हिमाल खबरपत्रिका  
पूर्णाङ्क २११ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कमल दीक्षि

इतिहासमा

 

हर्ताल

हामीहरू अचेल 'हर्ताल' भनेको बुझदैनौँ, 'हडताल' मात्र बुझछौँ। तर 'हर्ताल' भन्ने शब्दको नेपालीमा आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व थियो भन्ने कुरा हामीहरूले बिर्सिसकेका छौँ। हर्ताल संस्कृतको 'हरिताल' बाट हरताल हुँदै नेपालीमा आएर बसेको हो। हरिताल एक प्रकारको विष हो (शायद अङ्ग्रेजी आर्सनिक–वर्गीय) तर नेपालीमा यो विषको रूपमा भन्दा पनि औषधीया उपयोगी वस्तुका रूपमा बढी प्रचलित भयो। हरताललाई नेपालीले चिन्ने मुख्य वस्तु बनिदियो नेपाली मड्याएको कागज। लिच्छवि र मल्लकालदेखि नै नेपालमा पुराण तथा आयुर्वेदिक लिखत सुरक्षित राख्ने काममा, मड्याएको नेपाली कागजको प्रयोग हुन्थ्यो। र्ताल लगाएको नेपाली कागज सयौँ वर्षसम्म कीराहरूबाट जोगिएर रहन्थे। त्यस्ता कागजहरूमा एकापट्टि हर्तालको लेप लगाइदिने गरिन्थ्यो। हल्का पहेँलो रङको यो लेप लेखिसकेपछि होइन, लेख्नेअगाडि नै लगाइन्थ्यो। लेख्ने र छाप्ने काममा नेपाली कागजको प्रयोग नहुने भइसकेको यस कालमा मड्याएको र हर्ताल लगाएको कागजको चर्चा चलाउनु सान्दर्भिक हुँदैनथ्यो तर कुनै बेला यो नेपाली जीवनको एउटा महत्वपूर्ण अङ्ग थियो भन्ने ऐतिहासिक तथ्य नबिर्सौं भन्न मात्र यो कुरा उठाएको हो भन्ने बुझ्ियोस्। 

भनिन्छ, राणाकालमा श्री ३ महाराजकहाँ मुद्दा मामिलाको जाहेरी लिएर जाँदा, अड्डा अदालतका खरिदार सुब्बाले कैलेकैले भन्ने गर्थे अरे, “महाराज, ऐनको फलानो महलको फलानो दफाले यसो गर्न मिलेन।” यो सुनेपछि कुनै कुनै कुरामा महाराजबाट हुकुम हुन्थ्यो रे, “खारेज गरिदे।” अनि साँच्चै नै ऐनको ठेली पुस्तकमा खास दफामा हुने गरी पहेँलो हर्ताल पोतिदिइन्थ्यो। ऐले जस्तो हजारौँ लाखौँप्रति छापिएका हुँदैनथे ऐन। मुलुकी ऐनका किताबहरू तिनताका खासखास अड्डा अदालतमा र गढी गौंडा गोश्वारामा मात्र पुग्ने गरी छापिन्थे। महाराजको 'हुकुम' त्यहाँ ती ती अड्डा अदालतमा पुगेपछि त्यहाँ भएका ऐनका किताबका प्रतिमा पनि पहेँलो पोतिन्थ्यो। यो ऐतिहासिक तथ्य हो। तर ऐले यो तथ्य जाँच्ने प्रमाण बग्रेल्ती पाइँदैनन्। १९१० सालमा जङ्गबहादुरले बनाएको ऐन लिखित रूपमा आएको थियो। त्यसलाई करिब १५ वर्षपछि मुद्रित गर्ने काम थालियो, नेपाल मनोरञ्जन मुद्रणालयमा १९२७ सालमा। दुई वर्ष जति लगाएर त्यसका तेह्र सय जति पृष्ठ छापिइसके। बाक्लो नेपाली कागजमा छापिएको २४138३२ सेन्टिमिटर (९१/२ 138 १२१/२ इञ्ची) को सो पुस्तकलाई जिल्ला बाँध्न कति धौ पर्‍यो कल्पना गर्न सकिन्छ। बाक्लो छालाको खोल लगाएको त्यसको एक प्रति मदन पुरस्कार पुस्तकालयमा छ। त्यसकै अर्को प्रति चाहिँ सिंहदरबारमा कानून मन्त्रालयमा थियो। तर सिंहदरबार जल्दा त्यो पनि जलेर खरानी भयो भन्ने बुझ्िन्छ। त्यसो हुँदा १९२७ सालमा छापिएको त्यो पहिलो 'आइन' को ठेली अब यही एउटा मात्र बाँकी हो कि भन्ने शङ्का लाग्छ। त्यसै हुँदा यो ठेली ऐन मपुपुमा कसरी आइपुग्यो भनेर अलिकति खुलासा दिनुपर्छ। 

