हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

माण्डवीको भाका

चार वर्षअघिदेखि लोकदोहोरीबाट व्यावसायिक गायनमा लागेकी माण्डवी त्रिपाठी अहिले नेपाली लोक–पप, आधुनिक र चलचित्र गायनमा समेत जमेकी छिन्। ललितकला क्याम्पसमा सङ्गीतमा स्नातक माण्डवी आफू सात वर्षअघि लमजुङ, सुन्दरबजारबाट सङ्गीत अध्ययनकै लागि काठमाडौं आएको बताउँछिन्।

दुई पल, दुर्गा, पालेदाइ लगायतका डेढ दर्जन चलचित्रमा स्वर दिएकी उनी छोटो समयमै सबै विधाका गरेर ५०० भन्दा बढी गीतमा स्वर दिइसकेको बताउँछिन्। तर, लोकभाकाकै गायिकाको रूपमा बढी चिनिएको जस्तो लाग्छ, उनलाई। साङ्गीतिक क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति धेरै भएको र अझ् लोक–दोहोरीका कलाकार एकजुट हुन नसक्दा हेपिएको महसूस उनले गरेकी छिन्। भन्छिन्, “लोक–दोहोरीका अल्बम धेरै बिक्री हुन्छन्, कार्यक्रमहरू सफल हुन्छन् तर यस क्षेत्रका कलाकारहरूले राम्रो पारिश्रमिक र सम्मान भने पाएका छैनन्।”

गाउनकै लागि हङकङ, कतारसम्म पुगिसकेकी उनलाई गीत गाएरै बाँच्न सकिन्छ भन्ने लाग्न थालेको छ। लोक, पप र आधुनिक सबै भाका समेटिएको  एकल अल्बमको तयारीमा रहेकी माण्डवी भन्छिन्, “आफ्नो भविष्य आफैँले बनाउने हो। यस क्षेत्रमा भोलिका लागि आज राम्रै गरिरहेको जस्तो लाग्छ।” लगन जुरेन, वार्ता गराइदेऊ, लेकैमा चौरी जस्ता लोकदोहोरीमा स्वर दिएकी माण्डवीको आफ्नै लगन कहिले जुर्छ? उनी भन्छिन्, “अहिल्यै बिहे गर्ने इच्छा छैन्, अरू केही वर्ष ध्यान गायनमै केन्द्रित गर्छु।” ल

शब्दः अनुशील
तस्बिरः किरण पाण्डे


रिपोर्ट दोहोरी

दम छदाम छैन

व्यावसायिक प्रतिस्पर्धा र लोकप्रियतामा सबैलाई उछिन्ने लोकदोहोरीका कलाकार अरु विधाका गायक–गायिकाहरुको दाँजोमा आफूहरु हेपिएको महसूस गर्छन्। दोहोरीबाट हुनेे कमाइको ठूलो हिस्सा पनि अरुकै भागमा पर्ने गरेको छ।  

डम्बरकृष्ण श्रेष्ठ


किरण पाण्डे
सिन्धु मल्ल र महेश बुढाथोकी लोकदोहोरी प्रस्तुत गर्दै। 

गाउँका विवाह, व्रतबन्ध, रोदीघर  र मेलाहरूमा सीमित रहेको लोकदोहोरी पछिल्लो समयमा शहर–बजारका होटेल–रेस्टुरेन्टदेखि सातसमुद्रपारिका देशहरूसम्म छाएको छ। व्यवसायको रूपमा अल्बम बिक्रीको हिसाबले नेपाली सङ्गीत बजारमा लोकदोहोरी अल्बमकै बोलवाला छ।  

