हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत

अपराधलाई राजनीतिको आवरण

बन्दूकको आडमा कुटपिट, लुटपाटदेखि अपहरण र हत्यासम्म हुनुलाई मधेशमा सामान्य गतिविधि मान्नुपर्ने अवस्था बनिरहेको छ।

श्रवणकुमार देव, राजविराजमा

जनतान्त्रिक तराई मुक्ति मोर्चाका गोइत र ज्वालासिंह दुवै खेमाले थालेको अपहरण अहिले अभियानकै रूपमा छ। अपहरण गरेर फिरौती लिने यो कार्यले 'बिहारी शैली' विर्साएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सप्तरी प्रतिनिधि प्रकाश खतिवडा भन्छन्, “मधेश मुक्तिको नाममा हतियारसहित आएका दुई जनतान्त्रिक र अरू विभिन्न नामधारी सङ्गठनले राजनीतिको आवरणमा अपराधलाई बढावा दिइरहेका छन्।”

हिजोको व्यक्तिगत दुस्मनी पनि अहिले आन्दोलनसँग जोडिन पुगेको छ। मधेश मुक्ति टाइगर्सका एरिया इञ्चार्ज नवीनले पुरानो रिसइवीका कारण १० जेठ राति सप्तरी, पोर्ताहा–१ का ५५ वर्षीय हार्डवेयर व्यापारी रमेशप्रसाद गुप्तालाई अपहरण गरे। सिरहाको गोलबजारबाट २ जेठमा गोइत समूहद्वारा अपहरित छिरकृष्ण गौतमलाई मोर्चाका जिल्ला इञ्चार्ज अभिताभले आफूसँग किनेको पुरानो जग्गा फिर्ता गराउन अपहरण गरेको र पछि रु.५ लाख फिरौती लिएर छाडेको प्रकाशमा आएको छ। टाइगर्सकै कार्यकर्ताले २२ फागुनमा कोशी टप्पुमा बस्ने ११ जना पहाडे मूलका व्यक्तिलाई अपहरण गरी गाउँ छाडेर जाने शर्तमा चार दिनपछि मुक्त गरेका थिए। अहिले कोशी टप्पुको पहाडे बस्ती लगभग खाली भएको छ। ज्वालासिंह समूहका सप्तरी क्षेत्र नम्बर १ इञ्चार्ज किसनले फागुनको दोस्रो साता आफ्नो बुबासँग झगडा गरेको रिसमा रम्पुरा मल्हनियाँ–५ निवासी शिक्षक चन्द्रशेखर यादवलाई घरबाटै अपहरण गरी तीनदिनसम्म यातना दिएर छाडेका थिए।

गोइतका कार्यकर्ता मिथिलेश यादवले ८ वैशाख राति सप्तरी, देउरी गाविस–८ का दुई युवाको मोटरसाइकल लुटे। मोटरसाइकल धनी रुपनारायण र सूर्यप्रसाद साहले मोर्चाका कार्यकर्ता यादवविरुद्व जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएका छन्। प्रशासनले कुनै कारबाही गर्न सकेको छैन। तर मोर्चाले भने यादवलाई पार्टीबाट निकालेको बताएको छ। मधेशी गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष देवनारायण यादव भन्छन्, “युद्धरत पक्षहरूसँग सैद्धान्तिक ज्ञान र युद्धका नियमबारे जानकारी नभएपछि जथाभावी हतियार प्रयोग हुन थालेको हो।”

अहिले सुनसरी, सिरहा र सप्तरीमा मधेश आन्दोलनका नाममा जनतान्त्रिकका दुवै खेमा र मधेश मुक्ति टाइगर्स लगायतका सङ्गठनको गतिविधि अपराधउन्मुख हुँदै गएको छ। त्यसैगरी चुरे भावर प्रदेशको नाममा सङ्गठित समूहले पनि सप्तरी र सिरहामा त्रास फैलाइरहेको छ। चुरे भावरका पूर्वी सैन्य कमाण्डर बिजुलींिसंह थारूले ६ वैशाखमा एक प्रेस विज्ञप्ति जारी गरेर जनतान्त्रिक मोर्चाको गोइत पक्षसँग लडाइँको घोषणा गरेका छन्। मानवअधिकारकर्मी जङ्गबहादुर सिंह भन्छन्, “भावरले आफ्ना केही कार्यकर्तालाई गोइत पक्षले मारेको आरोप लगाएर यस्तो घोषणा गरेको हो।” सरकारसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका माओवादीले समेत हतियार बोक्न छाडेका छैनन्। ११ वैशाखमा सप्तरी सेक्रेटरी अमरलगायत तीन माओवादी कार्यकर्ता एसएमजीसहित समातिए। तर केही क्षणमै सशस्त्र प्रहरी तिनलाई छाड्न बाध्य भयो।

यतिसम्म कि लुटपाट, अपहरण र हत्यापछि जिम्मेवारी स्वीकार गर्ने यसअघिको सामान्य प्रचलन पनि अहिले छैन। दुई महिनाअघि मधेश टाइगर्सका कार्यकर्ताले स्वावलम्बन विकास ब्याङ्क, पातोको रु.७० हजार र व्यापारी निर्मल संचेतीको रु.६० हजार लुटे। हप्ता दिनपछि उनीहरूकै कार्यकर्ताबाट त्यसको खुलासा भयो। तर यसको जिम्मा कसैले लिएन। जनतान्त्रिक गोइत पक्षले सिरहाबाट छिरकृष्ण गौतमलाई अपहरण गरेको चार दिनपछि मात्रै जिल्ला इञ्चार्ज अभिताभले त्यो स्वीकार गरेका थिए।

