हिमाल खबरपत्रिका  
पूर्णाङ्क २११ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट अपराध

राजनीतिक संरक्षणमा अपराधी

नेपालगन्ज र आसपासका क्षेत्रमा बढेको अपराधले तराईका सीमावर्ती जिल्लामा भारतीय अपराधीहरूको विगविगी देखाएको छ। प्रशासन र राजनीतिक दलले नागरिकता र सदस्यता दिएर उनीहरूको संरक्षण गरेका छन्।

रामेश्वर बोहरा, नेपालगन्जमा


११ पुसमा पक्राउ परेका भारतीय डाँकाहरु। उनीहरुसँग नेपाली नागरिकता भेटिएको थियो

दश पुस मध्यरातमा नेपालगन्ज–१६ का प्रकाश शाहको घरमा रु.१९ लाखको धनमाल लुटियो। तत्कालै घटनास्थल पुगेको प्रहरीमाथि गोली चलाएर भागेका चारजना डाँका त्यही रात हतियारसहित समातिए। तीमध्ये तीनजना थिए– भारत, बलरामपुरका रमेश सोनार र शब्बिर अहमद सिद्धिकी तथा गोण्डाका शिरताज अहमद सैयाद। भारतबाट भागेर चार वर्षदेखि नेपालगन्जमा बस्दै आएका उनीहरूसँग गत वर्ष नेपालगन्ज नगरपालिकामा खटिएको नागरिकता टोलीले दिएको नेपाली नागरिकताको प्रमाणपत्र भेटिएको थियो।

नेपाली नागरिकता पाएका रमेश सोनारको वास्तविक नाम हो― अशोक पाण्डे। पाण्डे र उनका सहयोगी सिद्धिकी हतियार ओसारपसारको अभियोगमा चार वर्षअघि भारतीय प्रहरीले वारेण्ट जारी गरेपछि तथा शिरताज हतियार ओसारपसार र डकैतीको अभियोग लागेपछि नेपालगन्ज छिरेका हुन्। नेपालमा सुरक्षित रहेर आपराधिक गतिविधि सञ्चालन गर्ने मौका पर्खिरहेका उनीहरूल्ााई गत वर्ष नागरिकता वितरणमा भएको अनियमितताले त्यो अवसर दिलायो।

नागरिकता ऐन तथा नियमावली २०६३ मा '२०४६ चैत मसान्तभित्र नेपालमा जन्मेर स्थायी रूपले बसोवास गरेका व्यक्तिले मात्र जन्मका आधारमा नागरिकता पाउने' प्रस्ट व्यवस्था हुँदाहुँदै पनि पाण्डेले नेपालगन्ज नगरपालिकाको १६, शब्बिरले ११ र शिरताजले १४ वडाबाट 'जन्मका आधारमा' सजिलै नागरिकता पाए। यी भारतीय अभियुक्तलाई भोटका भोका काङ्ग्रेस, माओवादी, एमाले र सद्भावनाका स्थानीय नेता–कार्यकर्ता तथा पैसाका लोभी नागरिकता वितरण टोलीका कर्मचारीले नागरिकता पाउने प्रक्रिया मिलाइदिएका थिए। पाण्डेले हिमाल लाई भने, “चिडिमार बस्तीबाट सर्जमिन र सनाखत गराएँ, नेताहरूले सहयोग गरे, सजिलै पाइयो।”

लुकीछिपी बसेका पाण्डे, सिद्धिकी र शिरताजको समूहले नागरिकता पाएपछि खुलेरै डकैतीका योजना बनाउन शुरु गर्‍यो। गएको असोजयता नेपालगन्जमा भएका पाँच ठूला डकैती आफैँले गराएको पाण्डेले स्वीकार गरेका छन्। तराईका सीमावर्ती जिल्लामा पछिल्ला दिनमा बढ्दै गएका लुटपाट, डकैती, हत्यालगायतका आपराधिक घटना कसबाट हुन्छन् र उनीहरूलाई कसले संरक्षण गरेका छन् भन्ने एउटा गतिलो उदाहरण हो यो।

सीमाक्षेत्रका आपराधिक गतिविधिमा संलग्न भारतीय अपराधीलाई संरक्षण दिन गत वर्षको नागरिकता वितरणले निकै सघाएको छ। नागरिकताको मुद्दा सुल्झ्ाउन गाउँ र टोलटोलमा टोली खटाइए पनि गैरनेपालीले नागरिकता लिने र नागरिकताविहीन नेपाली बञ्चित हुनसक्ने अवस्था नियन्त्रण गर्ने भरपर्दो संयन्त्र नबनाई हचुवाका भरमा नागरिकता वितरण गरियो। जनमोर्चा नेपालका केन्द्रीय सदस्य आइपी खरेल भन्छन्, “भोट र पैसामा नागरिकता किनबेच भयो। भारतीय अपराधी समेतलाई सजिलै नागरिकता बाँड्दाको परिणाम हो― अहिले बढिरहेको लुटपाट, डकैती र अपराध।”

