स्थलगत
आन्दोलनको आडमा अपराध
गोइत र ज्वाला सिंहको ज्यादती छँदै थियो। अहिले
आफ्नो सङ्गठनका नामपछाडि 'आर्मी', 'टाइगर', 'कोब्रा', 'वागी' आदि शब्द
झाुण्ड्याएर मधेशमा आपराधिक गतिविधि गर्नेहरू को हुन् र तिनीहरूको
पृष्ठभूमि के हो भन्नेबारे सरकारसमेत बेखबर छ।
• अजित
तिवारी, जनकपुरमा
 |
| आवरण तस्बिरसमेतः श्रवणकुमार देव |
| सिरहाको एक गाउँमा जनतान्त्रिक (ज्वाला
सिंह) का कार्यकर्ता। |
१० जेठमा
सर्लाहीको हरिऔन बजारमा मानिसहरूको बाक्लो ओहोरदोहोर हुने ठाउँमा बम
पड्काइयो। यो जघन्य अपराधको जिम्मा लिन एकपछि अर्को होड चल्यो। 'तराई
कोब्रा' ले जिम्मेवारी लिएको केही समयपछि नै ऊबाट फुटेर बनेको भनिने
'तराई वागी' ले सो विस्फोट आफूले गराएको दाबी गर्यो। त्यसैदिन सिरहामा
भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता राजेश्वर यादवको
हत्या पनि आफूले गरेको भनेर वक्तव्य निकाल्नेहरूको ओइरो लाग्यो। अहिले
मधेशमा अपराध चुलिएको छ र त्यससँग आफूलाई जोडेर स्थापित हुन खोज्ने
समूहहरू दिनहुँ देखापरिरहेका छन्।
जेठको पहिलो साता पार्टीको अञ्चलस्तरीय प्रशिक्षणको
सिलसिलामा जनकपुर आएका नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल ओहोरदोहोर
गरिरहेकै सडकमा पटक–पटक गरेर चार वटा बम पड्किए। विस्फोटनको जिम्मेवारी
जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) ले लियो। मोर्चाका धनुषा जिल्ला
संयोजक 'दीपक' ले 'तराई कुनै नेपाली शासकको विजित भूभाग नभएकोले यहाँ
आएर महाधिवेशन वा प्रशिक्षण कार्यक्रम गराउनु धोखा भएको' भन्दै चेतावनीस्वरुप
यो कारबाही गरेको स्वीकार गरे। स्थिति कतिसम्म तनावपूर्ण बन्यो भने
रात्रिभोजनका लागि जनकपुर नगरक्षेत्रका एक एमाले नेताको घरमा पुगेका
महासचिव नेपाल शृङ्खलाबद्ध विस्फोटनपछि सुरक्षा अधिकारीहरूले अनुमति
नदिएका कारण त्यहाँबाट बाहिर निस्केर राति बस्ने व्यवस्था गरिएको राष्ट्र
ब्याङ्कको गेस्टहाउससम्म पुग्न पनि सकेनन्।
८ वैशाखमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति
गिरिजाप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा जनकपुुरमा हुने भनिएको क्षेत्रीय
सभा नै भएन। अघिल्लो रात नगरमा पटक–पटक सशस्त्र सङ्गठनले बम विस्फोट
गराएपछि काङ्ग्रेस नेताहरूले पत्रकार सम्मेलन गरेर 'अर्को गौर नरसंहार
हुन नदिन' भन्दै सभा स्थगित गरे। अधिकारका लागि सङ्घर्षरत् दाबी गर्ने
मधेशी जनअधिकार फोरम जस्तो संस्थाले समेत प्रधानमन्त्रीको सभालाई लक्षित
गरेर मधेश बन्द आयोजना गरेको थियो।
गत माघमा मधेश आन्दोलन शुरु भएयता प्रमुख दलहरूले समेत
मधेशका जिल्लामा ठूलाठूला कार्यक्रमको आयोजना गर्न सकेका छैनन्। तय
गरिएका कार्यक्रम समेत सम्पन्न गर्न नसकिरहेका दलका नेता नै त्यहाँ
