रमझम
पोखरेली सुन्दरी
पोखरा, बगर निवासी बबिना
शर्मा को चाहना मोड्लिङको ग्ल्यामर दुनियाँमा रमाउने
र एयर होस्टेस बनेर आकाशमा उड्ने छ। भन्छिन्, “एयर होस्टेस बन्ने रुचि
पूरा गर्न त्यसको तयारी पनि गरिरहेकी छु।” एक दर्जन फेशन शो, ८ म्युजिक
भिडियो र केही विज्ञापनमा समेत काम गरेकी बबिनाले मिष्टर एण्ड मिस
पोखरा र केही फेशन शोको कोरियोग्राफी पनि गरेकी छिन्।
र्याम्पमा आफैँ बिरालो चालमा हिँड्नु र अरूलाई 'क्याट्वाक'
सिकाउनुमा “उस्तै भए पनि, अरूलाई सिकाउने काम अलि गाह्रो नै हुन्छ”,
भन्छिन् उनी। राजधानीमा रहेर फेशन–मोड्लिङ गरिसकेकी उनी हाल भने पोखरामै
रमाइरहेकी छिन्। उनी भन्छिन्, “पोखरामै फेशन–मोड्लिङको प्रोमोशन गरुँ
भनेर यहीँ बसेकी हुँ।” काठमाडौँमा धेरै अवसर र प्रचार पाए पनि आफूलाई
पोखरा नै बस्न मन लाग्ने गरेको उनको भनाइ छ।
परिवारकी जेठी छोरी बबिनाको बिहे गर्न घरबाट जोडी खोज्ने
काम भइरहेको छ तर 'लभम्यारिज' मनपराउने उनले कसैलाई रोजेकी भने छैनन्।
• अनुशील
तस्बिर:अनुप प्रकाश
शृङ्गार: साण्ड्रा, ब्युटी क्लब, पोखरा
स्थान: एभीया क्लब, पोखरा
रमझम रिपोर्ट
सेन्सरको बखेडा
लोकतान्त्रिक राज्यमा सेन्सरको औचित्य नभएको
भन्दै चलचित्रकर्मीले सेन्सर बोर्ड खारेज गरी नयाँ पद्धति अपनाउन माग
गरिरहेका छन्।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| चित्र संयोजनः सुरेशराज न्यौपाने |
सूचना तथा सञ्चार
मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)
ले २९ चैतमा चलचित्र अहङ्कार का केही दृश्य हटाएर ल्याउन परिपत्र जारी
गरेपछि चलचित्र क्षेत्रमा 'सेन्सरको औचित्य' का बारे बहस शुरु भएको
छ। ३ जेठमा नेपाली चलचित्रसँग सम्बद्ध ११ संघ–संस्थाले सूचना तथा सञ्चार
मन्त्री कृष्णबहादुर महरालाई एक ज्ञापनपत्र बुझाउँदै गैर चलचित्रकर्मीहरू
रहेको सेन्सर बोर्ड अविलम्ब खारेजी तथा अहङ्कार माथिको अघोषित प्रतिबन्ध
फुकुवा गर्न माग गरेका छन्।
चलचित्रकर्मीहरूले बोर्डलार्ई राजनीतिक नियुक्तिको थलो
बनाई पदाधिकारीहरूलाई भत्ता खुवाउने काम मात्र भइरहेको आरोप लगाउँदै
आएका छन्। हाल सञ्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको अध्यक्षतामा
रहेको बोर्डका अन्य सदस्यमा गृह–मन्त्रालयका सह–सचिव वामनप्रसाद न्यौपाने,
संस्कृति तथा पर्यटन मन्त्रालयका एक प्रतिनिधि सरकारका तर्फबाट रहेका
छन्भने सदस्यसचिवमा सञ्चार मन्त्रालयकी उपसचिव प्रभा पाण्डे रहेकी
छिन्। त्यस्तै राजनीतिक नियुक्तिमा रमा गुरागाई, हेमन्त बुढाथोकी,
दामोदर दवाडी र सुरेन्द्र खड्का रहेका छन्। यी चार जनालाई चलचित्र
सम्बन्धी विज्ञ भनेर नियुक्ति गरिए पनि हेमन्त बुढाथोकी मात्रै कलाकार
हुन्।
 |
अशोक शर्मा
अध्यक्ष, चलचित्र निर्माता संघ |
एक नेपाली चलचित्र सेन्सर पास गर्न रु.५ हजार राजस्व,
बोर्डका सदस्यहरूलाई प्रतिव्यक्ति रु.१ हजार भत्ता तथा खाना, खाजा,
