रिपोर्ट अपराध
पेशा बन्दैछ
पछिल्लो समय राजधानीमा भएका हत्या, अपहरण, लुटपाट र जबर्जस्ती रकम असुलीका घटनाले अपराधको सञ्जाल व्यापक रूपमा बढिरहेको देखाएका छन्।
• डम्बरकृष्ण श्रेष्ठ, काठमाडौंमा

मोडलिङ तस्बिर मीनरत्न बज्रचार्य
|
• ९ माघमा सामाखुसीका जग्गा व्यापारी टीकाराम घिमिरेलाई रु.३ लाख नदिए ज्यान मार्ने धम्की दिने नयाँबजार बस्ने गोरखाका जोगबहादुर गुरुङ (जोक्स) सामाखुसीमा पक्राउ परे।
• ७ माघमा बबरमहलका खगेन्द्र बुढाथोकीलाई पैसा मागेर धम्क्याउने काभ्रे, गोठपानी–४ का सागर लामा पक्राउ परे। सोही दिन टेकुको एभरेष्ट ब्याङ्कबाट पैसा झ्िकेर निस्किएका हुलास रेमिटान्सका सञ्जय झ्ाको रु.१९ लाख लुटियो।
• १ माघमा प्रहरीले अपहरणकारीहरूको एउटा प्रमुख गिरोहका तीन अभियुक्तलाई पक्रेर सार्वजनिक गर्यो।
• १० पुसमा टोखाका व्यापारी नवराज अधिकारीलाई अपहरण गरी काभ्रे पुर्याएर रु.५० लाख माग्ने धर्मस्थलीका राजेश महर्जन गोङ्गबु बसपार्कबाट पक्राउ परे।
• ११ पुसमा बसुन्धराका राजकुमार गिरीलाई रु.२५ लाख नदिए बच्चा अपहरण गर्ने धम्की दिने तीन जना पक्राउ परे।
• १३ पुसमा सुन व्यापारी सप्तराज शाक्यको भीमसेन स्थानमा गोली हानेर हत्या गरियो।
पहिले वीरगञ्ज, विराटनगरलगायतका सीमावर्ती शहरमा हुने स्तरका हत्या, अपहरण, रकम असुली अहिले राजधानीमा हुन थालेका छन्। माघको पहिलोहप्ता भारतीय नागरिक संलग्न एक आपराधिक गिरोहको गिरफ्तारी र उनीहरूले अपहरणमा प्रयोग गरेका हतियार, गाडी र घरहरूको विवरणले उपत्यकामा अत्यन्त व्यापक, सङ्गठित र व्यवस्थित अपराध मौलाउँदै गएको पुष्टि गरेका छन्।
वितेको डेढ महिनामा मात्रै ठूला अपराधका डेढ दर्जन घटना भएका र धेरै अपराधीहरू पक्राउ परेका छन्; तैपनि पत्र पठाएर, इमेल गरेर, टेलिफोन गरेर र अपहरण गरेर रकम असुल्ने गिरोह र व्यक्तिहरू अझ्ै सक्रिय छन्। त्यसअघि पनि उपत्यकामा दिनदहाडै ब्याङ्क डकैती, अपहरणपछि बालकको हत्याका घटनाहरू भएका थिए। महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, “अहिले राजधानीमा पेशाकै रूपमा जबर्जस्ती चन्दा असुली, अपहरण र फिरौतीका घटना भइरहेका छन्, जुन दुई वर्षयता नयाँ अपराधको रूपमा देखिएका हुन्।” उनका अनुसार, रकम उठाउने झ्ञ्झ्टिलो कानूनी प्रक्रियाका कारण व्यापारिक कारोबार र मान्छे विदेश पठाउने सिलसिलामा पैसा फँसाएका वा ठगिएका केही व्यक्तिले आफ्नो रकम उठाउन प्रयोग गर्ने गरेका 'ग्याङस्टर' नै अहिले धनीहरूलाई अपहरण गरेर रकम असुल्ने समूह बनेका छन्।

मीनरत्न बज्रचार्य
|
| प्रहरीद्वारा हनुमानढोकामा सार्वजनिक पेशेवर भएर अपहरणमा संलग्न गिरोह। |