पहिलेको दाँजोमा अहिले यही विधाका अल्बमहरूको व्यापार केही घटे पनि सङ्ख्यात्मक/ व्यावसायिक रूपमा अन्य विधाका गीत–सङ्गीतले उछिन्न सकेको छैन। आधुनिक, पप अल्बमहरू ५–१० हजार प्रति बिक्न गाह्रो भइरहेको बेला लोकदोहोरीहरू ३०–४० हजार प्रति मज्जैले बिकिरहेको तथ्याङ्क छ। राजधानीका ८० प्रतिशत स्टुडियो तथा वितरकहरू लोकसङ्गीतमै निर्भर छन्। म्युजिक डटकमका सञ्चालक राजेश वंशलका अनुसार विगत तीन वर्षयता नेपाली गीत–सङ्गीतको व्यवसाय केही खस्के पनि लोकदोहोरीको व्यापार राम्रो छ। उनी भन्छन्, “नेपाली गीत–सङ्गीत व्यवसायको ६० प्रतिशत बजार लोकदोहोरीले नै ओगटेको छ।” दोहोरी नेपाली मौलिक भाका भएकाले पनि यो कहिल्यै पुरानो नहुने उनी बताउँछन्।  

शहर–बजार, गाउँका कुनाकन्दरा मात्रै हैन, देशको सीमा नाघेर लोकदोहोरीको भाका सातसमुद्रपारिसम्म पुगेको छ। वैदेशिक रोजगारमा जानेहरूको ठूलो सङ्ख्या गाउँघरका लोकसङ्गीत पारखीहरू नै भएकाले पनि अहिले विदेशमा लोक–दोहोरीको अल्बम मात्रै हैन, कलाकारहरूको माग समेत  बढ्दो छ। २०५९ सालमा ससुरालीमा अल्बमबाट छाएका बद्री पङ्गेनी लोक–दोहोरी गाउनकै लागि जापान, जर्मन, कोरिया, फ्रान्स, बेल्जियम, हङकङ, कुवेत, कतारलगायतका करिब २० देशहरूमा पुगिसकेको बताउँछन्। अर्का गायक भगवान भण्डारी र गायिका कोमल वली पनि डेढ दर्जनभन्दा बढी देशहरू पुगिसकेका छन्। यसरी गीत गाउनकै लागि विदेश जाने लोक–दोहोरी गायक–गायिकाहरू धेरै छन्। आधा दर्जन अल्बम निकालेका पङ्गेनीले इमेज च्यानलमा सञ्चालन गर्दै आएको खेलौं दोहोरी नामक कार्यक्रमले डेढ सय भाग नघाइसकेको छ। 

केही वर्षयता लोक–दोहोरी देशका विभिन्न स्थानहरूमा हुने उत्सव–महोत्सवहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ। जिल्ला–जिल्लामा प्रतियोगिताहरू हुँदै आएको छ। पुसको पहिलो सातामा सुर्खेत महोत्सवमा राष्ट्रियस्तरको प्रतियोगिता भएको लोक–तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष दुर्गा रायमाझ्ी बताउँछन्। उनका अनुसार प्रतिष्ठानमा हालसम्म पाँच हजारभन्दा बढी सदस्य आवद्ध भइसकेका छन्। राजधानीमा हाल चालु रहेका चार दर्जन जति रोदी क्लब र लोक–दोहोरी साँझ् रेस्टुरेन्टहरूका वाद्यवादक गरेर एक हजार भन्दा बढी कलाकारहरूले यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन्। पोखरा, नारायणगढ जस्ता शहरहरूमा समेत दोहोरी साँझ् खुलेका छन्। नेपाल लोकदोहोरी सांस्कृतिक व्यवसायी संघको आयोजनामा वार्षिक रूपमा नियमित एक लाख रुपैयाँ पुरस्कारसहितको टुबोर्ग दोहोरी प्रतियोगिता आयोजना हुँदै आएको छ।

न दाम, न सम्मान!


मीन बज्रचार्य
भृकुटीमण्डपमा टुबोर्ग लोकदोहोरी प्रतियोगितामा नाच्दै एक दर्शक।

अहिले जताततै बज्ने, सुनिने, गाइने लोक–दोहोरीको 'क्रेज' देख्दा लाग्छ 'यस क्षेत्रका गायक–गायिका र सम्बद्ध कलाकारहरू सन्तुष्ट छन्, खुशी छन् र सम्पन्न बन्दै गइरहेका छन्।' तर यथार्थ यस्तो छैन। सफल ठानिएका केही कलाकारहरू पनि अरू विधाका गायक–गायिकाहरूको दाँजोमा आफूहरू हेपिएको महसूस गर्छन्।  