असुरक्षित हुने अवस्था उत्पन्न हुनथालेको छ। जनकपुरको पछिल्लो घटनाले
यसअघिसम्म गाउँघरमा सीमित हिंसात्मक गतिविधि नगर क्षेत्रमा फैलिन थालेको
पुष्टि गरेको छ। धनुषाका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र जोशी भन्छन्,
“मधेशका जिल्लामा आपराधिक घटनामा वृद्धि भएको छ। अधिकारका नाममा हुने
यस्ता गतिविधिले स्थिति निकै संवेदनशील बनाएको छ।”
आन्दोलन उँचाइमा पुगेको र मधेशी समुदायमा अधिकारप्रतिको
चेतना बढ्दै गएको बेला त्यही आन्दोलनको आवरणमा अहिले मधेशमा आपराधिक
प्रवृत्तिका सशस्त्र सङ्गठन खोल्ने होड चलेको छ। परिस्थिति यतिसम्म
बिग्रेको छ, जेठको पहिलो साता जनकपुरमा भएको शृङ्खलाबद्ध बम विस्फोटको
जिम्मेवारी लिन विभिन्न नामधारी सङ्गठनबीच होडबाजी नै चल्यो। जनतान्त्रिक
तराई मुक्ति मोर्चाका दुवै समूह मात्रै होइन, पहिलो पटक नाम सुनिएको
तराई वागीले समेत वक्तव्य निकालेर विस्फोटनको जिम्मेवारी लियो।
विस्फोटन, अपहरण र हत्या जस्ता आपराधिक क्रियाकलापलाई
पनि मधेशको भावना र मुद्दासँग जोड्ने गरिएकाले त्यस्ता आपराधिक समूहविरुद्ध
मधेशवासी खुलेर प्रतिकारमा उत्रन सकेका छैनन्। भारतीय मोबाइल नम्बरबाट
९ जेठ बिहान हिमाल प्रतिनिधिलाई फोन गरेर एक हिन्दीभाषीले खुलेर भने,
“तराईमा पहाडेलाई कुनै हालतमा टिक्न दिइने छैन।” उनले आफू तराई वागीको
नेता भएको बताउँँदै जनकपुरमा भएको बम विस्फोट आफूले गराएको दाबी गरेका
थिए।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का केन्द्रीय
सदस्य राजन मुक्तिले मधेशका माग र अधिकारका लागि सशस्त्र सङ्गठनहरू
खुल्नु अस्वाभाविक नभएको बताए। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र
यादव समेत मधेशमा जारी सशस्त्र ज्यादतीलाई सामान्य ठान्छन्। ९ जेठमा
यादवले हिमाल सँग भने, “मधेशका मुद्दा र मागलाई सरकारले यसरी नै अल्झाइराख्यो
भने मधेशका हरेक व्यक्ति सशस्त्र सङ्घर्षमा उत्रिन बाध्य हुनेछन्।”
हत्या र अपहरणको खेती
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| वैशाख दोस्रो साता धनुषाको धारापानी नजिकै
पूर्व–पश्चिम राजमार्गमा चुरे–भावर एकता समाजका कार्यकर्ताले जलाएको
बस। |
जनकपुरमा बम विस्फोटको 'स्वागत' पाएका एमाले महासचिव
नेपालले मधेशका सशस्त्र सङ्गठन र उनीहरूको ज्यादतीबारे केही बोल्न
चाहेनन्। राति जनकपुरका चार ठाउँमा बम पड्कियो नि थाहा छ? भन्ने पत्रकारको
प्रश्नमा उनले यति मात्रै भने, “अहँ, मैले सुनिनँ।” नेपालले नसुने
वा थाहा नपाए झैँ गरे पनि मधेशमा २०६३ माघयता यस्ता आपराधिक क्रियाकलापबाट
३१ जनाको ज्यान गएको छ। यसमा ७ चैतको रौतहट नरसंहारमा मारिएका २९ जनाको
सङ्ख्या जोडिएको छैन। त्यसैगरी गएको चैत र वैशाखमा मात्रै मधेशका जिल्लाबाट
९२ जना अपहरणमा परेका छन्। अपहरणमा परेकामध्ये केहीको ज्यान गएको छ
