हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

उकालो लाग्दा

यसो गरे कसो होला?

पत्र पाउनेः पुष्पकमल दाहाल

विषयः 'वाईसीएल' तथा अन्य

प्रिय दाहालजी,
कतिचोटि दोहोर्‍याउनु, नेपाली जनता नेकपा (माओवादी) विद्रोहीबाट दिगो अस्तित्व रहने पिछडिएकाहरूको लागि लड्ने राजनीतिक दलमा बदलिएको हेर्न चाहन्छन्। माओवादी रुपान्तरणको यो यात्रा चुनौतीपूर्ण भएको प्रति सबै संवेदनशील पनि छन्। यसका लागि 'क्यान्टोन्मेण्ट' को अवस्था सुधार्नुपर्नेदेखि लडाकूको एउटा हिस्सालाई नेपाल सेनामा समावेश गर्नुपर्ने पक्षमा समेत जनमत छ।

तर, दाहालजी, जनताबाट माओवादीलाई प्राप्त सहिष्णुतालाई कम आँक्न मिल्दैन। त्यसैगरी बन्दूकबाट नभई चुनावबाट संसदमा पुगेर जनताको प्रतिनिधि बन्ने अधिकार जमाएका दलहरूको स्थान तथा भावनालाई पनि तपाईंले कदर गर्नुपर्ने हुन्छ। तपाईंलाई 'शङ्काको सुविधा' दिँदादिँदै पनि अफसोच माओवादीले आफ्नो रुपान्तरण प्रक्रियालाई सहज बनाउन नसकेको देखिन्छ, र यसले गर्दा अन्तर्द्वन्द्वको पाप्रै पाप्रा उक्किँदै जाँदा माओवादीको यात्रा अवरुद्ध हुने सम्भावना देखिन्छ। शालीन लोकतान्त्रिक अनुहारको साटो 'वाईसीएल'को उपद्रवमार्फत् नै माओवादीको चरित्र प्रस्तुत हुने हो भने अप्रत्याशित रूपमा तपाईंको शक्ति ह्रास हुनेछ र माओवादी सङ्गठन टुक्रन जाने सम्भावनासम्म बढ्ने छ। शान्ति प्रक्रियामा लहरो तान्दा पहरो जाने अवस्था आउन सक्तछर मुलुक पुनः हिंसा र प्रतिहिंसाको भुमरीमा डुब्नेछ। माओवादीको रुपान्तरण सहज रूपमा अगाडि जाँदा ऊ चुनावबाट नेपाली काङ्ग्रेस तथा एमालेका साथसाथै तेस्रो शक्तिको रूपमा स्थापित भएको देख्न हामी सबैलाई मन छ। यसका लागि तपाइँसमक्ष निम्न बुँदामा निम्न विचार पेश गर्दछु।

वाईसीएल र माओवादी नेतृत्व
जेठ–असारमा चुनाव भएमा वाईसीएलका नाममा पूर्व मिलिसिया र लडाकूहरू परिचालन हुँदा डर र धम्कीका कारण पनि आफूलाई भोट खस्छ भन्ने हिसाबले उनीहरूलाई अलिकति उद्दण्डता मच्चाउने निर्देशन केन्द्रीय समितिबाट गएको अनुमान लगाउन सकिन्छ। अब मङ्सिरमा चुनाव सार्नुपर्ने अवस्था सिर्जना भएको हुँदा त्रासको वातावरण कायम राख्न कठिन हुनेछ, तसर्थ वाईसीएलका क्याडरलाई राजनीतिक प्रशिक्षण दिएर असहिष्णु व्यवहार त्याग्दै, अरु दल तथा जनताको मर्यादा गर्न अनिवार्य निर्देशन तपाईंले दिनु पर्‍यो।

११ वैशाखमा वसन्तपुर डबलीमा लोकतन्त्र दिवस कार्यक्रम हुँदा नेका नेता रामचन्द्र पौडेललाई बोल्नै नदिने कार्यले वाईसीएल कार्यकर्ताको गैरराजनीतिक चरित्र प्रस्ट पारेको थियो। ट्रेड युनियन र जनजाति सङ्गठनका कार्यकर्तालगायत अन्य स्वयंसेवकले त्यो आक्रामक झुण्डलाई थाम्न खोज्दा तपाईं, बाबुराम भट्टराई, हिसिला यमीलगायत अन्य नेता पोडियममा हुनुहुन्थ्यो। भीडलाई शान्त पार्न तपाईं अगाडि सर्नुसम्म भएन, जसले माओवादीको नेतृत्व पंक्ति आफैँ वाईसीएल प्रवृत्तिभन्दा कतिमाथि उठ्न सक्छ भन्ने प्रश्न उठाइदियो, र यो कुरा प्रत्यक्ष टेलिभिजन प्रसारणबाट देशव्यापी पुग्यो। आउँदा दिनमा वाईसीएललाई आक्रामक नभई राजनीतिक चरित्र देखाउन निर्देशन दिए कसो होला?