केही समययता सामाजिक, राजनीतिक वा राष्ट्रवादीजस्ता लाग्ने सङ्गठनका नाउँमा समेत पैसा माग्ने प्रवृत्ति बढेको छ। 'राष्ट्रिय मुक्ति सेना'का नाउँमा धेरै व्यापारीलाई रु.५० हजारदेखि १० लाख मागेर पठाइएको किरण भण्डारीको नाम र हस्ताक्षर भएको एउटा पत्र हिमाल ले फेला पारेको छ (हे.तस्बिर दायाँ)। पत्रमा भारतले ९० स्थानमा सीमा मिचेको उल्लेख गर्दै 'वैशाखदेखि विस्तारवादविरुद्ध भीषण राष्ट्रिय मुक्ति युद्ध शुरु गरिने भएकोले सहयोग गर्न' भनिएको छ। पत्र पठाएर बारम्बार टेलिफोन गर्न, धम्क्याउन थालेपछि अपहरण र ज्यानको डरले व्यापारीहरूले सकेसम्म केही घटाएर, नसके पूरै रकम दिँदै आएका छन्। एक व्यापारी भन्छन्, “अनेकौँ सङ्गठनका नाममा पत्र, फोन, इमेलबाट रकम माग गर्दै धम्की आउँछ, नदिए ज्यानकै खतरा हुने भएकाले दिन बाध्य छौँ।”
रकम नदिँदा गोली हानिएका घटनाले उद्योगी–व्यवसायीहरू त्रस्त छन्। सुन व्यापारी सप्तराज शाक्यको पसलमै गोली हानेर हत्या गरिएपछि व्यापारीहरू आतङ्कित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष तेजरत्न शाक्य भन्छन्, “धेरैले खुलेर भन्न नसके पनि लुटपाट, अपहरण र रकम असुलीबाट प्रायः सबै व्यापारी प्रभावित छन्। कति आफैँ कुरा मिलाएर संघसम्म नै आइपुग्दैनन्।” शाक्यसँग सुन व्यवसायीहरूमाथि भएको आक्रमण र लुटपाटको सूची नै छ― ४ पुसमा बानेश्वरको अञ्जली ज्वेलर्समा खुकुरी प्रहार, ९ पुसमा प्यूखाका कालीगढ तपन मन्नाको २५ तोला सुन लुट। सप्तराजको हत्याको विरोधमा दुई दिन पसल बन्द गरेका सुन व्यवसायीहरूले संघका महासचिवमणिरत्न शाक्यको नेतृत्वमा प्रहरी नायव उपरीक्षक तेजबहादुर गुरुङ समेत रहेको 'सुरक्षा टास्क फोर्स' गठन गरेका छन्।
व्यापारीहरू दिनहुँजसो अपहरण र फिरौतीका घटना भइरहेको बताउँछन्, तर प्रहरीकहाँ सबैको सूचना आइपुग्दैन। २ पुस राति बत्तीसपुतलीबाट बानेश्वर जाँदा एउटा गाडीमा आएका ५–६ जना युवाद्वारा गाडीसहित अपहरित पशुपति पेन्टस्का कार्यकारी प्रमुख महेश मुरारका डेढ महिना बितिसक्दा पनि फेला परेको रेकर्ड प्रहरीसँग छैन। अपहरणकारीले भारतीय नम्बरको फोनबाट शुरुमा रु.५ करोड र पछि १ करोड मागेको बुझ्िएको छ। परिवार निकट सूत्रहरूको भनाइमा, उनी मुक्त भएर थप खतरा नउठाउन भारततिर पलायन भएका छन्। चार महिनाअघि प्यूखाका पवन प्रमोद रु.८ लाख र दुई महिनाअघि पुतलीसडकका मनोज अग्रवाल रु.८ लाख ५० हजार बुझ्ाएर छुटे। चाचान इम्पेक्स, न्युरोडका सुरेश चाचान एक महिनाअघि ताहाचलमा अपहरणकारीले समातेर गाडीमा हाल्न खोज्दा भागेर उम्किएका थिए भने खिचापोखरीको ब्लु हर्ष स्टोरमा अपहरणकारीको प्रतिकार गर्दा अरुण अग्रवालको खुकुरीले हात काटिएको थियो। ट्याक्सीमा राखेर शंखमुलको एउटा घरमा पुर्याइएका सञ्जय कन्सर्नका एक कामदारलाई पछि 'गलत मान्छे परेको' भनेर छाडियो।