ट्याक्सी र हल भाडा गरेर निर्माताको १८ देखि २० हजार खर्च हुन्छ। हिन्दी
चलचित्रले भने सेन्सरका लागि १० हजार राजस्व र अन्य खर्च व्यहोर्नु
पर्छ। प्रत्येक महिना सरदर २ नेपाली र १० विदेशी चलचित्र सेन्सरका
लागि बोर्डमा पुग्ने गर्छन्। यस्तै विज्ञापन सेन्सरका लागी पनि ५ हजार
राजस्व लाग्ने गरेको छ। त्यसो त, बोर्डले करीब तीनदशकअघिकै कानूनलाई
पछ्याइरहेको छ। बोर्डका अध्यक्ष रेग्मी नेपाल चलचित्र ऐन २०२६ अनुसार
चलचित्र जाँचपास गर्दै आएको बताउँछन्। रेग्मीका अनुसार बोर्डले राष्ट्रिय
अखण्डता, साम्प्रदायिकता, शान्तिसुरक्षा तथा सामाजिक विकृति आदि पक्षलाई
विशेष ध्यान दिने गरेको छ।
सेन्सरका नाममा प्रचार!
सार्वजनिक प्रदर्शनमा रोक लगाएको अहङ्कार का कारण अहिले बोर्ड र चलचित्रकर्मीबीचको
दूरी एकाएक बढेको हो। बोर्डले अहङ्कार सँगै बारुद नामक चलचित्रलाई
समेत केही संवाद परिवर्तन गर्न भनेको छ। निर्णय चित्त नबुझे ३५ दिनभित्र
निवेदन दिन सकिने प्रावधान भए पनि दुवै चलचित्रले सेन्सरका नाममा आफ्नो
प्रचार गरिरहेको बोर्डका अध्यक्ष रेग्मी बताउँछन्। भन्छन्, “अहिले
यी चलचित्रका निर्माता–निर्देशक व्यापारिक फाइदाका लागि सेन्सरको नाम
लिँदै प्रचारतिर लागेका छन्।”
 |
नारायणप्राद रेग्मी
अध्यक्ष, सेन्सर बोर्ड |
सञ्जिव प्रधानको निर्माण र दिनेश कार्कीद्वारा निर्देशित
अहङ्कार मा रहेको आपत्तिजनक दृश्य तथा संवादका कारण सदियौँदेखि रहेको
जात, जाति, धर्म, सांस्कृतिक एकतामा खलल पुर्याउने र साम्प्रदायिक
दङ्गा भड्किन सक्नेे बोर्डको दावी छ। उक्त चलचित्रको “पहाडियाहरूको
सखाप पारिदिन्छु, पहाडेलाई डाँडा कटाई दिनुपर्छ, मधेशियालाई पारी कटाई
दिनुपर्छ...” जस्ता संवादहरूमा बोर्डले आपत्ति जनाएको छ। त्यस्तै दृश्यहरूमा
“पहाडी समुदाय र मधेशी समुदायबीचको भिडन्त, बलात्कारका दृश्य, गालीगलौज,
बीभत्स लास र भाला, लाठी, खुकुरी, बन्दूकको प्रयोग र रगतको आहाल” को
दृश्यहरू बोर्डले हटाउन भनेको छ।
निर्माता प्रधान बोर्डले काट्नु भनेका दृश्यहरू हरेकजसो
नेपाली चलचित्रहरूमा देखिँदै आएका दृश्य नै भएको दाबी गर्छन्। उनी
भन्छन्, “हामीले पहाडे, मधेशी जसको रगत बगे पनि नेपालीकै रगत बग्छ
भनेर शान्तिको सन्देश छर्ने काम गरेका छौँ।” बोर्डले भनेजस्तो सबै
दृश्य हटाएमा चलचित्रमा हेर्न बाँकी केही नरहने बताउँदै उनले भने “ठीक–बेठीकको
निर्णय गर्ने अधिकार दर्शकलाई दिइनुपर्छ।”
बोर्डका अध्यक्ष रेग्मी अहङ्कार मा समावेश संवाद र दृश्यले
हाल समस्या भोगिरहेको तराईको आगोमा घ्यू थप्ने बताउँछन्। देशमा मधेशी–पहाडीबीच
कुनै विवाद, समस्या नभएको भए चलचित्रलाई यसै छाड्न मिल्ने बताउँदै
उनी भन्छन्, “तराईमा यत्रो वैमनस्यता देखिएको र पहाडी–मधेशी विरुद्धका
गतिविधि समेत भइरहेको अवस्थामा यस्तो चलचित्र कसरी प्रदर्शन गर्न दिने?”