गम्भीर अपराधमा भारतीय


६ माघमा हत्या गरिएका भूमिसुधार कार्यालय बाँकेका खरिदार पूर्णप्रसाद ढकालका शोकाकुल आफन्त 

प्रहरीका अनुसार, सीमावर्ती क्षेत्रमा भइरहेका लुटपाट, डकैती, अपहरण, हत्यालगायत सबैजसो गम्भीर अपराधमा भारतीयको संलग्नता भेटिएको छ। तिनमा यहाँ लुकेका संदिग्ध व्यक्तिका साथै पारिबाट आएर अपराध गरी फर्किनेहरू समेत छन्। यहाँ लुकेर बसेका भारतीयले स्थानीय अपराधीसँग मिलेर अपराधको योजना बनाउने तथा सीमापारिबाट हतियारसहितको टोली ल्याएर काम फत्ते गर्ने गर्दछन्। खुला अनि अधिकांश ठाउँमा सुरक्षाविहीन सीमाक्षेत्रबाट भारतीयहरूलाई हतियारसहित आउन कुनै बाधा–व्यवधान छैन।

गएको ६ माघमा भूमिसुधार कार्यालय, बाँकेका खरिदार पूर्णप्रसाद ढकाललाई एउटा सशस्त्र समूहले अपहरण गरी नेपाल–भारत सीमा नजिक कम्दी गाविसको सिधनियाघाटमा पुर्‍याएर गोली हानी हत्या गर्‍यो। तराई जनतान्त्रिक मुक्तिमोर्चा (ज्वालासिंह समूह) ले 'सुराकी'को आरोपमा हत्या गरेको दाबी गरेपनि सीमा नजिकै घटना हुनु र मोटरसाइकलसमेत लुटिनुले यसमा भारतीयहरूको संलग्नता रहेको देखाउँछ। हत्यामा नेपाली मात्र संलग्न भएका भए मोटरसाइकल समेत लैजान सम्भव हुँदैनथ्यो। ज्वालासिंहकै नाममा ४ माघमा नेपालगन्जबाट अपहरित व्यापारी ललितकुमार रौनियारलाई भारतको बाबागञ्ज पुर्‍याएर पर्सिपल्ट सीमावर्ती भारतकै रुपैडियाबाट फिरौती लिई मुक्त गरियो। एक प्रहरी अधिकृत भन्छन्, “आवरणमा जसले गरेको भनेपनि यी दुवै घटनामा भारतीय अपराधीकै संलग्नता छ।” 

१० पुस राति प्रकाश शाहको घरमा डकैती गर्दा बहराइचका पप्पु नाइ र जसवीर सिंहलाई झ्िकाइएको थियो। पक्राउ परेकाबाट बरामद एउटा पेस्तोल त्यसैदिन उनीहरूले ल्याएका हुन्। ९ साउन २०६३ मा बाँकेको हिरिमिनिया–४ का रामनिवास मौर्यको गोली हानेर हत्या गरी रु.२ लाखको धनमाल लुट्ने पाँचमध्ये दुई जना भारतीय थिए। गाउँकै कुर्बान खाँ, अब्दुल रहमान खाँ र जलिल शेखले डकैतीको योजना बनाइसकेपछि भारत, बहराइचका जाहिर खान र नानपाराका बच्छाराम यादवलाई बन्दूकसहित बोलाएका थिए। “अपराधको योजना यहीँ बन्छ र एक्सनका बेला उताबाट हतियारसहित मान्छे झ्िकाइन्छ”, बाँकेका प्रहरी उपरीक्षक घनश्याम भट्ट भन्छन्, “अधिकांश घटनामा भारतीय अपराधीकै संलग्नता हुन्छ, उनीहरू नआए यतिविघ्न अपराध बढ्दैनथ्यो।”

सीमापारिबाट आउनेहरूको 'शुल्क' काम अनुसार निर्धारण गरिएको हुन्छ। हत्यामा तोकिएको रकम तिर्नुपर्छ भने लुटपाट र डकैतीमा धनमाल बाँड्ने सहमति हुन्छ। योजनाअनुसार काम नभए वा केही बाधा–अवरोध आए उनीहरू जे पायो त्यही अपराध गरेर पनि फर्कन्छन्। भारतीय डाँकाको समूहले गत वर्ष बर्दियाको कालिकामा डकैती गर्दा प्रतिवाद भएपछि एक महिलाको बलात्कार र हत्या गरेको थियो।