भने बाँकी फिरौती तिरेर छुटेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) को विवरण अनुसार मोर्चाको प्रभाव क्षेत्र रहेको सप्तरीमा
सबैभन्दा बढी ४१ जना अपहरणमा परेका छन् भने सात जनाको ज्यान गएको छ।
सप्तरीमा भएको सात जनाको हत्याको जिम्मेवारी अहिलेसम्म
कसैले लिएको छैन। सिरहामा चारजनाको हत्या भएको छ भने १७ जनालाई अपहरण
गरिएको छ– मोर्चाको गोइत समूहले नौ जना र ज्वाला समूहले आठ जना। दुवै
मोर्चाको प्रभाव रहेको भनिने सप्तरीमा 'मधेशी टाइगर' ले पनि १२ जनालाई
अपहरण गर्न भ्याएको छ। सर्लाहीमा अज्ञात समूहबाट मारिएका पाँचजनाको
हत्यामा भर्खरै चर्चामा आएको 'तराई कोब्रा' संग्लन रहेको सुरक्षा निकायको
अनुमान छ।
रौतहटमा जनतान्त्रिक मोर्चा एउटै रहेको बेला दुईजना
र अलग भएपछि ज्वाला समूहले एक, गोइत समूहले दुई र अज्ञात समूहले तीन
गरी आठ जनाको ज्यान लिइसकेका छन्। बारामा मोर्चाले एक र अज्ञात समूहले
दुई गरी तीन जनाको हत्या गरेका छन्। सशस्त्र सङ्गठन नभएको मधेशी जनअधिकार
फोरमले पनि तीन जनालाई अपहरण गरेको छ। मोरङ्गमा एक सर्वसाधारण र नवलपरासीमा
माओवादीका दुई कार्यकर्ताको अपहरण गरेका फोरमका कार्यकर्ताले तिनलाई
दुई दिनपछि रिहा गरेका थिए।
आफूलाई 'मधेशवासीको मुक्तिदाता' बताउन पछि नपर्ने सशस्त्र
सङ्गठनले गरेका हत्या र अपहरणको विवरण तराईका कुनैपनि जिल्ला प्रहरी
कार्यालयमा पाउन सकिन्न। यी संस्थाहरूले पहिचान र अधिकारका लागि भएको
मधेश आन्दोलनको आडमा ज्यादती गर्ने भएकाले यस्ता घटनामा प्रहरी र प्रशासनले
प्रारम्भिक अनुसन्धान गर्न समेत रुचि देखाउँदैन। मारिएका व्यक्तिको
सामान्य विवरणसम्म सङ्कलन गरिरहेको प्रशासनसँग ठूलो अङ्कमा फिरौती
तिरेर रिहा हुने सरकारी कर्मचारी वा नागरिकहरूको विवरण पाउन पनि मुस्किल
छ।
तराई जनतान्त्रिक मुक्ति मोर्चाका दुवै समूहले जग्गा
कब्जा गर्ने अभियानलाई पनि आफ्नो सङ्गठन विस्तारको आधार बनाएका छन्।
घरजग्गा कब्जा गर्ने अभियानमा प्रतिस्पर्धा नै चलेको छ। पूर्वमन्त्री
हेमबहादुर मल्लको धनुषाको गोविन्दपुरमा रहेको जग्गामा मोर्चाका दुवै
समूहले झण्डा गाडेका छन्। यसअघि त्यो जमिन माओवादीको कब्जामा थियो।
मोर्चाको ज्वाला सिंह समूहले काङ्ग्रेस नेता डा. रामवरण यादवको जनकपुर
नगर क्षेत्रको र कवि सिद्धिचरण श्रेष्ठको सिरहाको घरजग्गा कब्जामा
लिएको बताएको छ। ज्वाला सिंह समूहका केन्द्रीय सदस्य राजन मुक्तिले
धनुषामा मात्रै सामन्ती र शोषकको दुईहजार बिघा भन्दा बढी जग्गा र केही
घर कब्जा गरेको दाबी गरेका छन्।
उनको कब्जामा लिइएको घरजग्गा शोषित, उत्पीडित गरिब परिवारलाई
वितरण गरिने बताएका छन्। उता गोइत समूहले पनि आफ्नो प्रभाव क्षेत्र
सिरहा र सप्तरीमा पहाडे समुदायको घरजग्गा कब्जा गर्न थालेको छ। मधेशी
