गन्तव्य
लाङटाङको शिरमा
किम्वदन्ती अनुसार मञ्जुश्रीको गोरु (लाङ) भेट्टिएको
ठाउँ (टाङ) 'लाङटाङ' पुग्दा कसको मन नरमाउला र?
• शब्द/तस्बिरः
मोहन मैनाली
धुन्चे, रसुवाको
सदरमुकाम। काठमाडौँबाट उत्तरतिर ११८ किलोमिटर मात्रै टाढा छ। तर नुवाकोटको
त्रिशूलीसम्म ओरालो र त्यसपछिको उकालो बाटोमा गाडी उति छिटो हिँड्न
नसकेकाले काठमाडौँबाट बिहान सात बजे हिँडेका हामी धुन्चे पुग्दा चार
बज्यो।
गाडी त स्याब्रुबेँसीसम्मै जान्छ, तर हामीले धुन्चेबाटै
पैदलयात्रा थाल्यौँ। धुन्चे गुजमुज्ज घर भएको तामाङ गाउँ हो। यी घर
पनि अनौठा छन्। गारोका ढुङ्गा जोड्न माटो या सिमेन्ट केही लगाइएको
छैन। काठका झ्यालमा मिहीन बुट्टा कुँदिएका छन्। सबै घरमा रङ्गीन ध्वजापताका
टाँगिएका छन्।
चैतको अन्तिम हप्ता। बिहान उठ्नेबित्तिकै धुन्चे बजार
नजिकै लाङटाङ राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय छेउमा चरा कराएको
सुनेर रमायौँ। खाना खाइसकेपछि भार्खु गाउँको कुइनेटोमा मोटरबाटोलाई
छाडेर पैदल उकालो लाग्यौँ। यहाँका पाखामा मानिसले अत्यन्तै मेहनत लगाएर
खेतका गह्रा बनाएका छन्। यी गह्रा बनाउन कति पुस्ताको कति मेहनत परेको
होला! आजभोलि यति काम गर्नुपर्यो भने विदेशी सहायता खोज्नुपर्छ।
कतै जङ्गल र कतै बस्तीको बाटो हिँड्दै, कतै मान्छेको
मेहनत र कतै कालिज, जरायो जस्ता जनावर हेरेर आनन्द लिँदै ५–६ घण्टा
हिँडेपछि बास बस्ने ठाउँ ठूलो स्याब्रु आइपुग्यो। डाँडाको टुप्पोमा
रहेको ठूलो स्याब्रु पनि हेरिरहुँ लाग्ने खालको छ।
लाङटाङमा हेर्नुपर्ने कुरा अरू पनि धेरै छन्। तातोपानीपारिको
भीर भीरमौरीका चाकाले भरिएको छ। यी चानचुने होइनन्, संसारकै सबैभन्दा
ठूला मौरीका चाका हुन्। लाङटाङ खोलालाई अलिकति पश्चिम र दक्षिण हुँदै
ओरालो लाग्न दिएर हामी विस्तारै थोरै पूर्व र धेरै उत्तरतर्फ उकालो
लाग्यौँ।
बाटोमा लामा होटेल आइपुग्यो। वास्तवमा यो कुनै होटेलको
नभएर ठाउँको नाम हो। २०३३ सालतिर धादिङबाट आएका एक होटेलवालाले यहाँ
पहिलो होटेल खोलेर त्यसको नाम 'लामा होटेल' राखेका थिए। त्यसपछि विस्तारै
घर थपिँदै गए र वस्तीको नामै लामा होटेल रह्यो।
लामा होटेलबाट उकालो लागेपछि गुराँसको साम्राज्य शुरु हुन्छ। नेपाली
जनजिब्रोले लालीगुराँसलाई मात्र गुराँस ठानेपनि वैज्ञानिकहरू भने चिमाललाई
पनि गुराँसकै वर्गमा राख्छन्। घोडा तबेलासम्म खोँचको उकालो र त्यहाँदेखि
शुरु हुने लाङटाङको मैदानमा थरीथरीका गुराँस फुल्छन्। केही थरीका गुराँस
त अन्त पाइँदैनन्। नेपालका गुराँस पाइने अरू क्षेेत्रको दाँजोमा लाङटाङ
क्षेेत्रको गुराँस राम्ररी संरक्षण भएको छ।
घोडा तबेला भन्दा केही माथि, गुराँसलाई लाङटाङे सल्लोले
पालो दिएको छ। हुन त सल्लो सदावहार वनस्पति हो, तर लाङटाङ र यसभन्दा
केही पश्चिमको मनास्लु क्षेेत्रमा मात्र पाइने यो सल्लोको भने हिउँदमा
पात झरेर चैतमा पालुवा फेरिन्छ। भदौमा यसको जङ्गल पहेँलपुर हुन्छ।
हिउँदमा हिउँ छल्न तल झरेका चौँरी लाङटाङ गाउँ आइपुगेका
छन्। यिनीहरू विस्तारै उकालो लाग्छन्। सल्लो र भोजपत्रको जङ्गल माथि
घाँस र बुट्यान मात्र हुने लाङसिसा खर्कसम्म पुग्छन्। हिउँद नलागेसम्म
त्यहीँ बस्छन्। स्वीसहरूले चीज बनाउने कारखाना खोलिदिएकाले यहाँका
मानिसहरू हिमाली जडिबुटी खाएका चौँरी र नाकको दूधबाट असाध्यै मीठो
चीज बनाउँछन्।
घोडा तबेला भन्दा केही तलदेखि लाङटाङ गाउँ छेउछाउको
भीरमा थार डुलेको देखिन्छ। ढुङ्गे चट्टान र भिराला डाँडामा पनि यो