विवाद उत्पन्न भएपछि सञ्चारमन्त्रालयका सचिव शङ्कर कोइराला र सञ्चार
मन्त्रीका सल्लाहकार महेश्वर दाहालले १० जेठमा सो चलचित्र हेरेर बोर्डको
आपत्ति जायज भएको ठहर गरेका छन्। चलचित्रमा सकारात्मक सन्देश भन्दा
बढी नकारात्मक कुरा देखाइएको बताउँदै रेग्मीले छलफलमा चलचित्रका निर्माता–निर्देशक
केही कुरा बदल्न तयार भइसकेको बताए। बलिदान चलचित्रका निर्माता श्याम
सापकोटा भने यो चलचित्र पनि अन्य मसालेदार हिन्दी चलचित्रबाट प्रभावित
औसत चलचित्र नै भएको बताउँदै बोर्डले रोकेर अझ प्रचार गरिदिएको बताउँछन्।
सेन्सर बोर्डले अहङ्कार लाई रोकेपछि यसले सञ्चारमाध्यममा
पाएको प्रचारले अन्य निर्माताहरू लोभिनु स्वाभाविकै हो। अहिले अहङ्कार
सँगै बारुद चलचित्र पनि सेन्सरको फन्दामा परेको प्रचार भइरहेको छ।
यसका निर्देशक सोभित बस्नेत सेन्सरले आफ्नो चलचित्रमा प्रयोग भएका
“साले, अनाथ, टुहुरो जस्ता शब्द र प्रहरीलाई खलनायक देखाइएको” भनेर
आपत्ति जनाएको बताउँछन्। भन्छन्, “टुहुरो र अनाथ शब्दमा आपत्ति जनाइएको
छ जबकि यसअघि नै यी नामबाट चलचित्र नै बनिसकेका छन्।” उता सेन्सरबोर्डका
अध्यक्ष रेग्मी भने बारुद चलचित्रमा प्रयोग भएका केही शब्द ठीक नलागेको
बताउँछन्। रेग्मीका अनुसार चलचित्रमा “डा. भोला रिजालले मार्न पठाएको,
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मार्न पठाएको...” जस्ता संवाद छन्।
त्यस्तै “साले–खाते पत्रकार! साले पुलिस!” आदि शब्दहरू प्रयोग भएका
छन्।
उनी भन्छन्, “यस्तो संवाद कसरी जान दिने? पेशा र समुदायलाई
यसरी गाली गर्न मिल्छ?” सो चलचित्रका संवादलाई डविङमा हेरफेर गर्न
सुझाव दिएको तर यसैलाई सेन्सरको नाममा चलचित्रको प्रचार गरिरहेको रेग्मीले
लगाए। यसअघि बोर्डले केही दृश्य काटेपछि मात्र आगो लाई प्रदर्शनको
अनुमति दिएको थियो भने शाही शासनकालमा बलिदान चलचित्रको सार्वजनिक
प्रदर्शनमा प्रतिबन्ध नै लगाइएको थियो।
'चाहिँदैन सेन्सर'
 |
| शाही शासनकालमा प्रतिबन्धित बलिदान चलचित्रमा
हरिवंश आचार्य। |
चलचित्रकर्मीले आमसञ्चारका अन्य माध्यममा नहुने सेन्सर
चलचित्रमा मात्र लागू गरिएको भन्दै सेन्सरबोर्डको खारेजीको माग समेत
गर्दै आएका छन्। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्मा
चलचित्रका बारेमा बुझ्दै नबुझ्नेहरूले गर्ने सेन्सर हटाइनुपर्ने बताउँछन्।
