हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०६ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

एलजीको अल्ट्रा स्लिम

एलजी इलेक्ट्रोनिक्स्को आधिकारिक बिक्रेता चौधरी गु्रपले २१ इन्चको एलजी अल्ट्रा स्लिम टेलिभिजन बजारमा ल्याएको छ। पीडीपी र एलसीडी डिजाइनमा उपलब्ध ५० हर्ज पिक्चर र ३३४ डेप्थ रहेको यो टेलिभिजनमा तस्बिरहरू सफा र आकर्षक देखिने कम्पनीको दाबी छ। स्टेरियो साउण्ड रहेको अल्ट्रा स्लिम टेलिभिजनको बजार मूल्य रु.२१ हजार ९०० छ। कम्पनीले यसको खरीदमा ४८ महिनाको वारेन्टी र शून्य प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने जानकारी दिएको छ।

दुई फाइनान्सद्वारा सेवा शुरु

युनिक फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेडले काठमाडौँको पुतलीसडकबाट वित्तीय सेवा शुरु गरेको छ। देशमा रहेको अनुत्पादक पूँजी परिचालन गरी ग्राहकलाई पारदर्शी र विश्वसनीय सेवा दिएर आर्थिक रूपमा सम्बृद्ध गराउने उद्देश्य लिएको युनिकको अधिकृत पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.३ करोड छ। संस्थाले आफ्नो ब्याङ्किङ सेवामा रु.१ मै खाता खोलिने र मासिक न्यूनतम मौज्दातमा ६.५ प्रतिशत व्याज दिइने योजना अघि सारेको छ।

काठमाडौँको नयाँबानेश्वरबाट मञ्जुश्री फाइनान्स इन्स्टिच्यूसन प्रालिले पनि सेवा शुरु गरेको छ। अधिकृत पूँजी रु.७ करोड रहेको यस संस्थाले ग्राहक र व्यावसायिक क्षेत्रलाई भरपर्दो र आधुनिक वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। भविष्यमा इन्टरनेट व्याङ्किङजस्ता आधुनिक ब्याङ्किङ सेवा उपलब्ध गराउने फाइनान्सको योजना छ।

यामाहाको ग्लाडियटर–डिलक्स

यामाहा मोटरसाइकलको अधिकृत विक्रेता मोरङ अटो प्रालिले १२५ सीसी इञ्जिन भएको पाँच गियरको यामाहा ग्लाडियटर–डिलक्स मोटरसाइकलको बिक्री शुरु गरेको छ। राम्रो पिकअप र माइलेज दिने वाइटीएस प्रविधिजडित कार्वोरेटरका साथै आकर्षक हेडलाइट, सेल्फ स्टार्ट र स्पोर्टी स्वरुपका कारण यो मोटरसाइकल युवाहरूमाझ लोकप्रिय बन्ने दाबी कम्पनीको छ। चार रंगमा उपलब्ध मोटरसाइकलको मूल्य रु.१ लाख २७ हजार ९०० राखिएको छ।

इन्स्पाइरल र लङ लभ कण्डम बजारमा

प्राक्सिस ट्रेड लिङ्क प्रालिले अमेरिकामा निर्मित इन्स्पाइरल र स्किनलेस लङ लभ कण्डमहरूको बिक्री शुरु गरेको छ। कम्पनीले डब्लुएचओ स्ट्याण्डर्डका यी कण्डमलेे गर्भधारण, एचआईभी एड्स तथा अन्य यौन रोगहरूबाट सुरक्षा प्रदान गर्नुका साथै यौन सम्पर्कमा थप आनन्द दिने दाबी गरेको छ। ३, ६ र १२ वटाको प्याकमा उपलब्ध इन्स्पाइरल को बजार मूल्य क्रमशः रु.४५, ९० र १८० तथा स्किनलेस लङ लभ को ३ र १० वटाको प्याकको मूल्य क्रमशः रु.३० र १०० छ।

इनभेनियो वाइन नेपालमा

कार्ल्सवर्गलेे नेपालमा इनभेनियो वाइनको बिक्री शुरु गरेको छ। अष्ट्रेलिया, इटाली, फ्रान्स, चिली, स्पेन, दक्षिण अफ्रिका, अमेरिका, जर्मनीलगायतका मुलुकहरूमा पाइने ४० किसिमका इनभेनियो वाइनमध्ये सात–सात किसिमका रेड र ह्वाइट वाइन काठमाडौँका मुख्य डिपार्टमेन्ट स्टोर र रेष्टुरेन्टहरूमा उपलब्ध गराइएको जानकारी बिक्रेताले दिएको छ।

थाई एअरवेज पुरस्कृत

थाई एअरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले स्तरीय, भरपर्दो र सुरक्षित उडानका लागि 'बेस्ट साउथ–इस्ट एसियन एअरलाइन' अवार्ड पाएको छ। सन् १९६० मा स्थापित थाइल्याण्डको सरकारी विमान कम्पनी थाई एअरवेजले आफ्ना ८८ जहाज र २५ हजार कर्मचारीको सहयोगमा ३५ मुलुकका ७४ शहरहरूमा उडान गर्दै आएको छ।

होन्डाका दुई नयाँ शोरुम

होन्डाको अधिकृत बिक्रेता स्याकर कम्पनीले पुतलीसडक र टेकुको बुधबारीमा नयाँ शोरुम खोलेको छ। होन्डाका ग्राहकहरुलाई बिक्री, सेवा र पार्टपुर्जाको सुविधा प्रदान गर्न खोलिएका यी शोरुममा रु.१ लाख ३० हजार ९०० मूल्यको होन्डा साइन, रु.१ लाख ५६ हजार ९०० को युनिकर्न र रु.१ लाख २४ हजार ९०० को डियो मोटरसाइकलहरू उपलब्ध छन्। बुधबारीस्थित शोरुममा फाइनान्स र एक्सचेन्ज सेवाको पनि व्यवस्था भएको कम्पनीले जनाएको छ।