विज्ञान विचार
चन्दन र रक्तचन्दन
नेपालमा समातिएको रक्तचन्दनलाई के गर्ने? आफैँले
खपत गर्नु कानूनसम्मत हुँदैन, चीन पठाउन पनि मिलेन, नाश गर्ने कुरा
पनि भएन। सबै दृष्टिले हेर्दा स्रोत–राष्ट्र भारतमै फर्काउनुपर्ने
देखिन्छ। त्यसैले, हाम्रो लागि 'नखाउँ भने दिनभरको शिकार, खाउँ भने
कान्छाबाउको अनुहार' भनेझैँ भएको छ यो रक्तचन्दन।
• डा.
तीर्थबहादुर श्रेष्ठ
सुसंगसँग सुसंग मिल्छ
जस्तो श्रृखण्डसँग कपुर।
कुसंगसँग कुसंगै मिल्छ
जस्तो भाङमा धतुर।
बाल्यावस्थामा मेरा बा भन्ने गर्नुहुन्थ्यो, “सङ्गत
गर्दा चन्दनको गर।” आज चन्दनकै बारेमा केही कुरा गर्नु छ, किनभने नेपालमा
फेरि रक्तचन्दन समातिएको छ। प्रत्येक दिन भनेझैँ लालहातहरूका पञ्जामा
पर्दैछन्– पूरै गोदाम, पूरै ट्रक। गोदाम मालिक, ट्रक मालिक, ट्रक चालक
र तिनका खलासी हिरासतमा पर्दैछन्। चन्दन के हो, रक्तचन्दन के हो, यी
काठ वैध हुन् वा अवैध भन्ने ज्ञान तिनलाई थियो, थिएन? थाहा हुनुपर्थ्यो,
पर्दैनथ्यो? यातायात र ढुवानी व्यवसायमा लागेकाहरूले अब रक्तचन्दन
पनि चिन्नुपर्ने भएको छ। त्यसैले चन्दन र रक्तचन्दनका बारेमा केही
विज्ञान विचार गरौँ।
के हुन् चन्दन र रक्तचन्दन?
हाम्रा घर–मन्दिरमा घोटेर लेपको टीका लगाइने सामान्य चन्दनलाई हामी
सेतो चन्दन वा श्रीखण्ड भन्दछौँ। अङ्ग्रेजीमा यसलाई 'स्याण्डल उड'
भनिन्छ। अहिले चर्चामा रहेको रक्तचन्दनलाई पनि अङ्ग्रेजीमा अगाडि 'रेड'
थपेर त्यसै भनिन्छ। जुन वस्तुलाई हामी भगवानको प्रसाद सम्झेर निधारमा
लगाउँछाँै, अङ्ग्रेजीमा खुट्टामा लगाउने 'स्याण्डल' अर्थात् चप्पल
वा जुत्ता जनाइने शब्दले किन पुकारियो भन्ने कुरामा घोत्लिन थाल्यौँ
भने चन्दनको वैज्ञानिक नामतिर पुग्नुपर्दछ– 'स्यान्टालम अल्बम' (santalum
album)। 'सान्टाक्लज' भनेजस्तै पिता वा परमेश्वरको आदर बोकेको यस बिरुवालाई
'स्यान्टालम' र यसको सेतो प्रजातिलाई 'अल्बम' भनिएको हो। यसको सुगन्धित
तेलको रासायनिक नाम 'स्यान्टालोल' छ। पुराना ग्रन्थमा श्रीखण्डलाई
'स्यान्टल उड' नै भनिएको छ। तर कालान्तरमा अङ्ग्रेजी अपभ्रंशले 'स्याण्डल'
बनाएर हेय भावार्थ दियो।
चन्दनजस्तै गुनिलो स्वभाव र रातो रंगयुक्त भएकोले रक्तचन्दनको
माग र व्यापार पनि ठूलो छ। यद्यपि यसको पारिवारिक अर्थात् वैज्ञानिक
सम्बन्ध चाहिँ चन्दनभन्दा धेरै फरक छ। बरु यो विजयसालको सहोदर हो।
विजयसाल र रक्तचन्दन दुवै कोसा फल्ने सिसौ परिवार 'लेगुमिनोसी' का
वृक्ष हुन्। फलमा पखेटा पलाउने भएकोले रक्तचन्दनलाई ल्याटिन शब्द 'टेरो'
(पखेटा) र 'कार्पस्' (फल) को सन्धिका आधारमा 'टेरोकार्पस् स्यान्टालाइनस'
(pterocarpus santakinus)भन्ने वैज्ञानिक नाम दिइएको छ भने विजयसाललाई
'टेरोकार्पस् मार्सुपियम' (pterocarpus marsupium)।
नेपालमा यदाकदा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड
चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा हैनन्। यी नेपालमा पाइँदैनन्।
हुन त हाम्रो पहाडी भेकमा पाइने एउटा वृक्षलाई पनि रक्तचन्दन भनिन्छ।
तर आजकल चर्चामा रहेको दक्षिण भारतको रक्तचन्दन र हाम्रो पहाडी वा
हिमाली भेकको रक्तचन्दन एउटै हैनन्। नाम मात्र मिलेको हो, गुण र स्वभाव
बेग्लै छन्। 'डाफ्नेफाइलम हिमालयन्स' (daphniphyllum himalayse) भनिने
हिमाली रक्तचन्दन लालुपाते परिवारको वनस्पति हो। यसले अहिलेसम्म त्यस्तो
व्यापारिक महत्त्व पाएको छैन।
विशेषता र उपयोग
 |
| किरण पाण्डे |
तस्करी भएर भारतबाट भोटतिर जाने रक्तचन्दनका काठहरू
दक्षिण भारतका आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडू राज्यबाट ल्याइएका
हुन्छन्। दक्षिण भारतबाहेक अन्यत्र यो त्यति प्रचूर मात्रामा पाइँदैन।
रक्तचन्दनको वृक्ष लगभग १० मिटर अग्लो र थामोको गोलाइ बढीमा दुई मिटर
हुन्छ। यसको चुरोको काष्ठ पदार्थमा रातो रस हुन्छर त्यो सुकेपछि काठ
पनि रातै हुन्छ भने बोक्रा चाहिँ अलि कालो कालो खालको हुन्छ। तस्करी
भएर आउने काठमा यो बोक्रा ताछेर छोडाइएको हुने हुनाले बोक्रा देखिँदैन।
यस वृक्षको प्रत्येक भेट्नोमा गोलाकार वा अण्डाकारका तीन पात हुन्छन्।
जाडोयाममा यी पातहरू झर्दछन्। रक्तचन्दन भनिए तापनि यसको फूल भने पहेँलो
हुन्छ र झट्ट हेर्दा केराउको फूलका आकृतिमा फक्रन्छ।
रक्तचन्दन छिटो बढ्ने वृक्ष हैन। एकपटक काटेपछि त्यसको
फेदबाट पलाएको बिरुवा ४० वर्षपछि मात्र फेरि काट्न तयार हुन्छ। यो
वनस्पति प्रायः दक्षिण भारतमा मात्र पाइने तर भारत, चीन, जापान, कोरियालगायत
विश्वका धेरै देशमा प्रयोग हुने भएकाले यसलाई विश्वमा सङ्कटापन्न वृक्षहरूको
सूचीमा राखिएको छ। अवैध व्यापारबाट यसको संरक्षणमा प्रतिकूल प्रभाव
नपरोस् भनेर भारत सरकारको पहलमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार
नियमन र नियन्त्रण गर्ने विश्व महासन्धि 'साइटिस' को अनुसूची–२ मा
पनि अङ्कित गरिएको छ। यस अनुसूचीभित्र परेका बिरुवाको व्यापार गर्नु
परेमा आयातकर्ता तथा निर्यातकर्ताले आ–आफ्नो देशका 'साइटिस' अधिकारीबाट
अनुमति लिनुपर्छ।
साइटिस महासन्धिको पक्षधर नेपालले विश्वसामु रक्तचन्दनको
अवैध व्यापारमा तगारो हालेर कर्तव्यपरायणताको उत्कृष्ट उदाहरण पेश
गरेको छ। साइटिस अनुसूची–२ मा परेका नेपाली जडिबुटीहरू पाँचऔँले, सर्पगन्धा
र सुनगाभाका विभिन्न प्रजातिको अवैध व्यापारमा भारत र चीनले पनि यस्तै
सदासय एवं तदारुकता देखाएमा लोप हुने अवस्थामा पुगेका जैविक सम्पदाको
संरक्षणमा निश्चय नै बल पुग्दछ। तर अवैध सङ्कलन र खपत हुने ठाउँमा
सम्बन्धित राष्ट्रहरूले नै केही गर्न सकेनन् वा गरेनन् भने दुर्लभ
वनस्पति वा वन्यजन्तु संरक्षणको यस्तो प्रयास अधूरो मात्र हैन अर्थहीन
नै हुन्छ।
आयुर्वेदमा रक्तचन्दनलाई वायु र कफसम्बन्धी धेरै रोगको
निराकरणमा उपयोगी मानिन्छ। नेपाली निघण्टु अनुसार रक्तविकार र रक्तपित्तमा
