![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
रमझम
भारतीय टेलिशृङ्खला कसौटी जिन्दगीकी मा प्रेरणाको भूमिकामा सशक्त अभिनय गर्दै आएकी अभिनेत्री श्वेता तिवारी अब नेपाली चलचित्रको पर्दामा देखिने भएकी छिन्। नेपाली र भोजपुरी भाषामा निर्माण भइरहेको चलचित्र त्रिनेत्र को छायाङ्कनका क्रममा अहिले उनी काठमाडौंमा छिन्। पहिलो पटक नेपाली चलचित्रमा अभिनय गर्न दश दिनका लागि नेपाल आएकी श्वेताले ११ माघमा त्रिनेत्र को शुभमुहूर्तमा भनिन्, “मलाई नेपाल राम्रो लाग्यो। राम्रो भूमिकाको लागि प्रस्ताव आएमा अरू पनि नेपाली चलचित्रमा काम गर्नेछु।” तीन वटा भोजपुरी चलचित्रमा गरिसकेकी श्वेता कसौटी मा जस्तै 'रुञ्चे' भूमिका नेपाली चलचित्रमा समेत गर्न तयार रहेको बताउँछिन्। उनले भनिन्, “रुने किसिमका भूमिका त मेरो पहिचान नै भइसक्यो, यो चलचित्रमा पनि आधा जति त त्यस्तै भूमिकामा देख्नुहुनेछ।” अहिलेलाई उनले भोजपुरी भाषामा बोलेको सम्वाद नेपालीमा अरूले डब गर्ने भएपनि पछि नेपाली भाषा नै सिक्न इच्छुक रहेको उनले बताइन्। सिरियलमा हजुरआमा समेत बनेकी श्वेता सधैँ चुनौतीपूर्ण भूमिका गर्न चाहने बताउँछिन्। भन्छिन्, “कलाकार भएपछि जस्तो चरित्रमा पनि अभिनय गर्न तयार हुनुपर्छ।” भोजपुरीमा घरघर देखाएके नामबाट प्रदर्शन हुने त्रिनेत्र मा नेपाली नायक निखिल उप्रेती, मिथिला शर्मा आदिको पनि अभिनय रहनेछ। टुक्रिए चलचित्रकर्मी नवगठित संघले पुरानो संघको नेतृत्व विदेशी चलचित्रका माफियाहरूको कमिशन मोहमा फसेेर स्वदेशी चलचित्रको विरुद्धमा उत्रिएको, नेतृत्वपंक्तिका केही पदाधिकारीले संघमा व्यक्तिवादी निर्णय लादेको, प्रतिस्पर्धात्मक बजारमा पनि नेपाली सिनेमा प्रदर्शनमा पालो प्रणाली लागू गरेर निर्माताहरूको अहित हुने काम गरेको जस्ता आरोप लगाएको छ। नयाँ निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, “पुरानो संघले स्वदेशी सिनेमाको अहित हुने निर्णयहरू गर्न थालेपछि बाध्य भएर नयाँ संघ खोल्नु परेको हो।” यता पुरानो संघका अध्यक्ष अशोक शर्मा भने संघको चुनावमा आफूसँग हारेका युवराज लामा र विश्वज्योति सिनेमा हलका मालिक मोहन सर्राफको लहैलहैमा लागेर नयाँ निर्माता संघ गठन गरेको आरोप लगाउँछन्। संघको कार्यशैलीप्रति असहमति जनाउनेहरूसँग पटकपटक छलफल र वार्ता गरिरहेकै बेला नयाँ निर्माता संघ गठन हुनु चलचित्र क्षेत्रमा 'फुटाउ र शासन गर' भन्ने नीति अख्तियार गर्ने काम भएको उनी बताउँछन्। शर्मा भन्छन्, “तर उनीहरूको षड्यन्त्र धेरै दिन टिक्दैन।” यसै विषयमा युवराज लामा भन्छन्, “मैले संघ टुक्र्याएको हैन, अशोक शर्माको कार्यशैली मन नपरेर निर्माता संघबाट