हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक परिचय

महिला स्रष्टाको युगबोध

शारदा शर्मा, पद्मावती सिंह र झामककुमारी सबैले आ–आफ्ना पछिल्ला कृतिहरूमार्फत् महिला स्वतन्त्रताको पक्षमा दरिलो आवाज उठाएका छन्।

तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा
बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व
प्रेमले घृणा पोत्छु
मायाले घात छेक्छु
छियाछिया भएको घाइते हृदयले
म नित्य तिम्रा निम्ति
नवीन खुसीका कविता लेख्छु।
(पीडाको सौन्दर्य)


कवयित्री शारदा शर्माका यस्तै भावहरू बटुलेर मुक्त आलेखहरूको एउटा गहकिलो ग्रन्थ अग्नि स्पर्श निस्केको छ।
'...कहिले सभ्यताका नाममा, कहिले संस्कृतिका नाममा, कहिले आदर्शका नाममा सधैँभरि अन्याय गर्‍यौँ, उभिन–चल्न–प्रश्न गर्न दिएनौँ र एकोहोरो, फैसलाहरू मात्र सुनायौँ। तिनै स्वास्नीमान्छेहरूलाई जसले कहिल्यै मान्छे भएकोमा खुसी मनाउन पाएनन्' यिनै स्वास्नीमान्छेहरूमध्येकै एक शारदाकी आमा र अन्य आमाहरूमा अर्पण भएको ग्रन्थ हो– अग्नि स्पर्श।

कृतिमा अग्निका विभिन्न रूपमा महिलाको जिन्दगीले व्यहोर्नुपर्ने अवस्थाहरू भेटिन्छन्। यसबाहेक नारी संवेदना र ममतामयी आमाहरूका कथा, कविता; कीर्ति, स्वतन्त्रताको सुगन्ध, आध्यात्मिक सन्धान आदिका भिन्दाभिन्दै स्वादमा विचार र अनुभूति पोखेकी छन्, शारदा शर्माले। स्रष्टासँगै भावनाको गहिराइमा सँगसँगै पस्न सकिन्छ यसमा। कृतिमा जीवनका पारदर्शी यथार्थ र भावनाका धेरै आकार भेटिन्छन् जसलाई पाठक आफैँले स्पर्श गर्न सक्छन्।

५ फागुन २०६१ मा सशस्त्र प्रहरी आधारशिविरमा रहँदा लेखिएको नरहरिको 'भूमिका' ले समेत बताउँछ– नारी र पुरुष स्रष्टाको दाम्पत्य यात्राको रोचक कथा। मजबुत दाम्पत्यका निम्ति आपसी समझदारी र बुझाइसँग आ–आफ्नै दृष्टिकोणको टक्कर पनि कति सहज हुँदोरहेछभन्ने यसबाट अनुभव गर्न सकिन्छ। झण्डै एकदशक अगाडि नियमित स्तम्भमा व्यक्त गरिएका भावनासमेत अग्नि स्पर्श मा पुनः समेटिएका छन्।

यो समयले अन्य दुई हस्ताक्षरलाई पनि चर्चामा ल्याइदिएको छ– साहित्यकारद्वय पद्मावती सिंह र झमक घिमिरे।
कथाकार पद्मावती सिंहको पहिलो उपन्यास समानान्तर आकाश ले साझा पुरस्कार पाउने घोषणा भएको छ, २०६२ मा साझा प्रकाशनद्वारा प्रकाशित उत्कृष्ट कृतिका रूपमा। समानान्तर आकाश ले समानताको तीब्र आकाङ्क्षा बोकेको छ।

नारी स्वतन्त्रताको पक्षमा नारी हस्ताक्षरले उठाएका अनगिन्ती समस्याले पढे–लेखेकी 'सम्पन्न' महिलालाई समेत अदृश्य, अव्यक्त रूपमा कसरी गाँजिरहेका हुन्छन् भन्ने कुरालाई नजिकबाट देखाइदिएझैँ लाग्छ यस उपन्यासमा। महिला समस्यामा आधारित उपन्यासकी पात्र सुस्मिताले भोग्नु परेका समस्या अन्य जो–कोही महिलाले आजको समाजमा भोग्न बाध्य छन्। यसमा अभिव्यक्त स्वास्नीमान्छेको मनलाई पढ्दा लाग्छ– यो शताब्दीका महिलाको एक सजीव पीडा हो यो। आफैँभित्र छन् व्यथा र बुझी नसक्नु एक्लोपन। कुण्ठा पनि छँदैछ तर साथमा सशक्त चेतना पनि छ। पढे–लेखेका सशक्त महिलामा रहेका कमजोर पक्ष र उज्यालो पक्ष सबै दुईपाटा जस्तै भएर उपन्यासमा देखा पर्छन्।