अपराध बढ्दै गएका छन्, तर अपराधीहरू पक्राउ पर्दैनन्। प्रकाश शाहको घरमा डकैती गरेर भागेका चारजना त्यसैरात पक्राउ पर्नु संयोग मात्रै थियो। २३ फागुन २०६२ मा नेपालगन्ज, सदरलाइनका सुनव्यापारी दीपक हेमकारको परिवारका पाँचजनाको सामूहिक हत्या गरेर रु.१ करोडभन्दा बढीको धनमाल लुट्ने गिरोह अहिलेसम्म 'फरार' छ। नेपालगन्जमा योजना बनाएर भारतबाट मानिसहरू ल्याई गरिएको यो अपराधमा प्रहरीले हत्याराको पहिचान भइसकेको बताए पनि कोही पक्राउ परेको छैन। प्रहरीकै केही अधिकृतले मोटो रकम लिएर हेमकार हत्याकाण्ड सामसुम पारेको आरोप पनि लागेको छ। तीन वर्षयता बाँकेमा भएका करिब ६० वटा डकैती र केही हत्याका घटनामध्ये दुइटा बाहेक अन्यमा संलग्नहरू समातिएका छैनन्।

अपहरण गरेर रकम असुल्ने गिरोहहरूमा पनि भारतीयकै बाहुल्य छ। २५ साउन २०६२ मा नेपालगन्ज–७ का ६ वर्षीय टङ्क बुढाथोकीलाई स्थानीय राजु हलवाईको सहयोगमा बहराइचका मुमताज अलि र यासिन धोवी तथा बलरामपुरका रमेश वेलवारले अपहरण गरेर मोटो रकम मागे। बहराइच, अलिनगरका सुन्दरलाल मौर्यले गाउँकै रमेश मौर्यसँग मिलेर हिरिमिनिया–६ की १५ वर्षीया कलावती सोनकरलाई अपहरण गरी भारतमा बेचे। नेपाल प्रहरीले यी अपराधमा संलग्न सबैको विवरण भारतीय प्रहरीलाई बुझ्ाए पनि कोही पक्राउ परेका छैनन्। अदालतबाटै सजाय तोकिसकिएका, तर पक्राउ नपरेका अपराधीहरूको बाँके प्रहरीसँग भएको लामो सूचीले अवस्था झ्न् गम्भीर देखाउँछ। हत्याको मुद्दामा २० वर्षको जेलसजाय पाएका ४३ र डकैतीसहित हत्यामा ६ वर्षभन्दा बढीको सजाय पाएका २४ जना अझ्ै पक्राउ पर्न सकेका छैनन्।

नेपालमा अपराध गरेर भारतमा गई बसेका, तर मुद्दाको टुङ्गो नलागिसकेका अभियुक्तहरूको सूची अझ् लामो छ। बाँकेको रनियापुर घर भएपनि भारतको बहराइचमा बसेर सीमाक्षेत्रका आपराधिक गतिविधिमा संलग्न र हत्या एवं डकैतीका थुप्रै मुद्दामा दुवै देशका प्रहरीबाट खोजी भइरहेका सिकन्दर साही भारतमै बसेका भए पनि पक्राउ परेका छैनन्। ७ जेठ २०६१ मा बाँके, जयसपुर–९ का नैन जोलाहाको हत्या गर्ने अयोध्या वर्मा, पुनती वर्मा र मनवा वर्मा, ३१ साउन २०६१ मा नेपालगन्ज–५ का अरुण श्रीवास्तवको हत्या गर्ने रइस हलवाई, २७ वैशाख २०६१ मा हिरिमिनिया–६ का राधेश्याम कुर्मीको हत्यामा संलग्न आत्माराम अहिर, १८ भदौ २०६० मा नेपालगन्ज–३ की अनारादेवी गोडियाको हत्या गरेका गोब्रे गोडिया सबै भारतमै बस्छन्।

बहराइच, कोलोनीका विजय बढाइ नेपालगन्जमा डेरा गरी बस्ने आफ्नै पत्नीको हत्या गरी सीमापार भएका छन्। दाङदेखि बर्दियासम्मका डकैती र हत्यामा मुद्दा चलाइएका बाँके, हिरिमिनिया–६ का सरनामसिंह सरदार र मुनिया लोध प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेपनि सीमापारि बसेर सीमाक्षेत्रमा डकैती र लुटपाट गर्दै आएका छन्। यस्तै सूचीमा रहेका सिकन्दर अलि शेख बहराइचको नबाबगञ्जमा छन्। प्रहरीका अनुसार, बाँकेको बेतहनीमा समेत बसोवास गर्ने सिकन्दर करिब एकदर्जन डकैती तथा हत्यामा संलग्न छन्। दुवै देशको नागरिकता लिएका उनी अहिले पनि भारतमै बसेर सीमावर्ती क्षेत्रमा डकैती र लुटपाट मच्चाइरहेका छन्।