व्यावसायिक रूपमा दोहोरी अल्बम बिक्रीको कमाइ पनि बढी अल्बम निर्माता र उत्पादक कम्पनीहरूकै भागमा पर्ने गरेको छ। पछिल्लो समयमा चलेको भैसी पालेर लोक–दोहोरी गाउने राजु परियार र विष्णु माझ्ीले सो गीत गाएबापत बढीमा ५ हजार मात्र हात पारे तर, हज्जारौं प्रति अल्बम बिक्री हुँदा त्यसको कमाइ अरूकै भयो। अहिले नयाँ निस्किरहेका ९५ प्रतिशत अल्बमहरूमा परियारको स्वर रहेको पाइन्छ। राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, विष्णु माझ्ी, माण्डवी त्रिपाठीलगायतका धेरै कलाकारहरू रु.२ हजारदेखि रु.५ हजार पारिश्रमिक लिएर गीत गाउँछन्। लोक–दोहोरी उपत्यका समन्वय समितिका उपाध्यक्ष समेत रहेका गायक कृष्ण कडेल लोक–दोहोरी गाउनेहरूले अल्बम बिक्रीको पनि रोयल्टी पाउने नियम भए गायक–गायिकाहरू पनि आर्थिक रूपमा सबल बन्न सक्ने बताउँछन्। उनी भन्छन्, “यहाँ नियम नै छैन, श्रोताले हेर्दा प्रायः सबै लोक–दोहोरी अल्बममा स्वर दिने राजु परियार ती अल्बम बिक्रीको हिसाबले करोडपति भइसक्नुपर्ने हो, तर त्यस्तो छैन।” दोहोरी साँझ्बाटै राम्रो कमाइ गर्ने रेस्टुरेन्टबाट समेत कलाकारहरू ठगिएको गुनासो छ। गायक बद्री पङ्गेनी धेरै कलाकारको अवस्था नाजुक रहेको बताउँछन्। उनी भन्छन्, “केही गायक/गायिकाको अवस्था राम्रो भए पनि धेरैको अवस्था नाजुक छ, कति कलाकारले त भात खानकै लागि मात्र राजधानीका दोहोरी साँझ्हरूमा गाइरहेका छन्, तोकेको पारिश्रमिक नपाउनेहरू धेरै छन्।”  

