| •
ऋतुराज |
 |
ऋतुविचार
कुरा भातभान्साको
यात्राको सिलसिलामा
मधेश, पहाड, पर्वत जहाँ पुगे पनि खानलाई दुईछाक भातै खोज्नु धेरै नेपालीको
नानीदेखि लागेको बानी हो। त्यस्तो बानी लागेको जिब्राले जहिले पनि
दाल–भात–तरकारीको स्वाद खोज्दछ। बासको ठेगान राम्ररी भएको हुँदैन “यहाँ
राम्रो खाना खान कहाँ पाइन्छ” भनेर सोधिहाल्छ। अनि सुँघ्दै खोज्दै
त्यस्तो ठाउँमा पुगी पनि हाल्छ।
सस्ता महँगा विभिन्नस्तरका भोजनालय र रेस्टँुरा त अचेल
ठूलासाना सबै नगर बजारमा पाइन्छन्। केहीले भातभान्साका लागि आफ्नै
ख्याति कमाएका हुन्छन्। त्यस्ता ठाउँको विज्ञापन रेडियो, टिभी, पत्रपत्रिकामा
कतै पाइँदैन। तर, तिनको चल्ती भने बहुतै हुन्छ। किनभने त्यहाँका खानाको
स्वाद पाउने प्रत्येक मुख उनीहरूको असली प्रचारक बन्दछ।
यसपालि यात्राको क्रममा गरिएको भातभान्साको खोजीमा त्यस्तै
खालका दुई ठाउँ पत्ता लागे जसको उल्लेख गर्नु समग्र पाठक हेतु लाभदायक
होला भन्ने लागेको छ।
पहिलो हो, हेटौँडा नगरको 'लोकप्रिय भोजनालय' जहाँको
भोजन ग्रहण गर्न प्रत्येक साँझ–बिहान मानिसको धुइरो लाग्छ। भित्र हलमा
बस्ने ठाउँ नपुगेर मानिस बाहिर आँगनमा लाइन कस्छन्। हेर्दा लाग्छ त्यहाँ
कुनै भण्डारा चलिरहेछ। हुन पनि प्रत्येक दिन सात–आठ सय खाली पेटलाई
भर्नु एक किसिमको भण्डारा चलाउनु जत्तिकै हो। अन्यत्र हेरी तुलनात्मक
रूपले सफासुग्घर, छिटो र छरितो सेवा अनि ताजा र तातो भात साथमा दाल
तरकारी साग र अचार। थपी–थपी खाँदा पनि लाग्ने जम्मा रु.४५। अनि मानिस
नओइरिउन् किन?
धरानको 'आन्टीको होटेल' अर्को हो, जसको चल्ती आँखैले
हेरेपछि मात्र पत्याउन सकिन्छ। बी.पी. स्वास्थ्य प्रतिष्ठान नजिकको
बजारमा रहेको भात खाने यो सानो ठाउँमा साँझ–बिहान चटारो रहन्छ। सफासुग्घर,
छिटो र तातो खाना यसको विशेषता हो। अझ मूल्यमा त आन्टीले 'लोकप्रिय'
लाई पनि माथ गरिदिएकी छिन्। जम्मा रु.३५ मै सादा खाना खुवाउँछिन्।
निम्न आयका ग्राहकहरूप्रति लक्षित यी दुवै भोजनालयको
एउटा समानता छ। त्यो हो तिनका सञ्चालकहरूको धार्मिक आस्था र समर्पण।
'लोकप्रिय भोजनालय' का सञ्चालक साइबाबाका अनन्य भक्त
छन्। उनको अभिवादन मात्र होइन प्रत्येक वाक्य 'साइराम' मा गएर टुङ्गिन्छ।
रेस्टुँरामा साइबाबाको ठूलो तस्बिर सजिएको छ, साइ भजन बज्छ, निधारमा
विभूतको टीका कामदारहरूको युनिफर्मको हिस्सा बनेको छ। हँसमुख र मिजासिला
सञ्चालक बाबाकै कृपाबाट यो सेवा सम्भव भएको भन्नमा गर्व मान्छन्।
उता 'आन्टी होटेल' का भित्तामा येशु ख्रीष्ट र मदर टेरेसाका
तस्बिर टाँगिएका छन्। आफू जस्तै 'विश्वासी' हरूले उनीबाट 'जय मसीह'
को अभिवादन पाउँछन्। भोकालाई भात खुवाउने कारोबारबाट उनलाई आम्दानी
र सन्तोष दुवै मिलेको छ।
यी दुवै ठाउँका व्यवसायीहरूको जाँगर र विश्वासका आधार
आध्यात्मिकता देखिन्छ जसका कारण उनीहरू आफ्नो कारोबारमा सफल भएका छन्।
उनीहरूको व्यवसाय हो त्यो, तर सेवामुखी। उनीहरूबाट प्रेरणा लिएर अरू
ठाउँका अरू मानिस पनि यस काममा अघि बढ्लान् कि?