भन्छन्, “सेन्सरबोर्डको कुनै औचित्य छैन, यो हटाउनुपर्छ।” शर्माका
भनाइमा सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा बन्देज लगाएका कारण अभिव्यक्ति
स्वतन्त्रता हनन् भएको छ। शर्माको आरोप छ, “बोर्ड राजनीतिक नियुक्तिको
थलो र पदाधिकारीहरूका लागि भत्ता खाने ठाउँ मात्र भइरहेको छ।”
चलचित्रकर्मी नवीन सुब्बा लोकतान्त्रिक खुल्ला समाजमा
सेन्सर नै हुनुहँुदैन भन्छन्। उनको प्रश्न छ, “यहाँ पत्रपत्रिका, रेडियो,
टेलिभिजन आदिमा सेन्सर हुँदैन भने चलचित्रकर्मीलाई मात्र किन सेन्सर?”
सुब्बा हालको सेन्सर पद्धति तुरुन्तै हटाएर दर्शकको उमेरअनुसार चलचित्रको
श्रेणी छुट्याइनुपर्ने बताउँछन्। उनी भन्छन्, “सेन्सर राख्ने नै भए
पनि समाजका सबै वर्गको प्रतिनिधित्व गराउनुपर्छ।”
चलचित्र निर्देशक यादव खरेल भने हाम्रो नेपाली समाज
अझै विकसित हुन बाँकी नै रहेकाले चलचित्र सेन्सरलाई यथावत् राख्नुपर्ने
बताउँछन्। सेन्सरको आवश्यकता औँल्याउँदै खरेल भन्छन्, “सेन्सर बोर्ड
खारेज हैन, परिमार्जन भने गर्नु जरुरी छ।” सेन्सर गर्दा बोर्डका पदाधिकारीले
'चलचित्र नहेर्ने, पैसा मात्र हेर्ने' खरेलको आरोप छ। अध्यक्ष रेग्मी
भने जबसम्म सरकार र कानूनले सेन्सरबोर्ड राखी रहन्छ तबसम्म यो प्रक्रिया
अपनाउनै पर्ने बताउँछन्। भन्छन्, “सरकारले भोलि बोर्ड नै हटाए अर्को
कुरा नत्र रहुञ्जेल हामी हाम्रो काम गर्छौँ।” मन्त्रालयबाट कुनै छलफल,
मिटिङमा जाँदा भत्ता पाइने प्रक्रिया सामान्य भएको बताउँदै उनी भन्छन्,
“कानुनले दिएको भत्ता खान के को आपत्ति! हामीले भत्तामा पनि कर तिरेका
छौँ।” भारतमा अझै पनि सेन्सर बोर्डको महत्त्व उत्तिकै रहेको उनी बताउँछन्।
अहङ्कार चलचित्रका जस्तै सामाजिक एकतामा खलल पुग्ने दृश्यहरू रहेकै
कारण भारतीय सेन्सर बोर्डले आम्ची मुम्बई नामक चलचित्र माथि प्रतिबन्ध
लगाएको रेग्मी बताउँछन्।
सरकारको स्पष्ट धारणा आइनसकेकाले सेन्सर बोर्ड हटाउने
कि राख्ने भन्ने अहिलेको विवादको कुनै टुङ्गो तुरुन्तै लाग्ला जस्तो
देखिन्न। तर, हालको सेन्सर पद्धतिलाई परिमार्जन गरेर चलचित्रको श्रेणी
वर्गीकरण या यसमा नयाँ अवधारणा ल्याउन भने आवश्यक भइसकेको छ।
रमझम विविध
इमेज अवार्डः पुरस्कारको ताती
नेपाली गीत–सङ्गीतको
क्षेत्रमा ठूलो महत्त्व राख्ने इमेज अवार्डको १२ जेठमा राजधानीमा सम्पन्न
नवौँ संस्करणले सङ्गीत सर्जक र पारखीमाझ नयाँ अध्याय थपेको छ। सो अवसरमा