पनि यो उपयोगी छ। हालका केही अध्ययनले यसको चुरो काष्ठ पदार्थ मधुमेह
रोगको उपचारमा समेत प्रयोग हुने देखाएका छन्। यसको चूरो काठ डुबाएर
वा यो काठको अम्खोरा वा कटौरामा राखेर निश्चित समय छाडिएको पानी औषधि
बन्दछ। काठलाई चन्दन जस्तै घोटेर लेप लगाउनाले चर्मरोग निको हुन्छ।
तर नेपालमा औषधिको रूपमा रक्तचन्दनको ठूलो खपत छैन। डाबर अनुसन्धान
केन्द्रको एक अध्ययनले भारतमा पनि आयुर्वेद औषधि उद्योगमा यसको वार्षिक
खपत १६ टन जति मात्र देखाएको छ। नेपालमा भने विगत ६ महिनामा मात्रै
१४० टनभन्दा बढी रक्तचन्दन बरामद भइसक्योर समातिने क्रम जारी छ(हे.
बक्स)। यत्रो ठूलो परिमाणमा समातिएको रक्तचन्दन कहाँ र कसरी खपत हुन्छ?
यो जिज्ञासाको सोझो उत्तर भने छैन।
राम्रो रातो काठ भएकाले विभिन्न बुट्टाहरू कुँदेर फर्निचरलगायत
अन्य कलात्मक वस्तु बनाउन पनि रक्तचन्दनको प्रयोग हुन्छ। जापानीहरू
यसको चूरो काठबाट आफ्नो नामको मोहर लगाउने टाँचा बनाउँछन्। यसैगरी
परम्परागत बाजागाजाका सामग्रीमा पनि रक्तचन्दनको काठ प्रयोग हुने गरेको
छ। यसको काठबाट प्राप्त हुने रातो रंग विभिन्न खाद्य पदार्थलाई मनमोहक
रंग दिन समेत प्रयोग हुन्छ। यी सबै कारणले यसको औद्योगिक खपत बढेको
छर यसका लागि काठका मूढा हैन स–साना टुक्रा काठ वा काठको धूलो निर्यात
हुने गरेको छ। युरोप र अमेरिकामा हुने निर्यात 'साइटिस' का कारण घट्न
गएको भए तापनि चीन, जापान र सिङ्गापुरको माग भने दिनपर दिन बढ्दो छ।
चीनमा पुग्ने रक्तचन्दन केही वर्ष पहिलेसम्म क्याम्बोडिया (हाल कम्पुचिया),
ब्राजिल र माडागास्करको स्रोतबाट प्राप्त हुन्छ भनिन्थ्यो। तर 'ट्राफिक
इण्डिया' को एक प्रतिवेदनमा सन् २००३ (२०६०/०६१) मा चीनमा भित्रिएको
सय टन रक्तचन्दनमध्ये नेपालबाट ९६ टन गएको भन्ने कुरा लेखिएपछि विगत
चार–पाँच वर्षयता नेपालको बाटो रक्तचन्दनको व्यापार हुने विश्वास गर्न
थालिएको छ। २९ चैत २०६३ को कान्तिपुर मा सुवोध गौतमले भारतमा प्रतिकिलो
करिब रु.५०० मा खरिद गरिने रक्तचन्दन चीनको तिब्बत, खासामा १६ सयमा
बिक्री हुने गरेको उल्लेख गर्नुभएको छ। सन् २००२ को एक आँकडा अनुसार
विश्वबजारमा यसको मूल्य प्रतिकिलो रु.५ हजारदेखि रु.६,५०० सम्म पर्ने
विश्वास गरिएको छ।
समातिएको रक्तचन्दन
|
मिति |
कहाँबाट |
परिणाम (टनमा) |
८ जेठ २०६४ |
काठमाडौँ |
१६.५ |
६ जेठ २०६४ |
रुपन्देही |
२ |
६ जेठ २०६४ |
रुपन्देही |
३.५ |
६ जेठ २०६४ |
रसुवा |
१५ |
४ जेठ २०६४ |
चितवन |
१० |
४ जेठ २०६४ |
काठमाडौँ |
६.५ |
४ जेठ २०६४ |
काठमाडौँ |
६ |
१ जेठ २०६४ |
काठमाडौँ |
९ |
३० वैशाख २०६४ |
काठमाडौँ |
८ |
२७ वैशाख २०६४ |
लललितपुर |
११ |
६ वैशाख २०६४ |
नवलपरासी |
६ |
२८ चैत २०६३ |
काठमाडौँ |
११ |
१९ माघ २०६३ |
काठमाडौँ |
१९ |
१९ पुस २०६३ |
काठमाडौँ |
१२ |
२ पुस २०६३ |
झापा |
६ |
दिनभरिको शिकार– कान्छाबाउको अनुहार!
