![]() |
| पूर्णाङ्क २११ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
आवरण विश्लेषण
मित्रराष्ट्र तथा दातृ निकायहरूलाई आसन्न संविधानसभाका लागि सहमत नतुल्याएसम्म चैतको कार्यतालिकाको भविष्य पनि सुनिश्चित हुनसक्दैन। भारतमुखी छवि भएको एउटा अग्रणी नेपाली दैनिकमा छापिएको विवरण अनुसार भारतको उनन्साठीऔँ गणतन्त्र दिवसको अवसर पारेर सञ्चारकर्मीहरूका सामु भारतीय राजदूत शिवशङ्कर मुखर्जीले कौतुहल बढाउने खाले एउटा अनौठो टिप्पणी गरे। छापामा आएको उद्धरण अनुसार महामहिम मुखर्जीको भनाइ थियो, 'मधेश समस्या नेपालीको समस्या हो, यसको समाधान पनि नेपालीले नै गर्ने हो। बरु यसका लागि भारत नेपाललाई कूटनीतिक सहयोग गर्न तयार छ।' उक्त वक्तव्यको पहिलो अंश नितान्त औपचारिक प्रकृतिको छ। तर महामहिम मुखर्जीको दोस्रो वाक्यलाई सामान्य टिप्पणीको रूपमा मात्र उपेक्षा गर्न सकिँदैन। त्यस उक्तिभित्र सम्भवतः मधेश द्वन्द्वका विभिन्न भूराजनीतिक आयामहरू लुकेका छन्। भनाइ नै छ, वरिष्ठ कूटनीतिज्ञहरूको वक्तव्यमा 'जे भनिएको हो' भन्दा पनि 'के भन्न खोजिएको हो' भन्ने कुरामा बढ्ता ध्यान पुर्याउनुपर्दछ। कूटनीतिक टिप्पणीलाई बुझन समय, सन्दर्भ, सङ्गत र शब्दलाई एकीकृत रूपमा अर्थ्याउनुपर्ने मान्यता छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले नेपालस्थित विशेष आयोगको कार्यकाल थप ६ महिना बढाउन माने पनि चीनको कूटनीतिक आपत्तिका कारण बेलायती अग्रसरतामा प्रस्तुत भएको अनमिनको कार्यक्षेत्र विस्तारको प्रस्ताव भने पारित हुन पाएन। यसैबीच भारत तथा बेलायतका प्रधानमन्त्रीहरूद्वारा संयुक्त रूपमा नयाँदिल्लीबाट जारी भएको विज्ञप्तिमा नेपालको निर्वाचन समयमै गराउनुपर्ने कुरालाई महत्वका साथ उल्लेख गरिएको थियो। महामहिम मुखर्जीको समय छनौट यसकारण पनि उल्लेख्य छ कि उनी नेपालमा आफ्नो विवादास्पद तर सफल कार्यकाल पूरा गरेर भारतीय उच्चायुक्तको रूपमा बेलायत जाँदैछन्। नेपालमा गोर्खाली सेनाको भागबण्डादेखि नै भारत र बेलायत दुवैको गहिरो भूराजनीतिक अभिरुचि रहने गरेको छ। कूटनीतिक खेलहरू प्रायशः पर्दाभित्र खेलिन्छन्, परिणामको घोषणा मात्र सार्वजनिक मञ्चबाट हुन्छ। महामहिम मुखर्जीले सञ्चारकर्मीहरू सामु 'कूटनीतिक सहयोग' को प्रस्ताव राखेका छन्। स्पष्टतः पर्दाभित्रको परिस्थिति भारतीय हित अनुकूल रहेको छैन; त्यसैले राजदूत महोदयलाई सामान्यतः जोखिमपूर्ण मानिने 'मिडिया कूटनीति' अङ्गीकार गर्न बाध्य हुनु परेको हो। उनको शब्दहरूको छनौट पनि अत्यन्त सतर्क देखिन्छ; यद्यपि, प्रकाशित टिप्पणी हिन्दी वा अङ्ग्रेजी कुन भाषाबाट उल्था गरिएको हो भन्ने कुरा सम्वाददाताको विवरणमा उल्लेख छैन। राजदूत मुखर्जीले 'तराई समस्या' को साटो 