![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
जनता अधिकार–रक्षक देवी
काभ्रे खरेलथोककी देवी सुनार (४०) छोरी मैनाको पक्षमा सङ्घर्ष गर्दागर्दै जुझ्ारु अधिकार–रक्षकका रूपमा देखापरेकी छिन्। मैनालाई सेनाले बेपत्ता बनाएपछि उनको खोजीमा लागेकी देवीले छोरीको हत्या भइसकेको कुरा पर्दाफास गरेरै छाडिन्। अहिले नाबालिका छोरीको शोकलाई ऊर्जामा परिणत गरेर उनी दण्डहीनताविरुद्धको अभियानमा जुटेकी छिन्। काभ्रेका स्थानीय संस्थाहरूमा आवद्ध देवीले छोरीको नाममा बालविकास समिति नामको संस्था दर्ता गरेर पढ्न नपाएका बालबालिकालाई निःशुल्क पढाउने अठोट गरेकी छिन्। अमेरिकामा अध्ययनरत् विद्यार्थीहरू पनि उनको यो अभियानमा सघाउन अग्रसर भएका छन्। छोरीलाई सशस्त्र द्वन्द्वमा गुमाएकी देवी सुरक्षाकर्मी वा माओवादी दुवै पक्षबाट भएका व्यक्तिहत्याको विरोध गर्छिन्। अधिकार–रक्षक देवी भन्छिन्, “माओवादी र राज्य दुवै पक्षबाट पीडित भएकाहरू गोलबन्द भएर सङ्घर्ष गरेमात्र वास्तविक न्याय प्राप्त हुनसक्छ।”
हिमाल आरोही नाम्गेल शेर्पा (३०) हिउँसँगै वृत्तचित्र बनाएर अहिले चर्चामा छन्। नाम्गेलले उक्त वृत्तचित्रमा पर्वतारोहीहरूले भोग्ने दुःख–कष्टलाई समेटेका छन्। सन् २००३ मा पहिलो पटक सगरमाथा आरोहणका क्रममा अक्सिजन सकिएर ढलेका अमेरिकी नागरिक सेलेको उद्धार गरेपछि उनमा आरोहीहरूको पीडालाई वृत्तचित्रमा उतारेर संसारलाई देखाउने सोच पलायो। सन् २००७ मा १९ जनाको उनको टोलीले ६५ दिनसम्म क्यामेरा बोकेर आरोहीहरूलाई पछ्यायो र १५ लाख रुपैयाँको लगानीमा एक घण्टा लामो वृत्तचित्र निर्माण गर्यो। नेपाली र अङ्ग्रेजी भाषामा रहेको हिउँसँगै वृत्तचित्र अमेरिका, हङकङ, जापान, अष्ट्रेलिया, डेनमार्क, स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड, कोरिया र भारतमा प्रदर्शनसँगै २० हजारभन्दा बढी सीडी पनि बिक्री भइसकेको छ। ६ वर्षको उमेरमा बाबु गुमाएका खोटाङ, अँधेरीका नाम्गेलले आमा पनि अर्कैसँग गएपछि मावलीमा बसेर १० कक्षा पास गरे। त्यसपछि काठमाडौँमा सङ्घर्ष गरेका नाम्गेल अहिले क्लाइमिङ गाइडका रूपमा कार्यरत छन्। उनी आरोहीहरूको दुःखकष्टलाई संसारसामु देखाउने मात्र होइन पीडितका परिवारलाई पनि सहयोग गर्न चाहन्छन्। भन्छन्, “सीडी बिक्री गरेर आएको पैसा सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी मृत्यु भएका आरोहीका परिवारलाई सहयोगस्वरुप दिँदैछु।” |