हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

लघु जलविद्युत्ले गाउँ झिलीमिली

सदरमुकाम कुस्मादेखि दक्षिण पर्वतको 'कालापानी' भनिने हुवास गाविसका तीन वटा वडा अहिले बिजुलीको बत्तीले झिलिमिली भएका छन्। गाउँमा १३ किलोवाट क्षमताको गेडीखोला लघु जलविद्युत् परियोजना सम्पन्न भएपछि स्थानीयवासीले बिजुलीको उज्यालो देख्न पाएका हुन्।

परियोजनाबाट गाविसका ३, ७ र ८ नम्बर वडाका १०५ घरमा बिजुली बालिएको छ। रु.२० लाख ९३ हजार ४२४ मा निर्मित उक्त जलविद्युत् परियोजना सम्पन्न गर्न ग्रामीण उर्जा विकास शाखाको रु.१० लाख २० हजार अनुदान, हुवास गाविस र पर्वत जिविसको रु.२ लाख ९ हजार ३४२ सहयोगका साथै स्थानीय उपभोक्ताले रु.३ लाख ५१ हजार नगद योगदान तथा रु.३ लाख ३ हजार बराबरको श्रमदान गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष गिरिराज गौतम भन्छन्, “बत्ती बाल्नका लागि प्रत्येक उपभोक्ताले कम्तीमा २० जनाको श्रम र रु.१ हजार नगद योगदान गरेका छन्।”

राष्ट्रिय प्रसारणको बिजुली अहिलेसम्म पनि सदरमुकाम कुस्माबजार र वरपरका क्षेत्रमा मात्रै उपलब्ध पर्वतमा बिजुली नपुगेको दक्षिणी भेगका डेढ दर्जन गाविसका अन्य स्थानको विद्युतीकरणका लागि लघु जलविद्युत्मै भरपर्नुपर्ने अवस्था छ। त्यसैले स्थानीय वासिन्दाहरूले आफ्नै लगानीमा विद्युत् उत्पादन गरी उज्यालोमा बस्ने चाहना पूरा गर्न थालेका हुन्। हुवासकै छिमेकी भोर्ले गाविसमा १६ किलोवाट क्षमताको धुवाँकोट खोला लघु जलविद्युत् परियोजना सम्पन्न हुनै लागेको छ भने बेउलीबास गाविसमा २० किलोवाट क्षमताको सिद्धिखोला र सरौँखोला गाविसमा अगुवाखोला–दोस्रो जलविद्युत् परियोजनामा पनि काम हुँदैछ।

दुर्गाप्रसाद शर्मा, पर्वत


डाँडामाथि फोन

वर्षायामपछिको घमाइलो दिन। नागीमा जताततै गाईवस्तु, भेडाबाख्राहरू चरिरहेका छन्। हातमा सीडीएमए बोकेर वस्तु हेरिरहेका भन्ज्याङखर्क–५ का दीपक कट्वाल नागीको ठूलो डाँडामा चढेर हेलो..., हेलोे... गर्दै कुरा गरिरहेका देखिन्छन्। उनीसँगै छिमेकी गाउँ बासिङ थर्पू–१ का शङ्कर कार्कीलाई पनि सीडीएमए फोनबाट गाउँवासीलाई टाढा रहेका आफन्तसँग सम्पर्क गराउन भ्याई–नभ्याई देखिन्छ।

'एक काम दो पन्थ' भने झैँ गाईवस्तु पनि हेरिने फोनको व्यापार पनि हुने गरेको बताउँदै शङ्कर भन्छन्, “गाउँमै सेवा गर्न पाइएको छ। गाउँलेहरू आफन्तसँग कुराकानी गर्न पाएर रमाएका छन्।” अचेल खोटाङ र भोजपुरका सीमाक्षेत्रका नागीहरूमा दीपक, शङ्कर जस्ता गोठालाहरूले फोन सुविधा पुर्‍याएपछि गोठालाहरू गाईवस्तु छोडेर तथा खेतालाहरू मेलापात बिर्सिएर शहरमा भएका आफन्तहरूसँग कुरा गर्न आउँछन्। गाउँघरका अधिकांश युवाहरू रोजगारीका लागि विदेश गएका छन्। शुक्रबार उनीहरूको फोन आउँदा शङ्कर र दीपकहरू खबर बोकेर गाउँ–गाउँ दगुर्छन्। उनीहरूलाई पनि राम्रै आम्दानी भएको छ। गोठालो गर्दै कहिलेकाहीँ दैनिक रु.१३०० सम्म कमाउँछन् उनीहरू।

