सङ्गठनको सन् २००५ को एक प्रतिवेदन अनुसार नसर्ने रोगका
कारण मर्नेहरूमध्ये ८० प्रतिशत निम्न आर्थिक अवस्था भएको देशका मानिस
छन्। विश्वमा हुने ६० प्रतिशत मृत्युका कारण यस्तै रोग हुन्छन्।
नेपाललाई पनि नसर्ने रोगले नराम्ररी गाँजेको छ। स्वास्थ्यसम्बन्धी
दोश्रो दीर्घकालीन योजनाअनुसार नेपालमा सरुवा रोग, कुपोषण र प्रसूतिसँग
सम्बन्धित समस्याबाट करिब ५० प्रतिशत, नसर्ने रोगबाट ४२ प्रतिशत, दुर्घटना
र चोटपटकबाट ७ प्रतिशत र अन्य कारणबाट १ प्रतिशत मृत्यु हुन्छ। यो
तथ्याङ्कबाट सरुवा रोगलाई कुपोषण र प्रसूति समस्याबाट छुट्याएर हेर्ने
हो भने नसर्ने रोग नै ठूलो कारण देखिन्छ। अबका १० वर्षमा सरुवा रोग,
कुपोषण र प्रसूति सम्बन्धी कारणले मर्नेको सङ्ख्या प्रतिवर्ष ३ प्रतिशतले
घट्नेछ भने नसर्ने रोगका कारण मर्नेहरूको सङ्ख्या १७ प्रतिशतले बढ्नेछ।
यस्ता रोगको नियन्त्रण र रोकथामका लागि तिनका कारक तत्वहरू
थाहा हुनुपर्छ। एउटै नसर्ने रोगका पनि थुप्रै कारक तत्व हुन सक्छन्–
जस्तै मुटुको रोग हुन उच्च रक्तचाप, उच्च रक्तचाप हुन मोटोपन, सुर्ती
र मदिराको सेवन, बोसोयुक्त खानेकुराको प्रयोग र शारीरिक अभ्यासको कमी
आदि। यी मधुमेहका पनि कारक हुन्। र, समयमै नियन्त्रण र व्यवस्थापन
गर्न नसके मधुमेहले पनि मुटुरोग निम्त्याउने, मिर्गौला, आँखा र हातखुट्टा
आदिलाई हानि पुर्याउने काम गर्दछ।
नसर्ने रोगका कारक तत्वहरू रोकथाम वा परिवर्तन गर्न
सकिने र नसकिने हुन्छन्। परिवर्तन गर्न सकिने कारक तत्वहरूमा सुर्तीजन्य
पदार्थ, मदिरा सेवन, अस्वस्थकर खानेकुराको उपभोग, हरिया सागसब्जी र
फलफूलको कम सेवन, शारीरिक अभ्यासको कमी हुन्, जो हाम्रै खानपान र बानीव्यवहारसँग
सम्बन्धित छन् र तिनलाई सजिलै सच्याउन सकिन्छ। सुर्तीको प्रयोग मात्रै
रोक्न सकियो भने क्यान्सर ४० प्रतिशत घट्ने कुरा अध्ययनहरूले देखाएका
छन्। परिवर्तन गर्न नसकिने कारक तत्वमा वंशाणुगत कारणहरू पर्दछन्,
जसबाट रोग हुने सम्भावनालाई पछाडि धकेल्न पनि खानपान र बानीव्यवहारमै
फेरबदल ल्याउनु पर्दछ।
नेपालमा पनि नसर्ने रोगका कारक तत्वहरूको अनुसन्धान
शुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
र स्थानीय एकीकृत विकास समाज नेपालले सन् २००३ देखि काठमाडौँ, ललितपुर,
इलाम र तनहुँमा शुरु गरेका सर्वेक्षणले यी कारक तत्वहरू व्यापक रूपमा
रहेको देखाएको छ भने अरू १५ वटा जिल्लामा पनि तथ्याङ्क सङ्कलन गर्ने
काम भइरहेको छ।
सर्वेक्षणअनुसार काठमाडौँ महानगरपालिकाका वयस्कहरूमध्ये
३३ प्रतिशत सुर्ती र सुर्तीजन्य पदार्थ तथा ४८ प्रतिशत मदिरा सेवन
