हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी विषादीको दुरुपयोग

सावधानीमा बेवास्ता

डा. राजुराज पाण्डे

हाम्रा बाबुबाजेको मुख्य पेशा खेती थियो। उनीहरू 'रिपकर्ड', 'मेटासिड' र 'मालाथायन' छर्दैनथे। के त्यतिखेर बालीबिरुवामा कीरा लाग्दैनथ्यो? कुनै रोग लाग्दैनथे? लाग्दथे भने, नियन्त्रण कसरी गरिन्थ्यो? लाग्दैनथे भने अहिले कहाँबाट कसरी आए?
जनसङ्ख्या वृद्धिसँगै बढेको खाद्यान्न आवश्यकता परिपूर्ति गर्न कृषिमा नयाँ प्रविधिको विकास र प्रयोग शुरु भयो, विदेशमा विकसित प्रविधि आयात भयो। बालीका नयाँ–नयाँ जात भित्रिए। अनि सरकारले मल, बीउ सँगसँगै विषादीको पनि प्रचारप्रसार गर्न थाल्यो।

नेपालमा पहिलोपल्ट विषादीको प्रयोग सन् १९५० को दशकमा अमेरिकी सहयोगमा लामखुट्टे नियन्त्रण गर्न भएको हो। यसै समयदेखि कृषि विकास कार्यक्रममा उन्नत मल, बीउसँगै विषादी पनि भित्रियो। अनि अनाज र तरकारी बालीमा लाग्ने कीरा नियन्त्रण गर्न 'मेटासिड', 'मालाथायन', 'डीडीटी', 'बीएचसी', लगायतका विषादीको प्रयोग बढ्न थाल्यो। खास गरेर कीटनाशक विषादीलाई 'कीरा मार्ने औषधि' को रूपमा प्रचारप्रसार गरियो। विषादीलाई औषधिको रूपमा चिनाउनु, बढाइचढाइ प्रचार गर्नु र सावधानीका बारेमा बेवास्ता गर्नुले यसको नकारात्मक असरमा वृद्धि हुँदै आएको हो।

यतिसम्म कि, किसानलाई दिइने पुरस्कारमा विषादी छर्कने स्प्रेयरले प्राथमिकता पाए, विषादीहरू सित्तैँमा बाँडिए। जति कडा विषादी उति राम्रो भन्ने गलत सूचना प्रवाह भयो। यस्तोसम्म कि, २०३० सालतिर पूर्वी तराईका किसानले प्रयोग गरेका 'फोलिडोल' विषका कारण आसपासका चरा र स्यालहरू मरे, किसानहरू बिरामी परे, केहीको त ज्यान समेत गयो। त्यसपछि तत्कालीन सरकारले त्यो विषादी माथि प्रतिबन्ध लगायो। तर विषादीलाई नियमित गर्ने पहिलो कानून २०४८ सालमा मात्र बन्यो, त्यसैको पनि प्रभावकारी कार्यान्वयन भएको छैन। अहिले पनि अत्यन्तै खतरनाक विषादी 'मेटासिड' सबैभन्दा लोकप्रिय छ।

विषादीको प्रयोग हाम्रो जस्तो देशमा भन्दा विकसित पश्चिमी मुलुकमा धेरै बढी हुने गर्दछ, तर त्यसले मानव स्वास्थ्यमा पार्ने दुष्प्रभाव हाम्रो जस्तो देशमा धेरै हुन्छ। ज्यादै कडा विषादी प्रयोग हुनु, अनुपयुक्त विषादी सिफारिस हुनु, बढी मात्रामा प्रयोग गर्नु, लगातार र अनावश्यक विषादी प्रयोग गर्नु, म्याद नाघेका र गुणस्तरहीन विषादी प्रयोग हुनु र विष प्रयोग गरेपछि खानको लागि पर्खनुपर्ने समयको पालना नहुनु दुरुपयोगका प्रमुख पक्ष हुन्।

निर्दिष्ट मात्रामा उपयुक्त तरिकाबाट विषादीको प्रयोग गरेको अवस्थामा निश्चित मात्रामा बिरुवाको सतहमा विषादी जम्मा हुन्छ र हावा, पानी, ताप, प्रकाशका कारणले क्रमिक रूपमा तिनको क्षयीकरण शुरु हुन्छ र निश्चित समयपछि यति कम हुन्छ कि त्यसले मानव स्वास्थ्यमा खासै असर गर्दैन। यस्तो अवस्थामा बाली टिप्न र खान योग्य मानिन्छ। सिफारिस गरिएभन्दा बढी मात्रामा विष प्रयोग भएको छ भने क्षयीकरणको लागि बढी समय लाग्दछ र तोकिएको भन्दा बढी समय पर्खिएपछि मात्र बाली टिप्न र खान योग्य हुन्छ। विषादीको प्रयोगपश्चात् आवश्यक समय नपर्खी बाली टिपेर प्याकिङ्ग गरियो भने क्षयीकरण प्रक्रिया खल्बलिन सक्छ र विषको अवशेष मानिसले खप्न सक्ने भन्दा बढी रहन जान्छ। यस्तो उत्पादन खाँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ।

