हिमाल खबरपत्रिका  
पूर्णाङ्क २१० होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश

रोपवे नै देउता 

उनी इकुडोलबाट आउने सामानको पर्खाइमा छन्। भरपर्दाे बाटो छैन। त्यसैले इकोडोलका ढलकप्रसाद घिमिरे ललितपुरको भट्टेडाँडास्थित रज्जुमार्गको स्टेशनमा आधा घण्टादेखि छन्। विद्युतीकरण सम्बन्धी अवलोकनका लागि पुगेका सञ्चारकर्मीसँग उनले भने “बाटो नभएको हाम्रो जस्तो ठाउँमा यो रोपवे त देउता हो सर।”

राजधानीसँगै जोडिएको भएपनि कर्णालीसँग तुलना गर्न मिल्ने ललितपुर जिल्लाका ग्रामीण भूभागमा भरपर्दाे यातायातको सुविधा नहुँदा घिमिरेजस्ता धेरै जना रज्जुमार्गलाई देउता मान्न बाध्य छन्। र यसैको सहायताबाट सामान आयातनिर्यात गर्न पाउँदा खुसी व्यक्त गर्छन्। 

तीन वर्षदेखि डिजलबाट चल्दै आएको रज्जुमार्ग हाल विद्युत्बाट चल्न थालेपछि उनीहरूको खुशी झ्न् बढेको छ। यतिबेला स्थानीयवासीका लागि सामान ढुवानी खर्च अढाइ गुणाले सस्तो भएको छ।

रज्जुमार्ग संरक्षण समितिका अध्यक्ष टेकनाथ तिमिल्सेनाले रज्जुमार्ग डिजलबाट चल्दा प्रतिकिलो सामानको एक रुपैयाँ शुुल्क पर्ने गरेकोेमा विद्युत्बाट चल्न थालेपछि ४० पैसा मात्र शुुल्क तिर्नुपर्ने बताए। हुन त कहिलेकाहीँ मात्र सामान ढुवानी गर्नेहरूले भने प्रतिकिलोका लागि ६० पैसा तिर्नुपर्छ।  

पाटनदेखि करिब ३० किलोमिटर दक्षिणमा रहेको यो ठाउँमा रज्जुमार्ग चलेपछि ढुवानी शुुल्कमा कमी मात्र भएको छैन, सामान आयातनिर्यात गर्ने स्थानीयवासीलाई समयको बचत पनि भएको छ। 

इकुडोलका घिमिरेले  घरबाट भट्टेडाँडासम्म सामान ल्याउन दुई घण्टा लाग्ने गरेकामा अहिले रज्जुमार्गको सहायताबाट २५ मिनेटमै पुग्ने गरेको बताए। उनले भने– “बाटोघाटोको राम्रो सुविधा नभएको बेला रज्जुमार्गले यहाँको दैनिक उत्पादनलाई बजारसम्म पुर्‍याउन धेरै सहयोग पुर्‍याएको छ।” यो रज्जुमार्ग नहुँदा यहाँका बासिन्दाले बोकेरै बजारसम्म खाद्य सामग्री ल्याउने गरेका थिए।

रज्जुमार्गबाट प्रतिदिन दूध, तरकारी, खुवा, दाना, चिनी, चामलजस्ता खाद्यान्नलगायतका करिब एक हजार किलो स्थानीय उत्पादन निर्यात हुने गरेको रज्जुमार्गको स्टेसनमा काम गर्दैै आएका टलक लामालेे जनाए। 
युरोपेली समुदायको सहयोगमा बाग्मती जलाधार योजनाद्वारा निर्मित तीन किलोमिटर लामो यो रज्जुमार्गको क्षमता ५० किलोको छ। बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १२ देखि ३ बजेसम्म चल्ने रज्जुमार्ग  विद्युत् सेवा नहुँदा भने  बन्द हुने गरेको छ।                  

रेखाकुसुम रेग्मी, ललितपुर


हराउँदैछन् भेडाका बथान

३२ वर्षसम्म भेडाको बथानसँग खर्कमा दिन बिताएका ताप्लेजुङ फावाखोला वडा नं. २ का  चन्द्रमान भट्टराई अहिले अलैँचीको बुट्टासँगै दैनिकी गुजार्छन्। केही समयअघिसम्म उनीसँग दुई–तीन सय भेडा थिए। तिनको स्याहारसुसारमा उनको समय बित्दथ्यो। तर भीरपाखा अलैँचीले भरिएर चरण क्षेत्र साँघुरिएपछि भेडीगोठ सबै बेचेको चन्द्रमान बताउँछन्। चन्द्रमानले उनीजस्ता धेरैको प्रतिनिधित्व गरेका छन्। आजकाल पहाडी इलाकाका खर्क र पाखामा गोठ पाल्ने पुरानो चलन हराउँदै गएको छ। अलैँची, चिराइतो जस्ता प्रमुख नगदेबालीको बढ्दो विस्तारले भेडी गोठ पाल्ने पुरानो पेशा विस्थापित बन्न पुगेकोछ। लिङखिम शिवाका ८७ वर्षीय बृद्ध चन्द्रशेखर सिग्देल उहिले उहिलेदेखि देखिँदै आएका भेडीगोठ अहिले लोपजस्तै हुन पुगेको बताउँछन्। उनी भन्छन,पानी परेर घाँस पलाउन नपाउँदै लावालस्कर देखिने भेडाहरू पत्तै नपाई कहाँ पुगे पुगे। 

भेडा पालेर गतिलो आम्दानी गर्दे आएका पापुङ २ का धार्के शेर्पा चरन क्षेत्र नभएकोले भेडा पाल्ने व्यवसाय छोड्न लागेको बताउँछन्। अर्का फावाखोला ३ का मानबहादुर विष्ट पनि  पहिला जस्तो चरन क्षेत्र नभएकोले भेडीगोठ मास्ने तयारी गरिरहेको बताउँछन्। उनीहरू दुवैसँग पहिला चार पाँच सय भेडा थिए तर अहिले चरिचरनको अभावले एक सय पचास जति मात्र बाँकी छ। उनीहरूका अनुसार पहिलेका चरणमा अलैँची लगाइएको या भस्मे फाडेर चिराइतो छरिएको छ। पहिला प्रत्येक गाउँमा ५ देखि २५ बटासम्म भेडीगोठ हुन्थ्यो। तर अहिले जिल्लाभरिमा सय बटा भेडीगोठ पुग्न गाह्रो छ। चरन क्षेत्रको अभाव हुँदा कालीखोला, पापुङ, खेजेनिम, ईखाबु, फावाखोला, याङ्गमा, याम्फुदिन इलाकामा भेडा पाल्ने पुरानो चलन हराउँदै गएको छ। त्यसैले जाँदा परम्परागत रूपमा प्रचलित राडीपाखी बुन्ने चलन समेत हराउन थालेको छ।

       राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