बद्री पङ्गेनी भन्छन्, “बाहिरबाट हेर्दा भन्दा अवस्था फरक छ, लोक–दोहोरी गाउनेलाई म्युजिक कम्पनीले अल्बम निकाल्दा, साङ्गीतिक कार्यक्रमका आयोजकले गीत गाउँदा पारिश्रमिकमा भेदभाव छ, विदेशका कार्यक्रममा जाँदा पनि अरू विधाका कलाकार भन्दा अलग्गै रूपमा हेरिन्छ।” अर्का गायक भगवान भण्डारीको अनुभव छ “शहरका इलेक्ट्रोनिक मिडियाहरूले पनि त्यति प्राथमिकता दिएका छैनन्, आफूलाई आधुनिक ठान्ने जमातले त हेपाहा व्यवहार नै गर्छन्।” गायक रामचन्द्र काफ्ले अहिले लोक–दोहोरीले आम जनताको माया पाएको र साङ्गीतिक कार्यक्रमहरूको मुख्य आकर्षण बन्न थाले पनि सो अनुसार यो क्षेत्र अघि बढ्न नसकेको बताउँछन्। उनी भन्छन्, “लोकदोहोरीमै लागेर सन्तुष्ट हुनेहरूको सङ्ख्या थोरै भए पनि अहिलेको साङ्गीतिक माहौलमा यसले पप–आधुनिक, चलचित्र, रिमिक्स सबै विधालाई उछिनेको कुरा कसैले नकार्न सक्दैन।” गायिका कोमल वली लोक–दोहोरीका कलाकारहरूलाई सधैँ हेला गरिँदै आएको बताउँछिन्। अरू विधाका कलाकारभन्दा कम पारिश्रमिक दिनेदेखि स्टेज कार्यक्रममा प्राथमिकतामा नपारिने गरेको बताउँदै उनले भनिन्, “पप–आधुनिक गाउनेहरूले रेस्टुरेन्टमा थोरै मान्छेका सामु गाएको कार्यक्रमले टिभीमा ठाउँ पाउने तर हजारौँलाई नचाउने लोक–दोहोरीका कार्यक्रम हुँदा त्यसलाई प्राथमिकता नै दिइँदैन।” वलीका भनाइमा केही टेलिभिजनहरूले झराटार्ने हिसाबले कार्यक्रम राखेपनि दिनहुँ जसो प्रसारण हुने लोकगीतका 'क्लिप्स'हरू कलाकार या म्युजिक कम्पनीले पैसा तिरेर बजाउने गरेका छन्। अर्का लोकगायक महेश बुढाथोकी भने लोक–दोहोरीका श्रोता–दर्शक बढीजसो गाउँ–घरमा र पिछडिएका क्षेत्रका जस्तो देखिएकाले पनि कन्सर्ट आयोजक, म्युजिक कम्पनी र सञ्चारमाध्यमहरूले कम महत्व दिएको हुनसक्ने बताउँछन्। उनले भने “लोक–दोहोरीका अल्बम ३०/४० हजार बिक्री हुँदा यहाँ केही हल्ला हुँदैन, तर पप–आधुनिकका अल्बम ५ हजार गयो भने बढी हल्ला मच्चाइन्छ।” तर, पनि यस क्षेत्रलाई व्यवस्थित गर्दै लगे भविष्य राम्रै रहेको कलाकारहरू बताउँछन्। पङ्गेनी भन्छन्, “नेपाली लोक–दोहोरीले पछिल्लो एकदशकमा नयाँ फड्को मारे पनि यो व्यवस्थित भने बन्नसकेको छैन।” काफल गेडी कुटुक्क बोलको लोकदोहोरीबाट चर्चित बनेका महेश बुढाथोकी मेहनतका साथ नयाँ सिर्जनाका साथ प्रस्तुत भइरहने हो भने गाएर बाँच्न सकिने बताउँछन्।  


लोक–दोहोरीको माग अत्यधिक भए पनि त्यसको दाँजोमा कलाकारहरूले कम मान्यता पाएका छन्।
बद्री पंगेनी

हजारौंलाई नचाउने लोक–दोहोरीका कार्यक्रमलाई टिभीहरुमा समेत प्राथमिकता दिइँदैन।
कोमल वली


आफूलाई आधुनिक ठान्ने जमातले लोक–
दोहोरीका कलाकारलाई  अझै हेपाहा व्यवहार नै गर्छन्। 
भगवान भण्डारी

त्यसो त, यस क्षेत्रमा केही विकृति पनि मौलाएका छन्। पैसाका भरमा चर्चित गायकलाई गीत गाउन लगाएर अल्बममा आफ्नो ठूलो तस्बिर छाप्नेहरू निक्कै छन्। बजारमा चलेका लोकदोहोरीको नक्कल गर्ने प्रवृत्ति निक्कै बढेको छ। भैसी पालेर गीतले पाएको सफलतापछि त्यसैको सिको गर्दै एकपछि अर्को काक्रो चोरेर, राँगो पालेर, भैसी किनेर जस्ता अल्बमहरू आएका छन्। नयाँ सिर्जना गर्नुको साटो अरूको नक्कल गरेर अल्बम निकाल्दै फाइदा लिने यस्तो तरिका नयाँ हैन। पहिले पनि पोखरामा गेट गीत आएपछि खैरेनीमा गेट, दमौलीमा गेट हुँदै गेटै गेटको लर्को नै लागेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष दुर्गा रायमाझ्ी बताउँछन्। उनी भन्छन्, “यहाँ त पुल शब्दको गीत चल्यो भने अरूले पनि पुलै पुल हाल्न थाल्छन्, नयाँ सिर्जना निकाल्ने भन्दा अर्काको सफलतालाई भजाउने चलन बढेको छ।”         