गर्दछन्। मदिरा सेवन गर्नेहरूमा ६३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला
छन्। फलफूल र सागसब्जी यथेष्ट खानेको सङ्ख्या १ प्रतिशतभन्दा कम छ।
पुरुषहरूमध्ये ७४ प्रतिशत र महिलाहरूमध्ये ९१ प्रतिशत शारीरिक अभ्यास
गर्दैनन्। त्यसकारण काठमाडौँका २७ प्रतिशत पुरुष र ४२ प्रतिशत महिलामा
मोटोपन तथा २० प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचाप छ।
ललितपुर, तनहुँ र इलाममा गरिएको सर्वेक्षणले वयस्कहरूमध्ये
४१ प्रतिशतले सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको
छ,जसमध्ये धेरै १९ वर्षको उमेरदेखि नै शुरु गर्नेहरू छन्। यी तीन जिल्लामा
मदिरा सेवन गर्नेहरूको सङ्ख्या ३८ प्रतिशत छ र १ प्रतिशतभन्दा कमैले
पर्याप्त हरियो तरकारी एवं फलफूल खान्छन्। ललितपुर बाहेक अन्य दुई
जिल्लाका गाउँघर र दुर्गम ठाउँको तथ्याङ्क सङ्कलन गर्दा समेत् ५१ प्रतिशत
मानिस शारीरिक अभ्यास नहुने वा बल नपर्ने काममा लागेका भेटिए। करिब
१९ प्रतिशत शारीरिक बल नपर्ने यातायातका साधन प्रयोग गर्छन्। फुर्सदको
समयमा करिब ८६ प्रतिशत निष्त्रि्कय रहने वा केही नगरी आराम गर्ने गर्छन्।
यसबाट पहाडी गाउँघरमा समेत शारीरिक अभ्यास घट्दै गएको र १३ प्रतिशतमा
मोटोपन देखिएको छ, १५ प्रतिशत पुरुष र १३ प्रतिशत महिलामा उच्च रक्तचाप
पाइएको छ।
नेपालमा अहिलेसम्म सरकारले सरुवा रोगहरूको रोकथाम र
नियन्त्रणमा ठूलो लगानी गरेको र आशातीत सफलता प्राप्त गर्न नसके पनि
केही प्रगति हासिल गरेको छ। तर नसर्ने रोग र यिनका कारक तत्वहरूको
रोकथाम तथा नियन्त्रणमा लगानी पनि भएको छैन र छिटपुटबाहेक खासै कार्यक्रम
पनि बनेको छैन। स्वास्थ्य प्राविधिकहरू नै यस्ता रोगका कारक तत्वबारे
अनभिज्ञ छन्। रोगको रोकथाम र नियन्त्रणका लागि आधारभूत तहका स्वास्थ्यकर्मीहरू
समेत तयार छैनन्।
शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चारलगायतका क्षेत्रबाट
एकीकृत रूपमा जनचेतना नजगाई हृदयघात, क्यान्सर, मधुमेहजस्ता रोगहरूको
रोकथाम र नियन्त्रण हुनसक्दैन। स्वस्थकर जीवनशैली विकास गर्न नसके
हजारौँ नेपालीले दिनानुदिन युवराज पारसकै जस्तो नियति भोग्नुपर्छ र
कतिले भोगिरहेका पनि छन्। पारस त बाँचे, तर सबै नेपालीले त्यस्तो अवसर
पाउँदैनन्। बाँचे पनि जिन्दगीभर औषधि खानुपर्ने र महँगो उपचार गर्नुपर्ने
हुन्छ, बाँकी जीवन पहिलेजस्तो उत्पादनशील बन्न सक्दैन।
(डा. कार्की नसर्ने रोगका कारक तत्वहरू सम्बन्धी राष्ट्रिय
सर्वेक्षण, २००७ का सह–अनुसन्धानकर्ता हुन्।)
|