'मधेश समस्या' को कुरा उठाएका छन्। र, 'नेपालको समस्या' लाई 'नेपालीको समस्या' भन्न रुचाएका छन्। कूटनीतिक सहयोग भने उनी 'नेपाललाई' नै गर्न चाहन्छन्। वक्तव्य विनिर्माणको विधि अनुसार उक्त भनाइलाई बुझने हो भने आधिकारिक भारतीय दृष्टिकोणमा 'मधेश समस्या' का कर्ता, क्रिया र कर्म क्रमशः नेपाल सरकार, राजनीति र नेपाली नेता ठहरिन्छन्। स्पष्ट रूपमा भन्नुपर्दा मधेश समस्या 'नेपालको सत्ताले मधेशमा मञ्चन गरेको राजनीति मात्र हो' भन्ने भारतीय संस्थापनको ठहरलाई राजदूत मुखर्जीले कूटनीतिक भाषामा व्यक्त गरेको कुरा ठम्याउन गाह्रो छैन। एक प्रकारले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बहुचर्चित 'भारतले सहयोग गर्ने हो भने मधेश समस्या दुईमिनेटमा समाधान हुन्छ' भन्ने विवादास्पद टिप्पणीको कूटनीतिक प्रत्युत्तर पनि हो राजदूत मुखर्जीको प्रायोजित झ्ैँ लाग्ने छापामा प्रकाशित वक्तव्य। अफगानिस्तानको गृहयुद्ध, भारतको अनिश्चितता, बङ्गलादेशको इस्लामी धर्मान्धता, पाकिस्तानको अन्तरस्फोट, बर्माको सैनिक तानाशाही तथा श्रीलङ्काको जातीय युद्धलाई अनुगमन गरिरहेको अमेरिकाका लागि दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो अपेक्षाकृत सुरक्षित स्थल हो, जहाँबाट अमेरिकी अधिकारीहरूले संसारका दुई सबभन्दा ठूला राष्ट्रहरूलाई मिहिन रूपमा नियाल्न सक्दछन्। यस्तो संवेदनशील सुरक्षास्थल सजिलै अमेरिकीहरूले पूँजीवादको खुला विरोध गर्नेहरूको पोल्टामा पर्न दिने छैनन्। युरोप र जापानको नेपाल नीति सामान्यतः अमेरिका निर्देशित नै रहने गरेकाले माओवादीहरू फ्रान्स वा अष्ट्रेलियाजस्ता नेपालमा अत्यन्त कम गतिविधि भएका राष्ट्रहरूका लागि पनि सजिलै स्वीकार्य हुन सक्दैनन्। प्रत्यक्ष रूपमा बृहत् शान्ति सम्झ्ौताको विरोध कतैबाट नभए पनि माओवादीलाई सत्तारुढ गर्न भारतले खेलेको भूमिका नेपालका पश्चिमा मित्रहरूलाई अझ्ै पनि 'हजम' भएको छैन। प्रचण्डको राष्ट्रपति बन्ने उद्घोषले ती झ्नै अत्तालिएका छन्। संविधानसभाको निर्वाचन माओवादीलाई वैधानिक रूपमा नेपालको एकछत्र शासक बनाउने आवरण मात्र रहेको आशङ्का व्याप्त रहेसम्म पश्चिमाहरूले सजिलै चुनाव हुन दिने छैनन्। विडम्बना के हो भने प्रतिव्यक्ति वैदेशिक सहयोगको मामिलामा सधैँ तल्लो स्थानमा रहने गरेका मधेशका जिल्लाहरूमा विदेशीहरूको प्रत्यक्ष र परोक्ष उपस्थिति आश्चर्यजनक रूपले बढ्दै गइरहेको छ। मधेश र मधेशीको उत्थानका लागि दुई पैसा समेत खर्च गर्न गाह्रो मान्ने जर्मन, बेलायत, डेनमार्क, स्वीट्जरल्याण्ड र जापानजस्ता राष्ट्रहरू अकस्मात् 'मधेश मुद्दा' को सबभन्दा प्रखर समर्थकका रूपमा देखापर्न थालेका छन्। नर्वेली अनुसन्धानकर्ता म्यागनस हैटल वाक्कका अनुसार 