रमझ्म कला

कथा मीठो सारङ्गीको

अहिले मधेश–तराईमा विद्यमान हिंसा र द्वन्द्वको चपेटामा परेकाहरूको सङ्ख्या निकै छ। वर्षौँदेखि देशभित्रै शरणार्थी बनेकाहरूको भोगाइ पनि आफ्नै ठाउँमा छन्। समाजमा पुस्तान्तरको खाडल र युवाहरूको विदेश–मोह बढ्दो छ। यिनै कथा–व्यथा तथा अनेकौँ विसङ्गतिहरूलाई उनेर तयार भएको छ रेडियो नाटक कथा मीठो सारङ्गीको।

बीबीसी नेपाली सेवा तथा देशभरका रेडियो (एफ्एम्) हरूमा प्रसारणका लागि तयार हुँदै गरेको यस नाटक शृङ्खलाले मुलुकको शान्तिप्रक्रियालाई सघाउने आशा गरिएको छ। यसमा पोखरा नजिकैको नाउडाँडाका नवयुवक दिलु गन्धर्व र जनकपुरका सुकिन्दर गुप्ताको मितेरी साइनोको वरपर घुम्छ। माघको तेस्रो साताबाट प्रसारण हुने यस नाटकले पहाड, मधेश, मध्यपश्चिम र लाहुरे संस्कृतिबीचको सम्बन्ध खोज्नेछन्। दिलु नाटकको सूत्रधारसँगै एउटा जीवन्त चरित्र पनि हुन्। उनले यात्रामा भोगेका तीता–मीठा अनुभवहरू नै यसको कथा बन्नेछ। हाललाई ४८ भाग तयार हुँदै गरेको यसमा मुख्य रूपमा जनकपुर, मधुवासा, पोखरा, धम्पुस, रुकुम, नेपालगञ्ज र काठमाडौँका कथाहरू हुनेछन्। मुख्य भूमिकामा रहेका पोखराका गाइने युवा प्रकाश गन्धर्व रेडियो नाटकको आफ्नो चरित्र र वास्तविक जीवनमा खासै अन्तर नरहेको बताउँछन्। उनले हिमाल सँग भने “मेरो आफ्नै जीवन कथा दिलुको रूपमा प्रस्तुत गरिरहेको भने पनि हुन्छ।” नाटकमा प्रकाशसँगै मिथिला शर्मा, सुनिल मिश्र, सुरेश चन्द, कमलमणि नेपाल, माओत्से गुरुङ आदि कलाकारहरू रहेका छन्। ३० जना नियमित कलाकारहरूमा आधाभन्दा बढी प्रकाश जस्ता कहिल्यै अभिनय नगरेका र रेडियोमा नबोलेका नयाँ र स्थानीय छन्। 

कथा मीठो सारङ्गीको मा आम रेडियो नाटकभन्दा केही फरक विशेषताहरू पाइन्छ। स्टुडियोको कृत्रिमता भित्र नबसिकन वास्तविक ठाउँमै गरिएको रिकर्डिङ, परिस्थिति अनुसारको सम्वाद बोल्ने विधि, स्थानीय ध्वनि आदिको प्रयोग गरिएको छ। युएनडीपीको सहयोगमा बीबीसी वर्ल्ड सर्भिस ट्रष्टले उत्पादन गरेको कथा मीठो सारङ्गीको निर्माण समूहको नेतृत्व अफ्रिकाका विभिन्न मुलुकमा बसेर लामो समयसम्म रेडियोमा काम गरेकी नाट्यकर्मी फियोना लेजरले गरेकी छिन्। नाटक, वृत्तचित्र, चलचित्रको लेखन तथा निर्देशन कार्यमा अनुभव सँगालेका  सुषमा पाण्डेय, दीपक रौनियार र खगेन्द्र लामिछाने यसको लेखन/निर्देशनमा आवद्ध छन्। यो टोलीका सल्लाहकार लेखक निर्देशक रहेका केदार शर्मा नाटक शान्तिप्रक्रियालाई सघाउने उद्देश्यले तयार भइरहे पनि यसमा शान्तिप्रक्रियाका चलनचल्तीका पदावलीहरूको भने प्रयोग नभएको बताउँछन्। भन्छन्, “यसमा कुनै पात्रले 'शान्ति प्रक्रिया' भन्दैन र 'समावेशीकरण' उच्चारण नै गर्दैन। यसमा नेपालको शान्तिप्रक्रियामा सहायक वा बाधक हुनसक्ने वा भइरहेका धेरै कुरा आम नेपालीको भाषा, बोली र लवजमा व्यक्त हुन्छन्।” निर्माणमा संलग्न दीपक रौनियार नाटकमा चरित्र जुन ठाउँको हो त्यहीँका कलाकारलाई सहभागी गराएको बताउँछन्। 