समुदायलाई उठिबास लगाउनेहरूलाई लखेट्ने नाममा यस्तो अभियान चलाएको
उसको दाबी छ।
कोही भूमिगत कोही एक्लै
आन्दोलन र थिचोमिचोका कुरा उठाएपछि मधेशमा जस्तोसुकै ज्यादती गरे पनि
त्यो क्षम्य हुन्छ भन्ने भान आपराधिक समूहलाई परेको आभास हुन्छ। मधेशी
समुदायको हितका नाममा खुलेका केही संस्था यस्ता छन्, जसको बारेमा अहिलेसम्म
कसैलाई जानकारी छैन। ०६० सालमा माओवादीबाट अलग्गिएर गठन भएको जनतान्त्रिक
तराई मुक्ति मोर्चा दुई वर्ष नबित्दै ०६२ सालमा टुक्रियो। अहिले त्यो
गोइत र ज्वाला समूहमा विभाजित छ। ज्वाला सिंह अर्थात् नागेन्द्र पासवान
सिरहा नगरपालिकाका बासिन्दा हुन्। माओवादी मधेशी राष्ट्रिय मुक्ति
मोर्चा र गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य
रहिसकेका पासवान कुनै बेला सिरहामा पत्रकारिता गर्दथे।
जयकृष्ण गोइत सप्तरीको तिरकौर गाविस–४ का बासिन्दा हुन्।
०५४ सालको स्थानीय निर्वाचनमा एमालेले जिल्ला विकास समितिको सभापति
पदको टिकट नदिएपछि पार्टी परित्याग गरी माओवादीमा लागेका गोइत त्यहाँ
पनि टिक्न सकेनन्। मधेशी राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक अध्यक्ष
रहेका गोइतलाई माओवादीले उक्त पदबाट हटाई मोर्चाको सल्लाहकार बनायो।
त्यसपछि उनले ०६० सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरे।
यसैगरी सर्लाहीको मधुवनमा ट्रक चालक सागर सिवाकोटीको
हत्या गरेर अकस्मात् चर्चामा आएका तराई कोब्राका प्रमुख भनिने 'नागराज'
नाउँको कुनै व्यक्ति भए/नभएको समेत यकिन छैन। मधेशका सशस्त्र सङ्गठनका
प्रमुख व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलनमा लागेका एक मानवअधिकारवादीका
अनुसार विभिन्न उपनाममा चर्चामा आएका यस्ता व्यक्तिहरूका बारेमा विवरण
प्राप्त गर्न सजिलो छैन। तराई कोब्राका नागराजसँग भेटेको दाबी गर्ने
वीरगञ्जका एक पत्रकारको भनाइमा, उनी नेपाल प्रहरीका पूर्व डीएसपी हुन्।
तर उनी को हुन्, कहाँका हुन् भन्ने बारेमा कसैलाई जानकारी छैन। कोही
उनलाई सर्लाहीका यादव हुन् भन्छन् भने कोही रौतहटका साह।
अझ अचम्म त के छ भने, सशस्त्र विद्रोहमै उत्रिएको दाबी
गर्ने 'तराई टाइगर' का अध्यक्ष शेर सिंह राजपूत सङ्गठनमा एक्लै छन्।
धनुषाको इच्छापुर, औराहाका राधे सिंह (शेर सिंह) ले अहिलेसम्म सार्वजनिक
गतिविधि गर्न सकेका छैनन्। तर पनि मधेशका रेडियो र पत्रपत्रिकामा उनका
धम्कीपूर्ण विज्ञप्ति महिनाको कम्तीमा १० पटक आउने गर्छन्।
संयोग कस्तो छ भने सरकारी निकायको अभिलेखमा मधेशमा पहिले
भन्दा अपराध घटेको छ। एक उच्च प्रहरी अधिकारीले कुरा नलुकाइकन भने,
“अधिकारको लडाइँ भनेपछि जे गरे पनि हुन्छ भन्ने परेको छ। आन्दोलनको
आवरणमा मनलाग्दी लुटपाट मच्चाउन पाएपछि चोरी डकैती जस्ता अपराधको सङ्ख्या
न्यून देखिनु स्वाभाविकै हो।”
|