हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट जीवनशैली

सडकमै मी७ो स्वाद

हिजोसम्म 'सडकमा पनि खाने र?' भन्दै नाक खुम्च्याउनेहरू नै अहिले 'सडकमै खाउँ न' भन्न थालेका छन्। हुन पनि सडकमा खाना खाने चलनले अहिले फेसनकै रुप लिन थालेको छ।

शैली बस्नेत

मीन बज्राचार्य

करिब चालीस मुलुक घुमिसकेका हास्य–कलाकार किरण के.सी. (रातामकै) लाई विदेशका सडक किनारमा खानाको बजार देख्दा रमाइलो लाग्थ्यो। काठमाडौँको नयाँसडक घुम्न जाँदा पहिलोपटक तेलमा तारिरहेको ससेज देखेपछि उनले तीन वटा मगाए। त्यतिले नपुगेर दुई वटा थपेरै खाए। केसी भन्छन्, “हेर्दै लोभलाग्दो थियो, मीठो लागेर थपेरै खाएँ।” (हे.तस्बिर)

'सडकका खाना' भन्नेबित्तिकै पहिले पोलेको मकै, चटपटे, काटेका चाना फलफूल आदि बुझिन्थ्यो। स्वादिला भए पनि सफा नहुने शङ्काले अभिभावकहरूले छोराछोरीलाई 'सडकको खाना नखानू' भन्ने गर्दथे। जातपातका कारणले पनि घर बाहिर वा सडकका खानेकुरा खान हुँदैन भनिन्थ्यो। दोलखा–जिरीका रवि फुयालसँग पनि त्यस्तै अनुभव थियो। तर अहिले उनी 'स्टिक फुड' का पारखी बनेका छन्। भन्छन्, “खानेकुरा राम्रो, सस्तो पनि हुन्छ र खुला आकाशमुनि बसेर खाँदा अर्कै रमाइलो हुन्छ।” किशोरी अनु शाहीलाई सडकको खानेकुरा मन पर्ने कारण अर्कै छ। उनी भन्छिन्, “घरमा बनाउन गाह्रो र झण्झटिलो हुन्छ। तर बाटोमा सजिलै पाइन्छ, कुरिराख्नु पर्दैन।” पहिलो पटक बाटोको ससेज फ्राईमा रमाइरहेकी सात वर्षीया रोजा खरेलकी आमा रञ्जु भन्छिन्, “स्कूल बन्द भएकाले दिनभर घरै बस्नुपर्दा केटाकेटी दिक्क हुन्छन्, जाने उपयुक्त ठाउँ पनि धेरै छैनन्। त्यसैले बजार देखाउन ल्याएकी, उनीहरू यस्तो खान पाउँदा मजैले रमाउँछन्।” ३२ वर्षीय रमेश सिंहलाई त सडकमा पाँच–दश रुपैयाँकोे खानासँग पाइने अचार र मसला महँगा रेस्टुरेण्टमा पाइने अचार जत्तिकै स्वादिलो लाग्छ।

यसरी सडकमा पाइने छरिता खानामा रमाउने केटाकेटी, किशोरकिशोरी र अभिभावकहरूको सङ्ख्या दिनहुँ थपिँदो छ। कन्सर्ट र सडक महोत्सवका बेलामा मात्र सडक तथा खुला ठाउँमा 'फास्टफुड' पाइने कुरा अब पुरानो भइसक्यो। पछिल्ला दिनमा राजधानीका वसन्तपुर, टेबहाल, खिचापोखरी, कुमारीपाटी, मङ्गलबजार, दरबारमार्ग, बानेश्वर जस्ता बजारहरू 'स्ट्रिट फुड' का निम्ति आकर्षक गन्तव्य बनेका छन्। ससेज, आलु, मीट बल, च्याउ जस्ता 'स्टिक फुड' (सिन्कामा उनेर तारिने) को अहिले लहर नै चलेको छ। नेवारी खाना र 'फास्ट फुड' पनि उत्तिकै लोकप्रिय छन्। पानीपुरी, समोसा, चाट जस्ता शाकाहारी परिकार पनि पहिलेको तुलनामा बढी नै रुचाइन थालिएको छ।