यस भेगका जनताले यसअघि एक दिनको बाटो हिँडेर चिसापानी नपुगी आफन्तहरूलाई फोन सम्पर्क गर्न सक्दैनथे। चिसापानी पुगेर पनि दुईदिनसम्म फोन गर्ने पालो कुरेको अनुभव सुनाउँदै ासिङ थर्पू–१ की डम्बरकुमारी कार्की भन्छिन्, “कतारमा बस्ने कान्छा छोरालाई फोन गर्न अब त शुक्रबार–शुक्रबार १५ मिनेटको बाटो भन्ज्याङखर्क जाने गरेकी छु। समयको पनि बचत पैसाको पनि बचत।” धरानमा कक्षा ११ मा पढिरहेकी बासिङ थर्पू–६ की सुशीला राईले गाउँ गएका बेला आफ्नै घरमाथिबाट साथीहरूसँग धरानको हालखबर सोध्न पाउँदा एकदम खुशी लागेको बताइन्। सात महिनाअघि नेपाल टेलिकमले ताररहित सीडीएमए फोन वितरण गरेपछि खोटाङ र भोजपुरका प्रत्येक गाउँमा दुई–चार वटा फोन भित्रिएका छन्। प्रविधिले गाउँवासीहरूलाई ठूलो सुविधा पुर्‍याएको स्थानीय राजनीतिक नेता डम्बरबहादुर कार्की बताउँछन्।

देवेन्द्र कार्की, खोटाङ


धनकुटामा बन्ने भो नमूना ल्याण्डफिल

धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न २५ वर्षे दीर्घकालीन योजना बनाएर वडा नं. ३ स्थित सल्लेरी वनक्षेत्रको संसारीमाई डाँडामुनि खोल्सामा नमूना ल्याण्डफिल साइट निर्माण गरिरहेको छ (तस्बिरमा रातो घेरा)। ल्याण्डफिलमा ४५००, २८०० र ३२०० घनमिटरका तीन वटा खाडल निर्माण गरेर फोहोरलाई थान्को लगाइनेछ। नगरपालिकाको योजना शाखा प्रमुख मिङ्मा दोर्जी शेर्पा भन्छन्, “यो काम सकिएपछि २५–३० वर्षसम्म नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या पर्ने छैन।”

ल्याण्डफिल साइटमा १० हजार टनभन्दा बढी फोहोरमैला व्यवस्थापन गर्न सकिने नगरपालिकाका कर्मचारीहरू बताउँछन्। सङ्कलित फोहोरमध्ये प्लाष्टिकजन्य पदार्थहरूलाई छुट्याएर बिक्री गर्ने र ल्याण्डफिलको लिचेट चेम्बरबाट निस्किने मल बिक्री गर्नुका साथै त्यहाँबाट निस्किने ग्याँसको समेत सदुपयोग गर्ने नगरपालिकाको योजना छ। ल्याण्डफिल साइट निर्माण तथा सञ्चालनमा सहयोग पुर्‍याउन टोल–बस्तीका पदाधिकारी, नागरिक समाज, बुद्धिजीवी, स्थानीय संघसंस्था र राजनीतिक दलका प्रतिनिधि, प्राविधिक तथा पत्रकारहरूको सर्वपक्षीय भेलाबाट फोहोरमैला व्यवस्थापन समिति र उपभोक्ता समिति गठन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रशासन प्रमुख डम्बर रोगुका अनुसार, तीन चरणमा पूरा हुने ल्याण्डफिल साइटमा हाल पहिलो चरणको काम सिध्याएर दोस्रो चरणको काम गरिँदैछ। निर्माण सम्पन्न गर्न र फोहोरमैला ओसारपसार गर्ने साधन खरिद गर्न रु.१ करोडको बजेट अनुमान गरिएकोमा अहिलेसम्म नगरपालिकाको रु.२५ लाख र श्रमदानको रु.८ लाख खर्च भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले बताए। उनका अनुसार फोहोरमैला व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार र ल्याण्डफिल जाने २८० मिटर सडक निर्माणलगायतका काम सम्पन्न भएका छन् भने फोहोरमैला बोक्ने साधनका लागि स्थानीय विकास मन्त्रालयसँग अनुरोध गरिएको छ।

विजय सन्तोषी राई, धनकुटा


उपचारको आशमा सुशीला

माघ २०६२ को रात उदयपुरको त्रियुगा नगरपालिका–१, बोक्सेको करमगाछीमा गस्ती गएको सुरक्षाफौज र माओवादी छापामारबीच भएको भिडन्तमा दुई वटा गोली लागेर पनि बाँचेकी १४ वर्षीया सुस्तकुमारी श्रेष्ठ (सुशीला) अन्ततः अपाङ्ग भएकी छन्। घाइते सुरक्षाकर्मीसँगै हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार गरिएको भएपनि अहिले उनको दायाँ हात चल्न नसक्ने गरी खुम्चिएको छ। उक्त भिडन्तमा सेनाका जमदारसहित दुई सैनिक, दुई सशस्त्र प्रहरी जवान र एक माओवादी सेक्सन कमाण्डरको ज्यान गएको थियोभने १२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

