खेलकुद क्रिकेट
रौनक रात्रि क्रिकेटको
 |
| रामेश्वर बोहरा |
जेठको पहिलो
सातादेखि नेपालगन्जमा एकसाथ दुई वटा रात्रि क्रिकेट प्रतियोगिता सञ्चालन
भइरहेका छन्। करिब महिनादिनसम्म चल्ने ती प्रतियोगिता राति आठ बजेदेखि
बिहान पाँचबजेसम्म चल्ने गरेको छ। यी प्रतियोगितामा चार वटा महिलासहित
९६ वटा स्थानीय र सीमावर्ती भारतीय जिल्ला बहराइचका १० वटा टीमले प्रतिस्पर्धा
गरिरहेका छन्।
न्यू हायात स्पोर्टस् क्लबले अनाथालय गौसिया माविको
मैदानमा र माओवादीनिकट खेलप्रेमीहरूको समूहले स्थानीय महेन्द्र रङ्गशालामा
अत्याधुनिक बत्ती जडान गरी प्रतियोगिता सञ्चालन गरेका छन्। न्यू हायातले
रात्रिकालीन हायात कप यसअघि २०६० मा सञ्चालन गरेको थियो। जनआन्दोलन–२
मा नेपालगन्जमा शहीद भएकी सेतु विकको स्मृतिमा माओवादी निकटले यसपल्टदेखि
शहीद सेतु विक स्मृति पुरुष तथा महिला खुल्ला रात्रि क्रिकेट प्रतियोगिता
थालेका हुन्।
पर्याप्त साधनस्रोत र लगानी चाहिने रात्रिकालीन क्रिकेटले
खेलाडीमा नयाँ उत्साह थपेको छ। “भारतमा गएर खेलेको नाइट क्रिकेट आफ्नै
शहरमा खेल्न पाउँदा खुशी नहुने कुरै छैन”, नेपालगन्जको जियस स्पोर्टस्
क्लबका कप्तान गुलाम गौस हलवाइले प्रसन्नता प्रकट गरे। भारत, नबाबगञ्जको
न्यू एकताका एक खेलाडीलाई त नेपालमा नाइट क्रिकेट होला भन्ने विश्वास
थिएन।
खेलाडी मात्र होइन खेलप्रेमीहरू पनि रात्रि क्रिकेटमा
निकै रमाएका छन्। त्यसैले रातभर हुने प्रतियोगिता हेर्न दिनहुँ ५–६
हजार दर्शक पुग्छन्। दर्शकको यस्तो घुइँचो त यसअघि दिउँसो हुने प्रतियोगितामा
पनि देखिँदैनथ्यो। अपरान्हको चर्को गर्मी सहन नपर्ने र कर्मचारी, व्यापारी,
विद्यार्थी सबै खेलप्रेमीका लागि रातको समय फुर्सदिलो हुने भएकाले
पनि प्रतियोगितामा उपस्थिति उत्साहप्रद भएको न्यू हायात स्पोर्टस्
क्लबका अध्यक्ष मोहम्मद वकिल हलवाइको बुझाइ छ।
तीन वर्ष अगाडि शुरु भएको रात्रिकालीन क्रिकेटले शान्तिसुरक्षाका
कारण निरन्तरता पाउन सकेको थिएन। पुनः हुन थालेको नाइट क्रिकेटका लागि
आयोजक र प्रायोजकहरू पनि जुर्मुराउन थालेका छन्। उनीहरूकै प्रयासमा
दुई प्रतियोगिताको निम्ति झण्डै रु.१२ लाख सहयोग उठेको छ। “आर्थिक,
भौतिक र प्राविधिक सहयोग यसैगरी जुट्दै गयो भने राष्ट्रियस्तरकै प्रतियोगिता
गर्न सक्छौं”, वकिलले बताए। शहीद सेतु विक स्मृति कप प्रतियोगिताका
संयोजक रमजान अलि पनि मनोरञ्जन र खेलकुदको विकासको निम्ति व्यक्तिगत
पहलमै प्रतियोगिता थालेको बताउँछन्।
नाइट क्रिकेटमा अभ्यस्त भइनसकेकाले आयोजकले प्रतियोगिताहरूमा
टेनिसबलको प्रयोग गरेका छन्। तर, विस्तारै क्रिकेटको लेदर बल नै प्रयोग
गर्नुपर्ने क्रिकेटविज्ञहरूको सुझाव छ। क्रिकेटका पूर्व राष्ट्रिय
कप्तान लेखबहादुर क्षत्री भन्छन् “राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा
खेलाइने लेदरबलको प्रयोगमै जोड दिनुपर्छ।”
प्रतियोगितामा प्रदर्शन भने भारतीय टीमकै राम्रो रहेको
छ। उनीहरूको खेल कौशलबाट आफूहरूले सिक्ने अवसर पाएको नेपाली खेलाडीहरूले
अनुभव गरेका छन्। रात्रि क्रिकेटमा देखिएको यस्तो उत्साहले स्थानीय
तहमा मात्र नभई क्रिकेट खेलमा नेपालकै सम्भावनालाई सदृढ बनाउन सहयोग
गर्ने विश्वास गरिएको छ।
•
रामेश्वर बोहरा, नेपालगन्जमा
|