हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट छिमेक

'नक्सलाइट'को नयाँ रुप

नक्सलवाडी विद्रोहलाई क्रान्तिको प्रस्थानबिन्दु ठान्ने नक्सलाइटहरूको एउटा प्रमुख हिस्सा माओको कोट फुकालेर शान्तिपूर्ण गन्तव्यतर्फ उन्मुख भएको छ भने अर्को― झन् उग्र र हिंस्रक बनेको छ।

चार दशकअघि पश्चिम बङ्गालको नक्सलवाडीबाट शुरु भएको भारतको उग्रवादी कम्युनिष्ट आन्दोलन अनेक भँगालामा विभक्त भएको छ। नक्सलवाडी आन्दोलनकै जगबाट उठेको 'भाकपा माले― लिवरेशन' अहिले आफूलाई शान्तिपूर्ण जनआन्दोलनसँग जोडिएको भारतव्यापी पार्टी भन्न थालेको छ।

भारतमा सन् १९७० को दशकमा दक्षिण एसियाको शक्तिशाली वाम विद्रोहका रूपमा उठेको नक्सलवाडी सशस्त्र विद्रोहलाई समाप्त पार्न सरकारले ठूलै दमन अभियान चलाएको थियो। १९७२ जुलाइमा गिरफ्तारीमा परेका त्यस विद्रोहका अगुवा चारु मजुमदारको २८ जुलाइमा हत्या भएपछि आन्दोलन दर्जनौँ गुटमा विभाजित हुनपुग्यो। पुनर्गठनको प्रक्रियासँगै नक्सलवाडी विद्रोहका अनुयायी दाबी गरिरहेका दुई धार, भाकपा माले–लिवरेशन र भाकपा (माओवादी) अहिले पनि भारतीय वाम आन्दोलनका चर्चित नाम हुन्। यीमध्ये लिवरेशनले सङ्घर्षका सबै रुप अपनाउनुपर्ने निष्कर्षसहित जनसङ्घर्ष र राजनीतिक हस्तक्षेपमा जोड दिइरहेको छ भने माओवादीले सशस्त्र कारबाहीलाई प्रमुखता दिइरहेको छ।  

विभाजन र पुनर्गठनका अनेकौं मोडबाट अगाडि बढेको नक्सलवाडी आन्दोलनको एउटा प्रमुख धार विनोद मिश्रको नेतृत्वमा सन् १९९२ मा भाकपा (माले)लिवरेशनका रूपमा अगाडि आएको थियो। सन् १९८२ देखि यसले नक्सलवाडी आन्दोलनको गम्भीर समीक्षा गरी 'महान् कोशिशका क्रममा भएको गल्ती' भन्दै त्यसबाट शिक्षा लिएर सशस्त्र कारबाहीको सट्टा सङ्घर्षका सबै रुप अपनाउने नीति अख्तियार गर्‍यो। इण्डियन पिपुल्स फ्रन्ट (आईपीएफ)को नामबाट विधानसभा र लोकसभा चुनावमा भाग लिँदै सन् १९९२ मा खुला राजनीतिमा प्रवेश गरेको लिवरेशनका सबै नेताहरू सार्वजनिक भए। सन् १९९८ मा विनोद मिश्रको निधनपछि यो समूहको नेतृत्व दिपङ्कर भट्टाचार्यले गरिरहेका छन्।

कोलकातामा हालै सम्पन्न आठौं महाधिवेशनमा भाकपा माले–लिवरेशनका महासचिव दिपङ्करले नक्सलवाडी आन्दोलनको औचित्यलाई आजको सन्दर्भमा व्याख्या गर्दै आफ्नो दस्तावेजमा भनेका छन्, “१९७० को दशकमा बहसको जोड क्रान्तिकारी सामाजिक परिवर्तनमा थियो, अहिले व्यवस्थामा प्रतिस्पर्धात्मक हिस्सेदारीमा छ र हामीले यसअनुरुप नै आफ्नो दिशा र नारा तय गर्नुपर्छ।” लिवरेशनले जनसङ्घर्षमा मुख्य जोड दिँदै हिन्दी भाषाको बाहुल्य रहेका बिहार, झरखण्डलगायतका राज्य एवम् कृषि मजदुरहरूबीच आफ्नो सङ्गठन विस्तार गरिरहेको दाबी गरेको छ।

नक्सलवाडी आन्दोलनकै अर्को समूह भारतीय कम्युनिष्ट पार्टी माओवादीलाई चाहिँ भारत सरकारले अहिले पनि 'आन्तरिक सुरक्षाको लागि सबभन्दा ठूलो चुनौती' मानेको छ। केही वर्षअघिसम्म परस्पर आक्रमण र हत्यामा समेत उत्रिने गरेका पिपुल्सवार गु्रप (पीडब्लुजी) र माओवादी कम्युनिष्ट सेन्टर (एमसीसी) बीच सन् २००५ मा एकता भएर बनेको भाकपा (माओवादी)को नेतृत्व यसका अध्यक्ष गणपतिले गर्दै आएका छन्। भारतीय माओवादीहरूले छिटफुट छापामार कारबाही जारी राखे पनि उनीहरूसँग ठोस राजनीतिक योजना भने देखिँदैन। आन्ध्र प्रदेशको दण्डकारण्य क्षेत्रलाई आफ्नो आधार इलाका दाबी गर्दै आएका भारतीय माओवादीहरूले गया, झरखण्डलगायतका क्षेत्र र राज्यमा पनि छिटफुट सशस्त्र कारबाही गरिरहेका छन्।