राजसंस्था
दाहालजी, तपाईंलाई राजसंस्थाप्रति ठूलो डर भएको बुझ्न गाह्रो छैन। जबकि एकताका त्यो राजसंस्थासँग सम्झौताको पहल पनि तपाईंमार्फत् भएको थियो भन्ने स्वीकारिसक्नुभएको छर वीरेन्द्र, धीरेन्द्र र ज्ञानेन्द्र सबैसँग सम्पर्कमा हुनुहुन्थ्यो भन्ने खुलासा भइसक्यो। सम्झौता नै नगर्ने त नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला पो थिए कि, जब उनले मात्र ज्ञानेन्द्रको सक्रिय शासनको बेलामा राजासँग सम्झौता गरेनन्! राजसंस्थाको भूत देखाएर तपाईं स्वघोषित झाँक्री हुँदै 'पपुलिजम्' को छाल उफार्दै हुनुहुन्छ, एक्कासि गणतन्त्रको झण्डा उठाएर। महान् जनआन्दोलनद्वारा पछारिइसकेको राजसंस्थासँग नेपाली जनतालाई त्यति डर छैन जस्तो लागेथ्यो। राजसंस्थाले अलिकति पनि घुर्की देखाए यसलाई फाल्न सक्ने क्षमता जनतामा छँदैछ। प्रक्रियागत हिसाबले दिगो रूपमा राजतन्त्र उन्मूलन गर्नु साटो आठ पार्टीद्वारा तुरुन्तै गणतन्त्र घोषणाको दबाब दिने तपाईंले, पहिले ज्ञानेन्द्रबाट राजाको पदवी थुत्ने, सम्पत्ति राष्ट्रियकरण गर्ने, नेपाल सेनालाई नारायणहिटीबाट निकाल्ने तथा ज्ञानेन्द्रलाई महाराजगञ्ज सार्ने पहल गरे कसो होला?

राजसंस्थाले सबै लोकतान्त्रिक प्रक्रियामा अवरोध ल्याउँछ भन्ने जुन त्रास माओवादी पंक्तिमा फैलिइरहेको देखिन्छ, यो आत्मबलको कमी तथा जनताको शक्ति नबुझ्नुको उपज होकि? नेपालमा जेजति घटना घटे तिनको सम्पूर्ण दोष ज्ञानेन्द्र तथा दक्षिणपन्थी दरबारिया माथि थुपारेर तपाइँ उनीहरूको नभएको शक्तिको प्रचार गरिरहनुभएको छ र राजसंस्थालाई बल पुर्‍याइरहनुभएको छ भन्ने तर्क गर्ने ठाउँ छ। गणतन्त्रको वकालतलाई आफ्नो मूल एजेण्डा बनाउनुहोस्, तर सबैलाई यसमा समावेश गराउन खोज्दा सफलता प्राप्ति नहुने देखिन जाँदा यसलाई थाती राखेर संविधानसभाको चुनावको मिति घोषणा गर्नेतर्फ ध्यान केन्द्रित गरे कसो होला?

'डक्ट्रिन' का कुरा
२४ वैशाख सोमबार विजय कुमारको 'दिशानिर्देश' टेलिभिजन कार्यक्रममा तपाईंले 'डक्ट्रिन' र सिद्धान्त समयअनुसार ढाल्नुपर्ने कुरा गर्नुभयो र आफू लचिलो राजनीतिज्ञ भएको कुरा प्रस्ट पार्नुभयो। पक्कै पनि 'जनयुद्ध' त्याग्नु तथा प्रतिस्पर्धात्मक राजनीतिमा उत्रन सक्नु तपाईंको नेतृत्वअन्तर्गत नेकपा (माओवादी) ले गरेको सैद्धान्तिक छलाङ तपाईँको त्यो भनाइको प्रमाण हो। तर अब जनयुद्धको अन्त्यसहित हिंसा, दबाब र धम्कीको प्रयोग पूर्ण रूपमा अस्वीकार्य भएको तपाईंले आफ्नो सङ्गठनभित्र प्रस्ट सञ्चार गर्नु पर्‍यो। यति भएर शहर तथा जिल्लामा वाईसीएल र अन्य कार्यकर्ताको दबाब तुरुन्तै घट्न गयो भने मङ्सिरसम्ममा संविधानसभाको चुनाव हुँदा माओवादीलाई सदनमा राम्रो स्थान प्राप्त हुनेछ। आज युवापङ्क्तिका क्याडरलाई तीतो औषधि नखुवाउँदा भोलि संसारले नै पर्खिबसेको चुनाव तपाइँको लागि बिग्रियो भने के अर्थ रहन्छ?

