![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
स्थलगत पसाहा बस आगलागी समय पनि रोकियो दुर्घटना या सुनियोजित आतंककारी हमला जे पनि हुनसक्छ, पसाहाको बस आगलागी। तर मिहिन अनुसन्धान नहुने हो भने न भोलि त्यस्तो घटना दोहोरिन नदिने उपाय निकाल्न सकिन्छ, न त आतंकसँग मुकाबिला गर्ने रणनीति नै बनाउन।
पूर्व–पश्चिम राजमार्गस्थित बाराको पसाहा पुलमा २ माघमा भएको यात्रुवाहक बस आगलागीको सत्यतथ्य दुई साता बितिसक्दा पनि बाहिर आएको छैन। आगलागी कसरी भयो, आगो कसरी उत्पन्न भयो, कस्तो खालको प्रज्वलनशील पदार्थ थियो त्यो, घटना कसैले गराएको हो वा प्राविधिक/ मानवीय त्रुटिबाट भएको हो भन्ने जस्ता प्रश्नको जवाफ बसमा सवार यात्रु, कर्मचारी वा अनुसन्धानमा संलग्न प्रहरी कसैसँग छैन। मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण गौतमले 'कसैले पेट्रोल राखेको र त्यसमा आगो परेको' आशङ्का गरेका छन्। तर, घटनाको प्रकृति, घाइते, प्रत्यक्षदर्शी र बस कर्मचारीका भनाइ तथा एउटा आपराधिक समूहको आफूले गराएको भन्ने दाबीले भने प्रहरीले भनेजस्तो 'दुर्घटना' मात्र नभई 'आतङ्ककारी हमला' हुनसक्ने देखाउँछन्। प्रहरीले आशङ्का गरे झ्ैँ बसमा पेट्रोल भएको पुष्टि भएको छैन। पसाहामा ओर्लेका बारा डुमरवाना, पिलुवाका दुई महिला यशोदा घिमिरे र मञ्जु घिमिरेबाहेक अरू कसैले पेट्रोल गन्हाएको बताएका छैनन्। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका रौतहटको महम्मदपुर–६, लक्ष्मीपुरका रामबच्चन साह र बर्दिवासदेखि नै बसमा चढेका सिन्धुली, भद्रकाली–३ का टोपकुमार दर्लामी आगो लाग्नुअघि पेट्रोल वा अरू कुनै गन्ध नआएको र शङ्कास्पद वस्तु पनि नदेखेको बताउँछन्। पेट्रोल वा त्यस्तै प्रज्वलनशील पदार्थले आगो टिप्नु प्रमुख कारण मानेपनि आगोको स्रोत के हो भन्नेमा पनि प्रहरी मौन छ। यात्रा गर्ने कसैले पनि चुरोट–बिँडीको गन्ध आएको बताएका छैनन्। आगो उत्पन्न भएको ड्राइभर पछाडिको ए ३ र ४ नम्बर सिट आसपासको क्षेत्रमा आगो निस्किन नसक्ने मेकानिकहरूको तर्क छ। साढे दुई वर्षदेखि चल्दै आएको दुर्घटनाग्रस्त स्वराज माज्दा बसको बडी बनाउँदादेखि बत्तीको काम गरेका मिस्त्री वीरेन्द्रप्रसाद कलवार वाइरिङबाट त्योविघ्न आगो नलाग्ने र तारमा आगो उत्पन्न हुनुअघि नै धुवाँ र गन्धले लक्षण थाहा भइसक्ने बताउँछन्। बसको नियमित जाँच गर्दै आएका वीरगञ्जका मेकानिक राधेश्याम साह भन्छन्, “बसभित्र ड्राइभरको छेउमै इञ्जिन भएको ठाउँको फ्लोर मुन्तिर मात्र आगो उत्पन्न हुनसक्छ र त्यसअघि प्रशस्त धुवाँ आउँछ।” बसको आन्तरिक गडबडीबाट आगो लाग्ने संभावना नरहेको दुवै मिस्त्रीको दावी छ,तर बसको तलपट्टि हुने ट्याङ्कको तेल र चक्का दुरुस्त हुनुले आगो बसभित्रै सिर्जना भएको मान्न कर लाग्छ। आफैँ आगो उत्पन्न हुने संभावना अत्यन्तै थोरै रहेको अवस्थामा अन्य स्रोतविना बसभित्र आगो सल्कने संभावना रहँदैन।
वीरगञ्जबाट जनकपुर जान त्यसै दिन बिहान ६.२० मा हिँडेको बस गन्तव्यमा नपुगी ११.४५ मा महोत्तरीको बर्दिवासबाट फर्किएको थियो। चालक पृथ्वीराज गिरीले बसको चक्का कमजोर भएको र केही समयअघि धनुषाको महेन्द्रनगरमा मोटरसाइकललाई ठक्कर दिएको घटना साम्य भइनसकेकोले अगाडि नगएको बताएका छन्। पञ्चर भएको चक्का बनाएर बर्दिवासबाट हिँडेपछि फेरि पञ्चर भएका दुई वटा चक्का सर्लाहीको हरिऔनमा टालिएको थियो। हरिऔनसम्म करिब–करिब खाली आएको बसका अधिकांश यात्रु त्यहीँ चढेका थिए। केही चन्द्रनिगाहपुर र निजगढमा थपिए। पसाहा आउनु पाँच किमी अगाडि १६ किलोमा मधेशी समुदायका दुई व्यक्ति एक्कासी बस रोक्न लगाएर ओर्लिए। भनेको ठाउँमा ठ्याक्कै नरोक्दा तिनले आफूलाई गाली समेत गरेको चालक गिरीको कथन छ। तिनीहरू झ्रेको ६–७ मिनेटमै बसमा आगो लाग्यो। बस जनकपुर नगई किन बर्दिवासबाटै फर्कियो र बीच जङ्गलमा ओर्लने ती दुई व्यक्ति को थिए प्रहरीले पनि यकिन गरेको छैन। 