टिप्पणी
यल्तसिनको मूल्याङ्कन
• जुगल भूर्तेल
 |
| बीबीसी अनलाइन |
| अक्टोबर समाजवादी क्रान्तिका नायक लेनिनको
मूर्तिका अगाडि पूँजीवादी रूसका नेता येल्तसिन। |
रूसका प्रथम
राष्ट्रपति बोरिस निकोलायभिच यल्तसिनको निधनपछि संसारभरि उनको देनबारे
छलफल हुँदैछ। गएको शताब्दीमा रूसमा विश्व राजनीतिलाई प्रभावित गर्ने
दुई ठूला प्रयोग भएका थिए– सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर
क्रान्ति र मार्क्सवादी समाजवादको स्थापना तथा १९९० को दशकमा यल्तसिनको
नेतृत्वमा त्यो समाजवादको उदार पूँजीवादमा रुपान्तरण। अक्टोबर क्रान्तिको
त्रासद इतिहासमाथि धेरै चर्चा भइसके पनि यल्तसिनको कदमको अझै विश्लेषण
हुन बाँकी छ।
उनले गरेको रूसी अर्थतन्त्रको 'शक थेरापी' बाट पीडितहरूको
घाउ आलै छ। आर्थिक रूपले जर्जर सोभियत प्रणालीको अन्त्य यल्तसिनबिना
पनि हुन्थ्यो नै, तर उनले त्यसको गतिलाई ह्वात्तै बढाइदिए। एकथरि रुसीका
लागि त्यो ठूलो योगदान भएको छ भने अर्काथरिका लागि गहन अपराध। त्यसैले
रूस तथा पूर्व सोभियत गणराज्यहरूमा उनलाई 'सोभियत संघ धरासायी पार्ने
राष्ट्रद्रोही' र 'सोभियत दासत्वबाट स्वतन्त्रता दिलाउने मुक्तिदाता'
भनेर दुवै किसिमको सम्बोधन गर्नेहरू प्रशस्त भेटिन्छन्। वास्तवमा आधुनिक
रूसको इतिहासमा यल्तसिनजस्तो जनतालाई अपार आशा र विश्वास दिलाउने अनि
त्यत्तिकै निराश पनि बनाउने अर्को राजनेता शायद जन्मिएको छैन।
रूसमा सङ्क्रमणकालीन अवस्थाको नेतृत्व यल्तसिनजस्तै
कठोर व्यक्तित्व भएको राजनेताले मात्रै गर्न सक्दथे। जनतालाई मन नपरे
पनि देशका लागि आवश्यक निर्णय लिने र त्यसको अपजस पनि बेहोर्ने साहस
नै उनको राजनीतिक व्यक्तित्वको प्रखर पक्ष थियो। सन् १९९१ मा राजनीतिक
अन्योलले दिशाहीन रूसको प्रथम राष्ट्रपति निर्वाचित हुँदा उनका सामु
कमजोर अर्थतन्त्र, खाद्यान्न अभाव, भ्रष्टाचार, बेरोजगारी, जनताका
असीमित आकांक्षाजस्ता चुनौती थिए। यो अभियानमा आफूजस्तै गहिरो राजनीतिक
आत्मविश्वास भएका अनुभवी सहयोगीहरू नभेटिनु उनको दुर्भाग्य थियो। राज्यसञ्चालनको
निश्चित दर्शनको अभावमा यल्तसिनले आफ्ना वरिपरिका मान्छेलाई सही मार्गदर्शन
गर्न सकेनन्। त्यसैले उनका प्रधानमन्त्री, मन्त्रीहरूबाट एकपछि अर्का
नीतिगत गल्ती भए। उनका वरिपरि ब्रेझनेभकालमा योङ कम्युनिष्ट लिगको
सदस्य भएर पार्टीमा छिरेका र गर्वाच्योभको 'पेरेस्त्रोइका' कालमा हठात्
सुधारवादी बनेका अवसरवादीहरूको भीड लाग्यो, जसको एकमात्र उद्देश्य
जसरी भएपनि चाँडोभन्दा चाँडो राज्यको सम्पत्तिमाथि कब्जा जमाउनु थियो।
सोभियत संघको अवसानपछि टाटपल्टिएको रूसी अर्थतन्त्रको
पूँजीवादी रुपान्तरण विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषका
ऋण र सल्लाहमा निर्भर थियो। उनीहरू यल्तसिनलाई सरकारी उद्योगधन्दा
निजी क्षेत्रलाई नदिए पश्चिमा पूँजी र राजनीतिक समर्थन आउँदैन भनेर
तर्साइरहन्थे। फलस्वरुप देशका अधिकांश उद्योगधन्दा कौडीका मूल्यमा
निजी क्षेत्रलाई बेच्ने अदूरदर्शी निर्णय गरियो। रातारात पूँजीवाद
ल्याउन गरिएको त्यो निजीकरणबाट भ्रष्टाचार संस्थागत भयो, राज्यको सम्पत्ति
सत्ताको वरिपरि झुम्मिएका पुरानै कम्युनिष्टहरूको कब्जामा गयो। नवधनाढ्य
त्यो वर्गलाई बुझाउन रुसी भाषामा 'अलिगार्ख' भन्ने नौलो शब्द नै प्रचलनमा
आएको छ। यसरी भएको राष्ट्रिय सम्पत्तिको असमान वितरणले गहिरो सामाजिक
विभेद र द्वन्द्व उत्पन्न गर्यो। पेन्सनमा बाँचेका बुढाबुढी र भूतपूर्व