अन्यत्रभन्दा सस्तोमा लत्ताकपडा र शृङ्गारका सामान पाइने 'नाइट मार्केट' वसन्तपुरमा शुरु भएपछि राजधानीका युवामाझ साँझ पारेरै किनमेलमा निक्लने चलन बढेको छ। यही भीडलाई नयाँ 'टेस्ट' दिन तीन महिनाअघि दरबार स्क्वायर क्याफेले आफ्नो रेस्टुरेण्टसँगै वसन्तपुरमा 'स्टिक फुड' को स्टल शुरु गरेको छ। क्याफेका पुरुषोत्तम उप्रेतीका अनुसार, बफ ससेज र चिकेन ललीपप बढी बिक्री हुने सो स्टलमा धनाढ्य परिवार, युगल जोडी र चिनिएका कलाकार समेत पुग्छन्। वसन्तपुर वरिपरि यस्ता अरू स्टल पनि छन्।

यस्ता पसल एक्कासी झुल्किएका भने होइनन्। 'टेबहालको फोक्सो पसल' भनेर चिनिने परिकार–स्टल शुक्रमान श्रेष्ठले २०१८ सालमा शुरु गरेका हुन्। अहिले त्यो पसल उनकै छोरा सुशीलले चलाउँछन्। सुशीलको भनाइमा पहिले भुवन केसीलगायतका कलाकार त्यहाँ नियमित आउँथे। अहिले पनि जेम्स प्रधान, कमलमान सिंह जस्ता सेलिबे्रटीहरू आइरहन्छन्। यस्तै आकर्षणका कारण हुनसक्छ, त्यस क्षेत्रमा यस्ता स्टलको सङ्ख्या बढेर करिब एक दर्जन पुगिसकेको छ। सुशील भन्छन्, “पसल बढे पनि आउने मान्छे बढेकाले खासै फरक परेको छैन। बाटोमा के खाने भन्नेहरू अब 'बाटोमै खाने' भन्न थालेका छन्।”

ममदेखि योमोरीसम्म
स्ट्रिट/स्टिक फुडको यो लोकप्रियताले बिक्रेताहरूलाई मख्खै बनाएको छ। पहिलेका तुलनामा अहिलेका ग्राहक बढी सभ्य भएको उनीहरूको अनुभव छ। पानीपुरी बिक्रेता पी. धाता सिंह भन्छन्, “पहिले आवारा केटाहरूको मनोमानी सहनुपर्थ्यो, कतिले लुटेर पनि खाइदिन्थे। अहिले परिवारका सबै सदस्य, त्यसमा पनि केटी मान्छेहरू धेरै आउँछन्, केटाहरूले पनि राम्रो व्यवहार गर्छन्।” मङ्गलबजारको नःटोलमा 'स्टिक फुड' को व्यापार थालेका ज्ञानु डङ्गोल तथा रवीन्द्रलाल सात महिने अनुभव सुनाउँदै भन्छन्, “गर्मीमा भन्दा जाडोमा व्यापार राम्रो हुन्छ। नयाँ वर्षको दिन, विदाको दिन, शुक्रबार र बत्ती गएको साँझमा धेरै बिक्री हुन्छ।”

राम्रै फाइदा हुने देखेर २३ वर्षीया ग्रेस श्रेष्ठले फाइनान्सको जागिर छोडेर छ महिनाअघिदेखि टेःबहालमा यस्तो व्यापार थालेकी छन्। उनको स्टलमा मम, वर्गर, ससेजदेखि योमोरीसम्म पाइन्छ। ग्रेस भन्छिन्, “भर्खरै शुरु गरेकीले खासै फाइदा नभए पनि घाटा छैन। फाइनान्सको काम अरूको काम भयो, यो भनेको त आफ्नै हो।” यस्तै सन्तुष्टि बटुलिरहेका व्यापारीहरूका निम्ति आकर्षक बनिरहेको छ यो पेशा। कारण; तीन–चार जना भए पुग्ने, सानो लगानी भए पुग्ने भएकाले यसमा जोखिम पनि कम छ।