यो उपन्यासले अन्त्यमा प्रेमका निम्ति सयौँ बाटो खोल्ने प्रयासलाई सार्थक ढङ्गले प्रस्तुत गरेको छ। उपन्यासकी मूल नायिकाको 'दुःखको दस्तावेज' यो समयका महिलाको सम्भावना र स्वतन्त्रताको दस्तावेज जस्तो लाग्दछ।

अर्को कृति छ, चर्चित महिला स्रष्टा झमक घिमिरेको निबन्ध सङ्ग्रह बेमौसमका आस्थाहरू। एक दशकभन्दा बढी देशले खेपेको द्वन्द्वको कारणले होस् या स्रष्टा आफैँ एक स्वास्नीमान्छे हुनु र त्यसमा पनि शारीरिक रूपमा अपाङ्ग रहनुका कारण; कृतिभित्र विद्रोह र नारी संवेदनाका निस्सासिएका आवाजहरू छन्। यो पनि एक वर्षअगाडि नै तयार भएको सङ्ग्रह पुस्तकको रूपमा भने भर्खरै बाहिरिएको छ।
झमकका रचना–कृतिहरू अन्य कुनै महिला या पुरुष स्रष्टाहरूभन्दा किन पनि पृथक् छन् भने अरू स्रष्टाहरू हातले लेख्छन् तर झमक खुट्टाका तीन औँलाको भरमा लेख्छिन्। उनका भावहरूले भने अन्यायका विरुद्ध साहसिक आवाज भएर विद्रोह गर्छन्।

सदियौँदेखिका महिला समस्या, महिलामाथि भएका अन्याय, अत्याचारविरुद्ध सतीप्रथादेखि नै उत्खनन् गरेर बेमौसमका आस्थाहरू मार्फत् दह्रो आवाज पोखेकी छिन् झमककुमारीले। 'गर्भ, यौन, बासना, सन्तुष्टि र आइमाई' जस्ता विषयमा लेखिका आफैँ पसेर स्वास्नीमान्छेका निस्सासिएका भावहरूलाई व्यक्त गरेकी छन््। आमा र प्रेम, सिउँडीका फूल र म जस्ता निबन्धमा उनको आत्मकथाको झझल्को भेट्न सकिन्छ।

आफैँ हिँड्न नसक्ने भएकाले घरको एउटा सानो कोठामा बसेर पनि– थुप्रै कुमारी आमा, वेश्या र विधवाका विशिष्ट समस्याभित्र लेखिका आफैँ पसेकी छन्् र नारीवादको प्रखर प्रवक्ताको रूपमा कलम चलाएकी छिन्। आवाजविहीन महिलाहरूको 'आवाज' बनेर अक्षरहरूको जुलुसझैँ लाग्दछ, यो निबन्ध सङ्ग्रह। '...जसले जसरी चिने पनि म पिछडिएको वर्गको आवाज बोक्ने मान्छे हुँ' भूमिकामा स्रष्टा स्वयंले आफ्नो दह्रो परिचय दिएकी छन्।

यतिबेलाको संयोग र समयकै कुरा गर्दा शारदा शर्मा, पद्मावती सिंह र झमककुमारी सबैले आ–आफ्ना कृतिमा महिला स्वतन्त्रताका दरिला आवाज व्यक्त गरेका छन्। यो अवस्थालाई हेर्दा लाग्दछ, अबका महिलाहरूको दिन फिर्दैछ। उनीहरूले हिजो जस्तै पुरुषतन्त्रको जाँतोमुनि पिल्सिएर जीवनकथालाई टुङ्ग्याउनुपर्दैन। साहित्य र सृजना उज्यालोतिर फर्किसकेका छन्। कृतिकारहरूको साहसिक आवाज र अभिव्यक्तिका निम्ति हार्दिक बधाई!

सुलोचना मानन्धर