अहिले राजधानीमा अपहरणलाई पेशा बनाएका धेरै समूह हुनसक्ने बताउँदै वरिष्ठ प्रहरी उपरीक्षक अर्याल भन्छन्, “गुपचुप अपहरित हुने र रकम बुझ्ाएर छुट्नेको सङ्ख्या निक्कै छ। तर पीडितहरूले प्रहरीलाई सूचना नदिई खुरुखुरु रकम दिँदा अपराधलाई नै मलजल भइरहेको छ। दिनमा ५० वटै अपहरण भएपनि पीडितले नभनुञ्जेल हामी केही गर्न सक्दैनौँ। यस्ता अपराधविरुद्ध नउठ्ने हो भने भोलि यसले विकराल रुप लिन्छ।” प्रहरीले सूचना पाएमध्ये ९० प्रतिशत घटनाका अपराधी पक्राउ पर्न सक्ने र परिरहेको पनि उनको दाबी छ।
अर्यालले भनेजस्तै पीडितबाट पाइने सूचनाका आधारमा धेरै अपराधी खोरमा पुगेका पनि छन्। सामाखुसीका जग्गा व्यापारी टीकाराम घिमिरेलाई रु.३ लाख नदिए ज्यान मार्ने धम्की दिने जोगबहादुर गुरुङ (जोक्स) पैसा लिन मोटरसाइकलमा गएको बेला सामाखुसीमा समातिए। बसुन्धराका राजकुमार गिरीलाई फोनबाट विवेक हत्याकाण्डको योजना आफैँले बनाएको भन्दै रु.२५ लाख नदिए बच्चा अपहरण गर्ने धम्की दिने सुनसरीका सरगम लिम्बू, नुवाकोटका गोठे तामाङ र दोलखाका दीपक सापकोटा समातिएका छन्। अर्काको सीम कार्ड प्रयोग गरेर रु.५ लाख माग्ने दाङका ऋषिराज आचार्यलाई फोन गरिरहेको अवस्थामै बसुन्धराबाट समातियो। पुसको अन्तिम साता प्रहरीले महाराजगञ्ज क्षेत्रमा लुटपाट र रकम असुली गर्ने समूहका नारायण तामाङ, राजेश महर्जन र सागर श्रेष्ठलाई समात्यो। यही समय प्रहरीले राजधानीका विभिन्न स्थानमा डकैती, लुट, हत्या, ठगी, किर्ते र जबर्जस्ती रकम असुल गर्ने थप १३ जनालाई पनि समातेर कारबाही चलाएको थियो। यसअघि प्रहरी सक्रियतामा कमलादीस्थित ब्याङ्क अफ काठमाडौंमा डकैती गर्ने गिरोहका १४ जना पक्राउ परिसकेका छन्।
केन्द्रीय अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव महानिरीक्षक के.बी. राना पनि पर्याप्त सूचनाको अभावमा अपराध मौलाउँदै र अपराधीहरू बढ्दै गएको स्पष्ट गर्दै भन्छन्, “हप्तौँ अपहरणमा परेर, लाखौँ बुझ्ाएर मान्छे छुटिसक्दा पनि कसैले प्रहरीलाई सूचना दिँदैनन्। यस्ता अपराधमा उद्योग, फर्मका पूर्व कर्मचारी, व्यापार–व्यवसायमा असफल व्यक्तिहरूको संलग्नता बढी हुने गरेको छ।”
(हे.अन्तर्वार्ता)
राजधानीमा पेशा–व्यवसायकै रूपमा अपराध मौलाइरहेको पुष्टि गर्ने एउटा मुख्य गिरोह हालै महानगरीय प्रहरीको फन्दामा परेको छ,जसमा काठमाडौंमा व्यापार गर्दै आएका भारत, आग्राका रोहित अग्रवाल (पालिवाल), महाराजगञ्जका व्यापारी भीमसेन पण्डित र कृषि विकास ब्याङ्क, न्युरोडका चालक सञ्जय श्रेष्ठ छन्। अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक शेरबहादुर बस्नेतका अनुसार, उनीहरूलाई त्रिपुरेश्वरमा गुडिरहेको गाडी छेकेर पक्राउ गरिएको थियो। उनले हिमाल सँग भने “यो समूहका अझ्ै केही फरार छन्, उनीहरूको खोजी भइरहेको छ।”