              अनुशील


रमझ्म चलचित्र

कागवेनीको सन्देश

सञ्चारकर्मी भूषण दाहालद्वारा निर्देशित कागवेनी हेरिसकेपछि धेरै दर्शकहरूले भन्नेछन्, “यति राम्रो नेपाली सिनेमा पनि हेर्न पाइयो।” धेरै वर्षदेखि नेपाली चलचित्रबारे दर्शकको यस्तो प्रतिक्रिया सुनिएको छैन।

औसतभन्दा तल्लास्तरका र बलिउडका भद्दा नक्कल गरिएका चलचित्रहरू पस्किरहेको नेपाली सिने उद्योगका निम्ति यस्ता कुनै पनि प्रयोग राम्रो हुन सक्थ्यो। तर, यस्तो हुन नसकिरहेका बेला दर्शकसामु कागवेनी आएको छ। यो चलचित्र पक्कै पनि अन्तर्राष्ट्रियस्तरकै निर्माण भएको छ। प्रकृतिको सुन्दर, शान्त र आकर्षक दृश्यहरूलाई उत्कृष्ट ढङ्गले चलचित्रमा उतारिएको छ, पात्रहरूले अभिनयमा त्यत्तिकै जीवन्तता दिन सफल भएका छन् र निर्देशकले निक्कै सावधानी अपनाएको देखिन्छ यसको सिर्जनामा। पाँच वर्षअघि नवीन सुब्बाद्वारा निर्देशित नुमाफुङ पछि हामीले नेपाली भाषाको यस्तो चलचित्र हेर्न पाएका थिएनौँ। बल्ल अहिले कागवेनी हेर्न पायौँ। यो चलचित्र हेरिसकेपछि भन्नैपर्छ, “अब हामीले नेपाली सिनेमाको स्तरका कारण लाज मान्नुपर्ने छैन।”

चलचित्रको कथा कालीगण्डकीको सुख्खा तथा बाँझ्ो उपत्यका र हिमालपारिको चम्किलो नीलगिरि पहाडको प्राकृतिक दृश्यबाट शुरु हुन्छ। यो सुन्दर र अलौकिक क्षेत्रलाई लोककथासँग समाहित गर्दा दुई घण्टासम्म फाउस्टिनको स्वप्न–संसारमा पुगिन्छ, जहाँ आफैंले आफैंलाई पर्दामा देखिरहे जस्तो लाग्छ। चलचित्रको कथा सन् १९०२ मा डब्लु.डब्लु. ज्याकोबले लेखेको उपन्यास द मङ्कीज् प मा आधारित छ।
मलेशियाबाट फर्केका कृष्ण (गायक निमा रुम्बा) आफ्नो बाल्यकालका दौँतरी रमेश  (नाट्यकर्मी सौगात मल्ल) लाई भेट्न गएको कथावस्तुलाई ज्याकोबको उपन्यासकै सेरोफेरोमा रहेर प्रशान्त रसाइलीले कुशलतापूर्वक पटकथामा उतारेका छन्। जब कृष्ण र रमेशले त्यस ठाउँका एक साधुलाई भेट्छन् अनि उनीबाट पाएको तान्त्रिक ज्ञानको आधारमा चलचित्रले नाटकीय मोड लिनपुग्छ– वास्तविक र रहस्यपूर्ण रूपमा।  

