फोटोफिचर मुगुको पीडा
पहिले चामल अनि चुनाव
११ जेठमा
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं माओवादी नेता खड्गबहादुर
विश्वकर्मा एउटा उच्च माध्यमिक विद्यालय उद्घाटन गर्न मुगु, कोटडाँडा
गाविसको लुइगाउँ गए। सदरमुकाम बाहिर पुगेका मन्त्रीले नयाँ नेपाल निर्माणको
भाषण के शुरु गरेका थिए, स्थानीय बासिन्दाले एकस्वरमा भने, “पहिले
खान दिनुस् र भोकमरीबाट जोगाउनुस्, अरू कुरा पछि गर्नुहोला।” नयाँ
नेपाल बनाउन संविधानसभाको चुनाव गर्नुपर्ने मन्त्रीको भनाइ सुन्नासाथ
मुगाली जनताले भनेका थिए, “पहिले चामल दिनुस्, अनि चुनाव गर्नुहोला।”
आफूलाई 'राज्यविनाका नागरिक' मान्ने मुगुवासी काठमाडौँबाट आफूहरू हदै
उपेक्षित भएको ठान्छन्। मानव विकास प्रतिवेदनले मुगुवासीको औसत उमेर
३६ वर्ष देखाउँछ। जिल्लामा सडक छैन। उब्जनीले बल्लतल्ल तीन महिना खान
पुग्छ। भोकमरी, सरुवा रोगको महामारी नियति बनेको छ। खाद्य संस्थानले
पठाउने चामल चाडपर्वमा मुख मीठो पार्न ठिक्क हुन्छ। बेरोजगारी कति
डरलाग्दो छ भने कमाउने उमेरका आधाभन्दा बढी मुगुवासी ज्याला–मजदुरी
गर्न भारत जान्छन्। जिल्लामा क्याम्पस छैन। १८ प्रतिशत पुरुष र ९ प्रतिशत
महिला साक्षर छन्। बल्लतल्ल सदरमुकाममा एउटा र बाहिर अर्काे उच्च मावि
खुलेपनि तिनको अवस्था दयनीय छ।
११ जेठमा लुइमा मन्त्री आउने थाहा पाएपछि दुई दिनको बाटो हिँडेर काखेबच्चा
च्यापेका महिला र बूढापाकाहरू समेत आए। आफ्नो दुःखको पोको खोल्ने धोको
थियो उनीहरूको, कतिले खोल्न पाए कतिले पाएनन्। तर, कार्यक्रममा जब
मन्त्रीले संविधानसभा, गणतन्त्रजस्ता राजनीतिक शब्द उच्चारण गर्न थाले,
उनीहरू जङ्गिए। एक मुगुवासीको भनाइ थियो, “पहिले भोको पेट भर्ने उपाय
होस्, अनि राजनीतिका कुरा सुनौँला।”
 |
| गुजारा चलाउन यसरी पनि रोटी बेच्नुपर्ने र भोक मेटाउन यस्तो
रोटी पनि किनेर खानुपर्ने बाध्यता छ। |
|