प्रहरीले अपहरणकारी समूहले प्रयोग गरेका तीन वटा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरेको, अपहरण गरेर मानिस ओसार्ने चारवटा फोर्ड आइकन, मित्सुविसी ल्यान्सर, ह्युण्डाई सेण्ट्रो र मारुति गाडी तथा थुनेर राख्न बाँसबारी, नारायणस्थान र बालुवाटारमा मासिक रु.२६ हजारसम्म तिरेर भाडामा लिएको तीन वटा घर पत्ता लगाएको छ। ती घरमा मुखमा बाँध्ने पट्टी, डोरी, निजी र भाडाका नम्बर प्लेट, स्टिकर, नक्कली बम, भारत र नेपालका सिमकार्ड आदि पनि फेला परेका थिए।
 |
बालुवाटारका राजेन्द्र शर्मा, कवाडी ठेकेदार गणेश बिहारी, व्यवसायीहरू ओमकार भट्टचन र विनोद शर्मा न्यौपानेलाई विभिन्न स्थानबाट अपहरण गरी फिरौती माग्ने यही समुह थियो। शर्मा, बिहारी र न्यौपानेलाई उनीहरूले चारदेखि पाँच दिन बन्धक बनाएर रु.७ लाख ६० हजारदेखि ८ लाख ५० हजार लिएको प्रहरीलाई बताएका छन्। भट्टचनको मुक्तिको लागि परिवारसँग रु.५० लाख मागिएको र २० लाखमा सहमति भएको भएपनि पैसा लिनजाने बेलामा प्रहरी सक्रियता बढेकोले त्यत्तिकै छाडिएको थियो।
पाँच वर्षअघि चोरीका गाडी खरिद बिक्री गर्ने क्रममा भेट भएका रोहित र भीमसेनले दुई वर्षदेखि सँगै केही समय क्रिष्टल ग्लासको व्यापार गरेका र पछि सजिलोसँग धेरै पैसा कमाउन अपहरणमा हात हालेका थिए। 'भीम', 'विनोद', 'विक्रम' जस्ता उपनामले चिनिने भीमसेन पण्डित अपहरणको योजना र कार्यक्रम बनाउँथे भने सवारी चालक सञ्जय श्रेष्ठ खबर र रकम लिन जान्थे। उठेको रकममध्ये ५५ प्रतिशत रोहितले र ४५ प्रतिशत भीमसेनले लिने, सञ्जयलाई दुवैले आफ्नो भागको केही अंश दिने गर्दथे।
२० वर्षदेखि काठमाडौँमा क्रिष्टलको व्यापार गरेर बसेका भारत, आग्राका श्रीजी अग्रवालका छोरा रोहितलाई वर्ष दिन अघिसम्म साथीभाइले रु.२० हजार सापटी दिन पत्याउँदैनथे। पछि रातारात करोडौँको सम्पत्ति जोडेका उनी अपहरणको पैसा यट्खाको निखिल एजेन्सीका मालिक भारत, बैरगनियाका सत्यराज गडियामार्फत् हुण्डीमा भारत पठाएर फिरोजावादबाट दुई–तीन ट्रक क्रिष्टलका सामान एकैचोटि झ्िकाई थोक व्यापार गर्न थाले। उनीसँग काठमाडौँ र दिल्लीमा निजी प्रयोगका आधा दर्जन गाडी छन्। रोहितले गडियासँगै मिलेर झ्ापाको विर्तामोडमा पनि क्रिष्टलको थोक पसल खोलेका छन्। रोहित पक्राउ परेपछि भने गडिया भूमिगत भएका छन्।
हतियारको विगविगी
 |
