रिपोर्ट ऊर्जा
विद्युत् खर्च आधा
फिलामेन्ट चिमलाई कम विद्युत् खपत गर्ने सीएफएल
चिमले विस्थापित गर्ने हो भने ६० प्रतिशतसम्म विद्युत् खपतमा कमी आउने
विज्ञहरुको दाबी छ।
• विवेकराज
मौर्य
आफ्ना
१२ लाख ८० हजार उपभोक्ताको माग पूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले
करिब ६१७ मेगावाट बिजुली उत्पादन गर्दै आएको छ। र, यति गरेर पनि ग्राहकको
आवश्यकता र बढ्दो माग पूरा गर्न सकेको छैन।
द्वन्द्व र आर्थिक मन्दीमा पनि मुलुकमा वार्षिक सरदर
८ प्रतिशत अर्थात् ५० मेगावाटले विद्युत्को माग बढ्दै गएको छ। दुई
महिनाअघि हप्ताको ४० घण्टासम्म भएको लोडसेडिङ (विद्युत् कटौती) अहिले
पनि चार घण्टा छँदैछ। नेपालमा मङ्सिर–पुसदेखि चैत–वैशाखसम्म विद्युत्को
माग बढ्ने र नदीहरूमा पानी घट्ने हुनाले माग अनुसार उत्पादन हुन सकेको
छैन र बर्सेनि लोडसेडिङ हुँदै आएको छ।
देशमा तत्काल ठूलो परियोजना बनेर थप विद्युत् आपूर्ति
हुने सम्भावना नदेखिएकाले आउँदा वर्षहरूमा समेत उपभोक्ताले लोडसेडिङको
मार खप्दै जानुपर्नेछ। यस पटकको सुख्खायाममा विद्युत् आपूर्ति प्रणालीमा
करिब सय मेगावाट अपुग भएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका
प्राविधिक सेवा तथा व्यावसायिक शाखाका निर्देशक तीर्थमान शाक्य भन्छन्,
“हामीले सामना गर्नुपरेको ऊर्जाको अभाव राष्ट्रिय समस्या हो, जसको
समाधानका निम्ति प्राधिकरणका साथै सरकार र उपभोक्ताहरू सबै उत्तिकै
जिम्मेवार हुनुपर्छ।”
तात्कालिक समाधान
नेपालले हालको विद्युत् उपयोग शैलीलाई अलिकति परिवर्तन गर्ने
हो भने केही हदसम्म अहिले भोग्नुपरेको ऊर्जा अभाव निराकरण गर्न तथा
लोडसेडिङ हटाउन सकिने विज्ञहरू बताउँछन्। बुटवल पावर कम्पनीका आयोजना
व्यवस्थापक सूर्यप्रसाद अधिकारी भन्छन्, “विद्युत् माग पूरा गर्न त्यति
सजिलो छैन, न त यसबाट तत्काल प्रतिफल नै पाउन सकिन्छ। तर उचित व्यवस्थापन
गर्ने हो भने उत्पादक र उपभोक्ता दुवैलाई फाइदा हुन्छ। समग्रमा विद्युत्
माग व्यवस्थापनलाई उचित भार व्यवस्थापन र ऊर्जा उत्पादन क्षमताको पक्षबाट
हेर्नुपर्दछ।”
भार व्यवस्थापन गरेर ठूलो अनुपातमा लोडसेडिङ घटाउन र
विद्यमान उत्पादन क्षमताबाटै बढी ग्राहकहरूलाई लाभान्वित बनाउन सकिने
तर्क विज्ञहरूको छ। र, यसको लागि हाल धेरै उपभोक्ताले बाल्ने पुरानो
'फिलामेन्ट' चिमको सट्टा नयाँ प्रविधिबाट बनेको 'कम्प्याक्ट फ्लोरोसेन्ट
ल्याम्प' (सीएफएल) को प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन्। धेरै विद्युत्
खपत गर्ने फिलामेन्ट चिमलाई कम विद्युत् खपत गर्ने सीएफएल चिमले विस्थापित
गर्ने हो भने ४० देखि ६० प्रतिशतसम्म विद्युत् खपत कम गर्न सकिने विभिन्न
अध्ययनहरूले देखाएका छन्। प्राधिकरणका अधिकारीहरूले यसबारे थुप्रै
अध्ययन भएको स्वीकार गरे पनि कार्यान्वयन गर्नेतर्फ कुनै गम्भीर कार्ययोजना
ल्याएका छैनन्।
नेपालमा उत्पादन हुने कुल ६१७ मेगावाट विद्युत्मध्ये