राजिनामा दिएको हुँ।” एकातिर विदेशी चलचित्रको भन्सार र विकास शुल्क घटाउनु अर्कोतिर नेपाली सिनेमाको प्रदर्शनमा पालो प्रणाली लागू गर्नु शर्माप्रति असन्तुष्टि बढ्नुको अर्को कारण थियो। पालो प्रणालीमा चलचित्रले नाफा कमाउनुको साटो लगानी उठाउने सम्भावना समेत कम हुने भएकाले निर्माताहरू यो निर्णयसँग सहमत थिएनन्। अभिनेत्री तथा निर्मात्री सुशीला रायमाझ्ी भन्छिन्, “पालो प्रणालीअन्तर्गत चलचित्र बनेको ५ देखि ६ वर्षमा मात्र हलमा पुग्छ। त्यतिबेला निर्माताको घरबारी नडुब्ला भन्ने के ग्यारेण्टी?” शर्मा भने शाही शासनकालमा सञ्चार मन्त्रालयले विदेशी चलचित्रहरूको सबै कर मिनाहा गरेपछि आफूले त्यसको विरोध गरेको र सबै किसिमका कर मिनाहा गर्न नदिएको जिकिर गर्छन्। निर्माताहरूकै भलाइका लागि संघले पालो प्रणाली लागू गरेको बताउँदै शर्मा भन्छन्, “नेपाली चलचित्र उद्योगमै जीवन बित्न लाग्यो म कसरी यसको अहित हुने काम गर्न सक्छु?” तर शर्मा अध्यक्ष रहेको निर्माता संघप्रति असन्तुष्ट हुनेहरूको सङ्ख्या दिनहुँ बढ्दो छ। १३ पुसदेखि राजधानीका १२ वटा सिनेमा हलहरूमा प्रदर्शन गरिएको कम लगानीको डिजिटल चलचित्र शिकारी शर्माकै दबाबका कारण ७ वटा सिनेमा हलहरूबाट एक सातामै हटाइएको निर्माता तथा निर्देशक यादव सिलवालको आरोप छ। उनी शर्मा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको बताउँछन्। त्यस्तै नेपाल आदिवासी जनजाति चलचित्रकर्मी संघ, जनपक्षीय चलचित्रकर्मी संघ, लोकतान्त्रिक चलचित्रकर्मी मञ्च, नेपाल सांस्कृतिक संघले पनि शर्माको नेतृत्वको संघको कार्यशैलीको विरोध गर्दै आएका छन्। यी चारै संघ सम्मिलित चलचित्रकर्मी सञ्जालका सचिव केपी पाठक भन्छन्, “हाम्रो मागको बेवास्ता गरिए विदेशी चलचित्रका माफिया विरुद्ध सशक्त आन्दोलन गर्नेछौँ।” • सन्तोष बराइली किपटको कथा पर्दामा
११ माघमा राजधानीमा प्रदर्शन भएको चलचित्र चेसुङ (उपहार) ले लिम्बू समुदायको पुर्ख्यौली भूमिको स्वामित्व किपटलाई पर्दामा उतारेको छ। नेपाल एकीकरणपछि लिम्बू समुदायलाई किपटका रूपमा भोगचलन गर्न दिइएको जमिन माथि पञ्चायती सरकारले भूमिसुधार लागू गर्दा उत्पन्न समस्या र लिम्बू समाजमा त्यसले पारेको प्रभावलाई चलचित्रमा समेटिएको छ। किरात याक्थुङ माङगेना चुम्लुङका लागि कावेली फिल्म प्रोडक्सनले निर्माण गरेको चेसुङ मा लिम्बू समाजको चारदाम प्रथा, विवाह, मृत्यु र धाननाचलाई पनि समेटिएको छ। मौसम इम्बुङको निर्देशन रहेको यस चलचित्रमा प्रेम सुब्बा, शोभा खजुम, बलराज जवेगु, भीष्मा चेम्जोङ, आशिष लिङ्देन, रमेश सिंगक, पुष्प श्रेष्ठ, सावित्रा इङनाम आदिको अभिनय रहेको छ। नेत्रहीनले हेरे चलचित्र!