त्यो ऐनको ठेलीमा मुखपृष्ठमै माथिपट्टि कालो मसीले यस्तो लेखिएको छ, “दाषिल १९४७ साल पौष वदी ९ रोज २ मा वर्दिया अमिनीका लेफ्टेन मोहनलाल मार्फत्का मानिस गौरीदास हस्ते फिर्ता।” भन्नाले यो ऐनको पुस्तक पैले बर्दिया अमिनी अड्डामा पुगेको थियो, नयाँ ऐनको किताब छापिएपछि शायद नयाँ पठाई यो पुरानो फिर्ता मागियो होला र यो राजधानी फिर्ता आयो। अरू गढी गौंडा गोश्वाराहरूबाट पनि १९२७ सालै यो पुस्तक फिर्ता आए होलान् ती ऐले कहाँ–कहाँ छन् केही पत्तो छैन। यो चाहिँ प्रति पनि फिर्ता आएपछि पहिले कहाँ बस्यो हामीलाई थाहा छैन तापनि १९८६ सालपछि भने यो महाराज चन्द्रशमशेरको कान्छा छोरा मदन शमशेरको तहबिल (अड्डा) मा रहेको थियो। त्यतैबाट २०१३ सालमा मपुपुमा सरेको हो। 

माथि महाराजले 'हर्ताल लगाइदे' भन्थे अनि ऐनका दफाहरूमा साँच्चै नै पहेँलो हर्तालको लेप पोतिइन्थ्यो भनेर जिकिर गरियो त्यसरी हर्ताल लगाएको प्रत्यक्ष प्रमाण त्यो १३ सय पेजी ठेलीमा यत्रतत्र देख्न पाइन्छ। एउटा मात्र नमूना हेरौँ पृष्ठ २१५ मा (चित्र)। छापिएका ऐनका ठेलीमा मात्र हैन अमुद्रित ऐनका किताबमा पनि 'हर्ताल' लगाइँदो रहेछ भन्ने प्रमाण समेत देख्न पाइन्छ मपुपुमा रहेको जङ्गबहादुरकालीन यसै ऐनको लेखोट किताबमा। त्यसको पृष्ठ २० को एउटा नमूना हेरौँ (चित्र)। 

मुलुकी ऐनको त्यो प्रथम संस्करणमा मात्र होइन पछिपछि छापिएका ठेलीमा पनि ऐन–संशोधन अथवा 'दफा खारेज' भएको देख्न पाइन्छ तर पछिपछि भएका खारेजीमा चाहिँ हर्तालै नलगाई 'खारेजी' भन्ने अड्डा छाप ठोक्ने गरेको देखिन्छ। १९७५/१९८० मा छापिएका ऐनका ठेलीमा 'ऐन तर्जुमा अड्डा' को खारेजी भनेर काटिएका दफाहरूमा त्यस्तो छाप लगाएको देख्न पाइन्छ (चित्र)। त्यस्ता ऐनका ठेलीहरूमा अरू चाख लाग्ने कुरा के छ भने ऐनका प्रत्येक दफामा रातो मसीमा महाराजको 'एकछापे' ठोकिएको हुँदोरहेछ! त्यस्तो गर्दा कुनै कुनै पेजमा त निकैवटा छाप लागेको फेला पर्छ। उदाहरणार्थ १९७५ सालको ऐनको पृ. १० हेरौँ (चित्र)। त्यहाँ 'चन्द्रशमशेर' नाम काटिएको १३ वटा छाप लगाइएको छ। 

हर्तालबाट शुरु भएको यो वार्ता छापसम्म आइपुग्यो। हाम्रो संस्कृतिको एउटा ऐतिहासिक पाटो हो यो भन्न बढी बोल्नु नपर्ला।