अहिले भइरहेका लुटपाट, डकैती, अपहरण र हत्यामा साना हतियारको प्रयोग बढेको छ। माओवादी जनयुद्ध अन्त्य भएर देश शान्ति प्रक्रियामा गएपनि सो युद्धमा प्रयोग भएका साना हतियार आपराधिक क्रियाकलापमा बढी प्रयोग हुन थालेका छन्। सप्तराज शाक्यलाई मारिएको, शान्तिनगरमा आशिष गुरुङ र वरुणसिंह लामालाई घाइते बनाइएको, कोटेश्वरमा सुवास लामालाई आक्रमण गरिएको सबै घटनामा गोली प्रहार भएको थियो। सुनसरी, विष्णु पादुका–७ का विवेक थापा पेस्तोल र गोली बोकेर हिँडिरहेको अवस्थामा ७ माघमा रत्नपार्कबाट पक्राउ परेका थिए।
हतियारको प्रयोग व्यापारीहरूले आपराधिक गिरोहका साथै लेनदेन र ठेक्का–पट्टालगायतका कारोबारमा मान्छे धम्क्याउन, तर्साउन पनि गरेको पाइन्छ। १८ पुसमा नुवाकोटबाट चार वटा मोटरसाइकलमा राजधानी आइरहेका काठमाडौंका दीपक चित्रकार र सगुन लामासहितको आठ जनाको हतियारधारी समूहलाई एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली।, स्न्यापर राइफलमा प्रयोग हुने वाइनाकुलरसहित सशस्त्र प्रहरीले गल्छीमा पक्राउ गरेको थियो। उनीहरूलाई नुवाकोट सडक डिभिजनको टेण्डरमा किचलो गर्न पुगेको सूचनाको आधारमा प्रहरीले समातेको थियो।
माओवादी र उसको भ्रातृ सङ्गठनका नाउँमा हतियार देखाएर लुटपाट गर्ने क्रम पनि जारी नै छ। २४ पुस राति १० बजे आफूलाई वाईसीएल बताउने कम्ब्याक्ट ड्रेस लगाएको एउटा हतियारधारी समूहले स्टार एफएममा कार्यरत नवराज गौतम र बलराम पाण्डेको मोबाइल र नगद लुटेको थियो। त्यस्तै माओवादी भनेर हतियार देखाई धम्क्याउने र लुटपाट गर्ने काठमाडौं, फुटुङका कृष्ण खत्री, गोङ्गबुका रुपक थापा र बूढानीलकण्ठका गणेश कार्की ६ पुसमा एक थान पेस्तोलसहित तीलगङ्गाबाट पक्राउ परेका थिए।
द्वन्द्व विश्लेषक शोभाकर बुढाथोकी द्वन्द्वपछि राज्यको सुरक्षा संयन्त्र दह्रो नहुञ्जेल यस्ता आपराधिक घटना बढी नै रहने बताउँछन्। उनको भनाइ छ, “शान्ति प्रक्रिया शुरु भयो, हतियार व्यवस्थापन राम्रोसँग भएन। त्यसैले साना हतियारको विगविगी बढेको छ। समूह र मान्छे मात्र फेरिए, हतियार बोक्ने क्रम उस्तै छ।” उनको विचारमा व्यावसायिक अपराधी गिरोहहरूलाई राजनीतिक संरक्षण दिने र राजनीतिक तवरबाटै प्रहरीलाई कमजोर पार्ने गरिएकाले पनि यस्ता अपराध मौलाएका छन्।
वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्याल पनि यसरी हतियारको विगविगी बढ्नुमा १२ वर्षे जनयुद्धको महत्वपूर्ण योगदान रहेको बताउँछन्। उनी भन्छन्, “अधिकांश आपराधिक गतिविधिमा माओवादीबाट हतियारसहित भागेकाहरू लागेका छन्। उनीहरू र भारतसँगको खुल्ला सिमानामार्फत् नै आपराधिक गिरोहहरूमा सहज रूपमा हतियार उपलब्ध भइरहेछ।”
सूचना पाए, उम्कन पाउँदैनन्
के. बी. राना
प्रहरी नायब महानिरीक्षक
अपराध अनुसन्धान महाशाखा
|
राजधानीमा अपराधका घटना बढ्दै गएको छ नि!
