![]() |
| पूर्णाङ्क २१० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि |
देश
चिसापानीदेखि अत्तरियासम्म पूर्व–पश्चिम राजमार्गको दुवैतिर १० देखि १५ किलोमिटरको फरकमा व्यापक वन अतिक्रमण भइरहेको छ। जिल्लाको पूर्वी क्षेत्र लम्कीदेखि अत्तरियासम्म मात्रै १० भन्दा बढी ठाउँमा र राजमार्गभन्दा भित्री क्षेत्रका वनमा पनि अतिक्रमण रोकिएको छैन। ६० ठाउँमा गरी जिल्लाभरि २१ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ। अतिक्रमणले कैलालीमा मध्य क्षेत्रमा पर्ने अन्तर्राष्ट्रियमहत्ववको जैविक मार्ग बसन्ता क्षेत्र सङ्कटमा परेको छ। मुक्त कमैया, सुुकुम्बासीका र बाढी पीडितका नाममा अतिक्रमण भइरहेको छ। पहलमानपुर गाविसको आमखैयामा आफूलाई मुक्त कमैया बताउँदै तीन सयभन्दा बढी परिवारले वनमै कब्जा जमाएका छन्। उनीहरूमध्ये राज्यले परिचयपत्र दिएका जम्मा १८ परिवार मात्र छन्। जिल्ला वन अधिकृत मनबहादुर खड्का भन्छन्, “हामीले मालाखेतीको अतिक्रमण हटाउँदा अतिक्रमणकारीलाई ट्याक्टरमा धनगढी ल्याएर सुकुम्बासी उत्थान समाजले वन कार्यालय घेर्न लगायो।” सुकुम्बासी उत्थान समाजले फाराम तयार गरेर पहाडी जिल्लाबाट कैलालीमा जग्गा खुलेकाले कब्जा गर्न हिँड भनेर मान्छे बोलाएर विभिन्न ठाउँमा वन क्षेत्रमा बस्न लगाएको वन कार्यालयको दाबी छ। कतिपय संस्थाहरूले पहाडी जिल्ला अछाम, डोटी, सुर्खेत र जाजरकोट लगायत कैलाली जिल्लाकै पहाडी गाविस निगाली खैराला र पण्डौनबाट मान्छेहरू बोलाइरहेको सहायक वन अधिकृत खडानन्द शर्मा बताउँछन्। पूर्व–पश्चिम राजमार्गको छेउमा बेलादेवीपुरको खुटिया, चौमालाको शिवगङ्गा नदीको किनार, मसुरियाको बढैपुर पहलमानपुरको आमखैया, दरखको घोडाघोडी क्षेत्र, बलियाको पूर्व लम्की र डुँडेझरी तथा धनगढी–डडेल्धुरा राजमार्गमा पनि मालाखेती–८ तेघरीका वन क्षेत्र खुम्चिँदै छन्। कैलालीको मध्य क्षेत्रका गाविसहरू भजनी, खैलाड लगायतलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने भजनी–सुख्खड सहायक मार्गमा पर्ने मोहन्याल सामुदायिक वन, शिराधानी सामुदायिक वन र राधाकृष्ण सामुदायिक वनमा टहरा ठड्याएर कब्जा जमाइएको छ। खुटियामा एक सय ३१, शिवगङ्गामा ३ सय ५०, बढैपुरमा एक सय ५०, आमखैयामा तीन सय, घोडाघोडीमा १३, पूर्व लम्कीमा ३ सय ५०, डुँडेझरीमा ५०, तेघरीमा ६ सय ५०, र मोहन्यालमा ६ सय ८३ घरपरिवारले छाप्रा बनाएका छन्। ४० वर्षअघि कैलालीमा ८० प्रतिशत भूभाग वन क्षेत्रले ओगटेकोमा अब आधा हुन पुगेको छ।
कुनैबेला चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने मुख्य नाका भनेर चिनिने दोलखाको उत्तरी गाउँ लामाबगर यतिखेर सुनसान छ। “यही बाटो भएर पहिले मानिसहरू नून लिन भोट जान्थे, मानिसहरूको आवतजावत व्यापक हुन्थ्यो, सरकारी कार्यालयहरू समेत हुँदा यहाँका मानिसहरूको रहनसहन नै छुट्टै थियो। अचेल यो बाटो सुनसान छ।” कुनै समयको लामाबगर सम्झ्ँदै स्थानीय ६८ वर्षीय वृद्ध हर्कबहादुर बस्नेतले सुनाए। द्वन्द्वकालमा विस्थापित भएका लामाबगरका सरकारी कार्यालयहरू पुनर्स्थापित हुनसकेका छैनन्। यहाँ रहेका सीमा प्रशासन कार्यालय, भन्सार कार्यालय, हुलाक, स्वास्थ्य, भेटनरी, सीमा प्रहरी र कृषि कार्यालयहरू द्वन्द्वकालमा माओवादी आक्रमणमा परी ध्वस्त भएपछि विस्थापित भएका कारण यो नाका सुनसान भएको हो। जसमध्ये स्थानीय प्रशासनले प्रहरी चौकी केही समय अगाडि पुनर्स्थापना गरेको छ। माओवादी आक्रमणमा ध्वस्त भएका सरकारी घरहरू प्रयोगविहीन अवस्थामा छन् भने भवनमा वस्तुभाउ राख्ने गोठ बनाइएको छ। सीमा प्रशासन कार्यालय र भन्सार कार्यालयको काम सदरमुकाम चरिकोटबाटै हुने गरेकोले यो नाका भएर आवतजावत गर्ने तिब्बति ब्यापारी तथा यहाँबाट ओसारपसार हुने मालसमानको लेखाजोखा कसैसँग पनि छैन। तर नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामाबगरमा निर्माण गर्ने भएपछि गाउँले बिस्तारै गाउँ फर्कन थालेका छन्। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले छिटै आवश्यक भौतिक पूर्वाधार तयार गरी विस्थापित कार्यालयहरू पुनर्स्थापित गरिने बताए। सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका सञ्चालन हुनुपूर्व तिब्बतसँग जोडिएको मुख्य नाकाका रूपमा चिनिने लामाबगरका स्थानीयवासीको भारी बोक्नु, तिब्बततिर घिउ, खुर्सानी र जोक्योको ब्यापार गर्नु मुख्य पेशा हो। लामाबगरमा छिटै नै विस्थापित कार्यालयहरू पुनर्स्थापना भई यहाँका वासिन्दाले आफ्नो व्यवसाय गरी जीवनयापन गर्न पाउनेमा आफू ढुक्क रहेको हर्कबहादुर बस्नेत बताउँछन्। लामाबगरस्थित आफ्नो आयोजना स्थलसम्म सहज आवतजावत गर्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सडक निर्माण कार्य सञ्चालन गरिरहेको छ। यहाँबाट तिब्बत सरकारले सडक ल्याएको फलाक गाउँसम्मको दूरी १२ किमि मात्र पर्छ। दोलखाका विधायक आनन्दप्रसाद पोखरेल यही वर्षभित्र तिब्बत जोड्ने सडकको सर्वे शुरु भइसक्ने र लामाबगर नाका सञ्चालनमा आई दुई देश बीचको व्यापार व्यवसायमा वृद्धि हुने बताउँछन्। • रमेश खतिवडा, दोलखा |