निर्देशक दाहालले यस चलचित्रमा उल्लेख्य काम गरेका छन्। पहिलोपटक चलचित्र निर्देशनको सबै पक्षमा उनले आफूलाई करिब–करिब सफलतापूर्वक प्रस्तुत गरेका छन्। कालीगण्डकी क्षेत्रमा वहने हावाको झ्ोक्का र घाम परेर फुङ्ग उडेको पात्रहरूका अनुहार पर्दामा देखिँदा वास्तवमै कागवेनीको जीवनशैली झ्ल्किन्छ। त्यस ठाउँको अनौठो क्रियाकलापलाई चलचित्रमा उतार्ने प्रयासस्वरुप निर्देशक दाहालले चलचित्रको एक पात्रमार्फत् खच्चडको घाँटीमा ब्रान्डीको खाली बोतल झ्ुण्ड्याएर घण्टी बजाउने शैली पस्केर स्थानीय स्वाद दिन खोजेका छन्।

त्यसैगरी पृष्ठभूमिमा बज्ने शरद गुरुङको बाँसुरीको सुमधुर सङ्गीतले चलचित्रलाई अझ्ै जीवन्तता प्रदान गरेको छ। त्यसो त विदुर पाण्डेले निक्कै मेहनतसाथ तल्लो मुस्ताङ क्षेत्रका घर र साँघुरा गोरेटाहरूको गज्जबको छायाङ्कन गरेको मान्नुपर्छ। मुख्य पात्र रमेश र तारा (दिया मास्के) दुवैजना नाट्यक्षेत्रबाट आएकाले राम्रैसँग जमेका छन्। अर्का पात्र कृष्णको बारेमा भने शुरुमा दर्शकहरूले केही शङ्का व्यक्त गरेका भएपनि उनले त्यसलाई गलत सावित गरिदिएका छन्। उनको अभिनय निक्कै चित्तबुझदो ढङ्गले अगाडि बढ्छ। ताराले नौ वर्षसम्म रमेशसँग उराठ लाग्दो जीवन बिताए पनि अन्ततः पारिवारिक जिम्मेवारी भने भुलिनन्। यति हुँदाहुँदै पनि चलचित्रका पात्रहरू कहिलेकाहीँ अलि यान्त्रिक बनेका र विषयवस्तुबाट टाढिन खोजेको भान भने दर्शकले गर्नेछन्।

यस चलचित्रका निर्माता भाष्कर ढुङ्गाना, नकीम उद्दीन र राजेश सिद्दीले देखाएको कुशलता आगामी चलचित्र निर्माणमा अझ्ै माझ्िने आशा गर्न सकिन्छ। समग्रमा यस चलचित्रले नेपाली सिने क्षेत्रलाई नयाँ युगमा प्रवेश गराएको छ। 'कलिउड'मा मौलाएको फोहोरहरू बीचको यो एउटा राम्रो प्रयास हो। यो चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकहरूले बुझने छन्, “आफूले के चाहेका छौ, त्यसमा ख्याल राख।”       


कुन्द दीक्षित


वैकल्पिक कार्यशाला

आदिवासी जनजातिहरूले निर्माण गर्ने चलचित्रको स्तरवृद्धि गर्न ४–९ पुसमा नगरकोटमा जनजाति चलचित्र निर्माताहरूलाई इण्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले तालिम दिएको थियो। तालिम पटकथा लेखनमा अनुप सुवेदी, अभिनयमा अनुप बराल, सम्पादनमा छिरिङ रितार, छायाङ्कनमा सिद्धार्थ शाक्य र चलचित्र इतिहासमा राजेश गोंगजुले प्रशिक्षण दिएका थिए।

डेनमार्कको सहयोगमा सञ्चालित तालिमका सहभागी ३१ मध्ये धेरै पुराना चलचित्रकर्मीहरू थिए। तालिमको क्रममा बनेका ५ छोटा चलचित्र २३ पुसमा पर्यटन बोर्डमा प्रदर्शन गरिएको थियो। 'सुखद् शनिबार', 'झ्रेको फूल', 'असम्बन्धित, प्रतिविम्ब' र 'स्तर' नामका यी चलचित्र पाँचदेखि १३ मिनेटसम्मका लामा थिए। चलचित्र हेरेेपछि हँसिलो मुद्रामा डेनमार्कका राजदूतले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई सहयोग दिइने बताएका थिए। आइफा का निर्देशक नवीन सुब्बा यस तालिमले आदिवासी चलचित्रकर्मी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्।