नेपालमा हालसम्म समातिएको करिब १४० टन रक्तचन्दन के गर्ने भन्ने प्रश्न
अहिले उठेको छ। भारतको आन्ध्रप्रदेशमा सन् १९९२ देखि २००२ सम्म १०
वर्षभित्र बरामद भएको १८०० टन काठ लिलाम बिक्री गरिएको थियो। तर नेपालले
साइटिस महासन्धिअनुरुप समातेको यो काठ आफ्नो सम्पत्ति वा राष्ट्रिय
सम्पदा नभएकाले त्यसरी बिक्री गर्न तथा आफैँले खपत गर्न पनि कानूनसम्मत
हुँदैन। चीन पठाउन पनि मिलेन। त्यस्तो बहुमूल्य जिनसलाई जलाएर वा अरू
कुनै तरिकाबाट नाश गर्ने कुरा पनि भएन। सबै दृष्टिले हेर्दा नेपालमा
बरामद भएको रक्तचन्दनको काठ स्रोत–राष्ट्र भारतमै फर्काउनुपर्ने देखिन्छ।
त्यसैले हाम्रो लागि 'नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छाबाउको
अनुहार' भनेझैँ भएको छ यो रक्तचन्दन!
रक्तचन्दन प्रकरणले सीमापारिका तस्करहरू नेपालमा जागरुक
जनताको तगारो छ भन्ने अनुभूत गर्न बाध्य भएका होलान्। नेपालले भूराजनीतिक
अवस्थितिलाई यही परिप्रेक्ष्यमा पुनरावलोकन गरेर नेपालको नयाँ छवि
निर्माण गर्ने अवसर हाम्रोसामु आएको छ। यसबाट विगतमा भूपरिवेष्ठित
'ल्याण्ड लक्ड कन्ट्री' को परिचय पाएको यो राष्ट्र अब वस्तुतः भारत
र चीन जोड्ने भूकडी 'ल्याण्ड लिङ्क्ड कन्ट्री' बनेको छ। यो उदाहरणबाट
पाठ लिँदै उद्योगधन्दा, उत्पादन, आन्तरिक खपत र बजार एवं वैदेशिक व्यापारमा
समेत विश्वलाई हाँक दिन सक्ने दुई विशाल राष्ट्रका बीचमा बसेर पारवहन
सेवामा विशिष्टता सुनिश्चित गर्न सक्नु हाम्रा लागि एउटा सबल रणनीति
हुनेछ। यसनिम्ति सुरक्षित पारवहन प्रणाली, उच्चकोटिको पूर्वाधार र
स्तरीय सेवाको विकास गर्ने चुनौतीमा हामी चुक्नुहुँदैन। वैध व्यापारका
लागि आवश्यक दक्ष सेवाको विकासमा लगानी गर्नुपर्छ, नत्र अवैध व्यापारको
दलदलमा भासिने जोखिम हुन्छ।
भोलिको नेपाललाई वैध व्यापारको भूकडी बनाउने हो वा अवैध
व्यापारको कालो बाटो त्यो हाम्रै निर्णयमा भरपर्छ। चन्दनको संगत गरेर
कपुर बन्ने वा भाङको संगतमा धतुर बन्ने त्यो पनि हाम्रो आफ्नै रुचि
र निर्णयमा निर्भर हुने कुरा हो।
|