![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
रिपोर्ट महिला हिंसा जाग्न थाले मुस्लिम समुदाय मुस्लिम महिलामाथि हुँदै आएको डरलाग्दो पारिवारिक र सामाजिक हिंसा बन्द गर्ने अभियानमा स्वयं मुसलमानहरू, तिनमा पनि धर्मगुरुहरू नै, अघिबढेका छन्।
नेपालगन्जको बीपीचोकस्थित इद्गाह मस्जिदमा ६ पुस बिहान धार्मिक प्रार्थनाका लागि भेला भएका हजारौँ मुस्लिम धर्मावलम्बीका सामु पाँचजना मौलाना (धर्मगुरु)हरू प्रवचन दिँदै भनिरहेका थिए, “हाम्रो समुदायभित्र दाइजोको निहुँमा छोरीबुहारीलाई जलाउने र तलाकको धम्की दिएर पत्नीमाथि अत्याचार गर्ने घटना बढेका छन्। दाइजो लिनु र महिलामाथि हिंसा गर्नु मुसलमानहरूका लागि लाजमर्दो कुरा हो। यसले मुस्लिम समुदाय र इस्लामलाई नै कलङ्कित पारेको छ। महिलामाथि भइरहेका हिंसाका यी गतिविधि बन्द हुनुपर्छ। अब पनि कसैले त्यस्तो गरे सामाजिक बहिष्कार गरिनेछ...।” मुस्लिम महिलामाथि घरेलु हिंसाका शृङ्खलाबद्ध घटना बढ्दै गएपछि चिन्तित बनेका मौलानाहरूले आफ्नो ठूलो चाड बकरइदको अवसरमा यो सन्देश दिएका हुन्। प्रार्थनामा आएका कतिपयले धार्मिक प्रवचन हुने ठाउँमा यस्ता कुरा सुन्दा अचम्म समेत मानेका थिए। बकरइदको यो प्रवचनपछि मुस्लिम धर्मगुरुहरूले हरेक शुक्रबार नेपालगन्जका १३ वटै मस्जिदमा महिलामाथि हुँदै आएका हिंसा र अत्याचार रोक्न आह्वान गर्दै नियमित प्रवचन दिन थालेका छन्। यतिले मात्रै नपुग्ने ठानेर उनीहरूले समिति र समूहहरू बनाई टोलटोलमै पुगेर समुदायलाई सचेत पार्ने, स्थानीय रेडियोहरूबाट सन्देश दिनेजस्ता सामाजिक अभियान पनि शुरु गरेका छन्। अब हुने ंिहंसाका दोषीलाई समाजबाटै बहिष्कार गरिने र कानूनी कठघरामा उभ्याउने उनीहरूको उद्घोषले समुदायमा हल्लीखल्ली मच्चिएको छ। मुस्लिम समुदायभित्रका 'सर्वेसर्वा' मानिने मौलानाहरू यसअघि आफ्नो समुदायमा महिलामाथि भइरहेको हिंसाबारे प्रायः बोल्दैनथे। विनाकारण 'तलाक' (सम्बन्धबिच्छेद) दिएर श्रीमतीलाइ घरबाट निकाल्ने, मन परेन भनी तेजाव छर्केर कुरुप बनाइदिने र मागेजति दाइजो नल्याएको निहुँमा श्रीमती/बुहारीलाई जलाउनेजस्ता जघन्य अपराधका घटना भइरहँदा पनि चासो देखाउँदैनथे। केही महिलाले आवाज उठाएकोमा कतिपय अगुवा पुरुषले 'इस्लामविरोधी' भनेर उनीहरूको सामाजिक बहिष्कार गर्न खोज्दा पनि चुप बसेका थिए। हिंसा र अत्याचारले धर्म–समुदायलाई नै बद्नाम गरेपछि मात्र रोक्ने दायित्व महसूस गरेर अगाडि आएका हुन्। मौलाना अब्दुल जब्बार मञ्जरी भन्छन्, “धर्म र समुदायमाथि नै प्रश्न उठेपछि त्यसलाई चिर्न उठ्नै पर्ने थियो। पहिल्यै आउनुपर्ने सोचाइ ढिलै भएपनि आयो।” त्यसअघि सेतु बिक चोककी १९ वर्षीया साकिरा खातुनलाई घरपरिवारले दाइजोमा मागेको मोटरसाइकल र रु.