हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

फेरि कुटिए दर्शक

आरजु विष्ट

पोखरामा सञ्चालित छैठाँै आहा गोल्डकपमा नेपाल पुलिस क्लबले फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै रु.१ लाखसहित उपाधि जितेको छ। पुलिस क्लबलाई उक्त विजय दिलाउन अनन्त थापा र जुमानु राईले अतिरिक्त समयमा गोल गरेका थिए। प्रशिक्षक डम्बर सिंह गुरुङको प्रशिक्षणसहित मैदानमा उत्रिएको एपीएफ र अनुभवी पुलिस क्लबबीचको फाइनल निकै प्रतिस्पर्धात्मक थियो। फाइनलमा पुग्नुअघि एपीएफले सहारा युकेलाई र पुलिस क्लबले आयोजक सहारा क्लबलाई सेमिफाइनलमा हराएको थियो। एपीएफका गणेश लावतीले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधिसँगै मोटरसाइकल पनि हात पारे।

पोहोर सालको तुलनामा भने दर्शक सङ्ख्यामा कमी आएको स्वयं आयोजकहरूले स्वीकारेका छन्। प्रतियोगिताको दावेदार मनाङ्ग मर्स्याङ्गदी क्लबको अनुपस्थितिबाट निराश बनेका पोखरेली दर्शकहरूको उत्साह थ्री स्टार, फ्रेण्डस क्लब र आठजना राष्ट्रिय खेलाडीले भरिएको एनआरटी पहिलो चरणबाटै बाहिरिएपछि घटेको उनीहरूको अनुमान छ। त्यसमाथि दर्शकको आशाको केन्द्र रहेका पोखरेली खेलाडी अनिल अधिकारी र बसन्त गौचन आफूले फूटबल सिकेको मैदानमा समेत खासै जम्न सकेनन्। पहिलो पटक सहभागिता जनाएको बङ्गलादेशको टोली समेत पहिलो खेलबाटै बाहिरिए पनि युकेको अतिथि सहारा टोलीले भने सेमिफाइनलसम्म पुगेर दर्शकहरूको वाह्वाही बटुलेको थियो। 

प्रतियोगितासँगै दर्शकहरू कुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ। प्याराफिटमा बसेका नेपाल प्रहरीका बर्दीधारी जवानहरूको पिटाइबाट पोखराका २५ भन्दा बढी दर्शक घाइते भएका थिए। बोतल हानेको आरोपमा समातिएका एक व्यक्तिलाई प्रहरीले खेल मैदानमै लाठी र लात्ती प्रहार गरेका थिए र अन्यलाई पनि कुटेका थिए। प्रहरी र दर्शकको झ्डपका कारण दुई पटकसम्म रेफ्रीले खेल स्थगित गर्नुपरेको थियो। तनावबीच फाइनल सकिएपछि उपाधि चुम्ने टिम रमाउँदै खेल मैदानमा दौडने परम्परा यसपटक देखिएन भने प्रहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र बिष्टले समापन कार्यक्रम छिटो गर्न आयोजकलाई निर्देशन नै दिनुपरेको थियो।

                                 त्रिभुवन पौडेल, पोखरा