द्वन्द्वपछि सङ्गठित अपराध हुन्छ नै, तर यो केही समयका लागि मात्र हो ठेगान लागिहाल्छ। सन्दिप पाठक (मिलन लामा) को स्पाइडर ग्रुप निस्कियो र थन्कियो। त्यस्तै केही समूहहरूले आफ्नो प्रभाव बनाइराखेका छन्। समाज र व्यक्तिहरूबाट सूचना पाउँदै जाने हो भने तिनलाई नियन्त्रण गर्न गाह्रो छैन।
अपराध पेशाकै रूपमा विकसित भएको हो?
पछिल्लो केही समयमा यस्तो लाग्न थालेको छ। अपहरण र फिरौती नयाँ अपराधको रूपमा विकसित भइरहेछ। व्यापारिक फर्म, उद्योगका पूर्व कर्मचारी र व्यापारमा बिग्रेका मान्छेहरू यस्तो धन्दामा लागेको पाइएको छ। अपहरणका घटना भने केही वर्षयता मेनपावरको ठगीले गर्दा पनि बढेका हुन्। विदेश पठाउन दिएको पैसा उठेन भने मान्छे लगाएर उसैलाई उठाउने क्रम विकसित भयो। अहिले यही काम गर्ने गिरोहहरू विस्तारित हुँदै गएका छन्। अर्कोतिर, आपराधिक समूहहरूले राजनीतिक शैलीमा पनि रकम माग गर्ने गरेका छन्।
यस्ता अपराध रोक्न सकिन्न?
प्रहरी एक्लैले मात्र अपराध रोक्न सक्दैन, तर व्यक्ति र समाजको सहयोग पाए कमी ल्याउन सकिन्छ। मान्छेहरू अपहरणमा परेर हप्तौँपछि फिरौती बुझ्ाई छुट्छन्, तर प्रहरीलाई सूचना दिँदैनन्। धम्की आउँदा र अपहरण हुँदा प्रहरीलाई सूचना नदिई लाखौँ रकम दिएर मान्छे छुटाउने गरिएकाले आपराधिक समूहलाई फाइदा भइरहेको छ। हुन त पहिलेको दाँजोमा अपराधी धमाधम पक्राउ पर्न थालेपछि पीडितहरूबाट सूचना आउन पनि थालेको छ। हामीले पनि अपराधी पत्ता लगाउन नयाँ अनुसन्धान प्रविधि र उपकरणहरू ल्याउँदैछौँ।
प्रहरीलाई खबर गरे ज्यानको खतरा हुने धम्की दिइएको हुन्छ नि?