६–८ माघमा धरानमा सम्पन्न ट्राभलिङ माउण्टेन फिल्म महोत्सव २००८ मा प्रदर्शन गरिएका चलचित्रका दर्शकका रूपमा नेत्रहीनहरू पनि सहभागी भए। महोत्सवको उद्घाटनमा प्रदर्शित तत्कालीन शाही नेपाली सेनाले भैरवनाथ गणमा बन्दीलाई दिइने चरम यातनासम्बन्धी वृत्तचित्र क्षमा देउ तर नबिर्स नेत्रहीनहरूले औधी रुचाए। पूर्वाञ्चल ज्ञानचक्षुका दृष्टिविहीन विद्यार्थीहरूले चलचित्र ध्यानपूर्वक सुनेका थिए। केही अघि राजधानीमा आयोजना भएको पर्वतीय चलचित्र महोत्सव मा प्रदर्शन गरिएकामध्ये १२ उत्कृष्ट चलचित्रलाई महोत्सवका लागि छनौट गरिएको थियो। तीमध्ये ओमविक्रम, अ लाइफ विथ स्लेट, वी स्लाउट यु सहित चार नेपाली वृत्तचित्र थिए। हिमाल एसोसिएसनको सहयोगमा विजयपुर मिडिया ग्रुप, अनाम नाट्य जमात र कर्मचारी कल्याण मञ्च बीपी प्रतिष्ठानले महोत्सवको आयोजना गरेको थियो। सोहन, धरानमा चलचित्रमा राउटे
'जङ्गलका राजा' राउटेहरूको जीवनशैली समेटेर चलचित्र निर्माण शुरु भएको छ। नेपालको लोपोन्मुख जाति राउटेको अस्तित्व संरक्षणमा कसैले चासो नदेखाएको भन्दै पश्चिम नेपालका रङ्गकर्मीहरू राउटेकै विषयमा चलचित्र निर्माण गर्न जुटेका हुन्। सुर्खेत र दैलेखमा मात्र भेटिने र फिरन्ते जीवन बिताउने राउटेको सङ्ख्या अहिले करिब १८० जति छ। कन्दमूल खाएर जङ्गलमै बस्ने, काठका भाँडाकुँडा बेचेर गुजारा गर्ने र फिरन्ते जीवन बिताउन मन पराउने राउटेका विषयमा बन्न लागेको यो पहिलो चलचित्र हुनेछ। नेपालगन्जका रङ्गकर्मीहरूको संस्था अर्थ वाइल्ड फिल्म कम्पनी प्रालिले यसको निर्माण गर्दैछ। प्रालि अध्यक्ष लियाकत अलि भन्छन् “राउटेको जन्मदेखि मृत्युसम्मको संस्कारलाई समेट्नेछौं।” यही समूहले नेपालगन्ज र काठमाडौंमा राउटेका विषयमा नाटक मञ्चन गरिसकेको छ। डिजिटल प्रविधिमा बन्ने चलचित्रको छायाङ्कन दुई महिनामा सकिने बताइएको छ। चलचित्रमा उदय अलि र सन्नू नेपालीको मुख्य भूमिका रहेको छ। रामेश्वर, नेपालगन्जमा फर्किए प्रेमध्वज
वरिष्ठ गायक प्रेमध्वज प्रधान ४१ वर्षपछि मञ्चमा एकल गायनका साथ फर्किए। ७२ वर्षका प्रधानले 'माया नमार मायालु' बाट शुरु गरी सोही गीतमा कार्यक्रम अन्त्य गर्दा श्रोताहरू उठ्न मानिरहेका थिएनन्। सङ्गीता प्रधानसँग उनले गाएको नमान लाज यस्तरी बोलको गीतमा श्रोताको ताली नरोकिएपछि सो गीत दोहोराइएको थियो। ११ माघमा नेपालयको पलेँटीमा प्रधानले घुम्तीमा नआऊ है, तारा मात्र होइन तिमीलाई, टाढा लैजाऊ फूलहरू, यो नानीको शिरैमा, गोरेटो त्यो गाउँको र राजमति जस्ता १८ सदावहार गीत र तिनीहरूसँग जोडिएका संस्मरण सुनाएका थिए ।
दुई दशकभन्दा लामो साङ्गीतिक यात्राका क्रममा सङ्गीतकार एवं गायक दिनेश सुब्बा हालै हङकङमा 'दिनेश सुब्बा एकल साँझ्' लिएर प्रस्तुत भए। विगत १२ वर्षदेखि हङकङलाई नै कर्मथलो बनाउँदै आएका सुब्बाको कार्यक्रमको आयोजना हिमालयन टोन्स म्युजिक एकेडेमीले गरेको थियो। सवा दुई घण्टासम्म उनले आफूले सङ्गीत भरेका हाम्रो सुन्दर संसार थियो, हाँसु कति म, बादलुको घुम्टोले इलाम बजार छोपिँदा, तिमी हेर्छौ भने जिन्दगीलाई र आफ्नै स्वरमा चर्चित बनेको थाहा नपाई माया मेरो र तिम्रो हाम्रो मनको दूरी बढे जस्तो छ लगायतका गीतहरू प्रस्तुत गरेका थिए। देवराज, हङकङमा |