हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सम्झना

नेपालका आजीवन साथी

पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको ८८ वर्षको उमेरमा २७ पुस २०६४ मा निधन भयो। हिलारीको हस्ताक्षरसहितको तस्बिर।


मीनरत्न बज्राचार्य
हिलारीको हस्ताक्षरसहितको तस्बिर ।

मे १९५३ मा तेन्जिङ नोर्गेसँग सगरमाथाको सफल आरोहण गरेपछि सर एडमण्ड हिलारीले जीवनपर्यन्त नेपालसँग गहिरो मित्रता गाँसिराखे। हिमालयका विकट गाउँमा बसोवास गर्ने नेपालीहरूको उत्थान नै आफ्ना लागि सम्मान हुने ठान्ने हिलारीले त्यसका लागि सन् १९६० मा हिमालयन ट्रष्टको स्थापना गरेका थिए, जसअन्तर्गत सोलुखुम्बु क्षेत्रमा अहिले २७ विद्यालय, दुई अस्पताल र कैयन् स्वास्थ्य केन्द्र सञ्चालित छन्। नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष भूमिलाल लामा भन्छन्, “आजसम्म थुपै्रले नेपाली हिमाल चढे, तर हिलारीले जति सहयोग कसैले गरेका छैनन्।”

विद्यालय र अस्पताल बनाउन काभ्रेदेखि सामान बोकेर लैजानुपर्ने कठिनाई पन्छाउन हिलारी लुक्ला विमानस्थल बनाउन अघि नसरेका भए सम्भवतः त्यहाँ विमानस्थल पनि बन्दैनथ्योभन्छन् हिमालयन ट्रष्टका प्रमुख अधिकृत आङछिरिङ शेर्पा। सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना पनि हिमालय क्षेत्रको वातावरण जोगाउन चिन्तित उनकै प्रयासमा भएको थियो। हिलारी जहाँ पुगेपनि नेपालको सौन्दर्य र नेपालीको सहयोगभावको तारिफ गर्न चुक्दैनथे। नेपालको राजनीतिक अवस्थाका कारण सन् २००६ मा पश्चिमी मुलुकहरूले भ्रमणमा रोक लगाएको बेला नेपाल आएर हिलारीले 'म यहीँ आएको छु र सबै ठीकै देख्छु' भनेपछि पर्यटन क्षेत्रमा राम्रो प्रभाव परेको थियो। उनले त्यसो भनेको भोलिपल्टै बेलायत सरकारले सो रोक हटाएको थियो।

नेपाल पर्वतारोहण संघका अक्ष्यक्ष आङछिरिङ शेर्पा, पूर्व अध्यक्ष टासी जाङ्बो शेर्पा, २०२७ सालको एसएलसी बोर्ड प्रथम आङछिरिङ शेर्पालगायत धेरै जना छन् हिलारीले शुरु गरेको विद्यालयका उत्पादन। संघका कार्यवाहक अध्यक्ष जिम्बा जाङ्बु शेर्पा भन्छन्, “हिलारी नभएका भए शेर्पा जाति आज जहाँ पुगेको छ, त्यहाँ हुने थिएन।” कैयौं विद्यार्थीलाई हिलारीले उच्च शिक्षाका लागि विदेशमा छात्रवृत्तिको व्यवस्था गरेका थिए। उनको निधन पछि पनि हिमालयन ट्रष्टलाई सञ्चालन गर्न उनकी श्रीमती तथा शुभचिन्तकहरू लागिपरेका छन्।

हिलारी पछिल्लो समय पर्वतारोहणमा देखिएको चहलपहलसँग भने सन्तुष्ट थिएनन्। बढ्दो व्यवसायीकरणका कारण हिमालमा भएको प्रतिस्पर्धा र प्रदूषण उनको चिन्ताको विषय थियो। आङछिरिङ शेर्पा सम्झ्िन्छन्, “उनी सधैँ भन्ने गर्दथे― पर्वतारोहण भनेको रमाइलो र रोमाञ्चका लागि हुनुपर्छ, प्रतिस्पर्धाका लागि होइन।” 

किशोरावस्थादेखि नै पर्वतारोहणमा रुचि भएका माहुरीपालक हिलारी सगरमाथा आरोहण–पछि विभिन्न साहसिक अभियानमा संलग्न रहे, जसबारे उनको लेखन/सहलेखनमा १३ वटा किताब प्रकाशित भएका छन्। तेन्जिङ नोर्गेको निधन भएको चौध वर्षपछि सन् १९९९ मा प्रकाशित 'भ्यू फ्रम द समिट' पुस्तकमा उनले आफूले पहिले सगरमाथा शिखरमा टेकेको खुलासा गरेका थिए। सन् १९८५ देखि चार वर्ष नेपाल, भारत र बङ्गलादेशका लागि उच्चायुक्त/राजदूतका रूपमा समेत क्रियाशील हिलारीलाई सन् २००३ को सगरमाथा आरोहण स्वर्ण जयन्तीमा मानार्थ नेपाली नागरिकता प्रदान गरिएको थियो।   

         
शैली बस्नेत