'विष्फोटको आवाज नआएको' भन्ने आधारमै आतङ्ककारी हमला हुन नसक्ने प्रहरीको तर्क छ। आतङ्ककारी हमलामा ठूलो आवाजले नपड्किने बम पनि प्रयोग हुनसक्छ भन्ने पाटोलाई अनुसन्धानमा महत्व दिइएको छैन। सामान्यतया बम पड्किँदा 'चोट पार्ने', 'हल्लाउने' र 'आगो लगाउने' असर हुन्छ, जुन सशस्त्र द्वन्द्वताका माओवादी र त्यसयता तराईका सशस्त्र समूहले 'इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस' (आईईडी) भन्ने विष्फोटकबाट गर्दै आएका थिए। ठूलो आवाज निकाल्ने, बारुद राखिएको कन्टेनरमा र कन्टेनरका छर्राबाट वरपर चोट पुर्याउने यस्तो आईईडी पड्किँदा उत्पन्न हुने 'शक'ले वरपरका वस्तुलाई हल्लाउँछ वा केहीपर उछिट्याइदिन्छ। र, पड्किएको बमबाट उत्पन्न आगोले असर पार्ने क्षेत्रका वस्तुलाई जलाउँछ। विष्फोटको आवाज नसुनिएको पसाहा बस आगलागी प्रकरणमा कसैलाई चोट नलागेको र कोही नउछिट्टिएको आधारमा सहजै बम विष्फोट नभएको निष्कर्षमा पुगेको प्रहरीले अनुसन्धानमा विष्फोट, चोट र शक नगराई आगो मात्र लगाउने किसिमका 'इन्सेन्डरी डिभाइस'जस्ता आईईडीहरू पनि हुन्छन् भन्ने कुरालाई बेवास्ता गरेको छ। यस्ता बम नाइट्रोजन, सल्फर वा त्यस्तै अन्य रसायनहरूको मिश्रणबाट बन्छन्। सीमावर्ती बजारमा सजिलै पाइने पेट्रोलियम इथर, इथर, एसिटोन लगायतका रसायन राखेर पनि यो बनाउन सकिन्छ।
अनुसन्धानमा सबैभन्दा वास्ता नगरिएको पक्ष तराई आर्मीको प्रमुख भनिएका 'मिष्टर जोन', जो रौतहटको रघुनाथपुरका कौशल सहनी हुन् भन्ने पहिचान भएको छ, को दाबीलाई महत्व नदिनु हो। सहनीले दिउँसो करिब सवाचार बजे भएको घटनाको डेढ घण्टा भित्रै वीरगञ्ज एफएमका पत्रकारलाई फोन गरेर जिम्मा लिएका थिए। १६ भदौमा राजधानीमा शृङ्खलावद्ध विष्फोट गराउने समूहको यस्तो दाबीलाई 'लो–प्रोफाइलमा राख्न नहुने' प्रहरी मुख्यालयका एक वरिष्ठ अधिकारीको भनाइ छ। काठमाडौँमा पड्काइएको बम र त्यसमा प्रयोग गरिएको 'स्वीचिङ सिष्टम' अत्याधुनिक रहेकोले एकै समयमा विष्फोट गराउन उनीहरू सफल भएका थिए। ती प्रहरी अधिकारी भन्छन्, “यसअघि नै तराई आर्मीको अगाडि चिनिने गरी निम्नस्तरका अपराधी देखा परेपनि पछाडि प्रभावशाली र बौद्धिक दिमाग भएका व्यक्ति हुनसक्ने ठम्याइका कारण पनि उसको दाबीलाई सतही रूपमा लिन मिल्दैन।” अन्य सशस्त्र समूहजस्तो व्यक्तिहत्या, पैसा असुली, अपहरणमा संलग्न नदेखिएको तराई आर्मी 'मास टेरर' सिर्जना गर्न उद्दत देखिन्छ। अरूजस्तो ग्रामीण क्षेत्रमा पनि त्यति नदेखिएको यो समूह कुन प्रयोजनका लागि परिचालित छ भन्ने स्पष्ट छैन। अरूले जस्तो सञ्चारमाध्यमको व्यापक प्रयोग नगर्ने यो समूह आफ्नो काम कुनै एक पत्रकार र एउटा सञ्चारगृहमार्फत् मात्र बाहिर ल्याउने गर्दछ। प्रहरी मुख्यालयका ती अधिकृत भन्छन्, “यसको कार्यशैली आपराधिक वा भूमिगत सशस्त्र समूहको भन्दा अदृश्य उद्देश्यका लागि परिचालित आतङ्ककारी सङ्गठनको जस्तो देखिन्छ।” १५ दिन बितिसक्दा पनि घटनास्थलमा भेटिएका दसीप्रमाणहरू परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नपठाइएको यो घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय निकाय संलग्न छैन। पसाहा बस आगलागी सुनियोजित घटना या दुर्घटना जे पनि हुनसक्छ, तर यसको निर्क्योलमा पुगिने गरी मिहिन अनुसन्धान नहुँदा दुर्घटनाको रूपमा चित्रित हुन तथा यसअघिका नेपालगञ्ज र कपिलवस्तु घटना, काठमाडौँ बम विष्फोटजस्तै विस्मृतिको गर्भमा हराउन सक्छ। र, अकर्मण्य अनुसन्धानको परिणामस्वरुप भित्रभित्रै एउटा आतङ्ककारी सङ्गठन मौलाउँदै जानेछ। • साथमा, रवि दाहाल |