विगतमा गाडी चालक र घरेलु कामदार रहिसकेका धाता सिंहले समोसा, चाट, चप र पानीपुरी बेच्ने काममा अर्कै दुनियाँ भेटेका छन्। लोकतन्त्र आएपछि उनीहरूलाई सडकमा निर्धक्क स्टल अटाउन र काम गर्न समेत सजिलो भएको छ। ४९ वर्षीय सिंह सुनाउँछन्, “पहिले पसल राख्न दिँदैनथे, अहिले पुलिसले पनि दुःख दिँदैन।”

हेर्दा सजिलो देखिए पनि यो व्यवसायका आफ्नै कठिनाइहरू छन्। व्यापार साँझ मात्र हुने भए पनि तयारीमा दिनभर काम गर्नुपर्छ। दिनदिनै बढ्ने महङ्गीले पनि व्यापारीहरूलाई पार्नु असर पारेको छ। व्यापारी रवीन्द्रलाल भन्छन्, “सात महिनाअघि ६०–६२ रुपैयाँ प्रतिलिटर पाइने तेलको मूल्य अहिले रु.९० पुगिसक्यो, आलुको भाउ पनि त्यसरी नै बढिरहेको छ। तर भाउ बढायो भने ग्राहक कराइहाल्छन्।” त्यस बाहेक पानी पर्दा र हुरीबतास चल्दा उनीहरूले घाटा व्यहोर्नु पर्छ। अनि, सडक बाल–बालिकाले खानेकुरा मागेर हैरान पार्छन्। एकैठाउँमा धेरै स्टल थपिएकाले पहिले जस्तो नाफा नहुने केही व्यापारीको गुनासो छ। कुमारीपाटीका मनोज लामा भन्छन्, “दश रुपैयाँको ससेजमा पाँच रुपैयाँ डिस्काउन्ट माग्ने ग्राहक आएर हैरान पार्छन्।”

चनाखो हुनुपर्छ

मीन बज्राचार्य

कस्तो भाँडामा राखिएको छ?
पकाएको खानेकुरा उचित तापक्रममा राखिएको छ कि छैन?
राम्ररी पाकेको छ कि छैन?
एउटै तेल पटक पटक प्रयोग गरिएको छ कि?
राम्ररी छोपेको छ कि छैन?
फोहर कँहा फाल्ने गरिएकोे छ?
एउटै चपिङ बोर्डमा काँचो मासु र पाकेको मासु काटेको छ या छैन?
कस्तो पानी प्रयोग गरिएको छ?
कृत्रिम अमिलो मिसाइएको छ कि?
अखाद्य रंग वा मसाला प्रयोग गरिएकोे छ कि?
खानेकुरा ताजा छ कि छैन?