सङ्गीतका २५ विधामा उत्कृष्टता चयन गरियो भने लाइफ टाइम अचिभमेण्ट
अवार्ड बाट गायक दीप श्रेष्ठको सम्मान गरियो।
टुबोर्ग इमेज अवार्ड २०६४ मा आधुनिक, लोक–दोहोरी, पप–रक,
चलचित्र गायनसँगै भाषा–भाषीका गीतहरू एकैथलोमा पुरस्कृत गरिनु महत्त्वपूर्ण
पक्षको रूपमा रह्यो। नेपाल भाषा, तामाङ भाषा र मैथली भाषाका गीतलाई
समेत समावेश गरेर इमेजले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छ। यसपटकको
इमेज अवार्डमा प्रत्येक विधामा मनोनयनमा परेका पाँचमध्ये एकलाई उत्कृष्ट
घोषित गरिएको थियो।
समारोहमा रामकृष्ण ढकाल पुरुष र प्रतिमा राजभण्डारीले
महिला गायनमा सर्वोत्कृष्ट उपाधि पाए। सर्वोत्कृष्ट अल्बम हेमन्त शर्माको
आत्मीय भयो भने सर्वोत्कृष्ट गीतको उपाधि राजेश पायल राईको शिरै फूल
शिरबन्दी...ले पायो। रचनातर्फ दिनेश अधिकारी, सङ्गीतमा राजु सिंह,
सङ्गीत संयोजनमा राजन इशान र दिपेश प्रधानले सर्वोत्कृष्ट गीत मुद्रणको
उपाधि पाए। पपगायनमा पुरुषमा निमा रुम्बा र महिलामा पूजा राई सर्वोत्कृष्ट
घोषित भए। सर्वोत्कृष्ट नवगायक जविक घोषित भए। समूह गायनमा मङ्गोलियन
हर्ट रक गायनमा एम.टी. ८८४८ सर्वोत्कृष्ट भयो। राष्ट्रिय भावनाको गीतमा
रानुदेवी र सुमित खड्काले उपाधि पाएँ।
त्यस्तै लोकगीततर्फ बद्री पङ्गेनी र दोहोरीमा विष्णु
खत्री र बीमाकुमारी दुरा सर्वोत्कृष्ट भए। चलचित्र गीततर्फ हिम्मतबाट
महेश खड्का पुरस्कृत भए। भाषा–भाषी गीततर्फ नेपाल भाषामा सतिश महर्जन,
तामाङ भाषामा शशिकला मोक्तान र मैथलीमा विष्णु मण्डल र सञ्चिता सिंह
सर्वोत्कृष्ट घोषित भए। म्युजिक भिडियो तर्फ निर्देशकमा आलोक नेम्बाङ
र सर्वोत्कृष्ट म्युजिक भिडियोमा भूषण दाहालको माया गर्नेको...ले उपाधि
पायो। छायाङ्कनमा सागर प्रधान, सम्पादनमा प्रकाश तुलाधर र इस्पेशल
इफेक्टमा भरत रेग्मी पुरस्कृत भए।
सरकारीस्तरबाट साङ्गीतिक क्षेत्रमा कुनै पनि अवार्डहरू वितरण नगरिएको
अवस्थामा इमेज र हिट्स एफएमले बर्सेनि यस्ता आयोजना गरेर नेपाली सङ्गीतको
श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
• अनुशील
मधेश आन्दोलनको असर सङ्गीतमा
मधेश
आन्दोलनको असर साङ्गीतिक क्षेत्रमा समेत पर्न थालेको छ। स्पाइस नेपालले
आफ्नो उत्पादन मेरो मोबाइल को व्यावसायिक प्रचार–प्रसार गर्ने क्रममा
वीरगञ्जमा १२ जेठमा गर्ने तयारीका क्रममा मञ्च समेत बनाइसकेको (हे.तस्बिर)