३ लाख नदिएको रिसमा सधैँ यातना दिँदै आएका र त्यही निहुँमा १४ कात्तिकमा लोग्ने र सासू–ससुराले मट्टितेल खन्याई जलाएर सिद्ध्याउन खोजेका थिए, तर सलाइ कोर्ने बेला फुत्केर उनले ज्यान जोगाइन्। ज्यान बचाइदिन गुहार्दै जिल्ला प्रशासन कार्यालय पुगेकी साकिरा मट्टितेलले निथ्रुक्क भिजेकी थिइन्। महिला अधिकार र समानुपातिक प्रतिनिधित्वको कुरा उठिरहेका बेला शहरको मध्यभागमा भएका यी घटनाले अधिकारकर्मी मात्रै होइन, सबैको ध्यान खिच्यो। मुस्लिम समुदाय र इस्लाममाथि नै औंला ठड्याइयो। पुरुषविरुद्ध चुँसम्म नबोल्ने मुस्लिम महिलाले घटनाको विरोध गर्दै सडकमा जुलुस निकाले। धर्मका आडमा महिलामाथि हदैसम्मको अत्याचार गरिएको भन्दै धर्म र सम्प्रदायमाथि नै प्रश्न उठेपछि अगुवा धर्मगुरुहरूलाई खुलेर आउनुपर्ने बाध्यता आइलाग्यो। मौलाना जब्बार मञ्जरी भन्छन्, “पछिल्लो घटनाले इस्लाममाथि मात्रै प्रश्न उठेन, हामीलाई साँच्चै संवेदनशील बनायो। इस्लाम होइन, मान्छेको प्रवृत्ति गलत हो भन्ने सन्देश दिन हामी उठ्नुपर्ने थियो, त्यही गर्यौं।”(हे. बक्स) मुस्लिम महिलाहरू अनेकन् निहुँमा घर र समाजभित्रको हिंसाको शिकार बन्दै आएका छन्। नेपालगन्ज–१५, इद्गाहरोडकी सन्नो अन्सारीलाई २०६३ वैशाखमा छोरा नजन्माएको र संस्कारमा बस्न नसकेको निहुँमा लोग्ने कलिमले अनुहारभरि तेजाब छर्केर कुरुप बनाइदिए। कारकाँदोकी १८ वर्षीया सवनम दर्जीलाई गर्भवती भएकै बेला र नेपालगन्ज–१३ की कौशरजहा इद्रिसी र नजमा शेखलाई लोग्नेले विनाकारण तलाक दिएर घरबाट निकालेपछि उनीहरू माइतीको शरणमा पुगेका छन्। विनाकारण दिइने तलाकबाट मुस्लिम महिलाले सबैभन्दा ठूलो पीडा भोग्नुपरेको छ। नेपालगन्ज नगरक्षेत्रमा करिब २५० तलाकपीडित महिला भएको र गाउँमा यो समस्या अझ् बढ्ता रहेको गैरसरकारी संस्था मुस्लिम समाज विकास चेतना केन्द्रले जनाएको छ। केन्द्रको रिपोर्टले मुस्लिम महिलाले घरभित्र खेपिरहेको अत्याचारको चित्रण गर्दछ। देशभर मुस्लिम समुदायको जनसङ्ख्या करिब १० लाख भएको सरकारी आँकडा छ, मुस्लिम अगुवाहरू ३० लाखजति भएको दाबी गर्छन्। पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ, तर अधिकांश महिला बाहिरी संसारबाट टाढा छन्। घरबाहिर पढ्न र काम गर्न जान उनीहरूलाई 'प्रतिबन्ध' जस्तै छ। कुटपिट, यातना, तलाक र दाइजोको निहुँमा ज्युँदै जलाइनुपर्ने नियति उस्तै छ। महिला हिंसाका यस्ता घटनाको औचित्य सावित गर्न पुरुषहरू 'धर्म'को दुहाइ दिने गर्छन्। उनीहरूको रवैया देख्दा लाग्छ, इस्लामले पुरुषलाई मात्रै सर्वेसर्वा बनाइदिएको छ, महिलामाथि जे गरेपनि हुन्छ। “इस्लामले महिलालाई कुनै विभेद गरेको छैन। केही मान्छेले आफू अनुकूल व्याख्या गरेर गलत फाइदा उठाउने प्रयास गर्दा इस्लाममाथि दोष आइलागेको हो”, मुस्लिम धर्मगुरु मौलाना अब्दुल कैयुम भन्छन्, “इस्लाम र सिङ्गो समुदायमाथि प्रश्न खडा हुने काम हाम्रै समुदायका केही मान्छेबाट भएको छ। त्यसैले धर्मका आडमा भइरहेका गलत संस्कार र मान्यताको विरोध गर्नुपर्ने स्थिति आएको हो।” इस्लाम धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ कुरानमै महिलालाई 'घरकी रानी'को दर्जा दिइएको, महिलामाथिका सबैखाले हिंसा निषेध गरिएको र 'महिला–पुरुष एक अर्काका लुगा हुन्' भनिएको छ। धर्मगुरुहरू यसको अर्थ दुवैले एकअर्काको रक्षा, रेखदेख अनि इज्जत गर्नुपर्छ भन्ने हो भन्छन्। तर व्यवहारमा महिलालाई दोस्रो दर्जाको नागरिक मात्रै ठानियो। शिक्षाको कमी, आफूलाई सर्वेसर्वा ठान्ने कतिपय पुरुषको अहं र धर्मका आडमा अत्याचार गर्न पाइने गलत सोचाइले महिलामाथिको हिंसा बढिरहेको धार्मिक अगुवाहरूको ठहर छ। “यस्तो समस्या आउनुको मुख्य कारण शिक्षा र चेतनाको कमी नै हो”, मौलाना अब्दुल कैयुम भन्छन्, “त्यसकै लागि टोलटोलमा पुगेर जागरण कार्यक्रम शुरु गरेका छौं, गलत सोचाइ पालेर बसेका मानिसमा यसले हल्लीखल्ली मच्चाएको छ।” पाँच वर्षअघि मोहम्मदी सिद्धिकीको नेतृत्वमा नेपालगन्जका केही मुस्लिम महिलाले आफूमाथिको हिंसाविरुद्ध साङ्केतिक आवाज उठाएका थिए। मैमुना सिद्धिकी, सीमा खान, रेश्मा दर्जी, मीना शेखलगायतका मुस्लिम महिला नेतृहरू बुर्काभित्रबाट 'विद्रोह' गर्दै हिंसाविरुद्ध खुलेर बाहिर आए। त्यसकै असरले दुई वर्षदेखि तलाक पीडित महिलाहरूले मुडका भरमा सम्बन्ध विच्छेद गर्ने लोग्नेलाई अदालतसम्म पुगेर चुनौती दिन शुरु गरे। अदालतले केहीलाई 'न्याय' पनि दियो, तर समाजबाट न्याय मिलेन। किनभने, पुरुषको हालीमुहाली भएको समाज उनीहरूको सहयोगी थिएन, धार्मिक अगुवा र धर्मगुरुहरूले पनि साथ दिएनन्। अहिले महिलाले उठाएका जायज आवाजको समर्थनमा धर्मगुरु स्वयम् अगाडि आएका र महिलाहरूले पनि आफ्नो अभियानलाई निरन्तरता दिने घोषणा गरेका छन्। समुदायका अगुवाहरू आफैँ उठेपछि मुस्लिम महिलामाथि हुँदै आएको थिचोमिचो, अत्याचार र हिंसा रोकिने सम्भावना देखिएको छ। मुस्लिम धर्मगुरुको यो अभियान दाइजो या यस्तै बहानामा महिलामाथि अत्याचार गर्दै आएका अन्य समुदायलाई समेत गतिलो पाठ बन्न सक्छ। मोहम्मदी सिद्धिकी भन्छिन्, “हिजो हामी एक्लै थियौं, अहिले धर्मगुरुहरू आफैँ जागेपछि अब पक्कै केही होला भन्ने आश जागेको छ।” अब कानून चाहियो'
'इस्लामविरोधी काम' मौलाना अब्दुल जब्बार मञ्जरी, मुस्लिम धर्मगुरु
शुरुशुरुमा लोग्नेपीडित महिलाहरू हामीकहाँ गुनासो गर्न आउँथे, मिलाएर पठाउँथ्यौं। हामी आफैँ सङ्गठित नभएकाले समुदायमा हुने सबैखाले घटनाको जानकारी हुँदैनथ्यो। ज्यूँदै मान्छे जलाएर मार्नेसम्मको घटना भएपछि इस्लाममाथि नै प्रश्न उठ्यो। त्यो जायज थियो। समुदाय र इस्लाममाथि प्रश्न सोझ्िएपछि चुप लागेर बस्न मिलेन। यथार्थ पत्ता लगाई समाजलाई जवाफ दिनुथियो। सँगसँगै त्यस्ता घटना पनि रोक्नैपर्ने खाँचो महसूस भयो। किनभने इस्लामले महिलामाथि छुट्टै व्यवहार हुने भनेको छैन, बरु महिलामाथिका सबैखाले हिंसा निषेध गरेको छ। शिक्षा र चेतनाको अभावले यस्ता घटना भएका हुन्। समुदायमा त्यही शिक्षा र चेतना दिन धर्मगुरुहरू एकजुट भएर लागेका छौं। टोलटोलमा पुगेर सबैलाई सचेत पार्दैछौं। अब कसैले महिलामाथि त्यस्ता घटना दोहोर्याए उसलाई सामाजिक बहिष्कार गरिनेछ, दण्डहीनताका कारण यस्ता घटना बढ्ने भएकाले दोषीमाथि कानूनी कारबाहीका लागि पनि पहल गर्नेछौं। हाम्रो प्रयासले केही असर पक्कै पर्नेछ। (कुराकानीमा आधारित) |