हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विकास

कहाँ पुगे अरू कहाँ छौं हामी

कसले सोचेको थियो माझाीहरूको सानो मुलुक सिङ्गापुरले ४०–४५ वर्षको अन्तरालमा यस्तो विकास गर्ला भनेर? समय र सत्यलाई बुझने एउटा गतिलो नेता पायो भने देशले कति छिटो विकास गर्न सक्दोरहेछ!

कर्ण शाक्य

रविन साय्मि

समृद्ध, समुन्नत र सुखी समाज सहमति र सम्झौताको वातावरणमा मात्रै निर्माण हुन्छ। समय र सत्यको संवेदनशील सिमाङ्कन थाहा पाउन सकेनौँ भने हामी पराजित हुन्छाँै। इतिहासले मात्र होइन, वर्तमान घटनाक्रमले पनि यस्तै देखाएका छन्।

जतिसुकै जटिल चुनौती किन नहुन्, समाधानको उपाय समयको यन्त्रमा लुकिरहेका हुन्छन्। यो यन्त्र सहमतिको 'कि–वर्ड' बाट खुल्छ। जबर्जस्ती गर्‍यो भने त्यसका सम्पूर्ण 'हार्डवेयर' र 'सफ्टवेयर' खत्तम हुन सक्छन्। समय र सत्यलाई आत्मसात् गरेर काम गर्ने वातावरण सिर्जना गर्न सक्यौँ भने हामी पनि भियतनाम र कम्बोडियाले जस्तै आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरेर विकासको छलाङ मार्न सक्छौँ।

सिङ्गापुर पहिले एउटा सानो बन्दरगाह थियो। जहाज आउने बेला केही चहल–पहल हुन्थ्यो, अरू बेला मानिसहरू माछा मारेर जीविकोपार्जन गर्थे। नाजुक आर्थिक अवस्थाका कारण धेरै मानिसहरू ठूला पसलमा छिर्ने हिम्मत नभएर फुटपाथे पसलमा सामान किन्दथे। कसले सोचेको थियो, माझीहरूको त्यो सानो मुलुक ४०–४५ वर्षको अन्तरालमा विश्वको एउटा व्यवस्थित र विकसित देश हुन्छ भनेर? समयको माग र सत्यको हाँकलाई चिन्ने र बुझ्ने गतिलो नेता पायो भने देशले कति छिटो विकास गर्न सक्दोरहेछ!

३० वर्षअघि म मलेसियाको क्वालालम्पुर जाँदा सारा शहर एउटा सडकमा सीमित देखेको थिएँ। सङ्कीर्ण जातीय र धार्मिक विचारधारा बोकेको मलेसियाले समयको आवश्यकता पहिचान गर्दै 'अनेकतामा एकता' को अन्तर्निहित शक्ति परिचालन गरेर यति छिटो विकास गर्‍यो, आज त्यो देश नेपालको समेत अन्नदाता बनेको छ। पहिले थाइल्याण्ड पनि एउटा कृषिप्रधान देश नै थियो। ब्याङ्ककका मूल सडकमा कट्टु लगाएका पसलेहरू सेकुवा पोलेर बेचिरहेका देखिन्थे। झ्वाट्ट हेर्दा थाईहरू नेपाली जस्तै देखिन्छन्, तर थाइल्याण्ड र नेपालको विकासको गतिमा निकै ठूलो अन्तर छ। अहिले थाइल्याण्डको भौतिक संरचना, मानिसहरूको रहनसहन, तौरतरिका हेर्दा त्यसको सम्पन्नता कुनै विकसित मुलुकको भन्दा कम देखिँदैन। त्यहाँ राजनीति गर्नेले गरिरहे, तर सबै जनताले आ–आफ्नो जीवनशैलीलाई अनुशासित र जिम्मेवार बनाउँदै कुरा भन्दा काम बढी गरेर आफू र देशलाई समेत द्रूतगतिले विकास गर्दै लगे।

अरू देशको के कुरा गरौँ, वर्षका चार महिना जलमग्न हुने अनिकालग्रस्त बङ्गलादेशले समेत अनेकन् आन्तरिक राजनीतिक मतभेद हुँदाहुँदै राष्ट्रिय हितको लागि विश्व बजारको मागअनुसार औद्योगिक विकासको जग बसालेको छ। आफ्नो राष्ट्रिय स्वाभिमानको लागि बङ्गलादेश आफ्नै 'गड मदर' सामु पनि झुकेन, तर हाम्रा सबै नेताहरू राजनीतिक स्वार्थको लागि अर्काको इशारामा हिँड्न समेत हिच्किचाउँदैनन्।

शत्रुकै भएपनि राम्रो कुरा ग्रहण गर्न सक्नु कमजोरी होइन, शक्ति हो। स्वतन्त्रतापछि श्रीलङ्काले ब्रिटिस साम्राज्यबाट विरासतमा पाएको निजामती एवम् प्रशासनिक संयन्त्रका समय सुहाउँदा गुणहरूलाई परिमार्जित गरेर राज्यलाई स्थिर एवम् सबल बनाएको र देश विकास गर्दै लगेको छ। त्यसैले ४० वर्षको निरन्तर गृहयुद्धबाट पनि श्रीलङ्काको विकासमा कुनै आँच आएको छैन। परिवर्तनको नाममा समयले निखारेका अतीतका 'टाइम अनर्ड' प्रावधानहरूलाई हटाएर विकासको अङ्कुरले जरा गाड्न सक्दैन।

आज सारा विश्व चीनको जल्दोबल्दो आर्थिक रापमा हात ताप्न प्रतिस्पर्धा गरिरहेको छ। कसले सोचेको थियो १०–१५ वर्षअघिसम्म होटेलमा नुहाउन बाल्टिनमा तातोपानी दिने अनि राति बचेको खाना तताएर भोलिपल्ट 'ब्रेकफास्ट' खुवाउने चीनका कुनाकाप्चामा अहिले पाँचतारे मात्र होइन, साततारे विलासी होटेलहरू फालाफाल छन्। भेष–भुषा र भाषाको साँघुरो इनारमा जिन्दगी बिताइरहेका चिनियाँहरू खर्पन बोकेर धानबारीका आलीमा हिँडिरहेका देखिन्थे। तर आज उनीहरू विश्वको पर्यटन बजारका सबैभन्दा महत्त्वपूर्ण ग्राहक बनेका छन्।

१०–१५ वर्षअघिसम्म १०० अमेरिकी डलर भन्दा कम वार्षिक औसत आय भएको भुटान आज एउटा नदीबाट बिजुली उत्पादन गरेर दक्षिण एसियाकै सम्पन्न राष्ट्र बन्न पुग्यो। यो कुरा सुन्दा दुःख लाग्छ। दुःख भुटानले प्रगति गर्‍यो भनेर होइन, हिमालै बोकेको नेपालले अहिलेसम्म जलविद्युत्को क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकेन भनेर हो। अथाह जलस्रोतले हामीलाई सधैँ पर्खिरह्यो, तर विचरा नेपाली पानीले समयको मूल्यलाई चिनेर आफ्नो कण–कणभित्र लुकेको उर्जालाई उपयोगमा ल्याउन पाएन, बरु आफ्नो देशको मलिलो माटो बगाएर विरानो ठाउँलाई उर्वरा बनाइरह्यो।
लोभ लाग्छ, छिमेकी देशहरूको प्रगति देखेर। केही हप्ताअघिको कुरा हो, म भारतको एउटा टेलिभिजन च्यानल हेर्दैथिएँ। उत्कृष्ट उद्यमीहरूको सम्मानमा आयोजित एउटा कार्यक्रममा भारतका अर्थमन्त्री पी. चिदम्बरम्को भाषणले मेरो ध्यान आकर्षित गर्‍यो। कालो फ्रेमको चश्मा र हिउँजस्तो सेतो धोतीमा देखिएका एसियाका एक विख्यात अर्थशास्त्री एवम् योजनाविद् चिदम्बरम्ले प्रसन्न मुद्रामा बोल्दै भनेका थिए, “आज भारतको कुल औसत वार्षिक उत्पादन ९ प्रतिशतले बढेको छ, भोलि १० होला, पर्सि ११। तर यो मात्र हाम्रो सपना होइन। भारतको सपना १० वर्षभित्र विश्वको विकास तालिकाको दशौं स्थान भित्र पुग्नु हो।” उद्यमीहरूलाई उनको आग्रह थियो, “जानुस्, संसारका ठूल्ठूला बहुराष्ट्रिय कम्पनी किन्नुस्, ब्याङ्कहरू खोल्नुस्, हलिउडलाई जित्नुस्, विदेशी सञ्चारमाध्यममा आधिपत्य जमाउनुस्... यसको लागि भारत सरकारले तपाईहरूलाई चाहिने मद्दत गर्नेछ। अनि हुन्छ, भारतको सपना साकार।”