नेपालका माओवादीको प्रशंसा

भारतीय वामपन्थी विश्लेषकहरू भारतीय माओवादीहरूलाई नेपालका माओवादी भन्दा एकदमै भिन्न ठान्दछन्। तर सशस्त्र विद्रोहबाट जनसङ्घर्षको बाटोमा आएको लिवरेशनले भने नेपालका माओवादीहरू सशस्त्र सङ्घर्षको बाटो परित्याग गरी शान्तिपूर्ण रूपान्तरणमा उन्मुख भएको कुरालाई निकै सकारात्मक रूपमा लिएको छ। “एकदशक लामो युद्ध सञ्चालन गरेका नेपालका माओवादी त्यसको गम्भीर समीक्षा गरेर बृहद् जनसङ्घर्षको प्रक्रियाअन्तर्गत अघि बढिरहेका छन्,” लिवरेशनका महासचिव दिपङ्कर भन्छन्, “सशस्त्र सङ्घर्ष चलाउने क्रममा नेपालका माओवादीले अपनाएको बर्बर र गैरकम्युनिष्ट ढर्राको आलोचना नभएको होइन, तर उनीहरू अहिले भिन्न रूपमा प्रस्तुत भएका र बेग्लै राजनीतिक प्रयोग गरिरहेका छन्।”

तर भारतका माओवादीप्रति भने लिवरेशन निकै आलोचनात्मक देखिन्छ। नेपालका माओवादीप्रति नरम र भारतका माओवादीप्रति कडा टिप्पणी गर्नुका पछाडि अवश्य केही वस्तुगत तथ्य र कारण छन्। यससँग नक्सलवाडी आन्दोलनको उत्तराधिकार वा विरासतको प्रश्न पनि जोडिएको छ। लिवरेशन र भारतीय माओवादी दुवै नक्सलवाडी आन्दोलनलाई निरन्तरता दिएको दावी गर्छन्, तर उनीहरुका कार्यदिशा तथा व्यवहार भने सिक्काको दुईपाटा जस्तै छन्। लिबरेशनका महासचिव दिपङ्कर भट्टाचार्र्य नक्सलवाडीको विरासत भारतका माओवादीले हड्पिएजस्तो देखिए पनि त्यस विषयमा सैद्धान्तिक विश्लेषण अघि सार्छन्। लिवरेशनले तेभागा, तेलङ्गाना र नक्सलवाडीलाई हाल चर्चित नन्दीग्रामको किसान प्रतिरोधको निरन्तरतामा बुझनुपर्ने बताइरहेको छ भने माओवादीले सशस्त्र कारबाहीको रुपमा मात्रै बुझेको छ।

नक्सलवाडी विद्रोहका प्रमुख चारु मजुमदारका एकमात्र छोरा, सिलिगुडी कलेजमा अङ्ग्रेजी साहित्यका प्राध्यापक अभिजित मजुमदार लिबरेशनलाई त्यस विद्रोहको सही उत्तराधिकार ठान्छन्। दार्जीलिङ जिल्ला कमिटीको सचिव हुँदै आठौं महाधिवेशनबाट लिवरेशनको केन्द्रीय कमिटीमा पुगेका मजुमदार भन्छन्, “नक्सलवाडी आन्दोलनबाट विभाजित सबै समूहको गहन अध्ययन गरेपछि त्यसको खास अनुयायी भाकपा माले–लिवरेशन नै हो भन्ने ठहर गरेर मैले यो पार्टीमा लाग्ने निर्णय गरेको हुँ।” 

भारतका केन्द्रीयदेखि राज्य सरकारहरुले नक्सलवाडी आन्दोलनको राजनीतिक समाधान नखोजी दमन मात्र गर्न खोज्दा आज पनि भारतको आन्तरिक सुरक्षामा यसको असर कायमै छ। हाल केन्द्रीय सत्ताको गठबन्धन 'युनाइटेड पिपुल्स फ्रण्ट'मा रहेको वामपन्थी दल मार्क्सवादी कम्युनिष्ट पार्टी समेत नक्सलवाडी आन्दोलनको राजनीतिक समाधान खोज्ने भन्दा हिंस्रक दमनकै बाटोमा रहेकाले भारतीय माओवादीले सृजना गरेको समस्या नेपालमा जति चाँडो समाधान हुने देखिँदैन।

                         सूर्य थापा, कोलकातामा