शुरुमा हुनेखाने र उद्योगपतिसँग चन्दा लिने भनिए पनि अहिले सर्वसाधारण समेत यसको मारमा परेका छन्। टाइगर्सको नाममा सुनसरीको देवानगंज, सत्तेरझोरा, नरसिंह, मध्यहर्षाही, सप्तरीको कञ्चनपुर, ओद्राहा, फत्तेपुर, कमलपुर, सिरहाको बेल्हा, हनुमाननगरलगायतका गाविसमा चन्दाका लागि रु.५१ हजारदेखि २ लाखसम्म माग गरिएको पत्र पठाइएको छ। सिरहा र सप्तरीका भित्री गाउँका बासिन्दासँग जनतान्त्रिकका नाममा पनि चन्दा मागिएको स्थानीय सञ्चारकर्मी रामअशिष राम बताउँछन्। “लाउनखान मुश्किल भइरहेको बेलामा यिनीहरूलाई कहाँबाट रकम तिर्ने”, सप्तरी कमलपुरका एक सर्वसाधारण भन्छन्, “अब त अति भयो तीन पटक चन्दा दिएँ, फेरि कहाँबाट दिउँ? हाम्रो सुरक्षा गर्ने कोही भएन अब कसरी बाँच्नु?”

जग्गा कब्जा पनि अभियानकै रूपमा छ। १० दिनभित्र मात्रै डेढ दर्जन व्यक्तिको घरजग्गा कब्जा भएको छ। गोइत समूहले ६ जेठको राति गत असोजमा मारिएका सांसद कृष्णचरण श्रेष्ठको सिरहाको बेल्हास्थित ६२ विघा जग्गा कब्जा गर्‍यो। उता ज्वाला सिंह समूहले ९ जेठमा छिन्नमस्ता मन्दिरका गुठियार अविनाश प्याकुरेलको १४ विघा जग्गा कब्जा गरेको छ। कौशल पोखरेलको सप्तरी, जगतपुर–१ स्थित १२ बिघा जग्गा टाइगर्सले त्यसैदिन कब्जामा लिएको छ।

ज्वाला सिंह समूहका सर्वोच्च सैन्य कमाण्डर प्रतापको भनाइले पनि मधेशमा कुन तहमा अपराध भइरहेको होला भनेर अनुमान गर्न सकिन्छ। उनी भन्छन्, “सदियौँदेखि मधेशीलाई शोषण गर्ने पहाडे सामन्तलाई अपहरण गरिएको र तिनको जग्गा नियन्त्रणमा लिइएको हो। सर्वसाधारण मधेशीलाई दुःख दिने हाम्रो नीति छैन।”

हतियारप्रति वितृष्णा
हतियारका भरमा मधेशको राजनीतिलाई भजाउन खोज्ने सङ्गठनहरूले अपराधलाई बढावा दिएपछि मधेशी जनता पनि उनीहरूविरुद्ध जाग्न थालेका छन्। १३ फागुनमा सप्तरीको धनगढी–९ का जनताले नौ थान हतियारसहित गोइत समूहका ६ जना कार्यकर्तालाई पक्राउ गरी प्रहरीलाई बुझाए। त्यसको १५ दिन बित्न नपाउँदै मलेकपुरका जनताले गोइतका दुई कार्यकर्तालाई त्यसै गरे। मानवअधिकारकर्मी जङ्गबहादुर सिंह यसलाई “घटनाहरूले हतियारधारी विरुद्ध जनतामा वितृष्णा बढिरहेको देखाएको” बताउँछन्।

राजनीतिक सुझबुझ भएकाहरू आपराधिक क्रियाकलापबाट अलगिन पनि थालेका छन्। वैशाख दोस्रो साता ज्वालासिंह पक्षका प्लाटुन कमाण्डर सूर्या भनिने सूर्यनारायण यादव तथा टाइगर्सका जिल्ला सैन्य कमाण्डर कृतिका भनिने मनोज मण्डलले आफूहरूले आपराधिक क्रियाकलाप छाडेको भन्दै प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन्। आफ्नै कार्यकर्ताको सुराकीका कारण जनतान्त्रिकका फौजी कमाण्डर चट्टान सिंह पक्राउ परेका छन्।

मधेशी बुद्धिजीवी वरिष्ठ अधिवक्ता हिम्मत सिंह र मधेशी गणतान्त्रिक मोर्चाका अध्यक्ष देवनारायण यादव दुवैले राजनीतिको आडमा आपराधिक क्रियाकलाप बढ्दै गएको अनुभव गरेका छन्। यादव भन्छन््, “कोही आफ्नो एजेण्डा प्रस्ट पार्न चाहँदैन। यसलाई कसरी राजनीति भन्ने?” त्यस्तै मधेशी कानून व्यवसायी समाजका केन्द्रीय अध्यक्ष अशोक चौधरी भन्छन्, “हिंसा र आपराधिक गतिविधिमा विश्वास बढाइएमा राजनीतिक सफलता हासिल हुनसक्दैन।