हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

पर्वतको कफी युरोप–अमेरिकामा

बजार नपाएर निराश पर्वतका कफी उत्पादक किसानहरूमा यो वर्षदेखि आशाको एउटा त्यान्द्रो पलाएको छ। तिनले जैविक प्रविधिबाट उत्पादन गरेको कफी युरोप र अमेरिकी बजारमा निर्यात हुन थालेपछि यस्तो भएको हो। कतिपय किसानले बजार नपाएपछि कफीका बोट नै काट्न शुरु गरिसकेका थिए।

पर्वतबाट २०६३ सालमा ३० क्विन्टल ड्राइ चेरी (सुकेको कफी) अमेरिका, जापान र स्पेनको बजारमा पुगेको जिल्ला कफी व्यवसायी संघले जनाएको छ। संघका अध्यक्ष रणबहादुर क्षत्रीका अनुसार थप ५–१० क्विन्टल निर्यात हुने सम्भावना अझै छ। कफीको माग बढेपछि गत वर्षको तुलनामा यो वर्ष शतप्रतिशत उत्पादन बढाइएको संघले जनाएको छ। व्यावसायिक रूपमा उत्पादन हुने कफीलाई सुख्खा चेरी बनाउन पर्वतका ३७ गाविसका ६५ समूहमा १८ वटा पल्पर केन्द्र स्थापना भएका छन्। संघका अनुसार हिजो आज व्यापारीहरू कफी खरिद गर्न घरघरमै आउन थालेका छन्। एभरेष्ट कफी कम्पनी र प्लान्टेड कम्पनीमार्फत् क्रमशः २० र १० क्विन्टल कफी विदेशी बजारमा पुगेको छ।

यसरी बिक्री भएको कफीबाट कतिपय किसानले रु.५ लाखसम्म आम्दानी गरेका छन्। तर राम्रो र स्तरीय उत्पादन दिँदादिँदै पनि खरिदकर्ताले भनेकै मूल्यमा चेरी बिक्री गर्नु परेकोमा भने किसानहरूको गुनासो छ। खरिदकर्ताहरूले ड्राइ चेरी प्रतिकेजी रु.२३० सम्ममा किन्दै आएका किसानहरू बताउँछन्।

दुर्गाप्रसाद शर्मा,
पर्वत


ग्लोबल ब्याङ्क ३६५ दिनै खुल्ने

ग्लोबल ब्याङ्कले वीरगञ्ज र काठमाडौँस्थित आफ्ना शाखाहरूबाट ग्राहकलाई ३६५ दिन नै सेवा दिने भएको छ। ब्याङ्कले शनिबार र सार्वजनिक विदामा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नगद जम्मा–भुक्तानी, प्रतीतपत्र, ड्राफ्ट र विदेशी मुद्रा सटही जस्ता ब्याङ्किङ सेवा उपलब्ध गराउने जनाएको छ।

यूटीएल महसुलमा कटौती

युनाइटेड टेलिकम लिमिडेट (यूटीएल) ले भारतमा फोन गर्दा लाग्ने महसुल घटाएको छ। ५ जेठदेखि लागू भएको नयाँ महसुल दरअनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर बाहेक प्रति मिनेट रु.१२.५० र अरू समयमा रु.१५ मा भारत फोन गर्न सकिनेछ। काठमाडौँ उपत्यका, हेटौँडा र वीरगञ्जमा सेवा प्रदान गर्दै आएको यूटीएलले ग्राहकहरूलाई रु.२५२५ मा सीमित मोबिलिटी सुविधायुक्त मोबाइल फोन पनि उपलब्ध गराएको छ।