६८ प्रतिशत अर्थात् ४१९ मेगावाट पिक आवरमा (साँझ ६ देखि राति १० बजेसम्म)
बत्ती बाल्न खपत हुने गरेकोले सबै उपभोक्ताले चिम मात्र बदल्ने हो
भने यसबाट प्राविधिक रूपमा २५० मेगावाटसम्म बिजुली बचाउन सकिने विशेषज्ञहरूको
भनाइ छ। आफू लगायत प्राधिकरणका अन्य कर्मचारीले गरेको एक अध्ययनलाई
उल्लेख गर्दै इञ्जिनियर कुसुम ज्ञवाली भन्छन्, “काठमाडाँैमा खपत हुने
२०० मेगावाटमध्ये ५७ प्रतिशत, अर्थात् ११४ मेगावाट, विद्युत् बत्ती
बाल्न प्रयोग हुन्छ, जसलाई ४० प्रतिशतले मात्रै कम गर्न सके पनि राजधानीबाट
मात्रै ४५ मेगावाट विद्युत् सहजै बचाउन सकिन्छ।” नेपालका अन्य शहरबजार
र ग्रामीण भेगमा त ९० प्रतिशतसम्म विद्युत् बत्ती बाल्नका लागि खपत
हुने गरेको छ।
फिलामेण्ट चिमलाई सीएफएलले विस्थापित गर्दा हुने फाइदाको
आकलन गर्दै बुटवल पावर कम्पनीका अधिकारी भन्छन्, “सिद्धान्ततः विद्युत्
बचतको परिणाम धेरै देखिने भए तापनि हालको परिस्थितिमा घटीमा पनि १००
मेगावाटसम्म त सहजै बचाउन सकिन्छ। यसबाट आउँदो दुई–तीन वर्षको विद्युत्
अभावलाई उल्लेख्य परिमाणमा कम गर्न सकिन्छ।” विद्युत् उत्पादन गृहबाट
ग्राहकको घरसम्म पुर्याउँदा हुने ह्रासलाई पनि हेर्ने हो भने यस किसिमको
व्यवस्थापन गरेर बचाइने एक युनिट बिजुली, उत्पादन गरिने डेढ युनिट
बराबर हुने उनी बताउँछन्।
विद्युत् बचत भन्दा उत्पादन ६–७ गुणा महँगो पर्ने गरेको
परिप्रेक्ष्यमा आर्थिक दृष्टिकोणले पनि विद्युत् बचत लाभदायक हुने
देखिन्छ। बुटवल पावरको एक अध्ययन अनुसार, पानीबाट एक किलोवाट विद्युत्
उत्पादन गर्न रु.१ लाख ५ हजारदेखि रु.२ लाख ४५ हजारसम्म लाग्छ भने
त्यति नै विद्युत् बचत गर्न रु.१७ हजारदेखि ३५ हजारसम्म खर्च गरे पुग्छ।
सीएफएलको प्रयोगले महिनैपिच्छे आउने बिजुलीको बिल घट्ने हुनाले यसबाट
उपभोक्तालाई पनि फाइदा हुन्छ। स्तरीय सीएफएल चिमहरू फिलामेण्ट चिमभन्दा
१० गुणासम्म महङ्गो पर्ने भए पनि तिनको प्रयोगबाट घट्ने बिजुलीको महसुलबाट
केही महिनामै चिमको लागि तिरिने बढी मूल्य उठ्ने चिम उत्पादकहरूको
दाबी छ।
गुणस्तरको खाँचो
सीएफएल चिमबाट अधिक फाइदा लिन तिनको गुणस्तर पनि राम्रो हुनुपर्छ।
बजारमा पाइने सीएफएलको गुणस्तरप्रति सङ्केत गर्दै बुटवल पावर कम्पनीका
अधिकारी भन्छन्, “आयातीत सीएफएल चिमहरू कुन मापदण्ड अनुसार हुनुपर्ने
भन्ने स्पष्ट नीति नभएकाले अधिकांश कमसल छन्। तिनको प्रकाश कम त हुन्छ
नै, चाँडो फ्यूज जाने र तोकिएको भन्दा बढी विद्युत् खाने पनि हुन्छन्।”
सरकारद्वारा ग्रामीण भेगमा अनुदान वा सहुलियत दरमा दिइने
विद्युतीय उपकरण परीक्षण गर्ने रेट्सका श्रीकृष्ण महर्जन कमसल गुणस्तरका
उपकरणहरूको प्रयोगले ग्राहकहरूको विश्वास गुम्ने कुरा उठाउँदै भन्छन्,
“हामीले कडा परीक्षणपछि मात्र वितरण गर्ने भएकाले तिनको गुणस्तरप्रति
त केही हदसम्म विश्वसनीय रहन सकिन्छ, तर निजी प्रयोजनमा आउने विद्युतीय
उपकरणहरूको गुणस्तर परीक्षण गर्ने कुनै संयन्त्र नभएकोले ग्राहकहरूले