यी घटनाक्रमले बढीजसो अपराध भारतीयबाटै हुने र यताका अपराधीले पनि भारतमै संरक्षण पाउने गरेको पुष्टि गरेका छन्। तर, भारतीय प्रहरीले उता बसेका र पहिचान भएका अभियुक्त तथा अपराधीलाई पक्रन समेत सहयोग गर्दैन। भारतीय प्रहरीको 'बार्गेनिङ'ले गर्दा अपराधीहरू पक्राउ नपर्ने गरेको दुःखेसो सुनाउँदै एक नेपाली प्रहरी अधिकृत भन्छन्, “सहयोग माग्दा पहिले हाम्रा अपराधी बुझ्ाऊ भनेर सौदाबाजी गर्छन्।”

नेपालगन्ज र आसपासका गाउँमा निर्धक्क बसेका भारतीय प्रहरीको सूचीमा उल्लिखित अभियुक्त–अपराधीहरूलाई नेपाल प्रहरीले पक्रने हिम्मत नगर्नुको कारण उनीहरूले पाउँदै आएको राजनीतिक संरक्षण पनि हो। यहाँका ठूला–साना राजनीतिक दल र अन्य संघ–सङ्गठनमा आबद्ध भइसकेका उनीहरूलाई केही गरे दङ्गा फैलिन सक्ने त्रासमा छ, प्रहरी। राजनीतिक आवरणमा तराईमा खुलिरहेका विभिन्न सङ्गठनले समेत त्यस्तै व्यक्तिलाई संरक्षण दिइरहेको बताउँदै एक प्रहरी अधिकृत भन्छन्, “अपराधी समाते साम्प्रदायिक दङ्गा फैलिएला भन्ने खतरा हुन्छ। सबै थाहा पाएर पनि चुपचाप बस्नुपर्ने अवस्था छ।”

भारतीय प्रहरी तथा प्रहरीको अन्तर्राष्ट्रिय अपराध नियन्त्रण इकाइ (इण्टरपोल) ले छुट्टाछुट्टै रूपमा सयभन्दा बढीको 'वाण्टेड' सूची बाँके प्रहरीलाई र बाँके प्रहरीले पनि सयकै हाराहारीको सूची भारतीय प्रहरीलाई बुझ्ाएका छन्। हरेक महिना दुवै देशका सुरक्षा अधिकारीबीच 'सीमा वारपार अपराध नियन्त्रण' सम्बन्धी बैठक बस्छ, यसमा समन्वय र एकअर्कालाई आवश्यक सहयोग दिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन। किनभने हरेक कुरा 'बार्गेनिङ'मै पुगेर अड्कन्छ; परिणाम अपराध नियन्त्रित होइन, झ्न्–झ्न् बढ्दैछ।

व्यवसायको आड
नेपालगन्जको मालपोत कार्यालय अघिल्तिर ठेलागाडामा अण्डा बिक्री गर्ने भारत, बलरामपुरका अशोक पाण्डे उर्फ रमेश सोनारलाई १२ पुसमा प्रहरीले प्रकाश शाहको घरमा भएको डकैतीको नाइकेका रूपमा अदालतमा म्याद थप गर्न पुर्‍याउँदा कानून व्यवसायीसमेत चकित परे, किनभने पाण्डेको ठेलागाडामा अण्डा किन्ने नियमित ग्राहक वकिलहरू नै थिए। दिनभर ठेला व्यवसायीको भेषमा देखिने उनको राति अर्कै धन्दा हुँदोरहेछ। उनीसँगै पक्राउ परेका शिरताज अहमद सैयद र शब्बिर अहमद सिद्धिकी गाडी मर्मत गर्ने ग्यारेजमा काम गर्थेभने शम्भुकुमार रम्तेल टाँगा स्टेशन छेउ पान बेच्दथे।

अपराधीहरू दिनभर व्यवसायमा व्यस्त देखिने, राति चाहिँ डकैतीमा संलग्न हुने गरेको यो घटनाले देखाउँछ। नेपालगन्जमा लुकेर बसेका धेरैजसो भारतीय अपराधीहरू नामथर, भेषभुषा, जात, धर्म बदलेर अपराधमा संलग्न भइरहेको हुनसक्ने अनुमान प्रहरीको छ। भट्ट भन्छन्, “यही कारण पनि पहिचान गर्न गाह्रो छ।”