काठमाडौँमै भारतीय रेल टिकट

भारत यात्रामा जान चाहनेहरूले अब काठमाडौँबाटै भारतीय रेल टिकट बुकिङ गर्न पाउने भएका छन्। बुकिङ नेपालका लागि भारतीय रेल्वे टिकटको आधिकारिक बिक्रेता केएल दुगड समूहको 'ओरिएन्ट प्याराडाइज टुर एण्ड ट्राभल' मार्फत् गर्न सकिनेछ। कम्पनीले नयाँ व्यवस्थाअनुसार भारतभरि फैलिएको रेल्वे सञ्जालको कुनै पनि ठाउँको र जुनसुकै श्रेणीको टिकट काठमाडौँबाट बुकिङ गर्न सकिने जनाएको छ। कम्पनीले निकट भविष्यमा अन्य शहरमा पनि यो सेवा प्रदान गर्ने बताएको छ।

वर्ल्ड टे्रडमा लाइफ

कुनैबेला साना व्यापारीहरूले मात्र गर्ने ठानिएको खुद्रा व्यापारमा अब मुलुकका स्थापित उद्योगी व्यापारीहरू पनि आउन थालेका छन्। यसको पछिल्लो उदाहरण भएको छ, महाशक्ति सोप एण्ड केमिकल इण्डष्ट्रिजको मालिक अशोक ग्रुपको लाइफ रिटेल प्रालिले शुरु गरेको लाइफ फेसन स्टोर। महिला–पुरुष, साना–ठूला सबैका लागि पहिरन, जुत्ताचप्पल र अन्य एक्सेसोरिज राखिएको लाइफ मा नाइक, रिबक, पुमा, बोसिनी जस्ता करिब डेढ दर्जन अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरूसँगै ठूलो परिमाणमा 'नन् ब्राण्डेड' उत्पादनहरू पनि सुपथ मूल्यमा पाइने कम्पनीले बताएको छ। त्रिपुरेश्वरस्थित नवनिर्मित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा झण्डै ६ हजार वर्गफिट क्षेत्र ओगटेर खोलिएको लाइफ मा करिब रु.१ करोडको लगानी भएको कम्पनीले जनाएको छ।

लेनोभो नेपालमा

अमेरिकी कम्प्युटर निर्माता आईबीएम कम्पनी खरिद गरेर चर्चामा आएको चिनियाँ कम्प्युटर निर्माता कम्पनी लेनोभोका उत्पादनहरू नेपालमा पनि उपलब्ध हुन थालेका छन्। नेपालका लागि लेनोभोको अधिकृत बिक्रेता साइबरनेटिक्सले बबरमहलस्थित शोरूममा लेनोभो ल्यापटप, डेस्कटप, मोबाइल फोन, प्रिन्टर र फ्याक्स मेसिनका करिब दुई सय मोडल बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना उत्पादनहरूको व्यापार प्रबर्द्धनका निम्ति सीमित अवधिका लागि ८ प्रतिशत छूट दिने घोषणा पनि गरेको छ।

निल डेबिड बने 'ब्राण्ड एम्बेसडर'

सिङ्गापुरको अर्थ केमिकल कम्पनीले नेपालमा आफ्ना उत्पादनहरू जिनभेरा ग्रीन–टी र फलोमी ग्रीन–टी को बजार प्रबर्द्धनका लागि हेयर डिजाइनर तथा मेकअप आर्टिस्ट निल डेबिड कट्वाललाई 'ब्राण्ड एम्बेसडर' नियुक्त गरेको छ। कम्पनीको काठमाडौँस्थित बिक्रेता दीपज्योति इन्टरनेशनलले जापानी प्रविधिबाट उत्पादित यी सौन्दर्य प्रशाधनहरू अनुहारमा आउने चायाको पोतो, डण्डीफोर, कपाल झर्नेलगायतका समस्या समाधानमा प्रभावकारी रहेको जनाएको छ।

जापानी बियर नेपालमा

काठमाडौँस्थित इभोलुसन टे्रडिङ प्रालिले जापानमा उत्पादित अशाही बियर बिक्री गर्न शुरु गरेको छ। सन् १९८७ देखि उत्पादन हुँदै आएको अशाही बियर नेपाली उपभोक्ताबीच लोकप्रिय हुनेमा कम्पनी विश्वस्त छ। ५०० मिलिको क्यानमा उपलब्ध अशाही को उपभोक्ता मूल्य रु.१३५ छ।