स्तरीय उपकरणहरू पाउने सम्भावना कमै छ। यसले गर्दा उनीहरू ठगिने गरेका
छन्।”
मुलुकमा आयात गरिने प्रत्येक विद्युत् उपकरणको मापदण्ड
तोकेर परीक्षण गरेपछि मात्र बिक्री गर्न दिइनुपर्ने विज्ञहरूको सल्लाह
छ। शुरुमा महँगो परे पनि अन्ततः स्तरीय चिम नै किफायती हुने स्पष्ट
गर्दै अधिकारी भन्छन्, “सस्तो सामान खरिद गर्दा शुरुमा लगानी त कम
हुन्छ, तर त्यस्ता सामान चाँडै बिग्रिन्छन् र तिनले विद्युत् बिल पनि
बढी उठाउँछन्।”
सीएफएलमा रुपान्तरित हुने हो भने विद्युत् वितरण पनि
स्तरीय हुनुपर्दछ। तुलनात्मक रूपले काठमाडौँमा प्रदान गरिने विद्युत्को
भोल्टेज राम्रो भएपनि अन्य शहरबजार तथा गाउँघरमा भोल्टेज अपुग हुने
बताउँदै महर्जन भन्छन्, “विद्युत्को गुणस्तरका कारण ग्राहकहरूको महँगो
उपकरण बिग्रियो भने उनीहरूले दोहोर्याई–तेहर्याई त्यस्तो उपकरण नकिन्ने
सम्भावना हुन्छ।” यो कुरालाई स्वीकार गर्दै प्राधिकरणले सुधारका लागि
गृहकार्य गरिरहेको निर्देशक शाक्य बताउँछन्।
करिब २० प्रतिशत नेपाली जनताले मात्र बिजुली बाल्न पाइरहेको
स्थितिमा जति नै विद्युत् उत्पादन गरे तापनि प्राधिकरणलगायत अन्य विद्युत्
उत्पादकहरूले समग्र उपभोक्ताको वास्तविक माग पूर्ति गर्न वर्षौँ लाग्छ।
नेपाललाई संसारकै दोस्रो ठूलो जलस्रोतको धनी राष्ट्र भन्ने र भारत
तथा चीनलाई बिजुली बेचेर आर्थिक विकास गर्ने कुरा जति नै सुनिने गरेपनि
यहाँको विद्युत् उत्पादन लागत संसारकै महँगोमध्ये पर्दछ। उत्पादित
विद्युत् बचत गरेर सबै उपभोक्तालाई पुर्याउन र उपभोक्ताको आर्थिक
भार घटाउन गुणस्तरीय सीएफएलको प्रवर्द्धन एउटा राम्रो विकल्प हुनसक्छ।
सीएफएलः दुई महिनामा
लगानी उठ्छ |
सीएफएल चिम |
फिलामेण्ट चिम |
एक महिनामा उठ्ने विद्युत
महसुल (रु.)८ |
सीएफलएलको लगानी उठ्ने
अवधि |
वाट |
मूल्य (रु.) |
वाट |
मूल्य (रु.) |
सीएफएल |
फिलामेण्ट |
महिनामा |
७ |
१७५ |
४० |
१५ |
९.१९ |
५२.५६ |
२.३ |
११ |
२१५ |
६० |
१५ |
१४.४५ |
७८.८४ |
२.२ |
२० |
२७५ |
१०० |
१६ |
२६.२८ |
१३१.४० |
१.९ |
नोटः १ युनिट विद्युत्को महसुल रु.७.३०। सिएफएल
तथा फिलामेण्ट चिमको औसत आयु क्रमशः ५ हजार तथा १ हजार घण्टा रहने
अनुमान गरिएको छ।
* प्रतिदिन ६ घण्टा प्रयोगको आधारमा।
विश्वव्यापी विकल्प
सीएफएल चिमलाई विश्वव्यापी ऊर्जा सङ्कट समाधानको लागि उपयोगी ठानेर
अष्ट्रेलिया र युरोपेली मुलुकहरूले आगामी तीन–चार वर्षभित्र फिलामेन्ट
चिमलाई पूर्णरूपले विस्थापित गरी सीएफएल चिमको प्रयोग गर्ने निर्णय
गरेका छन्। एशियाकै श्रीलङ्का, थाइल्याण्ड र भियतनामजस्ता राष्ट्रमा
पनि सरकारले ऊर्जा सङ्कट हल गर्न सीएफएललाई अनुदान दिन शुरु गरेका
छन्। अन्य देशमा भएका यस्ता अभ्यासलाई नेपालमा पनि पछ्याउन सकिने बताउँदै
इञ्जिनियर ज्ञवाली भन्छन्, “क्रयशक्ति कम भएका ग्राहकहरूलाई प्राधिकरणले
किस्तामा सीएफएल चिम बाँड्नुपर्छ भन्ने हाम्रो सिफारिस छ।”
|