प्रहरीलाई गोप्य रूपमा सूचना दिएर सहयोग गर्न सकिन्छ। यसबाट खतरा हुँदैन बरु ज्यान र धन जोगिन्छ। काठमाडौँमा सानो सूचना पाए पनि अपराधी उम्कन पाउँदैन। सूचना पाएसम्म त ठूला आपराधिक गिरोह पनि समातिएका छन्।
अपराध प्रभाव
वीरगञ्जः छिटो सुत्छ, ढिलो उठ्छ

मीनरत्न बज्रचार्य
|
| ७ माघको बेलुकी ७ः०० बजे, अलखियामठ, वीरगञ्ज। |

९ माघको विहान ६ः४५ बजे, माइस्थान, वीरगञ्ज।
|
वीरगञ्ज उद्योग वाणिज्य संघमा ८ माघमा मूल्य अभिवृद्धि करमा बहुदर प्रणालीसम्बन्धी कार्यक्रम भइरहँदा कार्यालय परिसर बाहिर प्रहरीको एक टुकडीले पहरा दिइरहेको थियो। स्थानीय एक व्यवसायीका अनुसार यस्ता सार्वजनिक कार्यक्रममा व्यापारीहरू हत्तपत्त नआउने भएकाले मनोबल बढाउन यसो गरिएको हो। त्यसै बेलुकी बम विष्फोटमा परेका शालिमार पेन्टस् उद्योगका मालिक अशोक वैद्यलाई साथीहरूले पत्रिकामा नाम आउने भयो भनेर राज्यको कमजोर सुरक्षा संयन्त्रप्रति दह्रो व्यङ्ग्य गर्दै 'बधाई' दिए।
तराईको रिपोर्टिङ गर्ने क्रममा वीरगञ्ज आइपुगेको यो संवाददाताले एकैदिनमा देखेका केही उदाहरण हुन् यी। देशको प्रमुख औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा व्याप्त भय र त्रासले व्यावसायिक जगतका साथै सिङ्गो समाजलाई नै गाँजेको अनुभव हुन्छ। माओवादीको सशस्त्र द्वन्द्वकालमा समेत व्यस्तता नघटेको वीरगञ्जमा हिजोआज धेरै समय चकमन्न हुन्छ। घरमा सम्साँझ्ै आग्लो लाग्छ र बिहान अबेर मात्र खुल्छ। धेरैको काम नपरी बाहिर ननिस्कने दैनिकी बनेको छ। बजारमा घुमघाम, भेटघाट जस्ता कुरा प्राथमिकतामा पर्दैनन्। दिउँसै पनि व्यापारीहरूलाई भेट्न व्यापक सोधखोज व्यहोर्नुपर्छ। व्यापारीहरूका टेबुलको ठूलो हिस्सा कलर आईडी टेलिफोन सेटले ओगटेका हुन्छन्। नचिनिएका फोन उठ्दैनन्, त्यसमा पनि 'मेरो मोबाइल'को नम्बर त देख्नेवित्तिकै व्यवसायीको होस उड्छ। अपराधीहरू अधिकांशले मेरो मोबाइल प्रयोग गर्ने भएकाले यसो भएको हो। वैद्य भन्छन्, “टेलिफोन, खासगरी मेरो मोबाइलले त त्रास नै उत्पन्न गराएको छ।”
सीमाक्षेत्रका अपराधी र मधेशका सशस्त्र समूहहरूको चन्दा आतङ्क बढेको छ। पैसाका लागि अपहरण गर्ने र नदिए ज्यानैसम्म लिने घटनाहरू भएका छन्। यस्तो अपराध व्यापारीविरुद्ध मात्र लक्षित नभई समाजका अन्य पेशागत समूहमा समेत फैलिएको छ। सशस्त्र समूहकै दबाबमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई चिकित्सकहरू डा. भोगेन्द्र केसी र डा. दीर्घराज आरसीले वीरगञ्ज छाडेको यसको पछिल्लो उदाहरण हो। जातीय द्वन्द्व निम्त्याएर मधेशमा विद्रोह सिर्जना गर्ने प्रयास गरिरहेका हतियारधारी समूहहरूले मच्चाएको आम आतङ्क र व्यक्तिहत्याले सामान्य मानिसहरूलाई समेत घरैमा खुम्चिएर बस्न बाध्य बनाएको छ।