चारखुट्टे स्तनधारी प्राणी बाँदरझैँ दौडन्छ। प्रकृतिले थारलाई चट्टानसँग
मिल्दोजुल्दो रङ दिएको छ। थार पाइने ठाउँ भन्दा माथि भोजपत्रको जङ्गलमा
सुवासिलो नाभी भएको कस्तुरी मृग घुम्छ। कस्तुरी मृगले भोजपत्रको जङ्गलमा
रहेको झ्याउ खान्छ। लज्जालु स्वभावको कस्तुरी र यस क्षेत्रकै आसपासमा
बस्ने हाब्रेलाई देख्न भने मुस्किल पर्छ।
समुद्र सतहभन्दा ३९०० मिटर माथि आकास छोएझैँ गरेर बसेको
क्याञ्जिङमा पहिले केही गोठ र गुम्बा मात्र थिए। त्यतिबेला यो ठाउँ
बौद्व दर्शनको ध्यान र भक्तिका लागि प्रसिद्ध थियो। अहिले व्यापारिक
र पर्यटकीय कामले यसको धार्मिक महत्तालाई केही ओझेलमा पारेको छ। क्याञ्जिङ
आसपासका ठाउँले मोहनी लाउँछन्, जिज्ञाशा मेटाउँछन् र ज्ञान बढाउँछन्।
नजिकैको हिमानी जान सकिन्छ। हिमाली नून खानी पुग्न सकिन्छ। 'चेर्गाे
रि' हिमाल चढेर पर्वतारोहणको आनन्द लिन पनि सकिन्छ। हिमाल नचढ्ने भए
अलिअलि उकालो हिँड्दा पुगिने लाङसिसा खर्क घुम्न जान सकिन्छ।
हामीलाई लाङसिसा खर्क जानै उत्तम लाग्यो। चार हजार मिटर
माथिको पदयात्रा गर्न सजिलो नलाग्नेहरू क्याञ्जिङबाट घोडा चढेर जान
सक्छन्। हामीले चाहिँ घोडा नचढ्ने नै निधो गर्यौँ। क्याञ्जिङमाथि
गाउँ नभएकाले दिउँसोको खानेकुरा र चिया झोलामा बोकेर हामी खर्कतिर
लाग्यौँ।
बिहान सवेरै हेर्दा खोलाको छेउछाउको पानी काँच जस्तै
जमेको देखिएको थियो। पछि घामले सेक्दै जाँदा विस्तारै पग्लँदै गयो।
हामी जति माथि लाग्यौँ, वनस्पति, बुट्यान होचा र पुड्का भए। हिमाल
पनि होचो भए जस्तो लाग्यो। चौरी र नाक यतातिर आइपुग्ने बेला नभए पनि
याक अर्थात् भाले चाहिँ प्रशस्त भेटिए। आफ्ना सहयात्री नाक र चौँरीहरू
हिउँदमा जाडोका डरले तल झरे पनि याकचाहिँ गम्म रौं ओढेर हिमालकै छेउमा
बसेका थिए। वैशाखको अन्त्यतिर नाक र चौँरी मास्तिर उक्लेपछि यिनीहरू
पनि तिनकै हुलमा मिसिन्छन्।
हिमनदीले जमिन काट्दा घोडाको टापको आकारको बनाउँछ भनेको
ठिकै रहेछ। हिमनदीका मुहान क्रमशः पछाडि सर्दैछन् भनिन्छ। यहाँ आइपुग्दा
यो कुरा पनि सही हो कि जस्तो लाग्यो। हिमानी पछि हटेपनि अहिलेलाई हेर्न
लायकका दोर्जे लाक्पा, घाङ छेम्पु, नयाँ कांगालगायतका अनेक टाकुरा
छँदैछन्।
अप्ठेरो ढुङ्गे बाटो हिँडेर, पुलबिनाका खोला र जँघार
तरेर जाँदा अलिअलि थकाइ लागिसकेपछि हामी लाङसिसा हिमानी पुग्यौँ। दोर्जे
लाक्पा हिमाललाई सामुन्ने पारेर क्याञ्जिङदेखि बोकेर ल्याएको खाना
खायौँ। अनि मञ्जुश्रीको साँढेको लास ठानिएको ढुङ्गो हेर्यौँ।
किम्वदन्ती अनुसार प्राचीनकालमा काठमाडौँबाट उत्तर हानिएका मञ्जुश्रीको
गोरु बाटोमा हराएछ। पछ्याउँदै जाँदा उनले आफ्नो गोरु भेटे। गोरु (लाङ)
भेट्टिएको ठाउँ (टाङ) 'लाङटाङ' भयो। त्यहाँबाट पनि भागेर माथि आउँदा
जाडो खप्न नसकेर उनको गोरु मर्यो। गोरु मरेको ठाउँ 'लाङसिसा' भयो।
यति अग्लो ठाउँमा कसरी बाँचोस् त! मञ्जुश्रीका पालासम्म त यो ठाउँ
हिउँ नै हिउँले पुरिएको थियो होला।
मञ्जुश्रीको साँढेको किंवदन्ती सम्झँदा स्याँठले निकै
हिर्काइसकेको थियो। धेरै बेर बस्यो भने लेक लाग्न सक्थ्यो। त्यसमाथि,
एकजना साथी वासुदेव वास्कोटाको टाउको दुखिसकेको थियो। अर्का साथी रवीन्द्र
पाण्डेलाई हिजो राति क्याञ्जिङमै सास फेर्न अप्ठ्यारो भएको थियो। त्यसैले,
मञ्जुश्रीको साँढे जस्तै ढुङ्गा हुनु नपरोस् भनेर हामी छिट्टै फर्कियौँ।
तैपनि, क्याञ्जिङ आइपुग्न ढिलै भयो।
|