दिनहुँ खाइने तरकारीमा प्रयोग भएका विषादी हाम्रो गम्भीर चासोको विषय हुनुपर्छ। तर कृषि विशेषज्ञ र प्राविधिकहरू हरेक जिल्लामा हुँदाहुँदै पनि उनीहरूको सेवा प्रभावकारी नहुनाले किसानका लागि विषादी प्रयोगको जानकारीको स्रोत विषादी बिक्रेताहरू भएका छन्। किसानहरू विषादी किन्न जाँदा रोगाएका बोटका नमूना बोकेर विरलै जान्छन्। बिक्रेताले प्रायः अन्दाजको भरमा एकभन्दा बढी विषादी मिसाएर प्रयोग गर्ने भनेर बेचिदिन्छ। यसले किसानहरू अनावश्यक र गलत विषादी प्रयोग गर्न पुग्दछन्।

बढी मात्रामा अनावश्यक विषादीको प्रयोग हुनु र पर्खनुपर्ने समयसम्म नपर्खनु हाम्रो ठूलो समस्या हो। भण्टामा लाग्ने 'गबारो' कीरा नियन्त्रण गर्न किसानहरूले बिरुवा सार्दा नै 'फोरेट' भनिने विषादी प्रयोग गर्दछन्। 'फोरेट' को विष बिरुवाको जराले सोसेर डाँठ, पात र फलमा पुर्‍याउँदछ। यसको असर लामो समयसम्म रहने हुँदा बाली टिप्न कम से कम ९० दिन पर्खनुपर्दछ, तर भण्टा रोपेको ६०–७० दिनमै टिप्न शुरु गरिन्छ। त्यसैले किसानले तरकारी बालीमा 'फोरेट' जस्ता लामो समय असर गर्ने विषादी प्रयोग गर्नुहुँदैन, प्रयोग गरिएको भए त्यो समयसीमा भित्र त्यस्तो उत्पादन टिप्न हुँदैन। केही विषादीको प्रयोग तरकारी चिल्लो, राम्रो देखाउन पनि गरिन्छर विषाक्तताको बेवास्ता गर्दै बाली टिपेपछि विभिन्न विषादीको झोलमा डुबाएर बजारमा पठाइने गरेको सुनिन्छ। जनस्वास्थ्यमा सीधै नकारात्मक असर पार्ने काम हो यो।

बजारमा बेचिने तरकारी र फलफूलमा विषादीको अवशेष छ कि छैन भन्ने जाँच्ने संयन्त्र नहुँदा उपभोक्ताहरू यस्ता हेलचेक्र्याइँको शिकार हुने गरेका छन्। बजारबाट तरकारी, फलफूलका नमूना सङ्कलन गरेर गरिएका विभिन्न परीक्षणले दूध, आलु, अनाज र तरकारीहरूमा डीडीटी जस्ता 'क्लोरिनयुक्त' विषादीलगायत अन्य विषादीको अवशेष पाइएका छन्। अधिकांश नमूनामा विषादीको मात्रा आपत्तिजनकस्तरमा पाइनु चिन्ताको विषय बनेको छ।

शिशु, बालक, वृद्ध, बिरामीमा विषादीको असर सोझै पर्छ। त्यस्तै पुरुषको दाँजोमा महिलामा विषादीको दुष्परिणाम ज्यादा देखिन्छ। गर्भमा भ्रूण हुर्काउनुपर्ने र नवजात शिशुलाई स्तनपान गराउनुपर्ने महिलाहरू त झन् विषादीको प्रभावबाट टाढै बस्नुपर्छ। विषादीको असर परेका महिलाबाट जन्मिएका बच्चा लुलालङ्गडा, अपाङ्ग र सुस्त मनस्थितिका हुनसक्छन् भन्ने वैज्ञानिक अनुसन्धानबाटै प्रमाणित भइसकेको छ।
विषादी दुरुपयोगका तत्काल पर्ने असरमा टाउको दुख्ने, वाक्वाक् लाग्ने, रिँगटा लाग्ने, छाला चिलाउने, रिस उठ्ने, आँखा पोल्ने, जीउमा डाबर तथा फोका आउने, शरीर काँप्ने, बेहोस हुनेदेखि मृत्यु हुनेसम्मका लक्षणहरू पर्दछन्। त्यस्तै दीर्घकालीन असरहरूमा रोग प्रतिरोध क्षमतामा कमी हुने, लुलालँगडा बालबच्चा जन्मनेदेखि क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने सम्भावना रहन्छ। विषादीका अन्य असरहरूमा कीराले विषादी पचाउने क्षमताको विकास गर्नु, मौरीलगायतका अन्य मित्र कीरालाई हानि गर्नु, नयाँ–नयाँ विनाशीहरूको प्रकोप बढ्नु, पशु आहार प्रदूषित भई पशुहरू बिरामी हुनु, पानीको श्रोत प्रदूषण भई जलचर प्राणीलाई असर गर्नु जस्ता समस्या पर्छन्।

विषादीको दुष्परिणामको सबैभन्दा बढी असर किसानलाई पर्दछ। किनकि उनीहरू प्रयोग गर्दा र बालीमा आवतजावत गर्दा प्रायः हरेक दिन विषादीको सम्पर्कमा आउँछन्। उनीहरूले विषादी प्रयोग सँगसँगै विषादी प्रयोग गरिएको खेतबारीमा काम गर्नु र बाली टिप्नुपर्दछ। विषादीको दुष्परिणामको शिकार हुने अर्को वर्ग भनेको शहरी क्षेत्रका उपभोक्ता हुन्, जो तरकारीलगायत खाद्य सामग्री किनेर खान्छन्। उनीहरूलाई आफूले किन्ने अनाज, तरकारी र फलफूलमा के कस्ता विषादीको प्रयोग भएको थियो र तत्काल विषादीको मात्रा कति छ भन्ने जानकारी हुँदैन।

(डा. पाण्डे कीटविज्ञ हुन्।)