'मधेश अध्ययन गर्छु' भन्दा नाक खुम्च्याउने दातृ निकायका अधिकृतहरू अहिले मधेशमै ध्यान केन्द्रित गर्न आफ्ना अध्येताहरूलाई खटाइरहेका छन्। यस्तो उल्टो घुम्तीका पछाडि सैद्धान्तिक, व्यावहारिक तथा मनोगत कारणहरू रहेका हुनुपर्दछ। सिद्धान्ततः सर्वहाराको अधिनायकवाद स्थापित गर्ने अभिप्रायका साथ सञ्चालित वामपन्थी सत्ता स्वभावतः परिचयको राजनीतिको विलोम भएर उभिएको हुन्छ। ऐतिहासिक रूपले गोर्खाली उपनिवेशवादबाट सबभन्दा बढ्ता पीडित मधेशीहरू माओवादीका नाउँमा सञ्चालित हुने गोर्खाली वर्चस्ववादको निरन्तरतालाई स्वीकार गर्ने छैनन् भन्ने पूर्वानुमानको आधारमा मधेशका अधिकारकर्मी तथा राजनीतिक समूहहरूलाई पश्चिमाहरूले सघाएका हुन्। तिनको निहितार्थ वामपन्थको विरोध हो; मधेशी अस्मिता, पहिचान र सम्मानको समर्थन होइन। तर मधेशीहरूका अधिकांश गुनासाहरू जायज छन्। त्यसैले माओवादीहरूको विरोध गर्न वा माओवादी सम्मिलित सत्तालाई असफल तुल्याउन सहयोगी बन्न आतुर मधेशीहरूको कुनै कमी छैन। पश्चिमाहरूले माओवादीहरूलाई धरापमा पार्न मधेश रोजेको व्यावहारिक कारण पनि कम सम्मोहक छैन। गैसस संस्कृति, पश्चिमा अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको गहिरो अभिरुचि तथा पर्यटकहरूको बाक्लो उपस्थितिले गर्दा पहाडका टाठाबाठाहरू तस्बिर खिचाउन समेत मेहनताना दावी गर्ने भइसकेका छन्। उत्पीडितहरूलाई माओवादीहरूले पहिले नै गोलबन्द गरिसके। जनस्तरमा माओवादीहरूको दबाब थेग्न सक्ने शक्ति पहाडका गाउँहरूमा बाँकी नै छैन भन्दा हुन्छ। मधेशमा भने माओवादीहरूको प्रभाव शुरुदेखि नै न्यून थियो। मधेशका बौद्धिक उद्यमीहरूको बजार भाउ अझ्ै आकाशिएको छैन। राजनीतिकर्मीहरू माओवादी संलग्न सत्ताको विरोध गरेर जनाधार बनाउन र बढाउन सक्दछन्। त्यसैले सस्तोमा सत्ताको प्रायोजित विरोध सिर्जना गर्ने सबभन्दा आकर्षक स्थल मधेश हुने निश्चित थियो। त्यही अहिले भइरहेछ। मनोगत मान्यता मधेशको धार्मिकतासँग सम्बद्ध हुनुपर्दछ। पश्चिमाहरूको मूल्याङ्कनमा मधेशमा राजा अझ्ै पनि लोकप्रिय छन्, हिन्दू धर्मको पकड बलियो छ; र, धर्मनिरपेक्ष राज्यको घोषणा मधेशीहरूले रुचाएका छैनन्। शायद त्यसैले होला, गोइत र ज्वाला सिंहका 'जनतान्त्रिक' समूहहरू बाहेकका जम्मैजसो राजनीतिक शक्तिहरूको आर्थिक, सामाजिक अवधारणा दक्षिणपन्थी प्रकृतिको छ। आश्चर्य त के हो भने बागमती बहाव, राप्ती उपत्यका, चितवन मैदान तथा कोशी–कमला खोँचबाट थारूहरूको विस्थापनका लागि मूल रूपले जिम्मेवार अमेरिका अहिले मधेशका आदिवासी तथा जनजातिहरूको सबभन्दा प्रभावशाली समर्थकको रूपमा देखा पर्न थालेको छ। आशय भने त्यहाँ पनि माओवादीहरूको पहुँच र प्रभावलाई कम गर्नु नै हो, मधेशीहरूको पक्षपोषण होइन। |