सैनिक तथा निम्नआय भएका सर्वसाधारण जनताको आर्थिक स्थितिमा ठूलो ह्रास
आयो। अकस्मात् आएको अविश्वसनीय गरिबीले आमजनतामा राजनीीतक परिवर्तनप्रति
गहिरो मोहभङ्ग गरायो। विश्व ब्याङ्क र मुद्राकोषको 'निजीकरण उपचार'
ले रूसको आर्थिक रोगलाई त निको पारेन नै, 'लोकतन्त्र' र 'उदारवाद'
जस्ता पवित्र शब्दलाई जनताले शासक वर्गलाई गर्ने गालीमा तथा 'लोकतन्त्रवादी'
र 'उदारवादी' हरूलाई जनताका शत्रुमा परिणत गर्यो।
साधारण जनतासँग सोझो भाषामा संवाद गर्न सक्ने प्रतिभाले
यल्तसिनलाई राजनीतिको शिखरमा पुर्याएको थियो। तर उनका पनि थुप्रै
मानवोचित कमजोरी थिए। भोद्काप्रतिको लगाव, अन्तर्राष्ट्रिय मञ्चमा
राष्ट्रपतिलाई नसुहाउने अमर्यादित आचरण, प्रथम चेचेन युद्धको असफलता,
संसद भवनमा तोप पड्काउने निर्णय, निर्वाचनमा धाँधलीको आरोप, आदिले
उनको व्यक्तिगत र प्रजातान्त्रिक प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरे।
यस्तो समय पनि आयो– लगातारको राजनीतिक विरोध, चेचेन आतङ्क र आर्थिक
सङ्कटको सामना गर्दागर्दा शिथिल भएका यल्तसिनले देश चलाएको महसूस नै
हुन छाड्यो।
आफ्नो अन्तरज्ञानबाट शासन गर्ने विद्रोही र सङ्घर्षशील
स्वभावका यल्तसिनको कुनै राजनीतिक लाइन थिएन। तर, लोकतन्त्र र उदारवादबिना
रूस एउटा समृद्धशाली मुलुक बन्न सक्दैन भन्ने कुरामा भने उनी दृढ थिए।
गर्वाच्योभविरुद्ध असफल 'कु' मा सहयोग पुर्याउने कम्युनिष्ट पार्टीमाथि
सदाका लागि प्रतिबन्ध लगाउने जनसमर्थन र नैतिक –कानूनी आधार उनीसँग
थिए। सैनिक विद्रोह गरेर आफूलाई सिद्ध्याउन खोज्ने उप–राष्ट्रपति अलेक्सान्द्र
रुच्कोईलाई आजीवन बन्दी बनाउन उनी सक्दथे। तर सच्चा राजनेतालाई अनुदारता
नसुहाउने कुरा बुझेका यल्तसिनले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्धलाई
तुरुन्तै फुकाइदिए, रुच्कोईलगायतका विद्रोहीलाई आममाफी दिई नयाँ राजनीतिक
भविष्य बनाउने मौका दिए। उनको आठवर्षे शासनकालमा रूसमा एकजना पनि राजबन्दी
थिएन।
जे होस्, रूसमा अधिनायकवादलाई कहिल्यै मौलाउन नसक्ने
गरी यसको जरा काटिदिने लक्ष्यमा समर्पित यल्तसिन त्यसमा सफल भएका छन्।
उनको शासनकालमा बनेको रूसको लोकतान्त्रिक संविधानले व्यक्तिको आर्थिक
र राजनीतिक स्वतन्त्रतालाई संस्थागत गरेको छ। रूसको वर्तमान प्रगतिको
आधार, अर्थात् बजार अर्थतन्त्र, का शुरुका कठिन पाइला उनकै पालामा
चालिएका हुन्। खाद्यान्न अभाव समाप्त भयो। खालि भएका पसल भरिभराउ भए।
पश्चिमसँगको सम्बन्ध सुधारबाट सैन्यखर्च घट्यो। इगोर गैदारदेखि भ्लादिमिर
पुटिनसम्म थुप्रै युवानेता उदाए। राष्ट्रप्रमुखहरू कुर्सीमै मर्ने
वा अपदस्थ गरिने सोभियत परम्पराविपरीत अस्वस्थ भएपछि आफ्ना सबै असफलताको
लागि जनतासँग क्षमायाचना गर्दै नयाँ पुस्तालाई स्वेच्छाले सत्ता हस्तान्तरण
गरेर बोरिस यल्तसिनले नौलो इतिहासको सुरुआत गरेका थिए।
सोभियत संघ विघटनपछिको लामो संक्रमणकालमा रूसी महासंघका स–साना जातीय
गणराज्यमा देखिएको विखण्डनको लहरलाई प्रजातान्त्रिक ढङ्गले समाधान
गर्दै रूसलाई अर्को युगोस्लाभिया बन्नबाट बचाएर शान्त, समृद्ध र लोकतान्त्रिक
महाशक्ति राष्ट्र बन्ने आधारको निर्माण गर्नु बोरिस यल्तसिनको सबैभन्दा
ठूलो योगदान हो। तर, अझै इतिहासको धङ्धङीमा बाँचिरहेको रूसले जुन दिन
आफूलाई सोभियत साम्राज्यको भग्नावशेष नभएर युरोपेली सभ्यताको एउटा
विशाल अङ्गको रूपमा ग्रहण गर्न सक्छ, त्यसै दिन मात्र बोरिस यल्तसिन
जस्ता राजनेताको सही मूल्याङ्कन हुनेछ।
(लेखक मस्कोमा कार्यरत छन्।)
|