साङ्गीतिक कार्यक्रम जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)को
धम्कीका कारण हुन पाएन। प्रस्तुत गरिने गीत तथा उद्घोषण अनिवार्य रूपमा
भोजपुरी भाषामै हुनुपर्ने अन्यथा भौतिक कारबाही हुने मोर्चाले फोनबाट
मौखिक धम्की दिएपछि कार्यक्रम स्थगित भएको हो। प्रसिद्ध गायक–गायिकाहरूको
सहभागिता रहने कन्सर्टमा टिकटसँगै फोनको सिमकार्ड पनि पाइने भएकाले
५ हजारभन्दा बढीले टिकट लिइसकेका थिए। कार्यक्रम स्थगित हुँदा आयोजकले
कम्तीमा पनि रु.५ लाख रुपैयाँ घाटा भएको बताए। आफूहरू भने अहिले पनि
प्रेस विज्ञप्ति तथा अन्य पत्रहरू सबै नेपालीमै लेखेर पठाउने अरूलाई
चाहिँ भोजपुरीमै मात्र कार्यक्रम गर्नुपर्छ भन्ने मोर्चाको सो कार्यलाई
वीरगञ्जमा अनौठो मानिएको छ।
• राजु
श्रेष्ठ, वीरगञ्ज
प्रकाशको प्रयोग
चार वर्षअघि
नाइँ मलाई त्यही केटी चाहिन्छ...भन्दै रोई–कराई गरेको गीत गाएर चिनिएका
गायक प्रकाश पौडेलले पछिल्लो समयमा भने फरक शैलीका सामाजिक सन्देश
दिने गीत गाए पनि 'रुञ्चे गायक' को छवि भने उनले मेट्न सकेका छैनन्।
कतारमा एक वर्ष रोजगारी गरेर फर्केका उनले
कतारका नेपालीको दुःख, सुख समेत समेटेर साइको नामक अल्बम बजारमा ल्याएका
छन्। सो अल्बममा प्रकाशले र्याप दोहोरी र अरबी धुनलाई नयाँ प्रयोगका
रूपमा प्रस्तुत गरेका छन्। कतारको एक पेट्रोलपम्पमा क्यासियरको काम
गर्दै एक वर्ष विताउँदा उनले वैदेशिक रोजगारमा देश छाडेर आउने नेपालीको
दुःख र पीडालाई नजिकैबाट नियालेका थिए।
दाल–भात तरकारी, जागिर कतारी.... बोलको
गीतमा उनले विदेश जाँदा धेरै नेपालीहरू दलालबाट ठगिने भएकाले ध्यान
दिनुपर्ने कुराहरू समेत समेटेका छन्। प्रकाश भन्छन्, “घर जग्गा धितो
राखेर विदेशिने नेपाली दाजुभाइहरूको पीडा देखे–भोगेकाले पनि मैले गीतलाई
जिवन्त बनाउने प्रयास गरेको छु।” उनका गीतमा खाडीका नेपालीका कथा–व्यथासँगै
चर्चित अरबी धुन 'हबीबी' पनि सुन्न पाइन्छ। धौलागिरी क्यासेट सेण्टरले
बजारमा ल्याएको प्रकाशको साइको मा समेटिएका ९ गीतमध्ये अन्य गीतहरू
पनि फरक स्वादका रहेको प्रकाश बताउँछन्। लोक–दोहोरी गायिका बीमाकुमारी
दुरासँग उनले आउन आउन माया लाउन... भन्दै पहिलो पटक र्याप दोहोरी
गाएका छन्। सबैका लागि शिक्षाको नाराका साथ प्रकाशले आमा, आमा किन्देउन
मलाई जामा, म पनि स्कूल जान्छु... बोलको अर्को चेतनामूलक गीत पनि अल्बममा
समेटेका छन्।
|