आउँदा दशकमा माओवादीले राष्ट्रिय राजनीतिक मैदानमा दिगो स्थान जमाइराख्नका लागि कुनै न कुनै दिन, दाहालजी, तपाईंले एउटा कुरा भन्नैपर्ने हुन्छ कि– जनयुद्धको सुरुआतको सन्दर्भमा नेपालको तात्कालिक सामाजिक परिस्थितिमा माओवादीले बन्दुक उठाउनु भूल थियो। आउँदा दिनमा आफ्नो सर्वहारावादी सिद्धान्त र अडान तथा सामाजिक र आर्थिक मान्यतालाई अझ सशक्त ढङ्गले पेश गर्न पनि हिंसाको प्रयोग र मान्छे मार्ने राजनीति अँगाल्नु भूल थियो भन्ने स्वीकारोक्ति आज नभए भोलि आवश्यक नै पर्दछ। परिवर्तनशील दलमा आज यो कुरा भन्न नमिल्ला, तर जनताको कदर गर्दै आफ्नो भविष्य पनि सुदृढ पार्ने मनसाय छ भने आफ्ना अनुयायीबीच यस्तो घोषणा गर्नुपर्ने विचार बनाउँदै गरे कसो होला?

दाहालजी, तपाईंले बन्दूक उठाएको राजसंस्थाको खिलाफ नभई तत्कालीन दलीय राज्यव्यवस्थाविरुद्ध थियो भन्ने कुरा बिर्सन मिल्दैन। तपाईंहरूमाथि ज्यादती भयो त्यसमा शङ्का छैन, तर त्यसको प्रतिकारमा तपाईंले सम्पूर्ण मुलुक, समाज, अर्थतन्त्र, विकास कार्यक्रम तथा राष्ट्रिय सन्तुलनलाई भासमा पारेकोमा शङ्का छैन। समग्रमा हिंसा र राज्यको प्रतिहिंसाको कारण हामी संसारसामु करिब एक दशक पछाडि परेका छौँ। यसस्थितिको मूल जिम्मा तपाईंको पनि भएकोले अलि अदव तथा कम उत्तेजनाका साथ माओवादीले जनतासामु प्रस्तुत भए कसो होला?

तपाईंको (एउटा) पार्टीको विचारलाई सिङ्गो जनताको विचार हो भनेर जताततै र जतिखेर पनि दाबी गर्ने बानी त्यागिदिए कसो होला? नेपाली जनता मध्ययुगीन बन्धनमा छैन भन्ने बुझेर जनताको सुझबुझलाई अलि कदर गरे कसो होला? आखिर तपाईंको राजनीतिक विजयको बाटो पनि अब त्यही होभन्दा कसो होला? तपाईंले धेरै पर्खाल चढ्नुपर्नेछ, अतिवादी सोच, अति राष्ट्रवाद, अर्कालाई दोष दिने प्रवृत्ति, खुला अर्थतन्त्रको मान्यता, बहुलवादको अङ्कमाल– यी सबै कुरामा तपाईंको रुपान्तरण तुरुन्तै चाहिएको छ, नत्र अन्तरिमकाल व्यर्थमा लम्बिने छ, र प्रतिगामीले चलखेल गर्ने मौका त पाउँछन् नै, जनताले त्यतिबेला मुख्य दोष अरूलाई नदिई माओवादीलाई नै दिनेछन्। यसो भएको देख्न कुनै पनि जनताप्रेमी र शान्तिप्रेमी नागरिकलाई मन छैन। तसर्थ खुला प्रतिस्पर्धामा छलाङ मारिसकेको माओवादीले आफ्ना क्याडरलाई सहिष्णुता तथा सम्यक्को त्यो ओखति ख्वाइराख्नुपर्छ।

'क्यान्टोन्मेण्ट' का कुरा
आजको घडीमा क्यान्टोन्मेण्टमा तपाइँले भएका भन्दा दोब्बर सङ्ख्यामा लडाकू दर्ता गराउनु भएर पनि समस्या उब्जेको छ, दाहालजी। तर यसबारेमा सरकारमा रहेका अन्य दलका नेतृत्वले अहिले खिचलो नगरे हुनेथियो। 'अन्मिन' को टोलीलाई तपाइँले दर्ता प्रमाणीकरण गर्न दिनुअघि प्रति शिविर सदस्यलाई रु.३००० मासिक भत्ता निकासा गरेकै राम्रो। यस्तै तत्कालै शिविरहरूमा खानपिन र बसोवासको राम्रो पूर्वाधार तयार गर्नुपर्दछ बर्खायाम अगावै। यस्तै सरकारले क्यान्टोन्मेन्टका प्रमाणीकरण भएका लडाकूको भविष्यबारे विभिन्न बाटोको अध्ययन गर्नुपर्दछ, नेकपा (माओवादी) सँग सहकार्य गर्दै। क्यान्टोन्मेण्टको विषयलाई लिएर तपाइँलाई नभई गिरिजाप्रसाद कोइरालालाई सोध्नुपर्ने हुन्छ, “यी सबै कुरा तुरुन्तै गरे कसो होला?” तर बाँकी राजनीतिक दलले माओवादीप्रति सहिष्णुता देखाउँदा तपाइँ आफैँले पनि ज्यादती रोक्नुपर्दछ। जस्तैः जफत भएको घरजग्गा र सम्पत्ति तुरुन्त फिर्ता गरे कसो होला? बेकारमा विपक्षीहरूलाई यो विषय घरीघरी उठाउन दिएर माओवादीको 'इमेज' किन बिगार्नु?