भय–त्रास यस्तो छ, मानिसहरू बेलुकी अबेरसम्म बजारमा नबस्ने मात्र होइन, एकाबिहानै घरबाट निस्कने आँट पनि गर्दैनन्। 'मर्निङ वाक्','जगिङ्ग' र योग गर्नेहरूको भीड लाग्ने घडिअर्वा पोखरीको पार्कमा हिजोआज मानिसहरूको आगमन पातलिएको छ। पोखरी सुरक्षार्थ खटिएका नगर प्रहरी छोटेलाल पटेलका अनुसार दुई वर्षअघिसम्म १५ सयदेखि २ हजार मानिस जम्मा हुने पार्कमा हिजोआज मुश्किलले दुई–तीन सय आउँछन्। तिनका लागि भनेर पार्कमा गरिएको शरीरको तौल लिने, रक्तचाप र मधुमेह परीक्षण गर्ने व्यवस्था पनि एक वर्षदेखि हटाइएको छ। पटेल भन्छन्, “मधेश आन्दोलनपछि पहाडेहरू आउन छाडे भने व्यापारीमाथि आक्रमण हुन थालेपछि मधेशी र मारवाडी समुदायका मानिसहरू पनि आउन कम भयो।”
पत्रकारहरू युद्धक्षेत्रबाट समेत समाचार पठाएर समाजलाई सुसूचित गर्छन्। तर वीरगञ्जका पत्रकारहरूमा छाएको असुरक्षाको भावना यति गहिरो छ, अरूभन्दा सार्वजनिक रहनुपर्ने यी पेशाकर्मीहरू आफ्नो दैनिकी हत्तपत्त अरूलाई बताउँदैनन्, अपरिचित फोन उठाउँदैनन्। स्थानीय ब्याङ्क कर्मचारी मनोहरलाल श्रेष्ठको हत्यापछि कान्तिपुर दैनिकका संवाददाता सुजीत महतको बिहानको ब्याडमिण्टन खेल बन्द भएको छ। उनी भन्छन्, “मर्निङ वाक्का लागि बिहानै निस्कने वा समाजमा घुलमिल हुन बेलुकी अबेरसम्म बाहिर बस्ने काम बन्द भएको मात्र होइन, साँझ् ढल्केपछि तरकारी किन्न समेत बजार गइँदैन।”
सशस्त्र समूहहरूले आफ्नो अनुकूल समाचार लेख्न दिने दबाबका कारण पनि पत्रकारहरूमा योविघ्न त्रास सिर्जना भएको प्रेस काउन्सिल नेपालका सदस्य तथा स्थानीय पत्रकार दीपेन्द्र चौहान बताउँछन्। यसले गर्दा स्थानीय पत्रकारिता नै प्रभावित भएको स्पष्ट गर्दै उनी भन्छन्, “हरेक समूहले आफ्ना नजिकका व्यक्तिहरूमार्फत् सूचना प्रवाह गर्छन् अनि समाचारका लागि दबाब दिन्छन्। आफूलाई सशस्त्र समूहको नजिक ठान्ने कतिपय पत्रकारमा छाएको अराजकताले पनि अन्य पत्रकारहरूको सुरक्षामा थप खतरा उत्पन्न गराएको छ।”
नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सभापति शत्रुघ्न नेपाल पनि स्थानीय पत्रकारिता सशस्त्र समूहसँगको अघोषित सम्झ्ौतामा चलिरहेको बताउँछन्। उनको भनाइमा ती समूहहरूले आफ्ना त्यस्ता कार्यक्रम र गतिविधिको समाचार लेख्न दबाब दिन्छन्, जसको स्वतन्त्र पुष्टि गर्ने आधार हुँदैन। उनी भन्छन्, “जसरी हिजो माओवादीहरूले आफ्नो नजिकका पत्रकारहरूमार्फत् सूचना सम्प्रेषण गर्थे, आज त्यसरी नै सशस्त्र समूहहरू आफ्नो कुरा बताउन पत्रकारको जात हेर्ने गर्छन्।”
• किरण नेपाल, वीरगञ्जम
|