धन्न एउटा राजमार्ग छ
अचेल बरु मौसमको अवस्थाबारे भविष्यवाणी गर्न सजिलो होला
र त्यस्तो भविष्यवाणी मिल्न पनि सक्ला। तर पूर्व–पश्चिम राजमार्गमा
कतिखेर के हुन्छ भनी कसैले अघिबाटै भन्न सक्तैन। राम्ररी चलिरहेको
आवागमन एकाएक र अकारण बन्द हुन सक्छ र कैयौँ दिनसम्म नखुल्न सक्छ।
जसरी बन्द भएको थियो त्यसरी नै र एकाएक खुल्न पनि सक्छ।
बन्द हुने नहुने कुरा धेरै त राजमार्गको छेउछाउमा बसोबास
गर्ने बासिन्दाहरूको मुडमा भर पर्छ। क्यारम या लुडो खेल्दाखेल्दै उच्चाट
लागेर बेरोजगार तन्नेरीहरूलाई केही 'एक्सन' गरौँ न भन्ने लाग्न सक्छ।
भैँसी चराउँदा चराउँदै वाक्क लागेर आफ्नो हैसियत देखाउने मन पनि हुन
सक्छ। अहिले धान रोप्ने बेला भएको छैन। स्कूलहरू बन्द छन्। सबैलाई
फुर्सदै फुर्सद छ। सजिलो छ― सडकमा दुईचार ओटा मुढा तेर्स्याइदियो,
केही ढुङ्गा थुपारिदियो, सिमेन्टको ब्लक–तलक छ भने त्यसलाई राखिदियो,
पराल राखेर एउटा टायर बालिदियो हातमा बाँसको लामो डन्डा लियो― भयो
बन्द।
किन, कसरी, केका लागि, छु मतलब?
यस पटक आफ्नो पनि झण्डै राजमार्गमै बास पर्ने खण्ड आएको
थियो। चन्द्रनिगाहापुरदेखि पूर्व कुनै बस्तीमा सडकमाझ एक मधेशी मन्त्रीको
पुतला केही मधेशी युवाहरूले जलाइरहेका थिए। साथसाथै 'मूर्दावाद' को
नारा पनि लगाइरहेका थिए। तर आन्दोलनकर्ताहरूले आफ्नो रणनीति राम्रोसित
तय गरिसकेका थिएनन् वा कुन हदसम्मको बन्द गर्ने अन्तिम निर्णय गरिसकेका
थिएनन्। सामान्य अनुनय विनयपछि उम्कन सफल भइयो।
तर त्योभन्दा झनै कडा किसिमको बन्द त कमला नदी पश्चिमको
वीरेन्द्र बजारमा चलिरहेको थियो। सडक ढुङ्गामुढा राखेर रोकिएको थियो।
दुवैपट्टि बस र ट्रकको ताँती तन्किएको थियो। आन्दोलनकारीको भीड उत्तेजित
थियो र उनीहरूका हातका डन्डा कुनै पनि गाडीको सिसामा पर्न सक्ने प्रबल
सम्भावना देखिन्थ्यो। सुन्दा उनीहरूले सडक बन्द गर्नुपर्ने कारण मनासिब
लाग्दथ्यो। दश दिनअघि विद्युत् प्राधिकरणले फेर्न भनेर लगेको ट्रान्सफर्मर
फेरि ल्याएको छैन। बिजुली नहुनाले यसबीच डकैतीका चारओटा वारदात भइसकेका
छन्। हाम्रो सुनुवाई कतैबाट भएन। त्यसैले सडक रोकेको अनिश्चित कालका
लागि। बिलकुल मनासिब! राज्यले जनताका सारा समस्या हेर्नै पर्छ।
भोलि यस्तो पनि दिन आउला। टेलिफोन लाइन चलेन― सडक बन्द।
रासायनिक मल पाइएन― सडक बन्द। चिनी पाइएन― सडक बन्द। स्कुल खुलेन―
सडक बन्द। विद्यार्थी उत्तीर्ण भएन― सडक बन्द। ट्युबेलमा पानी आएन―
सडक बन्द। भैँसी हरायो― सडक बन्द। स्वास्नी पोइल गई― सडक बन्द। आखिर
यी सबै विषयको सरोकार राज्यसित छ।
धन्न एउटा राजमार्ग पाएका छन्। नत्र तराई वा मधेशका
बासिन्दाले आफ्ना जायज–नाजायज गुनासा व्यक्त गर्न केको सहारा लिन्थे
होलान्?
|