चुनावको मिति
संविधानसभाको चुनावप्रति त्यति आतुर तपाईं एक्कासी नयाँ तिथि तय गर्ने सन्दर्भमा किन घुमाउरो कुरा गर्न थाल्नुभएको, 'समीक्षा' को कुरा उठाएर। 'मोमेन्टम' तथा दबाबका कारण जेठमा हुने भनिएको चुनावमा केही सफलता हासिल गर्ने अनुमानले होला, माओवादीले जेठको मितिको लागि त्यत्रो ठूलो अभियान चलायो। चार–पाँच महिना मात्र पछाडि सार्दा प्रक्रियागत हिसाबले चुनाव अझ बढी भयरहित हुने हुँदा राजनीतिक सङ्गठनमा कमजोर माओवादीलाई पायक नपर्ने ठानेर होला अब चाहिँ चुनाव मितिबारे तपाइँ पूर्वशर्त राख्न थाल्नुभएको देखिन्छ। तपाइँका केही सहयोगीले त गणतन्त्र घोषणा भए संविधानसभाको चुनाव धेरै नै पछि सारे पनि हुने कुरा गर्दै हुनुहुन्छ। त्यो घातक हुनेछ, र जनताको समावेशी राज्य बनाउने आकाङ्क्षामा विश्वासघात। यहाँ, दाहालजी, एउटा खतरा के छ भने गतदशकहरूमा जस्तै फेरि संविधानसभा चुनाव नहुने हो भने यसअघिका मूल बाधक अन्य राजा थिए भने अब माओवादी ठहरिने खतरा छ। दाहालजी, यी सबै शङ्का–उपशङ्कालाई निमिट्यान्न पार्न चुनाव आयोगद्वारा प्रस्तावित ७ मङ्सिरमा संविधानसभा चुनाव हुनै पर्छ भनेर तपाइँबाट आउँदा दिनमा जोडदार र निरन्तर आवाज उठे कसो होला?

माओवादी आउँदो चुनावमा मुलुकको तेस्रो राजनीतिक शक्ति हुने सम्भावना राम्रो छ, किनकि शहर र गाउँका मध्यमवर्ग र 'बुर्जुवा' अन्यत्र लाग्नेछन् भने उत्पीडित वर्ग र समुदायहरू माओवादीको 'भोट ब्याङ्क' हुने सम्भावना बढी छ। तराई, पहाड र हिमाल, तिनै क्षेत्रमा पिछडिएका नागरिक र समुदाय माओवादीलाई मत खसाल्ने जमात बन्न सक्छन्। तर यो त्यसै हुँदैन। गरिब नेपालीले पनि हिंसा रुचाउँदैनन्, यो तथ्य तपाइँले 'जनयुद्ध' को दौरानमा बुझिसक्नुभो होला। गरिब नेपाली पनि विचारवान् छन् र राजनीति गर्न हिंसाको अनिवार्यतासँग सहमत छैनन्। तसर्थ, देशको मतदानबाट आउने राजनीतिक शक्तिको रूपमा आफूलाई पदस्थापन गर्न माओवादीले तुरुन्तै वर्तमान आक्रामक व्यवहार बन्द गर्नै पर्दछ। त्यस्तै कुनै न कुनै बेला, विगतमा भएको हिंस्रक राजनीतिको बाटो गल्ती थियो भनेर स्वीकार्नै पर्छ। माओवादीलाई कसैले भन्लान् यस्तो बाटो घातक हुनेछ भनेर तर आम नागरिकको विचार शक्तिमा ध्यान पुर्‍याउने जोसुकैले पनि भन्न सक्तछ– त्यो निर्णय सही हुनेछ। त्यसो गरेर आफ्नो भविष्य बनाउनतर्फ कामरेड, कमिसार, लडाकू र वाईसीएल लागे कसो होला? जनताको विवेकको कदर गरे कसो होला?