गरिबीको कारण उपचार गर्न नसक्दा छोरी अपाङ्ग बन्नुपरेको सुनाउँदै काठ मिस्त्रीको काम गरेर परिवार पाल्दै आएका बाबु कर्णबहादुर भन्छन्, “पैसावाल भएको भए छोरीको पूरा उपचार गर्ने थिएँ, गरिब भएकोले अपाङ्ग भएको हेर्नु परेको छ।” सुशीलाको उपचारमा सरकारले वास्ता नगरेको गुनासो गर्दै उनका बाबुआमाले पटकपटक रोई–कराई गरेपछि तत्कालीन अञ्चल प्रशासक रामकुमार सुब्बा र प्रमुख जिल्ला अधिकारीबाट रु.५–५ हजारबाहेक अरू कुनै सहयोग नपाएको बताउँछन्।

प्रजिअ डुल्लुराज बस्नेतले द्वन्द्वकालका घाइतेहरूको उपचार र पढाइ खर्च सरकारले व्यहोर्ने नियम रहेको बताएर हाल त्रिनपा–१७, रातमाटेको सामुदायिक विद्यालयमा कक्षा ६ मा पढिरहेकी सुशीलाको उपचार र पढाइमा सरकारी सहयोग हुनसक्ने आश देखाएका छन्। उक्त भिडन्तमा ज्यान गुमाएका सैनिक र सशस्त्र प्रहरी प्रत्येकका परिवारलाई सरकारले साढे सातलाख रुपैयाँ दिएको तथा घाइतेहरूको उपचार गरेको पनि बस्नेतले बताए।

महेश्वर चामलिङ, उदयपुर


वैज्ञानिकलाई चुनौती खुम्रे कीरा

सिन्धुपाल्चोकको शिखरपुर र फटकशिला गाविसका किसानहरूलाई चार वर्षदेखि खुम्रे कीराले सताएका छन्। अझै नियन्त्रणमा लिन नसकिएको उक्त कीरा वैज्ञानिकहरूलाई समेत चुनौती बनेको छ। कीराले विशेषगरी मकै र कोदो बाली सखाप पार्ने गरेकोले स्थानीय जनताले भोकमरीको व्यहोर्नु परेको छ। शिखरपुर–५ र ६ का किसानहरूले त अहिले बाली नै लगाउन छाडेको स्थानीय राजेन्द्र दाहालले बताए।

खुम्रे कीराको प्रकोपबाट ५०० रोपनी जमिनमा लगाइएको मकै बाली पूर्ण रूपमा नष्ट हुने गरेको छ। शुरुमा मकैमा मात्र लाग्ने गरेको कीरा अहिले कोदो र धानमा समेत सरेको बताउँदै शिखरपुर गाविसका पूर्व अध्यक्ष इन्द्रप्रसाद दाहाल भन्छन्, “कडा विषादी प्रयोग गर्दा एकवर्ष केही कमी भएको थियो, तर अर्को वर्ष त्यसले पनि काम दिन छाडेकोले निराश भएका छौँ।”

खुम्रे कीरामै विद्यावारिधि गरेका र यहाँका कीरालाई स्वीट्जरल्याण्ड र बेलायतसम्म लगेर समेत अनुसन्धान गरेका रामपुर क्याम्पसका डा. युवकध्वज जिसीले त्यहाँ अनुकूल हावापानीका कारण पूर्ण रूपमा नियन्त्रण गर्न सकिएको कीरालाई यहाँ केही हदसम्म मात्र नियन्त्रण गरिएको बताएका छन्। खुम्रे नष्ट गर्न एक प्रकारको ढुसीको समेत विकास गरेका जिसी यहाँको माटोमा चिस्यान कम र अम्लीयपन बढी भएकोले पनि सफलता नमिलेको बताउँछन्। ती गाविस वरपर सल्लाघारी भएकाले खपटे प्रजातिको खुम्रेको प्रकोप भएको उनको तर्क छ।

