हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

शिलाको कौशल

कुनैबेला सडकपेटीकी खुद्रा व्यापारी धनकुटा–७ की शिला नेपाली (४०) अहिले जिल्लाकै अगुवा लघु उद्यमीका रूपमा चिनिन्छिन्। उनी कुशल बजार व्यवस्थापक र धनकुटाको उत्तरपानी, चुङबाङ र बेलसरा गाविसका ७० जना महिलाकी रोजगारदाता पनि हुन्।

सानैदेखि आत्मनिर्भर स्वभावकी शिलाले सडकपेटीको किराना पसलबाट गुजारा नचलेपछि ऋण काढेर धनकुटा बजारमा सानो होटेल खोलिन्। कथित जातीय छुवाछुतका कारण होटेल बन्द गर्नु परेपछि तालिम लिएर भेडेटारमा फर्निचर उद्योग खोलिन्। फर्निचरले पनि उँभो नलगाउने छाँट देखिएपछि त्यसलाई बन्द गरेर २०५१ सालदेखि स्थानीय संघसंस्थाले आयोजना गर्ने सीपमूलक तथा बजार व्यवस्थापन तालिमहरू लिइन्। र, थालिन्– धनकुटा कोसेली हस्तकला उद्योग। उनको उद्योगले सल्लेपिर (सल्लाको पात) का हस्तकलाका सामान र ढाका कपडा उत्पादन गर्छ। र, यही उद्योगमा उनले अरूलाई पनि रोजगारी दिएकी छन्।

आफ्नो उद्योगबाट उत्पादित हस्तकला सामग्रीहरूको बजार व्यवस्थापन पनि उनी आफैँ गर्छिन्। उनको उद्योगमा सल्लेपिरबाट बनाइएका टी म्याट, डिनर म्याट, डोर म्याट, गमला, पेन्सिल होल्डर, ज्वेलरी बक्स आदि सामग्रीहरूको माग काठमाडौँ, पोखरा, बुटवल, धरान र विराटनगरमा समेत बढिरहेको छ। यसबाट महिनाको रु.३० हजारसम्म आम्दानी हुने उनी बताउँछिन्। कक्षा ८ पास गरेकी तीन छोरीकी आमा शिला नेपाली भन्छिन्, “मेरो आत्मविश्वास र श्रीमान्को सहयोगले यति गर्न सकेकी हुँ।”

शब्द/तस्बिरः सन्तोष बराइली


वनकर्मीको ज्ञान भण्डार

बद्री पौड्याल

काभ्रे, टुकुचा गाविसका किसान तथा वनकर्मी रामप्रसाद घिमिरेलाई तपाइँ नेपालका गाउँघर, पाखापखेरामा पाइने अजस्र स्थानीय ज्ञानको भण्डार भन्न सक्नुहुन्छ। ७० वर्षको उमेरलाई नसुहाउने सानो कदको फूर्तिलो शरीरमा उनी वनको बाटो उकालो–ओरालो हिँड्दै र खेतबारीका आलीकान्ला नाघ्दै–फालहाल्दै गरिरहेका देखिन्छन्। उनको पछि एकछिन लाग्न हुँदैन; विभिन्न ओखतिमूलोमा काम लाग्ने, खेतीपातीमा जैविक विषादी वा मलको रूपमा उपयोग हुनसक्ने दशौँ बोटबिरुवा, झारपात देखाउँदै तिनको वर्णन गर्न भ्याइसक्छन्। यी वृद्ध कृषकले आफ्नै बलबुतामा करिब आठ रोपनी निजी जग्गामा दुई सयजति जडिबुटी, फलफूल, आदिका बोटबिरुवा लगाएका छन्। उनी आफ्नो खेतीबालीमा रासायनिक होइन, जैविक मल र विषादी मात्र प्रयोग गर्छन्।

एउटा गैरसरकारी संस्थाको सहयोगमा भारतको अध्ययन भ्रमणमा गएका घिमिरेबाट केही सिक्न हालै एकहुल भारतीय विद्यार्थी पनि टुकुचा आएका र उनको बगैँचा, उनी सह–सचिव रहेको नगरकोट डाँडाको हिले जलजले सामुदायिक वन हेरेर गएका थिए।

आफूसँग भएको ज्ञानलाई राष्ट्रकै ज्ञान बनाउने तथा त्यसबाट देश र जनतालाई अधिकतम् फाइदा दिलाउने काममा सम्बद्ध मन्त्रालय, विभाग, कार्यालय, आयोजना, विश्वविद्यालय वा अनुसन्धान संस्थामा काम गर्ने विज्ञ–विशेषज्ञहरूले खासै ध्यान नदिएको उनको गुनासो छ। चोप आएको एउटा बिरुवा देखाउँदै घिमिरेले भने, “हाम्रो भेगको वनमा प्रशस्त पाइने यो बिरुवामा जैविक विषको गुण छ। तर कुन विष छ, बालीमा लाग्ने कुन रोग नाश गर्न उपयोगी छ भन्ने थाहा छैन। त्यो परीक्षण गरेर मलाई कसले बताइदेला?”