अर्थमन्त्रीको त्यो आश्वासनले भारतीय उद्यमीहरूको छाती कति चौडा भयो होला, सजिलै अनुमान गर्न सकिन्छ। म आफैँ पनि एकछिनको लागि त्यो प्रभावशाली भाषण सुनेर गम्भीर सोचमा डुबेँ। भारत सरकार आफ्ना नागरिकहरूलाई संसारको मालिक बनाउन कोशिश गरिरहेको छ, हामी आफ्ना दाजुभाइहरूलाई विदेशमा नोकर बन्न पठाइरहेका छौँ।

१५ वर्षअघिसम्म नेपालमा भारतीय पर्यटकहरू आउँदा यहाँका होटेलका ढोकापालेले समेत हेप्ने गर्दथे। ती भारतीयहरू नयाँ सडकका पसलमा एउटा सानो विदेशी माल किन्न पाउँदा बच्चाहरू जस्तै दङ्ग पर्थे। आज उनीहरू स्वदेशीपनमा शान गर्छन् र भारतीय हुनुमा गौरव ठान्छन्। हुनत भारत मेरो देश होइन, तैपनि छिमेकी मुलुकको प्रगति देखेर मन खुशीले ढक्क फुल्छ। भारतको प्रगतिबाट नेपाललाई पनि केही सहयोग त प्राप्त भएको छ― पहिले नेपालीहरू दरवानको जागिर खान मात्र इण्डिया जान्थे, अहिले रेस्टुरेण्टहरूमा कुक र क्याप्टेनको काम गर्न, जङ्गल सफारी लजहरूको व्यवस्थापन हेर्न जानेहरू पनि छन्।

आफूसरहका अरू देशले ठूलो प्रगति गरिसकेका र आफ्नो देशमा विकासको सूर्य डुब्दै गइरहेको कटुसत्यलाई स्वीकार गर्नुपर्दा मनमा दुःख हुने नै भयो। के भयो नेपालमा? यति सरल र सानो मुलुक भएर पनि किन हामीले विकास गर्न सकेनौं? टोनी हागनले एकचोटि भनेका थिए, “१९५० को दशकसम्म नेपाल र दक्षिण कोरियाको आर्थिक अवस्था एउटै थियो।” अहिले कोरिया कहाँ पुग्यो र हामी कहाँ छौं? के हाम्रो यो अवस्था राजनीतिक अन्योलको कारणले मात्र भएको हो? कि नेताहरू भ्रष्ट भएकाले वा हाम्रो नकारात्मक मानसिकताले?

एकचोटि मदनकृष्ण र हरिवंशले खुल्ला बाकसमा राखेर विदेश निर्यात गर्न लागिएका भ्यागुताहरूसँग तुलना गर्दै अरूको खुट्टा तान्ने नेपाली प्रवृत्तिप्रति व्यङ्ग्य गरेका थिए। त्यस्तै, मित्र अनिल चित्रकारले महादेवका एक भक्तको कथा सुनाएका थिए― भगवान शिवले खुशी भएर एक भक्तलाई छिमेकीलाई दोब्बर लाभ हुनेगरी वरदान दिने भएपछि उसले आफ्नै एउटा आँखो फुटाइदिन भनेको थियो रे, ताकि छिमेकीका दुई वटै आँखा फुटून्! यस्ता चुट्किला सुन्दा कहिलेकाहीँ नमीठो लागे पनि, यिनले हाम्रो वास्तविकताको आभास गराउँछन्।

पी. चिदम्बरम्को भाषणले मलाई जति प्रभावित गर्‍यो, त्यत्तिकै नमीठो हीनताबोध पनि गरायो। तर, केही क्षणमै मनमा फेरि एउटा आशा पलायो― कमसेकम हाम्रो देश अफ्रिकाको सव–सहारन मुलुकहरूमा जस्तो गरिबीको महासागरमा डुबिसकेको त छैन। सौभाग्यवश हामी दुई शक्तिशाली र सम्पन्न राष्ट्रहरूका बीचमा छौँ। नेपाल अब दुई ढुङ्गाबीचको 'विचरो' तरुल होइन, दुई ठूला सुनखानीबीचको पुल या हीरा–मोती जोख्ने तराजुको 'फलक्रम' भएको छ।

जसरी धपधप बलिरहेका दुई वटा हिटरका बीचमा राखिएको वस्तु तात्दै जान्छ, त्यसरी नै समकालीन विश्वका शक्तिशाली 'इकोनोमिक पावर हाउस' भारत र चीनको अद्वितीय विकासको राप र तापले नेपालको चिसोपनलाई पनि ढिलोचाँडो न्यानो पार्छ। योे प्रक्रियालाई कसैले रोक्न सक्दैन। किनभने यो प्रकृति एवम् विज्ञानको नियम हो। प्रश्न यति मात्र हो― समय कति लाग्ला?