राम के.सी., सिन्धुपाल्चोक


फोटो पत्रकारहरू सम्मानित

सुमीन बज्राचार्य

गणेशमान सिंहको ९२ औँ जन्मजयन्तीको अवसरमा संयुक्त जनआन्दोलन सङ्घर्ष समितिले २४ कात्तिकमा काठमाडौँ, रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना गरेको एक कार्यक्रममा फोटो पत्रकारहरू हिमाल खबरपत्रिका का मीनरत्न बज्राचार्य र द हिमालयन टाइम्स का राजेन्द्र मानन्धरलाई सम्मान गरेको छ। बज्राचार्य र मानन्धरलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवास नेम्वाङ्गले स्वर्ण पदकका साथै ताम्रपत्र प्रदान गरेका थिए। उक्त अवसरमा २०४६ को जनआन्दोलनमा मीन र २०६२–६३ को जनआन्दोलनमा राजेन्द्रद्वारा खिचिएका तस्बिरहरूलाई फ्लेक्सचार्टमा प्रदर्शन पनि गरिएको थियो।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहका थुप्रै फोटोका साथै तत्कालीन समयका चर्चित फोटोका सर्जक बज्राचार्य भन्छन्, “पहिलो जनआन्दोलनबाट उठेको मेरो फोटो–पत्रकारिता आजसम्म पनि उत्तिकै छ।” मीनले आफूमा अझै जिम्मेवारी थपिएको महसूस गरेका छन्। उक्त अवसरमा गणेशमान सिंहको पूर्णकदको सालिकका साथै दुवै पटकको जनआन्दोलनमा शहादत प्राप्त गर्नेहरूको नाउँ अङ्कित शिलालेखको अनावरण समेत गरिएको थियो।


असावधानीले महामारी फैलियो

बाढीपछि देखा परेको झाडापखाला र हैजाका कारण तीन महिनामा सप्तरीमा ३४ जनाको ज्यान गएको छ। वर्षात्पछि दूषित बनेको खेत र कुवाको पानी तथा जमेको स्थानमा पाइने साना माछा खानाले सीमावर्ती क्षेत्रका करिब ५० गाविसमा झाडापखाला र हैजा फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जनस्वास्थ्य कार्यालयका सिनियर अहेव शैलेन्द्र गुप्ताका अनुसार बाढी प्रभावित क्षेत्रमा धेरै देखापरेका झाडापखालाका बिरामीहरूमध्ये चार वर्षमुनिका ६ जना, १४ वर्षमुनिका आठ जना र २० वर्षमुनिका २० जनाको ज्यान गएको छ। यिनमा पनि २३ जना दलित, पाँच जना जनजाति र बाँकी अरू छन्।

बिरामीहरूका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज, प्राथमिक स्वास्थ्य केन्द्र हनुमाननगर, इलाका स्वास्थ्य केन्द्र तोपामा पाल टाँगेर छुट्टै उपचारको व्यवस्था गरिएको अञ्चल अस्पतालका चिकित्सक टेकनारायण मण्डलले बताए। दिनहुँ २० जनाका दरले झाडापखालाका बिरामीहरू अस्पताल आउने गरेको ती चिकित्सक बताउँछन्। सप्तरीका बिरामीहरू उपचारको लागि राजविराज मात्र नभएर लहान, धरान र विराटनगरमा समेत जाने गरेका छन्।

भदौदेखि फैलिएको झाडापखालाको प्रकोपबाट ५० हजारभन्दा बढी प्रभावित भएको र अहिलेसम्म ३५ सयजना उपचारपछि घर फर्किएका जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ। प्रकोप बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. राजेन्द्र गुरुङको नेतृत्वमा आएको टोलीले प्रभावित क्षेत्रको पानी र २६ जनाको दिसा परीक्षण गरेको थियो। प्रभावित आठ जनालाई हैजा देखा परेको र सबै क्षेत्रको पानीमा पोलिफर्म व्याक्टेरिया भेटिएको जनाएको छ। अहेव गुप्ता भन्छन्, “प्रति सय मिलिलिटर ५० पीपीएमभन्दा बढी व्याक्टेरिया भएको पानी खान हँुदैन, तर यहाँको पानीमा तीन सयभन्दा बढी पीपीएम व्याक्टेरिया देखा परेको छ।”

झाडापखाला र हैजाबाट बच्न चर्पी, ताजा खानपिन, स्वच्छ पानी, सरसफाइ आदिको जरुरत पर्दछ। सप्तरीमा अहिले सरकारी र गैरसरकारी दुवैक्षेत्रबाट स्थानीयवासीलाई यी कुरामा ध्यान दिन चेतनामूलक कार्यक्रम र सहयोग भइरहेका छन्। चर्पी नभएको घरमा छोरी नै नदिने अभियान चलेको छ। विसरिया गाउँमा त होर्डिङबोर्डमा समेत यस्तो लेखिएको छ, 'जेकर घर मे चर्पी नाहिँ ओकर घर मे शादी नाहिँ।' यद्यपि महामारी फैलँदा पनि सरकारको भने पर्याप्त ध्यान नपुगेको स्थानीयवासीहरू बताउँछन्।

मनोज श्रेष्ठ, सप्तरीमा