कति स्वस्थकर?
सडकको खाना भन्नेवित्तिकै सफा र स्वस्थकर नहोला भन्ने डरले उपभोक्तालाई सधैँ पिरोल्ने गर्छ। नेपालमा यस्ता खानाको गुणस्तरको प्रभावकारी अनुगमन गर्ने काम थालिएकै छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उप–महानिर्देशक जीवनप्रभा लामा 'स्ट्रिट फुड' कतै पनि दर्ता नहुने र विभागसँग पर्याप्त साधनस्रोत नहुनाले अनुगमन नभएको बताउँछिन्। लामा भन्छिन्, “यस्तो खानेकुरा कसरी सफा राख्ने, वातावरण र स्वास्थ्यलाई कसरी जोगाउने भन्ने बारेमा व्यवसायीहरूसम्म पुग्न महानगरपालिकाको सहयोग लिने हाम्रो सोच छ।”
ग्राहकहरूले आफूले खान लागेको परिकारका बारेमा चासो राख्ने हो भने गुणस्तर सुधार गर्न व्यवसायीहरू बाध्य हुनेछन्। लामाका भनाइमा, ग्राहकले नै सफा खाना खोज्न थालेपछि व्यवसायीले सुधार नगरी धर पाउँदैनन्। खानेकुरा कस्तो भाडामा ल्याइएको छ, पकाएर ल्याएको भए ४ डिग्रीभन्दा कम र ६० डिग्रीभन्दा माथिको तापक्रममा राखेको छ कि छैन, राम्ररी पाकेको छ कि छैन, एउटै तेल पटक–पटक प्रयोग गरिएको छ कि, राम्ररी छोपेको छ कि छैन, फोहोरकहाँ फाल्ने गरिएको छ, वरिपरि फोहोर छ कि छैन, एउटै चपिङ बोर्डमा काँचो मासु र पाकेको मासु काटेको छ कि जस्ता कुरामा ग्राहक चनाखो हुनुपर्ने उनको सुझाव छ।

व्यवसायीहरू व्यवसाय टिकाइराख्न समेत आफ्नो खाना सफा र स्वस्थकर राखिने बताउँछन्। धाता सिंह भन्छन्, “एक दिनको व्यापार होइन। तपाईले जहिले आएर हेरे पनि म यतै हुन्छु।” मङ्गलबजारका व्यवसायी ज्ञानु भन्छन्, “रेस्टुरेन्टमा कस्तो पाक्छ, कसरी पाक्छ केही देखिँदैन। यहाँ त सामुन्ने नै पकाइन्छ। कसरी राखेको छ, ताजा–बासी के हो सबै आँखा अगाडि हुन्छ। त्यसैले ग्राहकले विश्वास गर्छन्।” सौखिन पारखी रवि फुयाल 'जहाँ पायो त्यहीँ नखाने, यसो वरिपरिको सफाइ र पकाउने मान्छे हेरेर खाने' अनुभव सुनाउँछन्। बाह्र कक्षाकी विद्यार्थी रीमा कपाली भने “सडकको खाना सफा हुने अनुमान नै गर्न मिल्दैन” भन्छिन्। कपालीका भनाइमा, “वातावरण नै फोहोर छ, सफा त कहाँ हुन्छ र? त्यसैले दिनैपिच्छे बाहिरको खान हुँदैन जस्तो लाग्छ।”

यस्तो समस्या कलाकार किरण केसीलाई पनि परेको छ। केसी भन्छन्, “मैले खानुअघि यो तेल हिजोको पो हो कि, सफा छैन कि भनेर सोधेको थिएँ। बेच्नेले 'एक जनाले पनि यो खानाले बिगार गर्‍यो भन्न आयो भने हामीलाई टिक्न दिँदैनन्' भनेपछि मलाई पनि विश्वास लाग्यो।” विशालबजार अगाडिको पानीपुरी असाध्यै मन पराउने केसी भन्छन्, “मैले पानी कस्तो हो भनेर पनि बुझेँ। पानीपुरी बेच्नेले धाराको पानी उमालेर बनाउने हो भन्यो, हेर्दा पनि सफा नै लाग्यो अनि गाडीवालाहरू समेत खान आएको देखेपछि राम्रै होला भनेर मैले त्यो ठाउँमा पानीपुरी खान शुरु गरेको हँु। खानुअघि यति त बुझ्नैपर्छ नि।”

ग्राहकहरूले यस्तै सचेतता देखाउँदै गए र बिक्रेताहरूले सफा खाना खुवाउने आफ्नो कर्तव्य बिर्सिएनन् भने शहरबजारमा स्ट्रिट फुडको फेशन विस्तारै शहरिया संस्कृति बन्ने निश्चित छ।